गुफा डाँडामा उक्लिंदा

गुफा डाँडामा उक्लिंदा
बसन्त महर्जन

गुफा डाँडा जाँदै छौं । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई हवाइजहाजको झ्यालबाट हेरेजस्तो हेर्नुपर्ने भइसक्यो । २०७८ असारमा आएको ठुलो बाढीको त्रासदी र चर्चा अझै सकिएको छैन । यता आउनुअघि बजार खाना खाएको पाँच तल्ले होटेल नै पनि डेढ तल्लासम्म चुर्लुम्मै डुबाएको थियो । त्यही चर्चा गाडीभित्र चल्यो । गुफा डाँडामा पु¥याउन हामीसँगै आएका स्थानिय जनप्रतिनिधि र उनको एक साथीले बाढीको बखान मात्रै गरेनन्, यो घर र त्यो घर, त्यहाँ र यहाँ भनेर गाडीको झ्यालबाटै देखाइरहे ।

बास्तवमा गुफाडाँडा नै पुग्ने भनेर मेलम्ची आएकै होइनौं । योजना नै थिएन यहाँ आउने । बाग्मती प्रदेशमा एडभेन्चर टुरिज्मका लागि संभाव्यता अध्ययन गर्दै हिडिरहेका हामीलाई यहाँ पुग्नु आकस्मिक पनि होइन । हाम्रो योजना वा कार्यक्रम मेलम्चीको मेयरलाई भेटेर सिधै हेलम्बुतिर लाग्ने हो । तर कुरैकुरामा गुफाडाँडाको नाम निस्क्यो । यसलाई हेर्नैपर्ने महसूस भएपछि रहर मात्रै नभएर कर पनि बन्न पुग्यो । अनि यतातिर उकालिएका हौं ।

गुफाडाँडासम्म पुग्ने बाटो त फराकिलो नै बनेको रहेछ तर अफरोड ।

अघि नै टाउको दुख्न थालिसकेको, अब झन बढ्न थाल्यो । भनें । डाँडा, दायाँबायाँ हरियो बारी तथा चौरको बीचबाट गाडी उक्लिरहेको बाहेक त्यहाँ केही थिएन । कसैले केही गर्नसक्ने अवस्था थिएन । टाउको दुखाइ बढ्दै गयो । गाडी भित्रको कुरामा मेरो ध्यान जान छाड्यो । के कुरा भएको रहेछ भनेर थाहा पाउन सहयात्रीबाटै बुझ्न सकिन्छ । म भरसक निदाउने खोजें ।

झलक्क निदाएँ होला, निद्रा खुल्यो । गाडी उक्लिंदै थियो । एक ठाउँमा पुगेर गाडी ढ्याक्क रोकियो । त्यहाँ चार पाँच वटा घर रहेछ । किन रोकेको ? मेरै लागि रोकेको रहेछ । त्यहाँ घरहरू मात्रै रहेनछ, स्वास्थ्य चौकी पनि रहेछ । सिटामोल मगायो । सिटामोल बोकेर एक स्वास्थ्य सेविका निस्केर केही सोध्यो र त्यहीँ पानी लिएर औषधि खाइदिएँ । गाडी फेरि उक्लियो ।

समुन्द्री सतहबाट दुई हजार दुई सय पचास मिटरको टुप्पोमा लाग्दै छौं । बाहिर घाम लागिरहेको भएपनि चिसो चिसो हुन थाल्यो । त्यस्तै बेलामा ठिहि नै लाग्ने हिमाली गाउँमा चिसो लाग्नु कुन ठुलो कुरा भयो र ? धेरै माथि गएपछि हुस्सु पनि लाग्न थाल्यो । पछि त पानी पनि पर्न थाल्यो । तर टुप्पो भने आएकै होइन । अझै कति जानु पर्छ ? आउनै लाग्यो भन्दाको ठाउँलाई निकै पछाडि छाडेर आइसक्यौं । अर्को डाँडा देखाएर भने, ‘‘उ त्यो छ नि, ठुलो गुम्बा हो । कुन चाहीँ हो, ठुलै रिम्पोचे आएर उद्घाटन गरेको केही अघि मात्रै । उद्घाटनका बेला थुप्रै मान्छे आएका थिए ।’’

‘‘हामी त्यहीँ जाने हो ?’’ सोधें । जहाँ देखाएको हो त्यो डाँडाको टुप्पो होइन । गुफा डाँडा, डाँडाको टुप्पो मै पर्छ भनिएको थियो । केही क्षणपछि नै जवाफ पायौं, ‘‘यही हो गुफा डाँडा, अब झर्दा पनि भयो ।’’

पहिलाको संंचरनाअनुसार ज्यामिरे गाउँविकास समितिमा पर्ने यो गुफा डाँडा अहिले मेलम्ची गाउँपालिका, वडा नं १० मा पर्दछ । यो डाँडाको अलि मुनि केही ओडारहरू रहेछन् र त्यहाँ बौद्ध धर्मका साधकहरू ध्यानमा बस्नका लागि प्रयोग हुने भएर नामै गुफा डाँडा राखिएको रहेछ । ध्यान बस्नुलाई गुफा बस्नु पनि भनिन्छ, गाउँघरमा । पहिला यो गाइवस्तु चराउने खर्कको रूपमा थियो । हरियो चौरको बीचबीचै आइरहेको बाटैबाटो जाने हो भने अघि भनेको गुम्बा पुग्ने रहेछ । गाडी रोकिएकै ठाउँमा एउटा प्रवेशद्वार रहेछ । प्रवेशद्वारमा लेखिएको छ,– गुफाडाँडा जलवायु पार्क प्रवेशद्वार ।

