काठमाडौंमा रहेका तर अन्यत्रको पर्यटनमा धेरै समय खर्चने असमर्थका लागि नुवाकोट एउटा उपयुक्त गन्तव्य हो । नुवाकोट काठमाडौंबाट पश्चिम–उत्तरतर्फ सीमाना जोडिएको एउटा ऐतिहासिक, साँस्कृतिक एवं प्राकृतिक सुन्दरताले परिपूर्ण जिल्ला हो । पृथ्वीनारायण शाहको विजयअभियान प्रारम्भ यहींबाट भएको प्रसंगलाई मात्र अघि सारेर प्रायशः नुवाकोटको चर्चा गरिएको पाइन्छ । नुवाकोटको ऐतिहासिकता यत्तिमै सीमित छैन । अुनश्रुतिअनुसार कुनै बेला एक ऋषिले तपश्या गरेका कारण ‘ऋषिपतन’ पनि भनिएको यो नुवाकोट डाँडा लिच्छविकालदेखि नै अस्तित्वमा रहेको देखिन्छ र त्यतिबेलादेखि नै निरन्तर रुपमा यसले ऐतिहासिक महत्व कायम राखेको पाइन्छ ।
काठमाडौंबाट त्रिशुलीसम्मको मोटर बाटो ७२ किलोमिटर रहेको छ । नुवाकोटको पर्यटनमा प्रमुख आकर्षण भन्नु सात तले दरवार, त्यस वरिपरिका अन्य ऐतिहासिक वास्तुकलाका नमूनाहरु हुन् । यस स्थलसम्म पुग्न मुख्यतः दुई वटा बाटा प्रचलित छन् । त्रिशुलीबाट पूर्व उकालो लागि नुवाकोटको पुरानो वस्तीमा पुग्न सकिन्छ । यसरी नै सदुरमुकाम विदूरबाट ६ किलो मिटरको पैदल हिडेर पनि सम्पदास्थलमा पुग्न सकिन्छ । विदूरबाट माथिसम्म नै पुग्ने पक्की मोटरबाटो भएपनि जंगलको शितल छहारीको अनुभव गर्दै र वरिपरिका दृश्यहरुको अवलोकन गर्दै सम्पदास्थल पुग्न पनि सकिन्छ ।
नुवाकोटको पर्यटन सम्वन्धी प्रसंग चल्दा धेरैका मुखमा झुण्डिने नाम हो, साततले दरवार । आफू पनि कलाको पाखरी हुँ, काठमाडौं उपत्यकाको कलासम्पदाहरुसँग आत्मसात् गर्न आफू पनि सक्षम छु भन्ने देखाउन पाटनका कालिगढहरु लगाएर पृथ्वीनारायण शाहले विसं. १८१९ मा यो दरवारको निर्माण गराएका हुन् । वास्तवमा यो नेपाली वास्तुकलाको एउटा अनुपम नमूना नै भएको छ । काठमाडौं विजयअघि पृथ्वीनारायण शाह यसै राजप्रसादमा रहेका थिए भने युद्ध तथा राजकीय निर्णयहरु यहीं बाट हुन्थ्यो । राजप्रसादभित्र नै युद्ध बन्दीहरुलाई थुन्ने एउटा कोठाको पनि व्यवस्था गरिएको छ जसको सुरक्षाका लागि कडा पहरा दिइएको हुन्थ्यो । पछि धेरै समयसम्म पनि यो ग्रीष्मकालीन राजप्रसादका रुपमा प्रयोग भयो । तर हाल यो दरवार केही जीर्ण भएका कारण सुरक्षाका लागि सर्वसाधारणलाई भित्र पस्न दिइन्न ।
सात तले दरवारको पूर्व दक्षिणतर्फ पश्चिम मोहडा भएको रङ्गमहल अर्को आकर्षण हो । उपत्यकाका मल्ल राजाहरु यसै महलमा भेला भई मनोरञ्जन गर्ने गर्दथे । यसको संगै रहेको गारदघर पनि अर्को आकर्षण हो । प्रायः पाताल भइसकेको राजा रणबहादुर शाहको बैठक घरलाई २०१५ सालमा पुनः निर्माण गरिएको छ । यसरी नै धार्मिक तथा सामाजिक उद्देश्यले निर्मित विभिन्न पाटी तथा डबलीहरु वास्तुकलाका अन्य आकर्षण हुन् ।
नुवाकोट क्षेत्रमा प्रमुख धार्मिक स्थल भैरवी मन्दिर हो । यो मन्दिर सात तले दरवारबाट दुई सय मिटर जति दक्षिण र विदूरबाट जाँदा सुरुमा नै आउँछ । पीठको रुपमा रहेको धार्मिक स्थललाई पछि मन्दिरको रुप दिइएको हो । मल्लकालमा पटक पटक जीर्णौद्धार गरिएको यो मन्दिरलाई थप आकर्षण गर्नै काम मल्लकालपछि पनि हुँदै आएको पाइन्छ । यसरी नै अर्को आकर्षणको ठाउँ तलेजु मन्दिर, नाराय मन्दिर, महिषर्दिनी भगवतीको मन्दिर, भीमसेनको मन्दिर, बौद्ध चैत्यका भग्नावशेषहरु आदि हुन् ।
नुवाकोटको यात्रामा रहँदा काठमाडौं उपत्यकाका कला, सम्पदा, तथा जनजीवनबाट टाढिन्न । यस प्राचीन वस्ती क्षेत्रमा अधिकांश नेवार जाति कै बसोवास रहेको छ भने तिनीहरुको रहनसहन तथा अन्य दैनिक जीवनका गतिविधिहरु पनि नेवार सभ्यताको पहिचान दिने खालका नै हुन्छन् । यहाँ विभिन्न जात्रापर्वहरु पनि मनाइन्छ । यहाँका प्रमुख साँस्कृतिक पर्वहरुमा भैरवी जात्रा र सिन्दूर जात्रा हुन् । तान्त्रिक विधिले दैवी शक्ति मान्छेमा सारेर भैरवी जात्रा सम्पन्न गरिन्छ । यही खुशीयालीमा सिन्दूर जात्रा पनि गरिन्छ ।
प्रत्येक घोडेजात्राका दिन यहाँ नारायण जात्रा सम्पन्न गरिन्छ । यसरी नै गाईजात्रा पनि हर्षोल्लासका साथ मनाइन्छ । गाईजात्राको भोलिपल्ट सिपाई जात्रा, त्यसको एक महिनापछि देवीजात्रा, लाखेनाच, दशै, तिहारलगायत काठमाडौं उपत्यकामा सम्पन्न गरिने प्रायशः सांँस्कृतिक पर्वहरु मनाइन्छ ।
नुवाकोट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पूर्वाधारहरु अहिले तयार गरिंर्दैछ । तर हाललाई वास बस्न त्रिशुली बजारमा झर्नु पर्दछ अथवा विदूर वा बट्टार बजारमा पनि बस्न आउन सकिन्छ ।