इचंगु हुँदै बतासे डाँडासम्म

इचंगु हुँदै बतासे डाँडासम्म
बसन्त महर्जन

काठमाडौंभित्रै कतै घुम्न जाने योजना अचानक स्थगित भयो । वंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण आएको झरीले रोकेको हो । घुम्न मन पराउने म, घुम्न नपाएर भएको थकथकी यतिकै थियो । अझ यही कारण दुई दिन घरमा थुनिनु पर्दा कम्ती अपशोच थिएन । अघिल्लो दिन ‘वेदर फोरकास्ट’ले शनिवार झरी नपर्ने र घाम लाग्ने भनेपछि मन फुरुङ्ग भएको थियो । घुम्न जाने योजना फेरि बन्यो । तर विहानको छाँटकाँट त्यस्तो देखिएन । आकाश उस्तै छ । सिमसिमे पानीले जिस्क्याइरह्यो । असमन्जसमा पर्छु । समाचार आउँछ, झरी नै पर्दैन, दिनभर यस्तै हुने हो ।

एक साथीलाई फोन सम्पर्क गर्छु । आजको दिन कतै घुम्न जाने हो भने काठमाडौंको चार नारायणमध्ये कतै एक ठाउँमा जानु पर्ने विचार व्यक्त गर्छन् । ‘आज के हो र ?’ ‘आज हरिबोधनी एकादशी हो ।’ अहो, हरिशयन एकादशीमा निदाएको नारायण आजको दिन ब्युँझने विश्वास हिन्दू धर्मावलम्बीमा छ । उसो भए कुन नारायणकोमा जाने त ?’ चार नारायणको तात्पर्य चाँगुनारायण, विशंखुनारायण, शेषनारायण र इचंगुनारायण । मित्रको बिहानी कार्यक्रम अन्तै तय भइसकेकाले हामीलाई पायक पर्ने इचंगुनारायण भयो । अर्को मित्रलाई सम्पर्क गर्छु त उही मौसमकै प्रश्न बन्छ । झरी नपर्ने र सिमेसिमे पानी मात्रै पर्ने भनेपछि कुनै समस्या नै भएन । त्यस्तै परे छाता ओढ्ने र हुँदै भएन भने स्थगन गरेर फर्कने त छँदैछ । घुम्न जाने कुरा हो, कुनै जागीर त होइन नि । साथी राजी भए ।

स्वयम्भूको पश्चिम बुद्ध पार्कतिर जम्मा हुने तय भयो ।

भनेको समयभन्दा केही अघि पुग्छु, मोबाइल फोनमा सम्पर्क गर्छु । पहिलो साथी आउन नसक्ने भइसकेको रहेछ । दोस्रो साथीसँग अघि भर्खर मात्रै सम्पर्क भएको, हिड्दै आइरहेको जानकारी दिइसकेको थियो । पर्खनु पर्ने भयो । पर्खाइकै क्रममा अलि यताउता गर्छु र फोटोग्राफीमा अलि अलमलिन्छु । तर पनि साथी आइपुग्दैन । न फोन नै आउँछ । अघि नै स्वयम्भू क्षेत्रमा पुगिसकें भनेको मान्छे किन यति बेर लगाउँछ ? कहाँ पुग्यो भनेर सोध्न फोन सम्पर्क गर्छु, पार्कभित्र पसेर एक्लै घुमेर बसिरहेको पो रहेछ । मेलामा आउनेहरुको स्वागत गरिएको द्वारबाट भित्र पस्दा बा¥ह बजेको रहेछ ।

इचंगु क्षेत्रमा पहिलो पल्ट पुगेको सम्झना त छ, तर ठ्याक्कै कति वर्षअघि भन्न सकिनँ । त्यस यता पनि पटक पटक पुगेको छु । हरिबोधनी एकादशीकै दिन पुगेको भने पहिलो पल्ट यही हो । नागार्जुन नगरपालिकाले यो दिनको मेलालाई कति महत्व दिएको छ भने, नगरपालिकाभर यो दिन सार्वजनिक विदा नै दिने गरेको छ ।

पहिले यो बाटो निकै साँघुरो थियो । बुङ्बुङ धुलो उड्थ्यो । अहिले ? अहिले त फराकिलो बाटो मात्रै होइन, पीच पनि गरेको छ । पहिला बाटोमा हिड्ने मान्छे गन्न सकिन्थ्यो । अहिले ? अहिले त हिड्ने मान्छे मात्रै होइन, गुड्ने मान्छेहरु पनि अचाक्ली नै बढेको छ । बायाँतिर हरियो डाँडा अनि दायाँ अलि पर गुजमुच्च परेका घरहरुको जंगल दिनपर दिन बाक्लिँदो छ । बोल्छु, ‘‘तेइस वर्षअघि, माथि डाँडामा गर्लफ्रेण्डको फोटो खिच्दा पृष्ठभूमिमा रहेको यो ठाउँमा यति घरहरु नै थिएन ।’’
स्वाभाविक कुरा भएर होला, मित्रले कुनै जवाफ दिन आवश्यक थानेनन् ।

हामी अनेक विषयमा कुरा गर्दै र पाइला चाल्दै अगाडि बढ्दै गछौं । एक ठाउँमा पुग्दा गुजमुच्च घरहरु बीच एउटा ठूलो गुम्बाको फोटो खिचुन्जेल मित्र अगाडि बढ्छ । घुमाउरो पीच बाटो छाडेर खुड्किला चढ्न लागेको रहेछ । ठिकै छ । म पनि त्यही खुड्किला चढ्न पुग्छु । यो खुड्किला उक्लिन सकेपछि हलचोलको भैरव मन्दिर आउँछ । यता अलमलिएनौं, सरासर अगाडि बढ्छौं ।

हलचोकमा नयाँ नयाँ घरहरु थुप्रै बढेछ । पहिला ससाना र कच्ची इँटाले बनेकाहरु हुन्थे । नेवार वस्ती नै भएपनि नेवार कलाको पर्याय बनेका वास्तुकलाले युक्त थिएन । आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य दृष्टिले यो पिछडिएका कारण यस्तो भएको हुनसक्छ ।

हलचोक तथा हलचोल यता इचंगु क्षेत्रलाई म अलि गम्भीर भएर पढ्न खोज्छु, सँधै । यो मात्रै होइन, म मुख्य काठमाडौं उपत्यका भनिएको वस्ती वरिपरका अलि उँचो भाग सबै मेरो चासोको विषय हो । राजा हरिदत्त वर्माले काठमाडौं उपत्यकाका चारै तिर चार नारायणको स्थापना गरेको भनिन्छ, यी लिच्छवि नभएर वर्मा राजा हुन् । किराँतलाई विस्थापित गरेर लिच्छविहरुले राज्यसत्ता हत्याएको भनिएको इतिहासको पाठ यी वर्माहरुको उपस्थितिले खण्डन गर्दछ । राजा जय वर्माको भव्य मूर्ति र मूर्तिको पादपीठमा रहेको अभिलेखले यसको प्रमाणित गर्दछ । यस अर्थमा लिच्छवि र किराँतबीच वर्मा देखिएको मात्रै होइन, वर्मा राजाहरु वैष्णव धर्मका पक्षपाती थिए भनेर पनि जानिन्छ । विशेष चासो ऐतिहासिक काल नभएर आद्यइतिहासलाई खोतल्ने हो । नेपालमा ऐतिहासिक कालका सम्बन्धमा पर्याप्त भइनसकेको अवस्थामा आद्यइतिहास खोज्दै हिड्नु अलि अव्यावहारिक हुन पनि हो । अझ भनुँ, यो क्षेत्र प्राग्इतिहास खोज्नका लागि पनि उपयुक्त ठाउँ हो ।

जति जति अगाडि बढ्छौं मेला भर्न जानेहरुको चलहपहल अझ बढी देख्न पुग्छौं । मन्दिरको प्रवेशद्वारमै पुग्दा छिर्नै पो नसकिने हो कि जस्तो लागेको थियो तर त्यस्तो होइन रहेछ । मन्दिरको प्राङ्गणभित्र पस्छौं र अलि थाकेको हुँदा दक्षिणी मोहडाको सत्तलभित्र पस्छौं । त्यहाँ एउटा खाली मेचमा साथी थचक्क बस्छन् । त्यहाँ एक छेउमा भजन कृतन चलिरहेको छ । र, महिलाहरुको नाच पनि चलिरहेको छ । एक छिन नाच हे¥यौं । क्यामेरा झिकेर अलि फोटो खिच्न थाल्छु । नाच सकिन्छ । मन्दिर र भीड आउने गरी फोटो खिच्छु तर चित्त बुझ्दैन । सत्तलको माथि कौसीमा गएर पनि खिच्छु । तल आएर पनि अलि फोटो खिचेरै बस्छु । मन्दिर परिसरभित्रै साथी बोल्छन्, ‘‘श्रीमतिको साथी भेट भएको, साथीसँग आएको भन्दा को साथी भनेर सोध्यो, शंका गरेर घरमा खबर गर्ला भनेर उ त्यही साथी हो भनेर तिमीलाई देखाइ दिएँ । नत्र घरमा कोसँग घुम्न गएको भनेर सोधेर हैरानै पाथ्र्यो होला ।’’

मन्दिर परिसरबाट बाहिर निस्कँदा एक बजेछ । एक घन्टा मात्रै बितेको रहेछ । चाँगुनारायण मन्दिरबाट अझ अगाडि जाने बाटो छ । यो बाटो भएर पनि केही वर्षअगाडि बतासे डाँडा पुगेको छु । पहिला जस्तै हिड्ने गरी आएका हौं ।
अलि अगाडि, उकालो लागेपछि शंका लाग्छ । बाटो त धेरै बिग्रेको रहेछ । सँगै पसलमा सोध्छु त कुरा मिल्छ, यही बाटो हो । गुड्न मात्रै नमिल्ने रहेछ, हिड्न भने समस्या छैन । पहिला यही बाटो हो, गुड्न नि हुन्थ्यो । बाटोले त काँचुली नै फेरिसकेको रहेछ । अलि अगाडि बढेपछि बुझ्छु, गुड्ने साधन यहाँ ल्याउनै नसक्ने गरी बाटो बिग्रेपछि परिवर्तन आएको रहेछ । अझ अलि अगाडि बढेपछि तलबाट एउटा पीच बाटो माथितिर उकालिरहेको भेटाउँछौं । हामी माथितिर नै लाग्छौं । र, केही बेरमा बतासे डाँडा आइपुग्छ । शीत झरिरहेको छ । बतासे डाँडा भनेपछि हावाको के कुरा ? प्रचण्ड गर्मीमै चीसो हावा बहने ठाउँमा आकास नै उघ्रिसकेको छैन । अलि माथि गएपछि टुप्पोमा पुग्ने हो । टुप्पोमा जाने हिम्मत गर्न सकेनौं । बतासे डाँडाबाट पश्चिम छेउको दक्षिणतिर अलि अप्ठेरो बाटो झरेर दुई पल्ट भीमढुंगा पुगेको छु । यस पल्ट त्यो बाटो हिड्ने मन भएन । बतासे डाँडाबाट सोझै पूर्वतिर पनि झर्ने बाटो छ । टुप्पोमै नपुगेपछि त्यो बाटो समाउने कुरै भएन । अनि हिडेको बाटो नै फर्कन्छौं । पीचबाटो समातेर झ¥याझ¥यै गर्छौं । ह्वाइट गुम्बा पुग्छौं, त्यहाँबाट पनि अगाडि बढ्दै सीतापाइला पुग्छौं र साथीसँग छुट्टिन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *