रुकुमलाई ‘बाउन्न पोखरी त्रिपन्न टाकुराको जिल्ला’ पनि भनिन्छ । तर कुन हिसावले त्यसो भनिएको बुझिन्न । जिल्लामा पोखरीको सङ्ख्या बाउन्नभन्दा बढी नै होला र टाकुरा पनि त्रिपन्नभन्दा बढी नै । ताललाई पोखरी भनेको हो कि ? कमल दह, छिम्पी दह, स्यार्पु ताल, सम्पे ताल, गुप्ता दह, पुपाल दह तथा सुन दह आदि प्रख्यात छ । त्यसमा पनि कमल दह अग्रपंक्तिमा पर्दछ ।
जिल्ला सदरमुकाम मुसिकोट खलङ्गादेखि १८ कोस टाढा शोभा गाउँ विकास समिति वडा नं. ३ अन्तर्गत बाउनठाडा भन्ने ठाउँमा रहेको कमल दह अति मनोरम्य र सुन्दर शान्त ठाउँ हो । दहको बीचैमा एउटा सानो मन्दिरको पनि निर्माण गरिएको छ । कमल दह रहेको क्षेत्रलाई रुकुमकोट पनि भनिन्छ । सदरकुकाम मुसिकोटमा सारिनु अघि रुकुमकोट नै सदरमुकाम थियो र गुलजार पनि । जसै सदरमुकाम सारियो, रुकुमकोट स्याप्पै सुक्यो । उति बेलाका सम्झना दिलाउने संरचनाहरू अझै पनि नभएका होइनन् तर ‘बिहे पछिको मण्डप’ जस्तै भएको छ, अथवा भनौं, एकादेशको एउटा शहरमा अचानक राक्षसहरूले भताभुङ्ग पारेर छाडेको जस्तो । तर कमल दहको प्राकृतिक सुन्दरताले भने यो ठाउँलाई ज्युँत्युँ ज्यान जोगाइराखेको जस्तो महसूस हुन्छ । हाल १.९५ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको कमल दह कुनै बेला आजको भन्दाबढी क्षेत्रफलमा रहेको बताइन्छ । दहको भू–सतह हेर्दा त्यस्तो नहोला भन्न पनि सकिन्न । दह कति गहिरो छ भन्ने सम्बन्धमा भने नाप्ने काम भएको छैन । एक पल्ट यसको गहिराई नाप्ने काम गर्दा अनिष्ट भएको थियो रे । त्यसपछि नाप्ने हिम्मत कसैले नगरेको बुझिन्छ । दहको पानी घट्दा माथि उठेको केही भाग जमीन अहिले चौरमा परिणत भएको छ ।
रुकुमकोट पर्यटकहरूका लागि एउटा गन्तव्य पनि हो । यही दह हेर्न र मनोरञ्जन लिन कै लागि पनि मान्छेहरू यहाँ पुग्ने गर्दछन् । पूर्व पश्चिम लाम्चिएको र उत्तरमा पाखा रहेको यो दृश्य हेर्दै एकान्तताको अनुभूति गर्न पाइन्छ । यस क्षेत्रमा यो एउटै मात्र आकर्षकणको थलो होइन । कमल दहबाट केही तल जाने हो भने छिम्पि दह आउँछ तर यो अलि सानो दह हो । दहको किनारैमा एउटा बजारकै विकास भएको छ । यस्तै वरिपरि अनेकौं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरू पनि त्यहाँ रहेका छन् । मगर समुदायको बाहुल्य रहेको यस जिल्लामा रुकुमकाटे त अनेकौं जातजातिको संगमस्थल नै भन्दा हुन्छ । खाम मगरहरूको सामाजिक तथा साँस्कृतिक जीवन हेर्न उपयुक्त स्थलहरू यस रुकुमकोटभन्दा नजिक नजिकका गाउँहरू हुन् । रुकुमकोट र यस वरिपरिका अनेक स्थलहरूलाई समेटेर यात्रा गर्ने हो भने यात्राका अनेकौं गन्तव्यहरूमा एउटा यो पनि हुनेमा शंका छैन ।
दहमा नुहाउँदा पाप पनि पखालिन्छ भन्ने विश्वासले डोल्पा, जाजरकोट, बाग्लुङ, पर्वत, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि मान्छेहरू आउने गरेका छन् । माघे संक्रान्तीमा त तीर्थयात्रीहरूको भीड नै लाग्ने गर्दछ । यस पोखरीमा नुहाए कुष्ट रोगको पनि निदान हुन सक्ने कुरामा विश्वास र आस्था मात्र नभई वैज्ञानिकता पनि निहित हुनसक्ने आधारहरू नभएका चाहिं होइनन् तर कुष्ट रोगबाट को कति मुक्त भए त भन्ने सम्वन्धमा ठोस जवाफ पाइन्न । सुन्दर र अनुपम यस दहसँग किम्बदन्तीहरू पनि जोडिएका छन् ।
दहको नामै कमल दह, यहाँ प्रसस्त मात्रामा कमल फुल्दछन् । नेपाल भरमा सबैभन्दा राम्रो कमलको फूल यहीं पाइन्छ भन्ने धारणा यस क्षेत्रका वासिन्दाहरूको छ । कमलको जरा स्थानीय वासिन्दाले अचारको रुपमा प्रयोग गर्ने गर्छन् भने गेडा कमलपित्तका लागि औषधिका रुपमा प्रयोग हुने गरेको पाइन्छ । आयुर्वेदीय महत्वले पनि पोखरी महत्वपूर्ण छ ।