रुरु पुग्न रिडी बजार भएर मात्रै पुग्नु पर्छ भन्ने होइन रहेछ । हामी गुडेकै बाटोबाट फाटेर निस्केको एउटा अर्को बाटो मन्दिरसम्मै पुग्दो रहेछ । यही बाटो भएर ओर्लेको एउटा ठूलो बस नदी किनारमा आएर रुक्छ र मान्छेहरु फुत्तफुत्त भित्रबाट निस्कन थाल्छन् । तीमध्ये केही वरिपरि तहलिन थाल्छन् त कोही बसको छटमा चढ्न । छटबाट केही सामान झार्न खोजेजस्तो देखियो तर त्यो सामान नभएर पिताम्बरले बेरिएको शव पो रहेछ । शव देखेर मात्रै थाहा भयो, बसमा आएका अरु जम्मै मलामी रहेछन् । मर्ने मान्छेको इच्छा रुरु क्षेत्रमा दाहसंस्कार सम्पन्न गरियो भन्ने होला र त यहाँ ल्याइयो । गाडीबाट शव ओरालेर उत्तिखेरै शङ्ख फुक्दै त्यहींबाट शबयात्रा थाली अलि लग्यो र त्यहाँ चिता बनाई त्यसमा सुतायो । गर्धनमा क्यामेरा झुन्ड्याएर अचम्म मानी हेरिरहेको मलाई हेरी त्यहींको एक आइमाईले बताइन्– ‘‘यो पवित्र क्षेत्र हो । यहाँ जलाइँदा स्वर्ग पुगिन्छ भनेर टाढाटाढाबाट पनि शब ल्याइन्छ ।’’
भैरहवादेखिन् ल्याइएको रहेछ ।
पश्चिमतर्फबाट आएको रिडी खोला र गुल्मी–स्याङजाको सीमा भई उत्तरबाट बग्दै आएको कालीगण्डकी यहाँ मिसिएको छ । दुई नदी मिसिएको ठाउँ हिन्दूहरुको मान्यतामा तीर्थ बन्दछ । सोही मान्यताअनुसार नै यो अचेल धार्मिक स्थलको रुपमा परिचित हुँदै आइरहेको छ । हिन्दूहरु यसलाई रुरु क्षेत्र भन्न मन पराउँछन् । उनीहरुका अनुसार रुरुकन्याले तपस्या गरी भगवान विष्णुलाई प्रसन्न गराई यही क्षेत्रमा बस्न अनुरोध गरेकाले भगवान.हृषिकेश यसै ठाउँमा बस्नु भएको हुनाले यो क्षेत्र रुरु कन्यकै नामबाट रुरुक्षेत्र नामले प्रसिद्ध छ । कोही रुरु र कोही ऋण शब्द अपभ्रंश भई रिडी रहेको भन्ने भनाइ अघि सार्दछन् । मानिस जन्मदा लिएर आउने तीन ऋण (देवऋण, पितृऋण र ऋषिऋण) लाई हटाइदिने हुनाले ऋणी भन्ने नाम भएकी नदी पश्चिमतिरबाट आएकी र यहाँ स्नान गर्नाले पाप पखालिनुका साथै मानिस तीन ऋणबाट मुक्त हुने भएका पछि रिडी भएको भन्ने भनाईमा हिन्दू मान्यता वा आग्रहबाहेक अरु केही पाइँदैन । भाषा विज्ञानअनुसार रुरु वा ऋणीबाट अपभं्रश भई रिडी हुने कुनै आधार नै छैन । बरु यसको सही नाम ‘रिडी’ नभएर रिदी’ हुनुपर्दछ र ‘दी’ शब्दले मगर भाषामा पानीको अर्थ दिन्छ । पानीसँग सम्बन्ध राख्ने विभिन्न खोलानाला तथा ठाउँको मगर नामको अन्त्यमा ‘दी’ आएको हुन्छ, जस्तो मस्र्याङ्दी, दरौंदी, राम्दी ……. । आजभोलि गुरुङ जातिको आवादी रहेको कतिपय गाउँठाउँको नामको अन्त्यमा पनि ‘दी’ नै रहेको पाइन्छ जसले त्यस क्षेत्रमा गुरुङहरु आउनुअघि मगरको बर्चश्व थियो भन्ने जनाउ दिन्छ । यहाँ ‘रिदी’ भन्ने पुरानै नाउँ थियो र पछि हिन्दूहरुको आगमनसँग यो ठाउँको नाम मात्रै फेरिएन, ठाउँले पनि नयाँ अर्थ पाउन थाल्यो ।
पाल्पा, गुल्मी र स्याङ्जा तिन जिल्लाको संगममा बनेको यो रिडी क्षेत्र तिन वटै जिल्लाका पहाडहरुको खोंचमा परेको छ । नाम कहलिएको रिडी बजार गुल्मी जिल्लामा पर्दछ र यसले कुनै बेला वरिपरिका क्षेत्रहरुलाई पनि सामान आपूर्ति गर्ने केन्द्रको भूमिका निर्वाह गरेको पाइन्छ । केही मात्रामा स्थानिय व्यावसायिक भूमिका निर्वाह गरेको पाइन्छ ।
पूरै बगर छोप्ने गरी नदी बग्ने हो भने रुरु मन्दिरको लागि चढ्ने सिंढीसम्मै पुग्छ । केही खुड्किला चढेर गएपछि अर्को कलात्मक द्वार आइपुग्छ र त्यहाँबाट मन्दिरको प्राङ्गणमा पुगिन्छ । सिंढी उक्लेर प्राङ्गनमा टेक्न पाएको थिएन, एउटा ब्राम्हण बोल्छन्– ‘‘जुत्ता फुकाल्नुस्, भगवानको दर्शन गर्नुस् ।’’
रुरु मन्दिरको मुख्य पुजारी तिनै ब्राम्हण रहेछन् । त्यहीं बस्नेहरुबाहेक अरु बाहिरिया कोही थिएनन् । माघे संक्रान्तिको बेला पाइला टेक्ने ठाउँ पनि नहुने त्यहाँ त्यो बेला म ढलिमलि नै गर्दा पनि हुने रहेछ । साना ठूलो मन्दिरहरु नियाल्दै र फोटो पनि खिच्दै परिसरको परिक्रमा गरें र मुख्य मन्दिर ऋषिकेशको अगाडि गएर रोकिएँ । गुम्बज शैलीमा बनेको उक्त मन्दिरभित्र निख्खर कालो शिलामा निर्मित ऋषिकेशको मूर्ति रहेछ, मालाले ढपक्कै छोपिएको । आफू मूर्ति विज्ञानको पनि विद्यार्थी भएकाले माला हटाउन मिल्छ कि भनेर सोधें । हटाउन त मिल्छ तर फेरि राख्न समय लाग्ने समस्या बताए । विहान आरती हुनुअघि नै भए राम्रोसँग अवलोकन गर्न मिल्ने रहेछ । दर्शन गरें, प्रसाद लिएँ । मालाले छोपिएको भएपनि केही त दृष्टिगोचर हुन्छ । भन्न त यो मूर्ति पाल्पाली राजा मणिमुकुन्द स्नान गर्न लाग्द ा गण्डकी नदीभित्र मूर्ति फैला परैकौ थिए र त्यसैलाई यहाँ ल्याई मन्दिर स्थापना गरैका हुन् । कुनै पनि कुरालाई किम्बदन्ती बनाउनै र रोचकता थप्न अलौकिक कुरा जोड्ने चलाखी धर्मभीरुहरु गर्छन् । ऋषिकेशको मुख्य मुर्ति र दायाँबायाँका अन्य ससना मूर्ति हेर्दा यो सेनकालिन देखिन्छ । संभवतः राजा मणिमुकुन्द सेन नै यसका निर्माता हुन् । पूर्वाभिमुख ऋषिकेशको ठिक्क अगाडि अर्को एउटा सानो मन्दिर र मन्दिरभित्र अरु मूर्तिका बीचमा रुरुकन्याको मूर्ति रहेछ ।
मन्दिर प्राङ्गनमा मुख्य मन्दिरभन्दा ठूलो र भव्य अर्को मन्दिर रहेछ– गायत्री मन्दिर । यस मन्दिरभित्र भित्तामा थुप्रै देवीदेवताका तस्वीरहरु ताङ्गििएका छन् भने प्रार्थना गर्ने ठाउँ पनि फराकिलो नै रहेछ । पश्चिम भित्तामा बेग्ला बेग्लै तिन वटा खोपी बनाइएको छ जसमध्ये दायाँको खोपी हवनका लागि प्रयुक्त हुँदारहेछन् भने बीचमा गायत्री माताको मूर्ति । त्यस्तै बायाँको खोपीमा खोलाबाट संकलन गरिएका हजारभन्दा बढी शालीग्राम रहेछन् ।
गायत्री मन्दिरको बायाँ कुनाको बगलमै राधाकृष्ण मन्दिर रहेको छ । त्यस प्राङ्गनमा छुटै पहिचान बोकेर ठडिएको यो मन्दिर देखेपछि जो कसैलाई काठमाडौं उपत्यकाको नेवार वस्तीमा पुगेको अनुभव हुनपुग्छ । काठमाडौं उपत्यका तथा नेवार सभ्यताको प्रभाव परेका शहरवस्तीमा प्रचलित नेवार कला र वास्तुशैलीले युक्त मन्दिर लोकप्रिय छन् । यो प्रभाव पाल्पाको यस रुरु क्षेत्रको राधाकृष्ण मन्दिरमा पनि परेको छ । यस्तो प्रभाव यस जिल्लाको सदरमुकाम तानसेनमा प्रसस्त मात्रामा देख्न पाइन्छ । रुरु क्षेत्रकै अन्यत्र पनि देवल तथा सतलहरुमा यस्तै वास्तुकला देख्न पाइन्छ । यस क्षेत्रमा निर्माण कार्यमा नेवार जातिको संलग्नता हुनु तथा शासकको रुपमा खटिएर आउने राणाहरु पनि नेवार कला तथा वास्तुकलाबाट प्रभावित हुने भएको कारण यस्तो हुनु स्वाभाविक नै मान्नु पर्दछ । अम्बरराज मास्केबाट गुठीसहित स्थापित यो मन्दिर आफैमा कला र संस्कृतिले परिपूर्ण छ भने वर्षमा एकपल्ट रथ यात्रा चलाउने प्रचलन पनि रहेछ । मन्दिर जीर्ण भई पुरातत्व विभागबाट वि. सं. द्दण्टण् मा जीर्णोद्धार गरी सँगैको सतलको पनि परम्परागत नेवार शैलीमा नै पुनःनिर्माण गरिएको छ । मन्दिरभित्र मूर्तिका अतिरिक्त काठबाट निर्मित तर भग्न एउटा तोरण पनि राखिएको छ । मन्दिर वास्तुकलामा तोरणको स्थान मूल प्रवेशद्वारको शिरानमा हुने गर्दछ तर यहाँ भित्र राखिएको छ । पहिला यो मन्दिरको प्रवेश द्वारमा नै राखिएको हुनुपर्छ तर अडकाउन नसकेका कारण भित्र राखिएको भनी बुझ्नी परेको छ । मन्दिर हो राधाकृष्ण मन्दिरलाई मात्र टोलाएर हेर्ने हो भने पनि नेवार वास्तुकलाको ज्ञान केही हदसम्म छर्लङ्ग हुनसक्छ ।
केही बेर त्यहाँका ब्राम्हण तथा सन्यासीहरुसँग भलाकुसारी गरी उनीहरुकै राय सल्लाहमा रानीघाटनिर लम्कन्छु ।