जिल्ला समन्वय समिति महासंघको आयोजना तथा समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा विश्वव्यापी समस्याका रूपमा आइरहेको जलवायु परिवर्तनबारे २०७५ सालमा प्रथम राष्ट्रिय जलवायु सम्मेलन भएको थियो । दुई दिनसम्म चलेको यो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । प्रवेशद्वार पछि सिँढीहरू छन् । दायाँबायाँ लहरै राष्ट्रिय झण्डा फर्फराइरहेको छ । त्यही सिँढी चढ्दै गर्दा जनप्रतिनिधि बोले, सत्तहतर जिल्लाका सत्तहत्तर वटा नै झण्डा छन् । यसको झण्डोलोत्तर जिल्ला सभापतिहरूले गरेका हुन् । र, माथि बीचमा अलि ठुलो झण्डा छ, त्यो चाहीँ राष्ट्रपतिबाट झण्डोलोत्तन भएको हो ।’’

‘‘उसो भए यो राष्ट्रिय स्तरको र सबै जिल्लाको साझा पार्क भयो त होइन ?’’

‘‘त्यस्तै भन्नुपर्यो ।’’

दायाँबायाँ राष्ट्रिय झण्डाहरू फर्फराइरहेको छ । हामी चढ्दै गयौं । झण्डाहरू मक्किन थालेछन्, च्याटिन थालेछन् । सिँढीमा छापिएका ढुंगाहरू नै पनि उप्किन थालेका छन् । जनप्रतिनिधिले मुख खोले, ‘‘सम्मेलन भयो, त्यसको सम्झनामा पार्क नै बनायौं तर यसको मर्मत तथा देखरेखका लागि बजेटकै अभाव छ । त्यसैले सोचेजस्तो गर्न सकिरहेका छैनौं ।’’
राष्ट्रिय जलवायु सम्मेलनलाई स्मरणीय बनाउन जलवायु परिवर्तनको असर झल्काउने स्ट्याचुलाई राष्ट्रपतीले अनावरण गरेकी थिइन् । त्यो स्टायच्युसम्म पुग्यौं । स्टायच्युमा रहेको झण्डा यस्सरी मक्किसकेको थियो, हेर्दै बिजोग लाग्ने अवस्था भइसकेको थियो । अर्काले छिटोछिटो त्यो झण्डा त्यसबाट निकाल्यो । जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाउनुपर्ने वा जलवायु परिवर्तनले कुनै बेला पृथ्बी नै जोखिममा पार्ने दोहोरो सन्देशसहितको त्यो स्ट्याचुमा मानवलाई पृथ्वी बोकाइएको छ । स्टाच्युमुनि अभिलेख छन्, ‘‘सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भन्डारीज्यूबाट प्राकृतिक श्रोत तथा सम्पदाले सम्पनन सिन्धुपाल्चोकको गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन – २०७५ का सन्दर्भमा निर्मित जलवायु प्रतिमाको अनावरण् सम्पन्न भयो । २०७५ पौष१६ गते सोमवार ।’’

ठाउँ राम्रै रहेछ । यहाँबाट लाक्पादोर्जे, जुगल, लाङटाङ, गौरी शंकर हिमालहरू छर्लङ्ग देखिने रहेछ । तर यति बेला कुहिरोले छोपिएका छन् । यहाँबाट इन्द्रावती, दोलखा, चौचारा, साँगागढी र काठमाडौंको केही भाग पनि देखिने रहेछ । त्यो पनि कुहिरोका कारण देखेनौं । एघार सय तेत्तिस रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कमा घुम्न भनेर युवा युवती त आउने रहेछन् तर खासै केही गर्न सकिएको छैन । केही संरचना त बनेका छन् तर पार्ककै धज्जी उडाउने गरी । बस्न भनेर केही बनेका संरचना पनि पार्कको सौन्दर्य हेर्नेको आँखा बिझाउने खालको छ । पार्क आफैमा सौन्दर्यले भरिपूर्ण त छँदैछ, राष्ट्रिय झण्डाहरू नै पनि आकर्षक दृष्य भइरहेका छन् ।

हामी घुम्न मात्रै आएका त होइनौं, हेरेर यतिकै फर्कन । पर्यटनविद्का रूपमा नियुक्त भएका हामी पर्यटकीय संभाव्यता अध्ययन गर्दै हिडेका । केही दिन यता हाम्रो काम नै सोध्ने मात्रै भइरहेको थियो अनि सँगै गएको अर्को पर्यटनविद्सँग छलफल र चिन्तनमनन गथ्र्यौं । गुफा डाँडाका सम्बन्धमा पनि थुप्रै जानकारी संकलन गर्यौं । यताउता अवलोकन गर्यौं । यही पार्कको छेउबाट प्याराग्लाइडिङ गरेर तल झर्ने गरी पर्यटनको आइटम विकास गर्न सकिने रहेछ ।

फेरि पानी पर्न थाल्यो । उता गुम्बातिर जाने मन भयो । अलि अगाडि बढेको पनि हो तर बाटो यस्सरी बिग्रन थालिसकेको रहेछ कि, ड्राइभरले हिम्मत गर्न सकेनन् । फस्नुभन्दा फर्कनु राम्रो । फक्र्यौं ।

(सर्वप्रथम मधुपर्क मासिक, असाेज २०८१, पूर्णांङ्रक ६६० मा प्रकाशित)

लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *