
स्याङ्जाको गृहकोटमा आयोजित एउटा सांस्कृतिक गोष्ठि सकिन्छ । सबै आआफ्नो बाटो लाग्छ, विदावारी भएर । कार्यक्रमस्थल बाटोबाट अलि माथि नै पर्छ । डाँडा माथि नै भन्दा हुन्छ । झरेर तल बाटोमा पुग्छौं । दिनभरको गृहकोट बसाई । साँझ परिसक्यो । आजको वास क्याक्मीमा तय भएको छ । हामीलाई क्याक्मीसम्म लाने गाडी आइपुगेको छैन । कार्यक्रममा अन्य सहभागीहरुलाई पु¥याउन अन्यत्र नै गइराखेको गाडीले फर्केर आई हामीलाई क्याक्मी पु¥याउने हो । कति बेरमा आउने हो, कति बेला पु¥याइ दिने हो, थाहा भएन ।
बाटोमा केही बेर पर्खेर यताउता गरिराख्छौं । एक जना बोल्छ, ‘‘उता जाने हो भने, हिड्डै गरौंं न, गाडी आएपछि चढेर जाउँला, यस्सो खुट्टालाई कसरत गर्न दिएजस्तो पनि हुन्छ ।’’
कुरा त मनासिव नै हो । नौ जनाको हाम्रो समूह विस्तारै हिड्न थाल्छौं । नौ जनामा पनि कसैको दुई जना, कसैको तीन जनाको उपसमूहमा बाँडिएर कुरा गर्दै अगाडि बढ्छ । स्वहितवीर सिंह कंसाकार सर र म अलि अघिअघि नै परेछौं । हाम्रो कुराकानीको विषय भर्खरै सकिएको त्यही गोष्ठी हुन्छ । गोष्ठी नेवार संस्कृतिसम्बन्धी हो । त्यसमा मैले ‘नेवार संस्कृतिको मौलिक स्वरुप’ शीर्षकमा कार्यपत्र पेश गरेको हुँ । मेरो प्रस्तुति, विषयवस्तु र कमीकमजोरी माथि टिप्पणी गर्दै उहाँ पाइला चालिरहनु हुन्छ । म सुन्दै अगाडि बढ्दै गर्छु । स्पष्टिकरण पनि दिन्छु । मेरो पनि अन्य कुराहरु हुन्छ । कुराको धारा बहँदै गर्छ भने पाइला पनि चाल्दै गर्यौ । पीचैपीच बाटोको अलि ओरालो लागेपछि त्यहाँ एउटा चउरमा भोज खाइरहेकाहरुको हुल देख्छौं । त्यसलाई नाघेर हामी अलि परसम्म पुगेपछि दुई वटा बाटो फाट्छ । त्यहीं कसैलाई सोध्छौं– ‘‘क्याक्मी जाने बाटो माथ्लो हो कि तल्लो ?
‘माथ्लो जानुस माथ्लो’ जवाफ आउँछ । माथ्लो बाटो भएर अगाडि बढ्छौं ।
स्याङ्जाका नेवारहरु नेवार भाषा बोल्दैनन्, जान्दैनन् । मौलिक सांस्कृतिक अवशेष पनि निकै थोरै मात्र बचाएर बसेका छन् । उनीहरुलाई महसूस हुन थालेको छ, अब भाषा पनि चाहियो, संस्कृति र संस्कार पनि चाहियो । नेवार पहिरणको रुपमा रहेको हाकु पतासि र लुगा त अवसर विशेषमा लगाउँछन् । पहिलो पल्ट यहाँ आउँदा नेवार घरको अगाडि पिखालखु नदेख्दा जसरी अचम्म लागेको थियो त्यसरी नै अचम्म लागेको थियो, हाकु पतासि लगाएको सानो बच्चालाई देख्दा । त्यो तिहारको समय थियो र भर्खर भर्खर मात्र म्हपूजा गर्न थालिएको थियो, गोरखा माइती भएको एक बुहारीले सामुहिक म्हपूजागर्न थालिएको थियो । त्यो वर्ष म म्हपूजाको सांस्कृतिक महत्वको बारेमा बोल्न आएको थिएँ । अब विभिन्न विषयमध्ये म मौलिक संस्कृतिको स्वरुपबारे । त्यो बेला सालडाँडामा आएर उतैबाट फर्केको । सालडाँडामा देखेको र यताउता सुनेको भरमा फर्केर स्याङ्जाका नेवारहरु शीर्षकमा एउटा लेख छपाएको पनि थिए । त्यही बेला सुनेको थिएँ, गृहकोट, क्याक्मी आदि नेवार गाउँहरु । अब यिनै गाउँहरुमा आइरहेको हुँ ।
हामी धेरै अगाडि बढिसकेका रहेछौं । फर्केर हेर्छु कसैलाई देखेनौं । एउटा बिसौनी पनि आउँछ । तर रोकेनौं । गाडी आउँछ त्यसैमा चढेर जाने त हो नि । तर गाडी आउँदै आएन । बरु त्यहीँ एउटा गाडि रोकिराख्छ । सोध्छौं, ‘‘क्याक्मी जाने बाटो त यही होइन र रु’’
जवाफ आउँछ, ‘‘हो हो । यही हो । बस्नुस्, लगिदिन्छौं ।’’
‘‘होइन, हाम्रो गाडी पछाडि आउँदैछ । आएपछि त्यसैमा चढेर जाने हो ।’’
अँध्यारो अँध्यारो हुन लागेको मात्रै होइन, अब त अँध्यारो नै हुनथाल्यो । हामी हिड्दै र गफ गर्दे अगाडि बढ्दै गर्छौं । निकै अगाडि बढेपछि फर्केर हेर्छौं, न आफ्नो गाडी आइपुगेको हो न त अघि क्याक्मी जाने भनेको गाडिले नै भेटाउन आइपुगेको हो । हुँदाहुँदा चारैतिर निष्पट्ट अँध्यारो छाउन थाल्यो र केही बेरमा नै त्यो अँध्यालो बाक्लो नै भयो ।
तर हामी अलिकति पनि द्विविधामा थिएनौं । अगाडि बढदै गर्छौं । फोन आउँछ । अर्कै बाटो प¥यो कि भन्ने शंकाले साथीहरु आत्तिएर फोन गरेका रहेछन् । सही बाटो रहेको र सोधेरै यो बाटो आएको भनेर धुक्क पा¥यौं । गाडी पछाडी पछाडि आइरहेको भनेर खबर गर्छन् । टाढा डाँडाको माथि गाडीको बत्ती देखेपछि हामीले पनि गाडीलाई देखेको र हिड्दै गर्ने जनाउ दियौं । अँध्यारोमै मोबाइल फोनको टर्च बालेर र कुरा गर्दै हामी पाइला चाल्दै गर्छौं । अलि बेरपछि गाडी त आइपुग्छ तर हाम्रो होइन । अघि रोकिराकेको पो परेछ । उक्त गाडी आफ्नै बाटो लाग्यो । तर एउटा धुक्क भयो, बाटो यही हो । हामी अगाडि बढ्दै जान्छौं । एक ठाउँमा आएपछि भने टक्क अड्नु प¥यो । बाटो फाट्यो । कुन बाटो जाने रु सोध्नलाई कोही छैन । निष्पट्ट अँध्यारो । अघिको गाडी कुन बाटो गएको त्यो पनि थाहा भएन । यस्तो बेलामा कि अन्दाज गरेर अघि बढ्नु प¥यो अथवा कुनै अर्को विकल्प । तर हामीलाई त्यहीँ रोकिएर बस्नुमा फाइदा थियो । रोकिएरै बस्यौं ।
केही बेरपछि गाडी आइपुग्यो र चढेर क्याक्मीतिर लागियो ।
लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np




