चैत्र पूर्णिमाको दिन । अनेकौं सांस्कृतिक सन्दर्भहरू यसै दिन किन पर्छ ? छलफलको बेग्लै विषय हो, पछि गर्दैगरौंला । यो दिन काठमाडौंका नेवारहरू जामाचो चढ्छन् ।
म कीर्तिपुरे नेवार, यो दिन होइन, वैशाख संक्रान्तिका दिन धिनाचो चढ्ने समाजको सदस्य । धिनाचो चढ्ने समाजको सदस्य भएर होला, जामाचोको नाम सुनेको मात्रै, चढिसकेकाहरूको बयानले जीउ सिरिङ्ग हुन्थ्यो । यो बयानअनुसार धिनाचोभन्दा जामाचो अलि होइन, निकै नै कठिन हुँदो हो भन्ने कुरा सुनेर त लागेको थियो, पहिलो पल्ट चढ्दा पक्का नै भयो । तर फेरि फेरि चढुँचढुँ जस्तो लाग्छ र चढेको छु । २०७९ को चैत्र पूर्णिमाको दिन तेस्रो पल्ट जामाचो चढ्ने सोच अलि अगाडि नै बनाएको हो । यही भएर बिहान सातै बजे बालाजु चोकमा पुगियो ।
मोटरबाट बालाजु पुग्दा रिङरोडको बाटो छेवैमा उत्तरतिर ठुलो स्वागत द्वार उठाएको छ र त्यसमा बाइसधारा मेला र जामाचो जानेहरूलाई स्वागत भनेर लेखिएको छ । त्यहाँ स्वागत त गरिएको छ तर माहौल अलि बेग्लै देखियो । गाइँगुई सुन्दा ठुलै विरोध प्रदर्शन हुन लागेको वा दंगाफसादका लागि तम्तयारीे देखियो । आँधीबेहरी अघिको सन्नाटाजस्तो अवस्थालाई चिर्दै एउटा गाडी आउँछ र माइकिङ गर्दै चेतावती दिएर गयो । गाडी काठमाडौं महानगरको हो । बाटो छेउछाउमा कुनै पनि पसल वा केही गर्न नपाइने सूचना जारी गर्दै कथंकदाचित पसला थापेमा जफत गरिने र जफत गरिएका सामानहरू फिर्ता नदिई लिलाम गरिने कुरा थियो । यस्तो सूचना अघि पनि जारी भइसकेको होला र त सडकमा पसल थाप्नेहरू मु्र्मुरिरहेका । उनीहरू सामान त लिएर आएका तर थापिनसकेको अवस्थामा छ । थिए । नगर प्रहरीहरू ओहोर दोहोर गरिरहेका छन् भने उनीहरूलाई हेर्दै सडक व्यापारीहरू मेयरलाई सत्तो सरापेर बसिरहेका छन् ।
नेवारहरू चैत्र पूणिमाको दिनलाई ‘ल्हुति पुन्हि’ भन्दछन् । ल्हुुति ठाउँको नाम हो । यो दिन यहाँ ठुलै मेला लाग्ने भएर त्यसैको नामबाट ल्हुति पुन्हि भनिएको हो । ल्हुुति नामलाई परिवर्तन गरेर अचेल बालाजु बनाइएको छ । यही भएर बालाजु मेला वा बाइसधारा मेला पनि भनिन्छ । पहिला यहाँ एकाइस वटा धारा थियो, राजा रणबहादुर शाहले एक धारा थपिदिएपछि बाइस वटा पुुग्यो र बाइसधारा मेला भन्न थालियो । बालाजु मेला भनूून वा बाइसधारा मेला, त्यसमा ऐतिहासिक तथा सांस्कृतिक छनक पाउँदिन । तर वाह्य प्रभाव बढेसँगै यहाँका मौलिक नाम तथा सांस्कृतिक गतिविधिले चोला फेर्दै गएको छ । यही मेलालाई लक्षित गरी पसल थाप्न लागिएको हो ।
आफ्नो पाइला सुस्तरी सुस्तरी बढाउँदै गइरहन्छु । सँगै जाने साथी त्रिचन्द्र र अजितेश बाटोमा आउँदै गरेका कारण मलाई हतारिनु छैन । बाइसधारा मेला स्थलको द्वारमा पुग्छु । मलाई यहाँ जानुछैन । यसको अगाडि एउटा सानो मन्दिर छ । मन्दिर अगाडि एउटा खत राखिएको छ । खतभित्र कुनै मूर्ति हालिसकेको छैन, खाली नै छ । तर त्यसमा गणेशको मूर्ति राखिने कुरा खतको पछाडि गणेशको आकृति कुँदिएकोबाट थाहा हुन्छ । नेवार समाजमा खतजात्रा ज्यादै लोकप्रिय छ अनि प्रायः खतजात्राको तौरतरिका एउटै हुन्छ । त्यहाँबाट पनि अगाडि बढ्छु र बालाजु बाइपास हुँदै फूलवारी गेटतिर लम्कन्छु । चामाचो पर्वत नागार्जुन शिवपुरी राष्ट्रिय निकुन्जअन्तर्गत पर्दछ र यहाँ जाने प्रवेशद्वार यही फूलवारी गेट हो । अरु बेला भए यहाँबाट भित्र पस्नेले एक सय रूपैयाको टिकट काट्नुपर्दथ्यो तर आजको दिन छूट रहेछ । सवारी साधनसहित जानेलाई भने सवारीको टिकट काट्नुपर्दछ । जामाचो चढ्नेहरूको भीड लागि रहेको छ । भित्र जान सबैले आआफ्नो व्याग जाँच गराउनु पर्छ । यसका लागि लाइनमा उभ्याइएको छ, लाइन निकै लामो भइसकेको थियो । तर मलाई कुर्न छ । एक छेउमा बसेर कुर्छु ।
फोन आउँछ र साथीहरू पुुगेको जनाउ दिन्छ । यति चाँडै ? तर कतै देखिन । चारैतिर आँखा दौडाउँछु, अहँ, देख्दै देखिनँ ।
कहाँ छौ भनेर सोध्छु, बाटोमा भन्छ । म पनि त बीच बाटोमै छु । देख्दिनँ । बीच बाटोमा सेतो रंगको एउटा सानो गाडी रोकिएको छ, आफू त्यससँगै छु भनेर जानकारी दिन्छु । उता साथीले पनि त्यही गाडीसँग आफूहरू पनि भएको र मलाई नदेखेको जनाउ दिन्छ । टिकट काउन्टरमा आउ भन्छु । पुुगें भन्छ, तर साथीलाई देख्दिन । म हैरान हुन्छु । भित्र जान लाइनमा बसेर जानुुपर्छ, लाइनमा बस्न भन्छु, बसें भन्छ । लाइनमा पनि देखिनँ । भित्रै पसिसकें भनेपछि शंका लाग्यो । भन्छु, यहाँ यत्रो लाइन छ, यति छिटै कसरी भित्र पसिन्छ ? अर्कै ठाउँमा पुुग्यो होला । त्यो बालाजु मेला होला, त्यहाँ होइन । त्यहाँबाट जामाचो जान सकिन्न । निस्केर ककनी जाने बाटो हिडेर आउनु, यहाँ अर्को भीड लागिरहेको छ ।’
उताबाट फोन आउँछ, ‘भित्र पसिसकें अब यतै एकछिन हेरेर आउँछु, पर्खेर बस्नु ।’
दश मिनेट पछि फोन गर्छु त मेलाबाट निस्केर जामाचो जानका लागि पहाड चढ्न थालिसकेको जनाउ दिन्छ । बालाजु मेला स्थलबाट माथि सानो बाटो छ, त्यही बाटो पछ्याएर माथि जान लागेको बुझ्न गाह्राे भएन । त्यो बाटो मोटर गुड्ने हो । सानोतिनो बाटो त होला तर त्यो आर्मीहरू आफू हिड्नलाई बनाएको हो । पब्लिकलाई कहाँ हिड्न दिन्छ ? यही ठाउँमा मेलामा आएकै दिन एक पल्ट म नराम्रोसँग फसिसकेको छु । जस्तो भएपनि फर्केर आउ, त्यो बाटो हुँदै होइन भन्छु । कसैले यही बाटो जाने हो पनि भनिदिएछ र कोही कोही गइरहेको र फर्किरहेको पनि देखेछ । त्यस्तै पर्यो भने आर्मीको चुटाइ खान बेर छैन । सही ठाउँको जानकारीको अभावमा यो अलमल भएको भनेर बुझें र बल्ल यसरी सुझाएँ, मेलाको लागि अघि पसेको गेटबाट निस्केर चौडाबाटोमा पुग्नु, त्यही बाटोबाट सीधा माथि आएर अस्ति बाटो चौडा गर्न घरहरू भत्काएको बालाजु बाइपासको बाटो हुँदै सीधै ककनी जाने बाटो समाउनु, यो बाटो थोरै पछ्याएपछि फूलवारी गेट आउँछ । यहीँ आउ भनें । र, पर्खेरै बसें । सबैलाई तनाब । आइपुुग्दा साढे आठ बज्यो । आठ बजे चढ्न थाल्यो योजना भएपनि अनुकुल समय भएर साढे सातै बजे चढ्ने मौका जुरेको थियो तर त्यसो हुन पाएन ।
आवश्यक चेकजाँच गराएर प्रवेशद्वारबाट छिरेको मात्रै हो, ठाडो उकालो सुरु भइहाल्यो । पहिला यो उकालोमा सिंढीहरू केही पनि थिएन । माथि चढ्नेहरूले खसाल्ने धुलो तल चढ्नेहरूलाई लाग्थ्यो । तर अहिले राम्रोसँग ढु्ंगाको सिँढी बनाइएको छ । जामाचो चढ्नेहरूलाई सुुरुमै अठ्याई दिने यो उकालो देखेर साथी त्रिचन्द्रमात्रै होइन, त्यहाँ अरुहरू पनि आँटिन थाल्यो । भनें, ‘‘यस्तो उकालो थोरै मात्र हो, अलि माथि गएपछि तेर्सो तेर्सो बाटो पनि आउँछ ।’’
बालकै भएर होला, अजितेशलाई त केही गाह्राे भएन, साथी त्रिचन्द्रलाई भने सुरुको उकालो चढ्न नै सकस भयो । रोकी रोकी हिड्नु पर्यो । र बोले, ‘‘भएको इनर्जी यो ठाउँ खोज्नमा नै खर्च भइसक्यो । अनि गाह्हो हुँदैन त ?’’
तर विस्तारै विस्तारै गरेर उकालियौं ।
एक ठाउँमा आएर बाटो छेउमा एक मान्छे आफ्ना बच्चाहरूलाई एउटा दुलो देखाइरहेका थिए । भन्दै थिए, ‘‘यहाँ जंगलमा भालुुहरू पनि हुन्छन् । यो दुलो भालूले नै गरेको हुनसक्छ ।’’
त्यत्ति नै बेला अघिदेखि आउला आउला जस्तो भइरहेको हाच्छुुयुँ आइहाल्यो ठुलै स्वरमा । भालुुले बनाएको दुुलो भनेपछि बेग्लै कल्पनामा पुुगेको बेला अनायास आएको हाँच्छ्युुँको आवाजले एक बच्चा त तर्सिहालेछ । थाकेर गल्न थालेका अरुहरूलाई यो वातावरणले अलि हँसायो पनि ।
हामी उक्लिदै गर्दा झर्नेहरू झर्न पनि थालिसकेका छन् । एक जना साथीलाई झरिरहेको देखें । साथमा रहेका दुईलाई बाहेक कोही अरु परिचितलाई देखेको यो नै पहिलो भयो । कति धेरै फेरिरहेको भने, पहिलो पल्ट यहाँ उक्लिँदा घरि घरि परिचित अनुहारहरू भेट्यौं, अब त्यो स्थिति रहेन ।
बेला बेलामा थकाई मार्दै उक्लिंदै गछौं ।
एउटा खुल्ला ठाउँ आउँछ, कुहिरो लागिरहेको भएपनि काठमाडौं उपत्यका छ्याङ्गै देखिन्छ । के खोज्ने ? खोज्न सकिन्छ । धरहरा खोज्ने कि स्वयम्भू महाचैत्यको डाँडा ? धोएर भुइँमा सुकाइरखेको पटुकी जस्तो विष्णुमति नदी हेर्ने कि ? अजितेश आफ्नो घरको लोकेश्वर खोज्न थाल्छ र घरै भेटाएको जस्तो रमाउन थाल्छ । समय दश बजेर बीस मिनेट गइसकेको छ । हामी पुनः बाटो लाग्छौं ।
एक ठाउँमा आइपुुगेपछि भोक लाग्न थाल्छ । पिठ्युँमा खाने कुरा बोकेर भोकाउँदै उकालो लाग्नु एक प्रकारको तपश्या त होला तर त्यस्तो तपश्याबाट केही लाभ नहुने मान्यता वा संस्कारमा दीक्षित हुँ आफू । अलिकति भोक मेट्ने निधो हुन्छ । बाटोमा छेउ एक समथर ठाउँ रोज्छौं । ब्याग फुुकाल्न थाल्छौं । खान्छौं । पुनः कस्सिएर उकालिन थाल्छौं ।
हामीले अलि वरै खाएका रहेछौं । अलि अगाडि बढेपछि देख्छौं बाटो छेउ छेउमा अलि खुल्ला ठाउँमा बसेर खाइरहेकाहरू । पिकनिक आएजस्तै । तिनीहरूमध्ये त धेरै जसो माथि पुगेर फर्केका रहेछन् ।
सवारी साधनमा आएकाहरू पनि माथि चुचुुरोमा नै पुुग्छन् । त्यहाँ लहरै सवारी साधनहरू पार्किङ् गरिरहेका छन् । रुखमा लुुङदर टांगिएका छन् । बौद्ध स्थलमा लुङ्दर हुनु स्वाभाविक हो, अर्थात् यही जामाचोको चुचुुरो हो । अब केही खुड्किला उक्लिनुको अर्थ, माथि पनि पुुग्यो तर हामी तलै सुस्ताउँछौं । हामी भीडभाड हुने भएर मात्रै होइन, रुखको छायाँ नपाइने भएर यहाँ नै सुस्ताएका हौं । त्यहाँको चहलपहल पनि हेर्दै गछौं । देउता चढ्ने भनिएका एक माताजीहरू पनि फर्किरहेका छन् । यस्ता माताजीहरूको ठगी धन्दाका केही घटनाहरू सुनाउन थाल्छन्, त्रिचन्द्र । देउता चढ्ने र उही देउता बोल्ने भन्ने कुरा अन्य धर्म वा विश्वासमा होला तर बौद्ध धर्मका लागि यो नितान्त रूपमा फजुल कुरा हो । केही वर्षअघि बौद्ध धर्मको प्रचारप्रसार गर्ने भनेर लागेका विदेशमा बस्ने केही नेपालीहरू बौद्ध धर्मको आधारभूत मान्यताको जानकारी बिना नै हिड्ने क्रममा लुम्बिनी पनि पुुगेछन् । त्यहाँ कतै देवता चढ्ने महिलालाई पनि भेटेछन् र उनमा अन्य देवताका साथसाथै भगवान बुद्ध पनि चढ्ने भन्दै गरेको प्रचारका क्रममा उक्त समूहसँग मेरो नराम्रोसँग बादविवाद भएको थियो ।
माथि उक्लेर स्तूप प्राङ्गणमा पुुग्छौं । त्यहाँ विश्वविद्यालय पढ्दाको एक साथीसँग भेट हुन्छ । पथप्रदर्शक हुन् उनी । एक फ्रेन्च विदूूषीलाई लिएर आइरहेको रहेछ । एलिजावेथ नाम रहेछ ती विदूषीको । चालीस वर्षअघि नै यो ठाउँमा आई सँगै रहेको सत्तलमा एक रात बिताएर गएकी ती विदूषी मेरा लागि श्रोत व्यक्ति पनि बन्न पुुगिन् । यो ठाउँमा के कति फरक आयो भन्ने कुरामा छलफल भयो । साथै मसँग केही यस्ता प्रश्नहरू छन् जसको जवाफ म खोजिरहन्छु, उनीसँग पनि सोध्न पुुग्छुु तर जवाफ पाउँदिन । बरु छक्क पर्छिन् । उनी हाल श्यामानिज्ममा लागिरहेकी छिन् । अभ्यासकर्ता नै हो कि ? होइन रहेछ । अध्ययन मात्रै । उनीबाट विदावारी भएर आचार्य पद्मसंभवको ठूलो मूर्ति रहेको विहारको बरन्डामा पुुग्छौं जहाँबाट काठमाडौंको मानववस्ती वा सहरी विस्तारलाई छर्लङ्गै देख्न पाइन्छ । काठमाडौंको भौगोलिक बनावटलाई नियाल्ने एउटा राम्रो थलो यो पनि हो ।
अजितेश बालसुुलभ प्रश्न तेर्साउँछ, ‘‘अंकल, हामी यहाँ आइरहेका छौं यो के हो ? यसको महत्व के हो ?’’
धार्मिक विवरणहरूलाई पनि इतिहासको कसीमा तौलेर मात्रै बोल्ने मलाई जामाचोको प्रसङ्गमा बोल्न गाह्राे हुन्छ । कतिलाई त यहाँको बारेमा कन्ठ नै आउँछ र आफ्नै आँखाले देखेको जस्तो खररर बताउन सक्छन् । यी विवरणहरूलाई कतिपय इतिहास नै भन्ठान्छन् । त्यति बेला उठ्ने प्रश्नलाई इतिहाससम्मत गरेर जवाफ दिन सकिन्न । अजितेशको स्वभाव मलाई थाहा छ, उनी यस्सरी प्रश्न गर्छन्, जसको पुष्टि गर्नैपर्छ । बोल्छु, ‘‘कुुराजस्तो भएपनि यसका सम्बन्धमा हालिने कथा यस्तो छ,– एक समय काठमाडौं उपत्यका ठुलो तलाउ थियो । यी अहिले घरैघर देखिएजस्तो उ बेला पानी नै पानी थियो रे । यस्तैमा विपश्वी नाम गरेका एक जना बुद्ध यो जामाचो डाँडामा आए र अकनिष्ट भुवनबाट कमलको बीउ ल्याएर विशाल तलाउमा रोपे । पछि त्यो बीउबाट एउटा कमल उम्रियो । कमल उम्रेको ठाउँ अहिलेको स्वयम्भू डाँडा हो । त्यो साधारण कमल थिएन, स्वयम्भू रश्मीले युक्त थियो । त्यो रश्मीलाई छोपेर स्वयम्भू स्तूप बनाएको रे ।’’
जामाचोबाट अलि पर निकै तल देखिन्छ, स्वयम्भू स्तूपको डाँडा । स्वाभाविक रूपमा प्रश्न तेर्सिन्छ र बालसुलभमै अजितेश प्रश्न गर्छ, ‘यहाँदेखि त्यहाँसम्म फाल्न सकिन्छ त ?’’ जवाफ दिन्छु, ‘‘मैले अघि नै भनिनँ र ? यो कथा हो भनेर । यसको सम्बन्धमा यहाँ यस्तै कथा प्रचलित छ ।’’
मान्छेहरू यति हेरिवरि फर्कन थाल्छन् । तर म एउटा एजेन्डा बोकेर गएको । यहाँ नजिकैको एउटा गुफा खोज्नु छ । एक पल्ट म यो गुफामा पुगेको पनि छु । सानो बाटोबाट अलि पर त्यस्तै पन्द्रह बीस मिनेट हिडेर गएपछि अलि भित्र जानुपर्ने हुन्छ र त्यहाँ एउटा ठुलो गुफा भेटिन्छ । गुफा भनिएपनि वास्तवमा यसको बनावट एउटा ठुलो ओडार मात्रै हो । यहाँ गुफाभित्र बुद्धको ठूलो मूर्ति छ । त्यस्तै ससाना मूर्तिहरू पनि छन् । त्यस्तै अढाई फीट जति उचाईको अमाेघसिद्धि बुद्धलाई कतिपयले नागार्जुुन भन्ठान्दा रहेछन् र उनै नागार्जुनको नाममा यो डाँडाकै नाम नागार्जुन राखिएको हो । अझ कतिपय विद्वानमा नागार्जुनकै सन्दर्भमा भ्रम रहेको पाइन्छ । माध्यमिक दर्शनका आचार्य नागार्जुन यस डाँडामा आएको भन्ने भनाई सत्य होइन । उनी यतातर्फ आएकै थिएनन् । यहाँ आउने आचार्य नागार्जुन, निकै पछिका अर्का नागार्जुन हुन् । मूर्तिहरू पुुरानै हुन् । यहाँ बिग्रेर भत्केको एउटा पाषाण चैत्यको अंश पनि एक कुनामा मिल्किएको अवस्थामा छ । लिच्छविकालको जस्तो देखिने उक्त खण्डलाई अझ नियालेर हेर्ने मेरो धोको हो । यी सबै अवयवहरूको फोटो खिचिसकेको छु । अब के कस्तो अवस्था छ भनेर पुुनः हेर्न मन लागेको मात्रै हो । तर त्यो बाटो नै कतातिर छ भनेर भुलिसकेको अवस्था हो । केहीलाई सोधें जवाफ पाइँन । यहीँ बस्ने दुुई जना आर्मीलाई यो बारे सोध्दा जुन जवाफ दियो, त्यो बेग्लै गुफाका बारेमा हो । केही अघिमात्रै पोस्टिङ भएर आएका हुुनाले सबै जानकारी नभएको बतायो । त्यहाँ अरुसँग सोधेर सहयोग गर्न खोजेको पनि हो तर कसैबाट जवाफ आएन । एउटा सानो बाटो त छ, यहाँबाट जाँदा सीतापाइलातिर निस्कन्छ । झर्न निकै हम्मेहम्मे पर्छ । यतातिर लाग्ने मेरो ध्येय छैन । गुफासम्म पुग्ने र फर्केर आउने हो । यही बाटो हो भनेपनि अलिकति होस् पुर्याउन सकेन भने निकै मलमलिने र दुःख पाउने निश्चित छ । त्यहाँ मेरो कुरा सुनेर अचम्म मान्नेहरू मात्रै पाइयो । मानौं, यहाँ त्यस्तो छँदै थिएन । तर त्यसको एउटा प्रमाण मआफै पनि हुँ । अरु नै बेला आउनुु पर्ला भनेर त्यो खोजीलाई स्थगन गरिदिन्छु ।
जामाचोमा आउनेहरूका लागि एउटा आकर्षणको कुरा यहाँ रहेको भ्यूटावर हो । जामाचो आफै एउटा भ्यूूटावर हो । यसमाथि अर्को भ्यूूटावर किन चाहियो र ? अथवा थप के कति देख्न सकिन्छ र ? तर आकर्षण छ । म कहिल्यै चढेको छैन यसमा । मेलाका बेला यहाँ प्रायः भीडभाड नै हुन्छ । भ्यूूटावरका लागि लामो लाइन नै बस्नुपर्दथ्यो । अघि आउँदा पनि लाइन निकै लामो थियो । तर अहिले यति बेला भने लाइन छैन । चढ्नेहरू पनि थिएनन् । अजितेशलाई चढ्ने हुटहुटी हुनसक्छ । चढ्ने ? भनेर सोधें । पहिलो पल्ट आफू पनि त्यसमा चढें ।
फर्केर आउँदा बाटो छेउ लागेर पुनः एक पल्ट खायौं र सवा तीन बजेसम्ममा फूलबारी गेट आइपुगियो ।