बनेपाको गोसाइकुण्ड

बनेपाको गोसाइकुण्ड
बसन्त महर्जन

काठमाडौं उपत्यकाबाट उत्तर, रसुवाको सिसापाङ्मा हिमालको फेदमा स्थित प्रसिद्ध गोसाईकुण्डमा प्रत्येक श्रावण पूर्णिमाको दिन लाग्ने मेलामा दुई पल्ट पुगेर अन्य दिनमा पनि पुग्ने धोको थियो । तयारी पनि भयो । तर कोरोना कोविद–१९का कारण अचानक लागेको लकडाउनले स्थगन भयो । लकडाउन खुकुलो भएपछि मेलाकै बेला पुग्ने तयारी पनि भयो तर मेला स्थगन भएको र कोही पनि तीर्थालु नआउन भनी सम्बन्धित निकायले औपचारिक सूचना नै जारी गरेपछि अत्तेरी गरेर जान निको पनि लागेन । बरु विकल्पमा काभ्रेस्थित सानो गोसाईकुण्डमा जाने निधो भयो । तर पूर्णिमाकै दिन कारणवश पुग्न सकिएन । अर्को हप्ता शनिवारको दिन हाइकिङ गर्दै पुग्ने निधो त भयो तर के कसो हो जानकारी थिएन । बाटो थाहा भएन । बनेपाको एक साथीसँग सोध्दा थाहा भयो, बनेपाको बुडोलबाट काभ्रे क्याम्पस हुँदै जंगलको बाटो लाग्ने भन्यो । बाटो कस्तो छ ? जवाफ आएन । ‘गएर हेर, आफै थाहा पाउँछन्’ भनेजस्तो लाग्यो र एक शनिवार (२८ अगस्ट २०२१) बनेपाको चोकमा उत्रियौं ।

बनेपा चोकदेखि एक किलोमिटर पूर्व धुलिखेल जाने बाटोमा रहेछ, बुडोल । पनौती जाने बस चढेका थियौं र बनेपा चोकमा झर्नु प¥यो । चोकमैं एक सहभागी मित्रले चण्डेश्वरी मन्दिर जानपाए हुने मनसाय व्यक्त गरे । फर्केर मन्दिर पस्दा पनि हुने हो । तर चण्डेश्वरी मन्दिरको पछाडिबाट पनि हाम्रो गन्तव्य पुग्न सकिने जानकारी त्यहीँ पाइयो । बाटो परिवर्तन गर्ने निधो भयो । बनेपाको पुरानो नेवार वस्ती छिचोल्दै चण्डेश्वर मन््िरदरतर्फ लागियो । चोकदेखि मन्दिरसम्मको छोटो बाटोमै दुई पल्ट अलमलिने काम भयो । म हतारिनुको खास कारण थियो, अलि चाँडो गन्तव्यमा पुगौं र बढी समय बिताउँ । मन्दिरसम्म आइपु्गेपछि अलि समय बिताउनु स्वाभाविकै भयो । त्यहाँबाट गोसाइकुण्ड जाने बाटो दुई वटा रहेछ । अलि परसम्म हिडेर घुम्दै पुग्ने र मन्दिरको पछाडि शेषशायी विष्णुको मूर्ति हुँदै खुड्किलाहरु चढेर जंगलको बाटो उक्लिने अर्को बाटो । दोस्रो बाटो रोज्यौं ।

मन्दिरको ठिक पछाडि जंगलको बीचैबीच बन्दै गरेकोे सिँढी मेरो लागि नयाँ बाटो होइन । त्यसैमा अहिले ढुंगा ओछ्याउँदै गरेको हो । अलि परसम्म यो बाटो दुई चार पल्ट हिडिसकेको पनि हो । बनेपा नगरपालिका र सहरी विकास मन्त्रालयको साझेदारीमा गोसाईकुण्डसम्मै पुग्ने गरी सिँढी बन्दै गरेको रहेछ । करिब पाँच करोड रुपियाको लागतमा बन्दै गरेको यो निर्माण बनेपा नगरपालिका–५ को चन्देशवरी मन्दिरदेखि वडा नं. ६ को गोराईँस्थानस्थित महादेव मन्दिरसम्मको सिंढीलाई स्थानिय सरकारले गौरवको आयोजनाको रुपमा बढाएको छ । यसलाई पर्यटकीय पदमार्गका रुपमा पनि लिइएको छ । हामी पनि पर्यटक नै । काम हुँदै छ । जहाँसम्म सिंढी पुगेको छ, त्यहाँसम्म जाने अनि यत्तिकै जंगलको बाटो लाग्ने भनेर हामी उक्लिदै गयौं ।

हरियो जंगल, जंगलको बीचबाट नयाँ ढुंगाले बनाइँदै गरेको सिँढी उक्लिनुको मज्जा पनि बेग्लै हुन्छ । गफ गर्दै र त्यस्तै परे फोटो पनि खिच्दै हामी अगाडि बढिरहेका थियौं । केही अगाडि बढेपछि, अझ भनौं पहिला पहिला हिडिसकेको बाटोभन्दा अलि अगाडि बढिसकेपछि एक्कासी प्रश्न सोझिन आइपुग्छ, ‘तपाईहरु कहाँ जान लाग्नु भएको ?’

