
वैशाख १, फेरि आएको छ । घुम्दैफिर्दै आउँदै गर्छ, कहिले नआएको छ र ? तर नयाँ लाग्छ प्रत्येक वैशाख १ । कसै कसैलाई लाग्न सक्छ, यो विक्रम सम्बतको पुरानो वर्ष सकेर नयाँ वर्ष सुरु हुने दिन हो, तर विक्रम सम्बतको इतिहासमा वैशाख १ गते नयाँ वर्ष सुरु हुने परम्परा सुरुदेखिको होइन, कुनै बेला अरु नै दिन वर्ष फेरिन्थ्यो । कसैकसैलाई यो पनि लाग्न सक्दछ, नयाँ वर्ष मनाउनका लागि काठमाडौंमा बाग्द्वार मेला लाग्ने हो । तर वास्तविकता त के हो भने, नेपालमा विक्रम सम्वतको भित्रिनुभन्दा निकै अघि, अझ यो सम्बतको जन्म हुनुभन्दा अघिदेखि नै यो दिन बाग्द्वारमा मेला भर्न जाने परम्परा थियो । वैशाख संक्रान्ति विक्रमसम्वतसँग मात्रै सम्बन्धित होइन । यो दिनलाई काठमाडौंका नेवारहरु खाइसँल्हु भन्ने गर्दछन् र सामाजिक तथा सांस्कृतिक जीवनमा यसको बेग्लै महत्व रहेको छ । यसै दिन धिनाचो र बाग्द्वारमा मेला लाग्ने हो । बिहान सातै बजे बूढानिलकण्ठ परिसरमा पुगियो, बागद्वारमा मेला भर्न जाँदैछौं । वाग्द्वारमै, अर्थात बागमती नदीको मुहान । साथमा छन्, मित्र प्रभातकिरण कोइराला ।
हुन त मान्छेहरु अघिल्लो दिन नै हिंडी वाग्द्वारमा रात बिताई स्नान गरेर फर्कन्छन् । काठमाडौं उपत्यकामा विकसित अनेकौं संस्कृति वा साँस्कृतिक जीवनमा यो पनि एउटा हो । बाटोघाटोको असुविधा भएको बेलामा अघिल्लो दिन दिउँसै हिडेर वाग्द्वारमा रात बस्न जाने चलन थाहा थियो । हिड्दै गर्दा रात पर्ने र जंगलको बाटो भएका कारण यसलाई कठिन यात्राको रूपमा पनि लिइन्थ्यो । तर पनि यति पल्ट वाग्दार पुगिसकें उति पल्ट पुगिसकें भनी गौरवका साथ बखानहरूको समाजमा हुर्केको म । तर म जान मन लागेर पनि जान नसकिरहेको मान्छे । अचेल यात्राको आधारसम्मै मोटरबाटो पगिसकेका कारण सोही दिन बिहानमात्रै जाने र फर्कनेहरू बढी हुन्छन् । हाम्रो पनि सोही दिनमात्र पहाड चढ्ने र फर्कने पूर्वयोजना बनेको थियो ।
योजनाअनुसार त बिहान ६ बजे नै बूढानिलकण्ठमा पुगेर उक्लिसक्ने थियो । तर एक घण्टा ढिलो पुगियो । मेला भर्न जानेहरुको कुनै चहलपहल छैन । ढिलो भइएछ । पछि परियो । बाटो सोध्दै अगाडि बढ्छौं। केही बाटो अघि बढेपछि शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार आइपुग्छ । शिवपुरी क्षेत्र नेपाली सेनाको नियन्त्रणमा छ । प्रवेशका लागि नेपाली नागरिकका लागि प्रति व्यक्ति दश रुपैया तिर्नुपर्ने रहेछ । दुई जनाको २० रुपैयाको टिकट काट्छौं । प्रवेश पुस्तिकामा नाम र हस्ताक्षर गरी यात्रा थालनी गर्छाैं ।

अब भने बाटामा हामी मात्रै भएनौं । जानेहरू जाँदैछन्, आउनेहरू आउँदैछन् । बाटो हराउने डर भएन । काभ्रेवनस्थलीतिरका एक हूल महिलाहरूमध्ये एक जना हिड्न नसकेर त्यतै मेला भर्नका लागि गाडी नै रिजर्भ गरेर आएकाहरुसँग पठाइए । गाडी घुइय्य गरेर अघि बढ्यो । हामी तिनै महिलाहरुसँग गफिँदै अघि बढ्छौं । कुराकानी रमाइलो नै रह्यो । हाम्रो प्रश्न – मेलामा महिलाहरु मात्र किन त ?’े एकले जवाफ दिइन् – ‘‘पुरुषहरु मेलामा के आउँथे र ? आउन नै नमान्ने । हामीमात्रै आयौं । पुरुषहरु त यति बेलासम्म (करीव नौ बजेतिर) पनि सुत्दै होलान् ।’
महिलाहरु निकै बलिया नै देखिन्छन् । तीमध्ये हिड्न नसक्ने त झापा माइत रहेकी महिला रहेछन् । साथी प्रभात पनि झापाली नै । म बोल्छु,– झापाली हुँदैमा हिड्न नसक्ने होइन नि, उहाँ पनि झापाली नै हुनुहुन्छ ।’’
बाटामा अनेकौं कुरा भयो । विहानै उठेर सपनतीर्थको दर्शन गरीवरी बूढालीलकण्ठ हुँदै यतातिर आएका रहेछन् । विहान निस्कदा हल्का पानी परेको थियो । यात्रामा निस्कने बेला यसरी पानी पर्नु शुभ मानिन्छ, नेपाली समाजमा । उनीहरू खुशी छन् ।
अलि अगाडि बढेपछि गोठाटारबाट आएका दुई जोडी (संभवतः लोग्नेस्वास्नीहरु) भेटिए । पहिलो पल्ट आएका रहेछन्, सोधें – ‘‘बाटो कति बाँकी होला ?’’
मेरो सोधाइ हाँसो उठ्दो पो रहेछ । सम्पूर्ण बाटोको एक प्रतिशत पनि हिडेका रहेनछौं । उनीहरूसँग पनि केही बेर कुरा गर्दै अगाडि बढेपछि एक ठाउँबाट काठमाडौं उपत्यका छर्लङ्गैै देखियो । दृष्यलाई आफ्नो क्यामेरामा कैद गरिहाल्न किन ढिलाइ गर्ने ? दृष्यलाई पृष्ठभूमिमा राखेर उनीहरुकै क्यामेराबाट पनि उनीहरुको फोटो खिचिदिन्छौं । उनीहरु विस्तारै हिडिरहेका छन् । हामी अगाडि बढ्छौं ।
बाटोमा एउटा गुम्बा आइपुग्यो, नागी गुम्बा नामले प्रसिद्ध छ यो । आनीहरू मात्रै बस्ने गुम्बाका रूपमा चर्चित छ । ठूलो चौर पनि रहेछ । मान्छेहरु चौरमा खानपिन गरिरहेका छन् । गुम्बामा खाने कुराको पसल पनि रहेछ । त्यहीं पसल नजिकै दुईचार जना आनीहरु मिलेर आलु तरकारी, पुरी, चिउरा आदि बेचिराखेका रहेछन् । हामी पनि आलु तरकारी दुई ठाउँमा किन्छौं र बोकेर गएका अरु खानेकुरासँग खान्छौं ।
हामी हिड्दै गयौं, बढ्दै गयौं । अघि थालनीमा आफूहरू मात्रै हौं कि जस्तो लागेको, तर जति जति माथि चढ्छौं त्यति त्यति नै भीड भेटिन थाल्छ । भीड पनि यतिसम्म कि कहिले काहीं साँघुरो बाटो आयो कि रोक्नु नै पर्छ ।
चार महिला एक ठाउँमा बसिरहेका छन् । एकले सोधिन् – अब कहिले पुग्ने होला ?’ फर्कंदै गरेकामध्येबाट कसैले एक घन्टा भने त कसैले डेढ घन्टा । दुई घन्टामा पुगिन्छ भन्नेहरु पनि आए ।
म बोल्छु, – ‘तपाईहरु यस्तै बसिराख्ने हो भने पाँच छ–घन्टा पनि लाग्न सक्छ, पुग्दै नपुग्न पनि सक्छ ।’
अलि ठट्ठा पारामा भनेको हुँ । तर मेरो कुराले उनीहरु लज्जित बनाएछ कि कुन्नी, हिड्ने तरखर गर्न थाले ।
तिनीहरुमध्ये एउटी युवतीको हातमा मोवाइल फोन थियो र त्यसबाट गीत सुनिरहेकी थिइन् । हिन्दी गीत राम्रो थियो । गीत सुन्दैसंगै हिड्न थाल्यौं । केही बेरपछि फर्केर आइरहेको एउटा त्यस्तै १७–१८ वर्षको तामाङ केटोले ती मोबाइलधारी युवतीसँग केही कुरा सोध्छ, हामी बुझ्दैनौं । पछि थाहा भयो, त्यो मोबाइल त्यही केटाको पो रहेछ, बाटोमा खसेको र ती महिलाले भेटाएको । मोबाइल अर्कै महिलाले भेटाएको रहेछ, र किन त्यत्तिकै बोकेर हिड्ने बरु गीत सुन्दै जाऔं न भनेर युवतीले लिएको रहेछ । फिर्ता भयो ।
हामी अघि बढ्छौं ।
केही माथि पुगेपछि एउटी महिला पछाडि फर्केर फत्फताइरहेकी थिई– ‘‘साले हरामी, मार्दिन्छु म त्यसलाई त, कस्तो शुद्धि नभएको ।’’ उनी आफ्नै छोरालाई गाली गरिरहेकी रहिछिन् । अघि मोबाइल हराउने उसैको छोरो रहेछ । मोबाइल हराएकोमा रिसाएकी । मोबाइल भेटाइसकेको सूचना दिन्छौं । अर्थ नै नबुझी शब्दको प्रयोग गर्दा कति उल्टो पर्न सक्छ, आफ्नै छोरालाई ‘हरामी’ भन्दै छिन् उनी ।

बल्ल बाग्द्वार पुग्छौं । भीड त बाक्लो नै रहेछ । पूजा मात्रै गर्नेको र धारामा नुहाउनेहरुको गरी दुई लाइन रहेछ । तीनतिर पहाड र खोंचमा धारा । धारा अगाडि केही फीटको बाटो र त्यो बाटो मुनि सानो पोखरी । र, यसको वरिपरि मेला भर्न आउनेहरुको भीड । लाइन मिलाउन बसिराखेका स्थानिय ‘भोलेन्टियर’हरुमा अलिकति पनि शिष्टता थिएन । धारा कता छ र कहाँबाट जाने अथवा कहाँ जानु हुन्छ वा जानु हुन्न भन्ने केही थाहा नपाएर अलमिलिरहेको भीडलाई ती ‘भोलियन्टिर’हरु यसरी गाली गर्दै थिए, मानौं, भीडलाई सबै कुरा थाहा थियो र थाहा भएपनि नियम मिच्दै छन् । बाटो देखाउन बसेका ‘भोलेन्टियर’हरू गाली गर्नमैं मस्त देखेर दुःख पनि लाग्यो । भोलियन्टयर हुन पाउँदा केही अधिकार त पाउने भइ नै हाल्यो र त्यो अधिकारको तुजुक देखाउन पाएर गौरवान्वित पनि थिए ।
हामीलाई हतारो छैन । तत्काल भीडतिर लाग्दैनौं । माथि डीलमा चढ्छौं र तल भीड हेर्छाैं। डीलमा बसेर भीड हेर्नेहरुको भीड त्यहाँ अलग्गै छ । हामी त्यही भीडमा हुल्छौं । क्यामेराबाट भीडको दृष्यहरुलाई धमाधम उतार्छाैं पनि। त्यहीं गफ गरेर बसिरहेको बखत हामी नजिकै एक बोतल पानी आइपुग्छ, धारामा थापेर ल्याएको रहेछ । लाइनमा बसेर जान नचाहेको वा नसकेकाले एक जनामात्रै गएर पानी ल्याएको रहेछ । र, त्यो पानी त्यहीं टाउको टाउकोमा पर्ने गरी छर्कियो । भनें– ‘‘लौं, हामी पनि बाग्द्वारमा पुग्यौं र नुहायौं, होइन त ?’’
सबै गललल हाँस्छन् ।
एक घन्टा जति त्यहाँ बसे हौंला, पछि बाग्द्वारको धारालाई नजिकबाट फोटो खिच्ने अभिप्रायले तल झर्छाैं । एउटा भोलेन्टियर’लाई फोटो मात्रै खिच्ने र फर्किहाल्ने भनेर मनाउन सफल भएको तर अरु ‘भोलेन्टियर’हरु मान्दै मानेनन् । अलिबेर कराउन थालेपछि बल्ल भित्र पस्न दिए। एउटा धारा, त्यही थियो बागमतीको मुहान । अरु बेला पहाडबाट मूल फुटेर आइरहेकोलाई बाघआकृतिको ढुंगाको धाराबाट बगाइराखेको हुन्छ भने त्यस दिनमात्र पित्तलको धारा जडान गरिन्छ । वास्तवमा यो वाक् सँग सम्बन्धित थियो । वाक् नै अपभ्रंश भएर बाग् बन्यो । बाग् को कुनै अर्थ लाग्दैन, बरू त्यसलाई बाघ भनेर बुझ्न थालियो । यही बुझाइको परिणाम हो, धारामा बाघको मुखौटा राखिनु ।
वरिपरि ढुङगाका केही कलाकृतिहरु पनि रहेछ र ती कलाकृतिहरुमाथि सामान्य दृष्टि दिन्छौं । ती कलाकृतिहरु काठमाडौंका नेवार जातिले चढाएका हुन् अथवा अन्य समुदायले काठमाडौंमा बनाउन लगाएर चढाएका हुन्, शैलीले यही भन्छ । केही वर्षअघिसम्म पनि बाग्द्वारमा काठमाडौंका नेवारहरु ठूलो मात्रामा जान्थे, बाजागाजासहित । तर अचेल पातलिन थालेको छ र गएका नेवारहरुलाई पनि अन्य समुदायले छोप्न थालेको छ ।
अघिल्लो दिन नै पुगी वास बस्न जानेहरु कहाँ बस्छन् त ? धारा वरिपरि वास वस्ने ठाउँ त देखिन्न । धाराभन्दा अलि माथि उत्तरतिरको पहाडमा चढेपछि अर्को ठाउँ पनि रहेछ, सम्म परेको । त्यहीँ वास बस्दा रहेछन् । त्यहाँ गुम्बा पनि एउटा बनेको रहेछ । त्यहाँ वरिपरि सानो बजार लागेको रहेछ त्यो दिन । बाग्द्वार मात्रै जानेहरु धारामा नुहाएर वा मुख मात्रै घोएर फर्कदारहेछन् । हामी पनि यत्तिमै फर्कने योजनामा थियौं तर शिवपुरी हुँदै विष्णुपादुका (विष्णुमतीको मुहान) भएर फर्कने हिसावले झन् झन् उक्लदै जान्छौं ।
लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np




