सुन्दरीजल जान चढेको गाडी सुन्दरीजल डाँडाको फेदैमा रहेको बसपार्कमा रोक्दा विहानको एघार बजेर त्यस्तै पाँच मिनेट मात्रै हुँदो होला । फर्कंदा कतिबजेसम्म गाडी पाइन्छ भनेर सोध्न भुलिँनं । बेलुका साढे पाँच बजे अन्तिम गाडी हुने जनाउ पायौं । बसपार्कको उत्तरतिर एउटा बाटो सोझिएको छ, सुन्दरजल जाने बाटो उही हो भनेर सोधिराख्नु परेन किनभने त्यतै जाने मान्छेहरूको लस्कर सोझिरहेको थियो । हामी, अर्थात् साथी त्रिचन्द्र र म पनि त्यही बाटो सोझियौं । सुरुमै नेपाल विद्युत प्राधिकरणको कार्यालय आयो, सुन्दरी जलको पानीबाट यहाँ विद्युत उत्पादन हुन्छ र काठमाडौंमा वितरण गरिन्छ । यो नेपालको दोस्रो जलविद्युत हो । यहाँ अलमलिनु छैन । सरासर अगाडि बढियो ।
हाइस्कूल पढ्दाको बेला हो, हाम्रो पाठ्यपुस्तकमा एउटा निबन्ध पढ्नु पर्दथ्यो, सुन्दरीजलको । निबन्ध पढ्दै, आहा, कस्तो रमाइलो हुँदो हो भन्ने लागेको थियो । तर जान पाएको भने होइन । उ बेला स्कूलबाट विभिन्न ठाउँमा पिकनिक लाने गरिन्थ्यो । कहिले लाने, कहाँ लाने भन्ने कुरा शिक्षकहरूको तजबिजमा हुन्थ्यो । अझ हाम्रो स्कूलमा त पिकनिक लाने भन्ने कुरा मात्र हुन्थ्यो, कहाँ लाने भन्ने कु्रा गोप्य नै राखिन्थ्यो । आधा बाटो पुगेपछि मात्रै थाहा हुन्थ्यो आफूहरूलाई कुन ठाउँमा लाँदैछन् भन्ने कुरा । सुन्दरीजलमा अरु अरुलाई लगेपनि हामीलाई भने कहिल्यै लगिएन । पछि जान्छु जान्छु भन्दाभन्दै बल्ल आज यहाँ पुगियो । आज, अर्थात् वैशाखको दोस्रो शनिवार, २०८० ।
त्यस्तै आठफीट जतिको बाटो, बायाँ घरको लहर र दायाँ सुन्दरीजलको पोखरीबाट पानी झारिएको पाइप ठुलो पाइप रहेछ । पाइपमा हरियो इनामेल लगाइएको छ । यहाँ यस्तो ठुलो पाइप रहेको भन्ने त सुनिएको, त्यही पाइपको पानी काठमाडौंमा पिउनका लागि वितरण गरिने थाहा छ । पाइप छोएर हेरें चिसो रहेछ । दायाँ नदी पनि बगिरहेको छ ।
अलि उकालो लाग्दै अगाडि बढेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा आइपुग्यो । यो ठाउँको नाम कोटयुम रहेछ । यहाँ एक सय रूपैयाँको टिकट काटुनु पर्छ अनिमात्रै भित्र छिर्न दिइन्छ । नाम, ठेगाना र मोबाइल नम्बर पनि टिपाउनु पर्ने रहेछ । पछाडि बोकेको व्यागमा के के छ भनेर सोधेको प्रश्नको जवाफ दिन्छु, पानी छ, चाउचाउ छ, फलफूल छ । चाउचाउ खाइसकेपछि प्याकेट त्यहाँ फाल्न नहुने र साथमा बोकेर ल्याउनु पर्ने कुरा सम्झाए ।
फेरि सोधिन्छ, ‘‘जाँडरक्सी केही छ कि ?’’ जवाफ दिन्छु, छैन । फेरि सोध्छ, ‘‘चुरोट, सलाईँ अथवा लाइटर छ कि छैन ?’’ जवाफ दिन्छु, ‘‘छैन ।’’
एक एक सय जाने टिकटको पछाडि निकुञ्जभित्र निषेध गरिएका कुराहरूको फेहरिस्त दिइएको । अनुमति बिनाको प्रवेश र निकुञ्जभित्र फोहोर गर्न पाइँदैन । निकुञ्जभित्र आगोजन्य पदार्थ लैजान, आगो बाल्न र खाना पकाउन नपाइने रहेछ । यसरी नै सूर्यास्तदेखि सूर्योदयसम्म प्रवेश गर्न पाइँदैन । निकुञ्ज क्षेत्रभित्र हर्न, रेडियो, क्यासेट, स्पिकर बजाउन, होहल्ला गर्न गाँजा, चुरोट जस्ता धुम्रपान र जाँडरक्सीजस्ता पेयपदार्थ सेवन गर्न पाइँदैन । यसरी नै कुनै वन, वनस्पतिको फूल, पात, डाँठ तथा हाँगा, वन्यजन्तु र तिनका अङगप्रत्यङ्ग संकलन गर्न पाइँदैन । अनुमतिपत्र लिएर निकुञ्ज भित्र प्रवेश गरी फिर्ता भएपछि पुनः निकुञ्ज प्रवेश गर्नुपर्ने भएमा अर्को अनुमति पत्र लिनु पर्ने रहेछ । निकुञ्ज क्षेत्रभित्र घरपालुवा जनावर तथा पंक्षी लैजान र काट्न पाइँदैन ।
तर निकुन्जबाहिर पसलहरूमा चिसो पेयपदार्थहरूसँगै बोटलमा जाँड भरेर बेचिराखेको देखिन्छ । निकुञ्जभित्र पसलहरू खोलिएका छन् । ती पसलहरूमा यस्सो आँखा डुलाउँछु, त्यहाँ चुरोट बेच्नलाई राखिएको छ । नियम त लेख्नलाई मात्र रहेछ ।
दायाँ खानेपानीको पाइप र त्यसपछि त्यत्ति धेरै पानी नभएको खोला हेर्दै अगाडि बढ्दै जान्छौं । खुडकिलाहरू आउँछ, त्यो पनि चढ्न थाल्छौं । एक ठाउँमा दायाँतिर ठूलो ढुंगाको कापीबाट पानी निस्किरहेको छ । त्रिचन्द्र त्यो पानीले मुख धुन थाल्छ । पछि अन्जुलीमा थापेर गरेर पिउन पनि थाल्छ । त्यहाँबाट यस्सो अगाडि बढेको मात्रै हो, सानो ओडार देख्छु । यस्सो नियालेर हेरेको, छाछाहरू देख्छु । छाछा तिब्बती शब्द हो । माटो निर्मित ससाना स्तूप आकारका बनावटहरू निदान गरी स्तूप बनाउने पनि गरिन्छ वा यस्तै ठाउँमा चढाउने पनि गरिन्छ । एक ठाउँमा आइपुगेपछि केही युवतीहरूको भीड नै देख्छौं । ती एउटै समूहका भने होइनन् । फर्कने तरखर गरिरहेकाहरूमध्येबाट एक युवती असन्तुष्टि पोख्दैछिन्, ‘‘यहीँबाट फर्कने पो भन्छ, अलि माथि जानपाए पो …. ।’’
बायाँतिर पहरामा पानी झरिरहेको छ । पन्द्र बीस जनाजति त्यतैतिर पानीमा खेलिरहेका छन् । कोही फोटो खिचिरहेका त कोही भिडियो बनाइरहेका । हामी सरासर उक्लिन्छौं । ठाडै उकालो आयो । घुमाउरो पनि । तर पूरै उकालोमा कंक्रिटको सिँढ िबनाएको फलामको बार लगाइएको छ । यो सुविधाजनक त हो तर वातावरण मैत्रीभने होइन ।
माथि कहाँसम्म जाने, कताबाट फर्कने कुनै निश्चित टुंगो थिएन । जानकारले दिएको सुझावमा ठाउँको नाममात्रै थियो । यसमा लेखिएको छ, सु्न्दरीजलबाट विभिन्न ठाउँमा हाईकिङ गर्न सकिन्छ । लामो रुट भए अलि भाइरल भइरहेको धाप ड्याम, अरु चाहीँ तारेभिर बुढानिलकण्ठ, ओर्खेनी गाउँ । माथिल्लो मूलखर्कसम्म गएर फर्कने र अर्को कागेश्वरी हुँदै गागलफेदी वा आलोपोट पुग्ने ।
एक ठाउँमा आइपुग्दा पहरा दिइरहेको सैनिक देख्छौं । सैनिकको कार्यालय नै रहेछ । टिकट खोज्छ, देखाउँछौं । अघि प्रवेशद्वारमा नै एक सैनिकले अलिकति च्यातिदिएको थियो । यहाँको सैनिकले फेरि च्यातिदियो । यस्तै रहेछ । उनै सैनिकसँग ती ठाउँहरूका बारेमा बुझ्छौं । सुन्दरीजल त छाडेर माथि आइसकेका रहेछौं । हामी पहिला मूलखर्क लाग्ने, त्यहाँबाट फर्केर कागेश्वरी हुँदै गागलफेदी भएर फर्कने योजना बनाउँछौं र थोरै पाइला हिडेपछि दुई मन्दिरको सूचना पाटी देख्छौं । तर दुबै मन्दिर नगई सोझै अगाडि बढ्छौं । बढ्छौं के, झर्छौ । त्यहाँ पोखरी रहेछ । सु्न्दरीजलको पानी पोखरी भनेको यही रहेछ ।
पोखरी नाघेर गएपछि उकालो आउँछ, त्यो उकालो लागेपछि मोटर गुड्ने चौडा बाटो आयो । अब कता जाने ? सोध्नलाई कोही छैन । यस्सो गनेको, पाँच वटा बाटो देख्यौं । अलि पर रहेको होटेल पसलमा गएर सोध्दा थाहा हुन्छ, त्यहीँ भ¥याङ चढेर मूलखर्कतिर जाने रहेछ । र, देख्छौं, कुन ठाउँ कतातिर जाने भनेर लेखिएका संकेत पाटीहरू टन्नै रहेछ । त्यही होटेलमा देख्छौं त्यस्तै पच्चीस तीस जना जतिको विदेशी पर्यटकहरू । एक छेउमा तिनका भरियाहरू पर्खेर बसिरहेका । भरियाहरूसँग केही सोध्छु त, म चौकन्ना भएँ । चौकन्ना हुनुको कारण हो, गोसाईकुण्डबाट सुन्दरीजलमा आइपुग्ने बाटो यही रहेछ । उनीहरू काठमाडौंबाट स्याफ्रु पुगेर त्यहाँबाट लाङटाङ, क्यान्जिन हुँदै गोसाईकुन्ड पुगेको र चार दिनअघि गोसाईकुन्डबाट हिडेर भर्खर यहाँ आइपुगेका । केही दिनपछि नै गोसाईकुन्ड जाने तरखर गरिरहेको म त्यहाँको बारेमा नसोध्ने त कुरै भएन । ‘कुण्डको हिउँ पग्लिएको भएपनि वरिपरि एक फिट जतिको हिउँ बाँकी छ ।’ त्यस्तै बा¥ह ते¥ह वर्षको भरिया बाबु ठुलाको कुरा काट्दै बोल्छ, ‘कहाँ एक फिटको हुनु, यहाँ यहाँसम्म पुगेको भनेर देखाएको करीब कम्मरभन्दा अलि मुनि’ मात्रै, अर्थात् अढाई फीट जति । ठुलाले अलि हप्काएजस्तो वा व्यङ्ग्य गरेजस्तो गरी भन्छ, ‘‘तँलाई खाल्डा खाल्डामा हिड्नुपर्छ, अनि त्यहाँ त्यहाँ पुग्दैन त ?’’
देखिएको पूरै उकालो मूलखर्क रहेछ । माथिसम्म जाने, त्यहाँबाट तल हेर्ने र फर्कने सोचले हामी उकालो लागिरहेको । माथि धाप ड्यामसम्मै जानेहरू हतार हतार लम्किरहेका थिए भने हामी विस्तारै हिडिरहेका । एक ठाउँमा पुग्दा त्यहीँको एक महिलाले अरुलाई दिइरहेको जानकारी हाम्रो कानमा ठोकिन आइपुग्छ, ‘‘अलि लामो बाटो उताबाट लाग्छ, छोटो बाटो यही हो ।’’
नजाने ठाउँको बाटो नसोध्नु भनेपछि कहिले काहीँ सोध्न मन लाग्छ, र सोध्छु, छोटो बाटो भनेको कति लाग्ने हो ?’’
जवाफ आउँछ, हामीलाई दुई घण्टा लाग्छ, तपाईँहरू त अब डेढ घन्टामा पुगिहाल्नु हुन्छ नि ।’’
हँ, डेढ घण्टामा ? उसो भए उतै जाउँ ।’’– हाम्रो मनस्थिति फेरिन्छ र धाप ड्यामतिरै लाग्ने भएर हामी पनि पाइलालाई पालतो बनाउँछौं ।
एक ठाउँमा पुग्दा अलि समथर आउँछ । एउटा ढिस्को र त्यस ढिस्कोको वरिपरि चोटो पर्खाल लगाइराखेको देख्छौं त्यही बसिरहेका दुई युवासँग यो के हो भनेर सोध्दा थाहा भयो, स्तूप बनाउन लागेको हो । त्यो ठाउँबाट पनि अघि बढ्छौं । अलि अगाडि बढेपछि दुई बाटो आउँछ, हामी दायाँतिरको बाटो लाग्छौं । जंगलको बाटो तर त्यस्तै आठ फिट जति चौडा गरी बनाएको बाटो रहेछ । कहिलेकाहीँ हुइँकिएर आउने मोटरबाइकहरूलाई बाटो छाडिदिनुपर्छ ।
निकै अगाडि बढेपछि उताबाट फर्किरहेको एक जनासँग अझ कति बाटो बाँकी छ भनेर सोध्छौं । पाँच किलोमटिर जति बाकी रहेछ । माथि धाप ड्याममा पुगेपछि फर्कनका लागि गाडी कहाँ पाइन्छ भनेर सोध्छु त सार्वजनिक यातायात नचल्ने, कोही अरुको गाडीमा लिफ्ट लिनुपर्ने पो भन्छ । त्यहाँ पुगेर यही बाटो फर्कने हो भने ढिलो भइसक्ने र निकुञ्जको गेट बन्द हुने चेतावनी त छँदैछ । त्यहाँ वास वस्ने कुनै होटेलहरू छन् कि छैनन् भनेर सोध्दा झनै तर्सिनुपर्ने गरी त्यस्तो केही कुरा नभएको जवाफ पाउँछौं । उसो भए के गर्ने त ? हामी निधो गर्छौं, छिटो छिटो जाने, अनि यही बाटो फर्कने । हाम्रो पाइलो अझ पातलो हुनथाल्छ ।
त्यस्तै एक किलोमीटर जति मात्रै अगाडि पुग्यौं होला, फेरि सोच्यौं, ड्यामबाट हिमाल देखिन्छ भनेको, आकाशको पारा हेर्दा हिमाल देखिने कुनै गुन्जाइस नै छैन । ड्यामको पानीलाई एक नजर झुलुक्क हेरेर फर्कन पनि नभ्याउने जस्तो अवस्था छ । त्यसमाथि आकास अघिदेखि गड्याङगुड्युङ कराएको कराएकै छ । घडी हेर्छौं, जस्तोसुकै हिसावकिताब गर्दा पनि वसपार्कमा अन्तिम गाडी पक्रन आधा घन्टा नपुग्ने नपुग्ने देखियो । फेरि निधो ग¥यौं, बरु अर्को पल्ट यही बाटो अलि चाँडो आउँला र ड्याम हेरेर यही बाटो फर्कैंला, आजलाई यतैबाट फर्कनु पर्छ ।
फनक्क फर्कंदा ठिक्क दुई बज्यो ।
फिर्ता हिडेको पन्द्र मिनेटजति पछि एक खुल्ला चौरमा थचक्क बसें के भनुँ, पल्टियौं । एकैछिनमा केही बेर भुसुक्क निदाउन पनि पुगेछु । निकै आराम भयो । बीस मिनेट जति त्यहाँ बिताएर पुनः बाटो लाग्छौं । अघि ढिलो होला भनी हेरेर मात्रै गएको ऐंसेलु अब निर्धक्क भएर टिपेर खान भ्याएका छौं । ठाउँ ठाउँमा फोटो पनि खिच्छौं । स्तूप निर्माण स्थलमा पुग्दा भने झण्डै बाटो बिसाएको, कता पुग्ने हो थाहा भएन । पुनः सही बाटो पक्रेर फिर्ता हुन्छौं र पोखरीमा नै पुग्छौं । हामीसँग समय छ, तसर्थ एकातर्फको मन्दिरसम्म जाने निधो गर्छौं र लाग्छौं । खोंचमा रहेछ मन्दिर । मन्दिरको नाम सुन्दरी माई रे । खुड्किलाहरू बनेकोछ, बार पनि छ । तल भइसकेपछि फलामको पुल पनि रहेछ पारी पुग्ने । माथिबाट हेर्दा साधारण नदी र केही ठुल्ठुला ढुंगामात्रै देखिएको, होइन रहेछ, ढुंगाको आकृति निकै कलात्मक रहेछ । प्राकृतिक रूपमा पानीबाट खिइएको ती ढुंगाहरू र बगिरहेको पानी आफैमा कलात्मक देखियो । त्यतै भुल्न थाल्छौं । आकास अघिको भन्दा कालो कालो हुँदै आइरहेको छ । काठमाडौंबाट एउटा फोन आउँछ र भन्छ, घनघोर पानी परिरहेको छ । अर्को साथीलाई त्यस्तै फोन आउँछ र भन्छ, भयानक पानी परिरहेको छ । त्यो ठाउँ छाडेर माथि आउँदा चार बजेर चालीस मिनेट भइसकेछ । पानीका छिटाहरू सुरुमा अलिअलि मात्रै अलि पछि त भागमभाग हुनुपर्ने अवस्था आयो । जंगल भित्र, ओत लाग्ने गतिलो ठाउँ त छँदै थिएन । थोरै तल झरेपछि सैनिकको प्रतीक्षालय छ, त्यहीं पुग्ने हिसावले अलि दौडें, तैबल्ल भिज्नु परेन ।