सिंढी बनाउदै गरेका युवा मजदुरहरुको प्रश्न हो । उनीहरु भन्छन्, ‘‘बाटो त यहीँसम्म मात्रै हो ।’’

हामी पनि जवाफ दिन्छौं, ‘‘सिंढीको बाटो यहाँसम्म होला, हामी यहीबाटो सीधा जान्छौं ।’

भन्न पो भन्यौं, तर सीधा जानलाई बाटो पनि त हुनुप¥यो । जमिन खोप्दै सिँढी बनाउँदै अगाडि बढिरहेका पो रहेछ । अक्क न बक्क भयौं । फर्केर अर्कै बाटो पछ्याउँ ? फर्कनु् पर्ने बाटो थोरै होइन । उनीहरुमध्ये एक जनाले एउटा सानो तेर्सो बाटो देखाएर सुझायो– ‘‘यहाँबाट जाँदा एउटा बाटो आउँछ, त्यहाँबाट माथि लाग्दा ठाडो उकालो आउँछ । त्यो बाटो पनि नजानुस् । बरु त्यसको अलि मुनि फराकिलो बाटो लागेर जानुुुुस्, गोसाइँकुण्ड पुगिन्छ ।’

कच्ची बाटो भिजेको मात्रै होइन, ओसिलो पनि थियो । दश पन्ध्र पाइला के चालेको, एक बाबु बाटोमा चिप्लेर बङ्ग लडिहाल्यो । तै एकातिर लड्न पुगेछ, अर्कोतिर लडेको भए ठुलै दुर्घटना हुन्थ्यो । सम्हालिँदै अघि बढ्यौं । गोरेटो बाटो हो । तेर्सो तेर्सो । अलि अगाडि बढीपछि बाटो ओरालो लाग्यो । तलबाट पाँच जना युवक उक्लिरहेका थिए, हामीजस्तै गोसाईकुन्ड नै जानलाई आएका रहेछन् । हामी त्यता लागेनौं । त्यस्तै बीस पच्चीस पाइला ओर्लेपछि सिँढी बनाउने कामदारहरु बालुवा र ढुंगा ओसारिरहेका देख्यौं । त्यहीँ रहेछ, फराकिलो बाटो भनेको ।

यो फराकिलो बाटो कहाँबाट आएको हो थाहा नाइँ । तर कहाँ जान्छ भन्ने त पक्का भयो । हरियो जंगलको बीचमा मोटर गुड्ने खालको बाटो । पीच भइनसकेको । यही बाटो पछ्याउँदै अघि बढ्यौं । हाइकिङ न हो, आफ्नै पाराले पसिना निस्कने गरी लम्किदँ अलि परसम्म पुगें र पछाडिका सहयात्रीहरुलाई पर्सेर बसें । पछि सबै सँगै हिड्यौं । राति पानी परेको थियो, दिनमा पनि पर्ने फोरकास्ट त थियो । आकासमा बादल त मदारिरहेकै थियो । हिड्दा हिड्दै एक खालको आवाजमा मेरो ध्यान गयो । कान थापेर सुनें । आवाज मलाई निको लागेन । अरुलाई पनि कान थापेर त्यही आवाज सुन्नलाई भनें । तल बाटोमा मोटर गुडेको हो भन्यो । मोटरको आवाज त हुँदै होइन । यो पानी परेको हो, चाँडै नै हामीसम्म आइपुग्छ भन्दानभन्दै पानीका छिटाहरु आइपुगिहाल्यो । छाता र बर्सादी मिलाउँदा मिलाएँदै भरर पानी पर्न थालिहाल्यो ।

झरीमा जंगलको बीचैबीच पदयात्रा गर्नुको रमाइलो बेग्लै हुन्छ । झरीमा साना ठुला यस्ता यात्राहरु थुप्रै नापेको छु । म मात्रै होइन, सहयात्रीहरु पनि उत्तिकै रमाए । अरु त अरु, सुरुमा अलि आत्तिएका दुई साना बाबुहरुलाई ढाडस दिनु परेको थियो र रमाइलोका लागि यो राम्रो अवसर भनेर बुझाउन खोजेको पनि थिएँ । सहरी क्षेत्रमा हुर्केका यिनीहरुका लागि यो जीवनको पहिलो अनुभव थियो । उनीहरु पनि रमाउन थालेपछि हामी ठुलाको रमाइलो झनै बढ्यो । अघिसम्म हिड्दै गरेको बाटो एकै छिनमा खोलाजस्तै बनेपछि एक बाबु अक्क न बक्क प¥यो ।

