बौद्धहरू बौद्ध स्थललाई अत्यन्तै गौरव र मान राखेर तीर्थस्थलका रूपमा विकास गरी तीर्थ यात्रा गर्दछन् । यस्ता तीर्थहरू गौतम बुद्धसँग मात्रै सम्बन्धित हुनुपर्दछ भन्ने छैन । विभिन्न बोधिसत्व एवं प्रमुखतम् बौद्ध भिक्षुहरूसँग सम्बन्धित ठाउँलाई पनि उत्तिकै महत्व दिने गर्दछन् । यसरी नै आफ्नो गुरु वा गुरु परम्परासँग सम्बन्धित ठाउँलाई पनि तीर्थ नै मानी भ्रमण गर्दछन् र त्यहाँ श्रद्धा गरी गुणानुस्मरण गर्दछन् । यस्ता अनेक ठाउँहरूमा एउटा ल्हासापाको महामज्जुश्री गुफा पनि हो । यो प्राचीन भक्तपुर सहरभन्दा उत्तर अवस्थित सुडाल गाउँको माथि डाँडामा पर्दछ ।
काठमाडौं उपत्यकाको बनावटका सम्बन्धमा एउटा प्रचलित कहावत के छ भने, कुनै बेला यो ठुलो तलाउको रूपमा थियो । तलाउको पानी कारणवश निकाश पाएर बग्यो र मानव वस्तीयोग्य भूमि बनेको कुरा भूगर्भ विज्ञानले पनि पुष्टि गर्दछ । तर स्थानिय बौद्धहरूको विश्वास के रहेको पाइन्छ भन्दाखेरी, यही तलाउको बीचमा एउटा कमलको फूल फूल्यो र त्यसमा आदिबुद्धको ज्योति उत्पन्न भयो । यो ज्योतिको दर्शन गर्न अतीत बुद्धहरूका साथै बोधिसत्वहरू यहाँ आउँथे । सोहीअनुसार मन्जुश्री नामका एक बोधिसत्व पनि आए र तलाउको पानीलाई निकास दिई मानव वसोवासयोग्य भूमि बनाई एउटा सभ्यताको विकास गर्न सकिने कुरामा मनन गरे । चारैतिर रहेका पहाडहरूमा पुगेर यहाँको भौगोलिक स्वरूपको अध्ययन पश्चात् चोभारको गल्छी काटेर पानी बाहिर पठाए । र मानववस्ती बसाले । बौद्धहरू के पनि विश्वास गर्दछन् भने, यी सम्पूर्ण कुराको योजना उनले भक्तपुरभन्दा उत्तरतिरको यही ल्हासापाकोस्थित गुफामा बसेर गरेका थिए । यस स्थलबाट काठमाडौं उपत्यकालाई छर्लङ्ग देख्न पाइन्छ । यही भएर बौद्धहरू यस स्थललाई पनि तीर्थस्थलका रूपमा लिन्छन् र विशेषतः भक्तपुरका बौद्धहरू श्रीपंचमीका दिनमा यहाँ मेला भर्न जान्छन् । अरु बेलामा पनि यहाँ पुग्ने गर्दछन् ।
सुरुमा काठमाडौं उपत्यका तलाउको रूपमा भएको कुरामा कुनै विमति नभएपनि महाचीनबाट मन्जुश्री आएको, उनले आफ्नो खड्गहास नामको खड्गले चोभारको डाँडा काटी यहाँको पानी बाहिर निकालेको तथा वस्ती बसालेको कुरामा भने प्रश्न उठाउन सक्ने ठाउँहरू प्रसस्त मात्रामा छन् । महायानी बौद्ध ग्रन्थहरूमा मन्जुश्री नामका एक बोधिसत्वको अस्तित्व भएको तथा धर्मको क्षेत्रमा उनको मान सम्मान अत्यन्तै ठुलो रहेको कुरा साँचो हो तर काठमाडौं उपत्यकाको उत्पत्ति वा तथा विकासको सन्दर्भमा भने नेपाली स्रोतहरूमा मात्रै यो कुरा उल्लेख भएको पाइन्छ । बौद्ध्र ग्रन्थहरूमा वर्णन भएको मन्जुश्रीका सम्बन्धमा उनका आयुधहरूमा रहेको खड्ग ज्ञानको प्रतीक हो, जसले अविद्यालाई नाश गर्दछ । यो काटमार गर्ने प्रयोजनमा लगाउने गरेको उल्लेख पाइँदैन । यस अवस्थामा चोभारको डाँडा काटेर गल्छी बनाएको तथा यहाँको पानी बाहिर पठाएको कुरा अलि पत्याउँदो खालको भएन । यही प्रकरणलाई भौतिकवादी दृष्टिकोणबाट मनन गर्दा काठमाडौं उपत्यकासँग मन्जुश्री बोधिसत्वको सम्बन्ध देख्न पाइन्छ ।
तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाबाट चोभारको गल्छी हुँदै बाहिर गएपछि पनि यहाँको भूमि सुक्न तथा मानव वसोवास योग्य भूमि बन्नका स्वभावतः सयौं वर्ष लाग्दछ । यसअघि नै वरिपरि डाँडामा वसोवास गर्दै आएका मानव समाज विस्तारै उपत्यकामा झरेर आवादी गर्नु पनि स्वाभाविक हो । यहाँ विस्तारै मानव सभ्यताको विकास भयो । इशापूर्व छैठौं शताब्दीमा गौतम बुद्धको समयसम्ममा यहाँको मानव सम्भयताले एउटा निश्चित आकार लिइसकेको र व्यापार व्यवसायका लागि टाढाटाढादेखि मान्छेहरू आउजाउ हुन्थ्यो भन्ने जानकारी ‘मूलसर्वास्तीवादविनयसूत्र’ नामक एक बौद्ध ग्रन्थबाट थाहा हुन्छ । त्यसअनुसार भिक्षु आनन्द आफन्तहरू भेट्नका लागि यस उपत्यकामा आएका थिए । उपत्यकाको जनजीवनबारे भिक्षु आनन्दले गरेको वर्णन त्यस ग्रन्थमा परेको हो । यसबाट काठमाडौं उपत्यकामा गौतम बुद्धकै जीवनकालमा बौद्ध धर्मको प्रसार भइसकेको झिनो जानकारी प्राप्त हुन्छ ।
गौतम बुद्धभन्दा अघि नै काठमाडौं उपत्यकामा बौद्ध धर्म थियो भन्ने मान्यतामा प्रश्न उठ्न सक्छ । यी बुद्धले श्रावक, महायान र बज्रयानका बारेमा बेग्लाबेग्लै उपदेश दिएको भन्ने मान्यता पनि बौद्ध समाजमा पाइन्छ । तर ऐतिहासिक रूपमा हेर्दा श्रावक बौद्ध धर्मपछि विकास भएर महायान बौद्ध धर्मको विकास भएको र त्यसमा पनि विकास भएर इशाको पाँचौं छैठौं शताब्दीमा मात्रै बज्रयान बौद्ध धर्मको विकास भएको मान्यता पनि नभएको होइन । श्रावक बौद्ध धर्ममा बोधिसत्वका कुराहरूमा त्यत्ति धेरै उल्लेख भएको पाइँदैन तर महायानको विकासपछि भने बोधिसत्वका कुराहरूले नै प्रधानता लिएको पाइन्छ । ती बोधिसत्वका नाममा नै अनेक सम्प्रदाय तथा उपसम्प्रदायको विकास भएको पनि पाइन्छ । यसै क्रममा मन्जुश्री सम्प्रदायको पनि विकास भएको मान्न सकिन्छ ।
मन्जुश्री सम्प्रदायको विकास भारतको कुनै क्षेत्रमा भएको हुनुपर्दछ र त्यसको नेतृत्व गर्ने कुनै भिक्षुले नेपालमा आफ्नो प्रभाव व्यापक रूपमा फैलाएको बुझिन्छ । कथाअनुसार महामञ्जुश्री उत्तरको महाचीनबाट आएका हुन् तर चीनमा बौद्ध धर्मको अस्तित्व नै इस्वी सम्बत सुरु हुने बेलामात्रै प्रवेश गरेको थियो भने महामञ्जुश्रीसँग सम्बन्धित भनिएको उताइसान् क्षेत्रमा त पछि मात्रै पुगेको हो । संभवतः मञ्जुश्री सम्प्रदायका नेतृत्वगर्ने भिक्षु भारतबाट आउने क्रममा अलि माथिसम्मै पुगेका थिए र त्यहाँबाट काठमाडौं झर्दा उत्तरबाट झर्नु पुगे । यही उत्तरबाट झरेको कुरालाई पछि महाचीनबाट झरेको रूपमा बुझेछन् । काठमाडौं उपत्यकामा मञ्जुश्री बोधिसत्वसँग सम्बन्धित थुप्रै स्थलहरू छन् र ती स्थलहरूको अध्ययन गर्दा यसले अतीतको एउटा कालखण्डलाई प्रतिनिधित्व गरिरहेको संकेत गर्दछ जुन वर्तमान बौद्ध समाजले छाडिसकेको छ ।
बौद्ध ग्रन्थहरूमा उल्लेख भएका मञ्जुश्री बोधिसत्व नै नभएर यी बोधिसत्वको नाममा विकास भएको सम्प्रदायको भिक्षु नेपालमा आएको कुरामा हाम्रो ध्यानाकर्षण हुनुपर्दछ । उनलाई मञ्जुदेव वा मञ्जुघोष भनेर पनि उल्लेख गरेको पाइन्छ । यसलाई मञ्जुश्री बोधिसत्वको धर्मकायका रूपमा लिँदा अझ स्पष्ट हुन्छ । यही परम्परालाई ल्हासापाकोस्थित महामञ्जुश्री गुफालाई जोड्दा कुरा अझ स्पष्ट हुन्छ ।
ल्हासापाकोको अर्थ तिब्बतको प्रसिद्ध सहर ल्हासाको मुनितिरको ठाउँ भन्ने अर्थ दिन्छ । यो ठाउँ महामञ्जुश्री बोधिसत्वसँग मात्रै नभएर पछि महासिद्ध मिलारेपा (इ.सं. १०५२–११३५) सँग पनि सम्बन्धित रहन पुग्यो ।
महासिद्ध मिलारेपा तिब्बती बौद्ध धर्मको काग्यू सम्प्रदायसँग सम्बन्धित हुन् । गुरु मारपा (इ.सं. १०१२–१०९७)का शिष्य भई अनेकौं दुश्कर साधना गरेर उनले सिद्धत्व प्राप्त गरेका थिए । साधनाका क्रममा उनी हिमाली क्षेत्रका विभिन्न ठाउँ घुम्दैफिर्दै गुफाहरूमा ध्यान गरेर हिड्थे । यी सिद्ध यस पर्वतको गुफामा पनि बसेको उल्लेख उनैद्वारा रचित गीत तथा उनको जीवनी लेखकले उल्लेख गरेका छन् ।
मिलारेपा नामका यी सिद्ध दरवारको नजिकै रहेको डाँडामा रहेको गुफामा ध्यान गरी बसेको भनी कुरा फैलिएपछि नेपालमण्डलका राजालाई भेट्ने उत्सुकता जागेको कुरा जीवनी ग्रन्थमा पाइन्छ । मिलारेपाको जीवनकालमा नेपालमण्डलको राजधानी भक्तपुरमा थियो । तर मिलारेपाले राजाको आमन्त्रण पाएर पनि त्यसका लागि इच्छुक नभएको जवाफ दिएर राजदूतलाई फर्काएका थिए । राजाले पछि कोशेली पठाउँदा यी सिद्धले राजाका लागि भनेर उपदेश दिएका थिए ।
आफ्नो धर्मगुरुको पदचिन्ह पछ्याउने हिमाली बौद्ध साधकहरू मिलारेपासँग सम्बन्धित विभिन्न स्थलहरूलाई पनि पछ्याउने गर्दछन् । यसै क्रममा ल्हासापाकोस्थित महामञ्जुश्री गुफा अझ प्रख्यात बन्यो ।
पुरानो भनिएको गुफा कारणवश पहिरोले गर्दा अहिले खसेको छ । तर त्यसका अन्य भागहरू भने बाँकी नै छन् । पहिरोले खसेको भाग अवशेषका रूपमा अझै पनि देख्न पाइन्छ । साथै, यस स्थलको महत्वलाई मनन गरी भक्तपुर तथा पाटनका बौद्धहरूले यहाँ सत्तल तथा चैत्यहरूको निर्माण गरेको पाइन्छ । हाल यहाँ मुख्य ठाउँमा एउटा गुम्बा पनि बनेको छ र गुम्बामा बस्ने आनीहरूबाट यहाँ नित्य पूजा तथा अन्य धार्मिक कार्य हुने गर्दछ । यसरी यस स्थलको महत्वलाई उजागर गर्न मुख्य ठाउँ वरिपरि अन्य गुम्बाहरु बन्ने क्रम सुरु भएको छ ।