बसन्त महर्जन

काठमाडौं उपत्यकाबाट निस्कने एउटै नदी हो, वाग्मती । अनेकौं ससाना नदीहरूलाई समेटेर यो ठूलो नदी बनेको हो । वाग्मती र विष्णुमतीको उद्गमस्थल एउटै पहाड तर अलि दुरीको फरकमा हो । दुवै उद्गमस्थल अहिले घुमफिरको गन्तव्य भएको छ । जसरी वाग्मती नदीको उद्गमस्थललाई वाग्द्वार भनिन्छ, त्यसरी नै विष्णुमती नदीको उद्गमस्थललाई विष्णुद्वार भनिएको छ । यो पटक विष्णुद्वारलाई गन्तव्य बनायौं ।

काठमाडौंका दुई ठुला नदी वागमती र विष्णुमती टेकु दोभानमा भेट्छन् र वागमतीकै नाममा बग्छन् । यिनै नदीहरूबाटै म संस्कारित छु । पल्लवित छु । हाम्रा लागि विष्णुमती र वागमतीमा पानी बग्दैन । अहँ, पटक्कै बग्दैन । जल बग्छ । पानी र जल उही त हो भन्नेहरू पनि होलान् तर पानी पानी नै हो, जल जल नै हो । लाग्छ, मेरो रक्तनलीहरूमा यसको जल प्रवाहित छ । विष्णुमती र वागमतीमा बढेको प्रदूषणलाई देखाएर हाम्रो खिसिट्युरी गर्नेहरू गर्दै गरुन् तर हुन् हाम्रा लागि पवित्र नदी नै । स्थानियता नबुझ्नेहरूको हालिमुहालीमा परेपछि यो ठाउँको दिनदशा बिग्रन थाल्यो र वागमती र विष्णुमतीमा प्रदूषण बढेको जरुर हो तर यससँग हाम्रो आत्मियता त्यत्तिकै छ, जति हिजो थियो ।

बालमस्तिष्कमा अनेक खालका प्रश्नहरू नाच्ने हुन्छन् र एउटा सानो जवाफमा नै अनेक जवाफ पहिल्याउँथ्यौं । त्यसैका आधारमा पुनः अर्को प्रश्नलाई हुर्काउँथ्यौं । उत्तरमा लहरै उभिएका हिमाल देखेर लाग्थ्यो, मेरा वरिपरि जति पनि नदीनालाहरू छन्, सबै हिमालको हिउँ पग्लिएर बगेका हुन् । म कीर्तिपुरको, यहाँ दक्षिणबाट बगेर आउने एउटा सानो नदी छ, हाम्रोतिर यसको नाम मुलखुसि हो । तर जताबाट नदी बग्दै आएको हो त्यहाँ हिमालको नामोनिशान नदेख्दा नदीको उद्गम हिमालको पानी भन्ने बुझाईले फेल खान्छ । र, सुल्झाउन नै नसक्ने प्रश्न भइदिन्छ । यस्तैमा पछि थाहा भयो, नदीहरू हिउँ पग्लिएर मात्रै बग्दैनन्, पहाडबाट निस्केको पानीबाट पनि बग्छन् । कीर्तिपुर डाँडाको चारैतिर फुट्ने मूल, ढुंगेधारा र वापी देखेको मलाई यो नदीको उत्पत्ति बुझ्न मलाई गा¥हो भएन । वागमती र विष्णुमती निस्कने डाँडाहरू हिमालभन्दा वारि नै हो भन्ने कुरा त स्पष्ट नै छ तर त्यहाँ जाने पो कसरी ? प्रत्येक वैशाख संक्रान्तिका दिन वागमतिको उद्गमस्थल वागद्वारमा र विष्णुद्वारमा मेला लाग्छ । मेला भर्न जानेहरूको बयान सुनेर जीउ जिङ्रिङ्ग हुन्थ्यो । निकै टाढा, मेला भर्न जंगलको बाटो हिड्नुपर्छ, जंगलमै वास बस्नुपर्छ । कथाहरूमा सुनिने बाघभालु त्यो जंगलमा आउँछ ? आउँछ । मान्छेलाई खान्छ ? खान्छ । अनि के गर्ने त ? के गर्ने, जे गर्ने हो बाघभालुले नै गर्छन् । बाबै, बागमती र विष्ण्ुमती नदीका मुहानहरू त खतराकै रहेछन् भन्ने बुझिन्थ्यो । दन्त्यकथामा आउने जंगल र त्यहाँ भित्रका हुने डरलाग्दा कुराहरू बागद्वार र विष्णुद्वार जाँदाका कुराहरूसँग दाँजेर एउटा बेग्लै दुनियाँको कल्पनामा हुर्केको म ।

हाम्रो घरमा वर्षैपिच्छे बूढानीलकण्ठ नारायणथानमा पूजा जाने परम्परा छ । भर्खरभर्खर मात्र यातायात संचालनमा आएको र कीर्तिपुरदेखि त्यहाँसम्म पुग्दा कहाँपुगे कहाँ पुगेजस्तो लाग्दथ्यो । अझ त्यहाँबाट पनि माथि उक्लेर जंगलको बाटो हिड्ने भनेपछि सानो बेलामा सुनिने बागद्वार यात्राको कठिन वर्णन किशोर मनबाट पनि अनुमोदित हुन्थ्यो । तर २०६६ सालको वैशाख १ गते वागद्वार मात्रै होइन, त्यहाँबाट शिवपुरी डाँडा चढी पश्चिमतर्फ तेर्सैतेर्सो लागी विष्णुद्वार पनि पुगियो । त्यसपछि पटक पटक नै वागद्वार पुगेपनि विष्णुद्वार भने दोहो¥याएर पुग्न पाएको थिएन । यही भएर २०७९ को स्थानीय निर्वाचनको भोलिपल्ट शनिवार विष्णुद्वारलाई नै गन्तव्य बनाउने तय भयो ।

विहान साढे नौभित्र एनएसी भवनअगाडिको बसपार्कमा भेला भइसक्ने, त्यहीँबाट गाडी चढेर बुढानीलकण्ठ पुग्ने र हाइकिङ गरेर जाने कार्यक्रम बनेको थियो । तर त्यहीँ लामो समय कुर्नु प¥यो । आएँ भनेको एक जना साथी आइपुगेकै होइनन् । फोन सम्पर्क हुँदा आउँछु आउँछु भन्ने, बाटोमा आइरहेको भन्ने तर पुगेकै होइनन् । आउने नआउने टुंगो पनि लागेन । उनलाई छाडेर जाने निधो गरी सबै गाडी चढ्यौं । गाडी गुड्नै लाग्दा फोन आउँछ र फलाना ठाउँमा पुगें, पर्खेर बस्न भन्छन् । गाडि गुडिसक्यो र बूढानीलकण्ठमा पर्खेर बस्छौं भनेर गुड्यौं ।

बुढानीलकण्ठमा पुगेर फोनबाट बुझ्छु त, धन्न टिचिङ हस्पिटल पुगेछन् । यति बेला बिहानको एघार बजिसकेछ । बूढानीलकण्ठ नारायणथान मै पर्खेर बस्यौं । त्यहीँबाट उकालो सुरु हुन्छ । उकालो लाग्न थाल्दा १२ बजिसकेको थियो । बाटो राम्रै बनिसकेको भएपनि त्यो उकालो चढेर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसम्म पुग्न आधाघण्टा लाग्यो ।
पहिला निकुञ्जभित्र छिर्न शुल्क लाग्दैनथ्यो । पछि विस्तारै लाग्यो । शुल्क पनि बढ्दै बढ्दै केही वर्षअघिबाट एक सय रूपैया पुगेको छ । टिकट काट्यौं । टिकट काउन्टरको पछाडि शौचालय छ । निकुन्जभित्र जथाभावी फोहर नगर्न ध्यानाकर्षण गराइएको छ तर शौचालयको अवस्थाले त्यो राम्रो ध्यानाकर्षणलाई गिज्याइरहेको भान हुन्छ । टिकट काउन्टरमा शौचालय त छ तर यत्ति फोहर कि भित्र छिर्नु रौरव नर्कको अनुभव गर्नुजस्तो हुन्छ । जाबो एउटा शौचालय सफा नगर्नेले प्रवेश शुल्क भनेर एक सय रूपैया किन उठाउनु ? प्रश्नको उत्तर पाइँदैन ।

प्रवेशद्वारमा निकुन्जका सैनिकहरूबाट सोधनी हुन्छ, कहाँ जाने ? विष्णुद्वार भनेपछि बायाँतर्फको एउटा साँघुरो बाटो देखाउँछ । देखाएको त्यो बाटो भएर फर्किसकेको छु, अनि बाटोको दायाँबायाँ केही छैन भन्ने कुरा थाहा थियो । अलिकति माथि गएपछि बाटो फाट्छ र बायाँतिर लाग्दा विष्णुद्वार पुगिन्छ भनेर पनि थाहा थियो । त्यहाँ सुचनापाटी नै छ । यताबाट जाउ भनेर देखाएको बाटो नलागी हामी पूर्वयोजनाअनुसार अगाडि बढ्छौं । बीच बीचमा मूलबाटो छाडेर चोर बाटो पक्रन्छौं, बाटो छोट्याउन मात्रै होइन, अलि एडभेन्चर हुनको लागि पनि । दायाँ लाग्दा वाग्द्वार र बायाँ लाग्दा विष्णुद्वार पुगिने निर्णायक मोडमा पनि पुग्छौं । यो मोडमा पुग्दा पौने एक बजिसक्छ ।

वाग्द्वार लाग्दा अलि उकालाहरू आउँछन् तर विष्णुद्वारमा तर्सैतेर्सो । वास्तवमै भन्ने हो भने यो पटकको यात्रा एक खालको परिक्षण पनि हो । लामो समयको बेड रेस्ट पछि डाक्टरसँग सल्लाह गरेर मात्रै यात्रामा हिडेको । तै केही भयो भने बीचबाटै फर्कने मनस्थिति थियो । त्यस्तै केही होला कि भनेर जीवन संगीनी पनि सँगै आएको । बाटो सजिलो त थियो नै साथसाथै दायँबायाँको दृष्य मनमोहक पनि । हाम्रो यो समूहमा सहभागी अधिकांश वर्षदिन अघिमात्रै वाग्द्वार हिडेको । बाइकबाट फर्किरहेको लस्करलाई पनि भेट्यौं । बीच बीचमा भेटिने झरनाहरूको मनमोहक दृष्यलाई शब्दमा उतार गरेर कहाँ सक्नु र ? बाटोमा दुई युवतीसँग भलाकुसारी सुरु भयो । दुबै विपश्यना ध्यानकेन्द्रमा बसिरहेका । त्यसमध्ये एक त चिकित्सा विज्ञानको अभ्यासकर्ता नै । ध्यानको कुरा आएपछि ध्यानमा बसिनसकेकाहरूको प्रश्न आउन थाल्यो । कतिपय कुराहरू सुनेर र पढेर मात्रै बुझिन्न, अनुभव नै गर्नुपर्छ । यसका लागि विपश्यना ध्यान नै गर्नका लागि सुझाउनु पर्छ । त्यस्तै ग¥यौं ।
एक ठाउँमा पुगेपछि फेरि अर्को झरना आयो । त्यहाँ बस्न मिल्ने गरी बनाइएको पनि थियो । हामी त्यहाँ बसेनौं मात्र, झरना आउने गरी फोटो पनि खिचेर बस्यौं । सुस्तायौं । र, बसिबियाँलो पनि ग¥यौं ।

केही बेर पछि हिड्न थाल्छौं । हिड्दा हिड्दै अचम्म लाग्ने गरी एउटा यस्तो दृष्यसँग सामना गर्नु पर्यो, एक क्षण त अक्कबक्क नै परें । यही निकुन्जको अलि पश्चिमतर्फ यस्तै बाटो छ, दायाँतिर पहाड भइहाल्यो, बायाँतर्फ काठमाडौं उपत्यकाको भूदृष्य । अब त्यही दृष्यसँग साक्षात्कार भएजस्तो लाग्यो । तर त्यो ठाउँभन्दा निकै पूर्वमा हामी हिंडिरहेका हौं । त्यहाँ पनि सुस्तायौं । ध्यान केन्द्रका महिलाहरू यहीँ अलमलिन चाहेको जस्तो लाग्यो, हामी अगाडि बढ्यौं । हाम्रो हिंडाइ संभवतः एक साथीलाई वाक्क लागेछ क्यारे निकै अगाडि बढिसकेछन् । हाम्रो समूह अगाडि बढ्दै गयो ।

एक ठाउँमा आएपछि बाटो छेउमा मोटर बाइकहरू रोकिराखेका देख्यौं । यहीँ हो विष्णुद्वार, अलि माथि चढ्नुपर्छ भन्ने थाहा भयो । खुडकिलाहरू चढेर माथि गयौं । जंगलको बीचमा नै हो । ठुल्ठुला ढुंगाहरूको ककार भएर नदी बगिरहेको छ । यसैलाई विष्णुद्वार भनियो ।

तीन छक्क परें । पहिलो पल्ट आउँदा विष्णुद्वार पुग्न कहिंकतै उक्लिनु परेको थिएन, यस्तो नदी थिएन पनि । उहिले गलत ठाउँमा पुगेको र विष्णुद्वार भन्ठानेको बुझाइ बन्यो । हामी बाहेक त्यहाँ अरु पनि थिए । जताबाट पानी बग्दै आइरहेको छ त्यतातिर मान्छेहरूको उल्लासमय आवाज प्रतिध्वनित भइरहेको थियो । ठुल्ठुला ढुंगाहरू नाघ्दै अगाडि बढ्यौं । नदी साँघुरो छ । बाक्लो जंगलको बीचमा भएर पनि होला अलि अँध्यारो पनि छ । अलि अगाडि बढेपछि खुल्लाजस्तै तर र्खोचमा नै पुग्यौं । त्यहाँ पानीसँग रमाइराख्नेहरूको भीड देख्यौं । हामीलाई छाडेर अगाडि बढेको साथीलाई पनि भेट्टायौं । अब भने पक्का भयो, यही विष्णुद्वार हो । पहिला विष्णुद्वार भनेर हामी अर्कै ठाउँ हेरेर फर्केका रहेछौं । हिस्स भएँ । सङ्लो पानी, कलापूर्ण भएर आवाज निकाल्दै बगिरहेको नदीमा नरमाउने को होला र ? उल्लासमय वातावरणमा चिच्याइरहेका युवायुवतीको रौनक बेग्लै छ । रमाइलोसँगै तस्वीरपनि खिचिरहेका थियौं । यही बेला थाहा भयो, विष्णुद्वार भनेर पुज्ने ठाउँ यहीँ हो, अलि माथि चढ्नुपर्छ । त्यतातिर हुत्तिन्छौं र पहिलो पल्ट आउँदा देखेको विष्णुद्वार भेटाउँछौं । भएको के रहेछ भने, उति बेला हामी यहाँ पुग्न माथिबाट झरेर तेर्सैतेर्सो आएका थियौं । नदीमा पानी थोरै मात्र बगिरहेको थियो भने मान्छेहरू पनि थिएन । स्थिति–परिस्थिति नै फेरिएपछि कता पुगे कता पुगे जस्तो भएको रहेछ । पूजा गर्ने ठाउँ पनि अलि फेरिएको रहेछ । ओडार जस्तो ठाउँमा केही ससाना केही ढुंगामा पूजा गरिन्थ्यो भने अहिले त्यही ठाउँमा पूजास्थल मात्रै होइन, त्यस वरिपरि पनि विशेष व्यवस्था गरिएको छ । एकातिर बुद्धका ससाना चैत्यहरू बनाइएका छन् । लुङदर पनि टांगिएको छ ।

हामीलाई भोक लाग्न थाल्छ । कतै बसौं र खाऔं भनेर बस्न मिल्ने समथर खोज्छौं तर उबडखाबड मात्रै होइन, भिजेको पनि हुँदा कतै बस्ने ठाउँ भेटाउँदैनौं । अलि माथि चढ्दा भने अलि भिरालो भए पनि बस्न लायकको ठाउँ भेटाउँछौं । र, सबैले ल्याएको आआफ्नो खानेकुराका पोकाहरू खोल्छौं ।

One thought on “हिड्दै हिड्दै विष्णुद्वार”
  1. Namaste Dai, hami ghumna gaeko Asta Mahasthan ko Niyatra ni Chhittai padhna paiyosh bhanne Shubhakamana sahit.
    Neeta

Leave a Reply

Your email address will not be published. Required fields are marked *