पछि बिस्तारै झरी रोक्यो । घुमाउरो हुँदै तल अन्तैबाट उक्लिरहेको पीचबाट भेट्दासम्ममा झरी पूर्ण रुपमा रोकिसकेको थियो । पानीले पखालेको हरियो रुखविरुवा र घाँसपात अनि कालो पीचबाटो कम्तीको नयनाभिराम थिएन । बाइकमा उक्लिरहेका र ओर्लिरहेका युवायुवतीको रौनक बेग्लै थियो । त्यसैमा हामी पदयात्रीहरु । हाम्रो फोटोग्राफी पनि चल्दै थियो । समग्रमा भनुँ, निकै रमाइलो भएको थियो ।

यो बीचबाटो भएर अलि अगाडि बढेको मात्रै थियौं, एउटा घुम्तीमा प्रवेशद्वार देखियो । गुरुकुल रहेछ । कसैलाई सोध्यौं, गोसाइँकुण्ड यही हो भन्ने जानकारी पायो । चारैतिर आँखा डुलायौं, संभावना यही गुरुकुलभित्र हुनुपर्ने अडकल काटियो । प्रवेश ग¥यौं र केही पाइला अगाडि बढ्पछि एउटा पोखरी देख्यौं । कुनै पुरानो पोरखी होला र मार्बल लगाएर संरक्षण गर्न खोजेको जस्तो लाग्यो । पोखरी हेर्दै मन खिन्न भयो, के के भनेर आइयो, यस्तो पो रहेछ भनेर । यही सानो पोखरीको बीचमा कालो ढुंगा देख्यौं । रसुवाको गोसाईकुँण्डको बीचमा पानीभित्र एउटा ठुलो ढुंगा देख्न पाइन्छ, त्यसैको प्रतीक बनाएको होला भन्ने अडकल काट्यौं । अलि भित्र महादेव मन्दिर पनि रहेछ । गुरुकुलका एक गुरुले भनेपछि मात्रै थाहा भयो, गोराईकुण्ड यो होइन, अलि तल रहेछ । यहाँ देखेको त्यो सानो पोखरी त शोभा मात्रै रहेछ । बीचको कालो ढुंगा कालीगण्डकीबाट कसैले ल्याएर दिएको रहेछ । अघि यही पोखरी देखेर खिन्न भएको मन वास्तवमा गोसाईँकुण्ड नै नभएको थाहा पाएर प्रफूल्ल भयो । त्यहीँ प्रवेशद्वारको छेवैमा रहेको चिया पसलमा चिया खायौं र तल झ¥यौं ।

गोसाईँकुण्ड भनेर रसुवाको प्रसिद्ध गोसाईकुण्डकै रिप्लिको होइन रहेछ । सानो पोखरी रहेछ, बीचमा महादेवको मूर्ति । त्यहाँ एउटा ठूलो त्रिशुल पनि ठड्याएको छ । यसरी नै बरिपरि अन्य सानासाना मन्दिरहरु पनि निर्माण भएका छन् । बेग्लै स्वरुप हो । गोसाइँकुण्ड वा सानो गोसाइँकुण्ड भनेर यसलाई रसुवाको गोसाइँकुण्डसँग जोडेको रहेछ । जंगलको बीच अनि खोंचमा रहेको यो कुण्डमा श्रावण पूर्णिमामा मेला लाग्ने बनाइएको रहेछ । त्यहाँ पनि फोटोग्राफीमा अलि समय खर्चियौं । भोक पनि लाग्न थालिसकेको थियो र फलफुल झिकेर बाँड्यौं । केही क्षणपछि हिड्न तरखर ग¥यौं । आएको बाटो नफर्की त्यहीँ तल झर्ने सानो खुडकिला रहेछ । यो खुड्किलाले अघि हामी हिडेकै ठुलो भेटायौं । अलि वर आएर बाटो छेउमा पलेटी कसी खाजाको पोको पनि खोल्यौं ।

बाटोमा कसैले भन्यो, यो बाटो बुडोलमा पुगेर टुंगिन्छ । हामीले सुरुमा पक्रन नपाएको वा बिच्किएको बाटो यही पो रहेछ ? अचम्म लाग्यो । हिड्दै आउँदा काभ्रे क्याम्पसको प्रवेशद्वार पनि देख्यौं र बुडोल पनि पुग्यौं । सबैको आँखामा एउटा सार्थक यात्राको अनुभूति देखियो ।

लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *