Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

नमोबुद्धमा महासत्व राजकुमारको देहदान

Posted on April 28, 2024May 7, 2024 by बसन्त महर्जन
बसन्त महर्जन

गौतम बुद्धको अघिल्लो एक जन्म महासत्व राजकुमारका रुपमा भएको र जंगलमा भोकाएकी एउटी बघिनीलाई आफ्नै देह दान गरेको जातक कथा प्रसिद्ध छ । देहदान गरेको सो स्थल वर्तमान ‘नमो बुद्ध’ हो भन्ने मान्यता नेपालीहरुको छ । यो ठाउँ काभ्रे जिल्लाको धुलिखेल नगरमा अवस्थित छ । यही विश्वास वा मान्यतामा ‘नमोबुद्ध’ अहिले बौद्ध तीर्थस्थलका साथै पर्यटकीय आकर्षणको थलो बनेको छ ।

जातक कथाअनुसार महासत्व राजकुमारको जन्म राजा महारथ र रानी सत्यवतीको कान्छो छोराको रुपमा भएको थियो । यी राजाको राज्य राजधानी नमोबुद्धभन्दा पश्चिमस्थित वर्तमान पनौतिमा थियो भन्ने मान्यता स्थानीय बौद्ध समाजमा छ । महासत्व दाजु राजकुमारहरुका साथ एक वन सयरका लागि राजधानीबाट पूर्वतिरको घना जंगलमा पसे । जंगलभित्र रहेको एउटा ओडारमा उनीहरुले एउटी बघिनी र उनका साना साना बच्चाहरु देखे । बघिनी निकै दुर्बल थिइन् । बाहिर गएर आहार खोज्नसक्ने अवस्थामा थिइनन् । खाना खान नपाएका कारण उसमा दूध पनि आएको थिएन । ती बघिनी केही दिनअघि मात्रै ब्याएकी थिइन् । डमरुहरु दूध आउँछ कि भनी आमाको मुन्टा चुसिरहेकी थिइन । निर्बल र असहाय बघिनी दिग्दार थिइन् । यो दृष्य आफैमा करुणाप्रद थियो । यो देखेर राजकुमार महासत्व करुणाले द्रभीभूत भए । खान नपाएर भोकाएको झोंकमा मतिभ्रष्ट भएर बघिनीले कुनै पनि बेला आफ्नै बच्चा खान पनि सक्ने अवस्थामा थियो । यो हृदयविदारक दृष्य हेरेर राजकुमारहरु अघि बढे । महासत्वको मन मानेको थिएन । अलि पर पुगेपछि केही सम्झेजस्तो गरेर भने, ‘‘मेरो सामान एउटा छुट्यो, तपाईहरु अगाडि जाँदै गर्नुस्, म भेटाउन आइपुग्छु ।’’

महासत्व भोकाएकी तिनै बघिनीको ओडारमा पुगे र बघिनीले आफूलाई खाएर क्षुधा शान्त गरोस् भनेर उसको अगाडि लम्पसार परिदिए । आफ्नै अगाडि लम्पसार पर्न आएकालाई पनि सिकार गरी आहार बनाउन सक्ने अवस्थामा बघिनी थिइनन् । त्यसपछि राजकुमार आफैले आफ्नो मासु काटेर बघिनीको मुखमा हालिदिए । एक दुई गाँस खाएपछि बघिनीले त्यही मासु डमरुहरुलाई पनि खुवाउन थाले । यस प्रकार बाघ र डमरुहरुको क्षुधाग्नी शान्त हुँदै गयो भने राजकुमारको पनि प्राणान्त भयो ।

पछाडि छुटेको भाइले भेटाउन आइनपुगेपछि दाजु राजकुमारहरुलाई पीर प¥यो । यताउता खोजबिन गरेपछि अघि आफूहरुले भोकाएको बघिनी र डमरुहरु देखेको ओडारमा राजकुमारको लुगा र कंकाल भेटाए । भाइ गुमाउनु परेर निकै आकुल व्याकुल दाजु राजकुमारहरुले दरवारमा यो खबर पु¥याए । तुरुन्तै दरवार मात्रै नभएर राज्य नै शोकमग्न हुनपुग्यो । यही बेला मृत्युवरण गरेका राजकुमार साधारण नभएर बोधिसत्व भएको र दानपारमिता पूरा गर्ने क्रममा देहदान नै गरेको भन्ने थाहा भयो । यसपछि महासत्वको कंकाल र लुगाहरु निधान गरी सो स्थलमा एउटा चैत्यको निर्माण गरिएको थियो ।

इ.पू. ५२८ मा बोधिलाभ पछि गौतम बुद्ध नेपाल भ्रमणमा आएको र स्वयम्भू महाचैत्यको दर्शनपछि हालको ‘नमोबुद्ध’ रहेको ठाउँतिर लागेको कुरा नेपाली मान्यता छ । त्यस स्थलमा पुगी गौतम बुद्धले आफूसँग आएका भिक्षुहरुलाई एउटा माटोको थुम्कोलाई सफा गर्न भने र त्यस थुम्कोभित्र स्तूप देखियो । महासत्व राजकुमारको नाममा बनाइएको स्तूप नै उक्त स्तूप रहेको दावी नेपाली बौद्धहरुको छ । यो स्तूपको प्राप्तीपछि भिक्षुहरु सबै आश्चर्यचकित भएको र भिक्षुहरुको जिज्ञासामा बुद्धले आफ्नो अघिल्लो जन्मको कथा (जातक कथा) सुनाउँदै महासत्व राजकुमार अरु नभएर आफै रहेको कुरा बताएका थिए । स्तूपको प्राप्तीपछि गौतम बुद्धले ‘नमोबुद्धाय’ भनेको हुनाले ठाउँको नाम नमोबुद्ध भएको र तीर्थस्थलको रुपमा बौद्धहरु जान थालेको भनाई नेपाली बौद्धजनको कहावत छ ।

बौद्ध धर्मदर्शनमा एउटै सत्वका अनेकौं जन्महरुको अस्तित्वलाई मानिन्छ । बौद्ध धर्मले यस्ता अनेकौं जन्म र मृत्युको क्रमलाई नै दुःखको रुपमा परिभाषित गरेको छ । र, बौद्ध धर्मको मुख्य उद्देश्य नै दुःखबाट मुक्ति हो र यही मुक्तिका लागि गरिने कामकुरा नै बौद्ध साधना हो । आफ्नो मुक्ति त छँदैछ, अरुको मुक्तिमा पनि सहायक हुनसकुँ भनी पारमीहरु पूरा गर्दै बोधिचर्या गर्नेलाई बोधिसत्व भनिन्छ । दिपंकर बुद्धसमक्ष बोधिप्रणिधान गरी बोधिसत्व बन्ने तापसी सुमेध अनेकौं जन्महरु लिई विभिन्न पारमीहरु पूरा गरेका थिए । यिनै सुमेध गौतम बुद्ध हुन् । बोधिसत्वका रुपमा बिताएका ती जीवन कथाहरु नै जातक कथा हुन् । यो केही सय वा हजार वर्षको विवरण नभएर लाखौं करोडौं वर्षका कुरा हुन् तसर्थ यी कुराहरुलाई इतिहासको कसीमा राखेर हो–होइन भनी विवाद गर्न सकिन्न ।

महासत्व राजकुमार र नमोबुद्धको सम्बन्धबारे कहावत नेपाली समाजमा स्थापित तथ्य भएपनि यो इतिहाससिद्ध कुरा होइन । ‘नमोबुद्ध’ को कुरा मात्रै नभएर गौतम बुद्धको नेपाल आगमणकै कुरा पनि कुनै श्रोतबाट पुष्टि हुँदैन । गौतम बुद्ध कहिले कहाँ गए, के बोले, के भयो भन्ने विवरण बौद्ध साहित्यहरुमा प्रसस्त मात्रामा उपलब्ध छन् तर आधिकारिक ग्रन्थहरुमा नेपाल आगमनको प्रसङ्ग पाइँदैन । जातक कथामा वर्णित ठाउँहरु मात्रै नभएर गौतम बुद्धकै जीवनसँग सम्बन्धित कतिपय गाउँठाउँको पहिचान हुननसक्दा एकभन्दा बढी ठाउँमा दावी गरिहेको पाइन्छ । तर ‘नमोबुद्ध’ हिजोआज मात्रै विकास गरिएको ठाउँ नभएर प्राचीन कालदेखि नै अत्यन्त श्रद्धा राखिएको बौद्ध स्थल हो । यसको प्राचीनताको प्रमाण सोही ठाउँमा देख्न पाइन्छ । नमोबुद्धमा पुरानोका साथै विभिन्न समयमा बनेका चैत्यहरु रहेकाको दर्शन पछि जंगलको खुड्किला चढेर डाँडाको टुप्पोमा पुग्न सकिन्छ । टुप्पोमा पहिला खुल्ला आकासमुनि बघिनीलाई महासत्वले मासु काटेर खुवाइराखेको दृष्य अंकित मूर्ति थियो भने आजभोलि सो मूर्तिलाई मन्दिरभित्र सुरक्षित राखिएको छ । यो पनि दर्शनीय ठाउँ हो ।

नमोबुद्ध हाल काभ्रे जिल्लाको धुलिखेल नगरमा पर्दछ । यहाँ घुलिखेलबाट पुग्ने राम्रो बाटो बनेको छ । यसरी नै पनौतीबाट जाने बाटोलाई पनि हाल सुधार गरी फराकिलो पारिएको छ । नेवार समुदाय ‘नमोबुद्ध’लाई ‘नमरा’ भन्ने गर्दछन् । ‘नमोबुद्ध’कै अपभ्रंश शब्द ‘नमरा’ हो भन्ने गरिएपनि यो चित्त बुझ्दो अनुमान भने होइन । नमोबुद्धको अपभ्रंश नमरा हुनसक्ने बाटो देखिन्न बरु यसको छुट्टै अर्थ वा अन्य मौलिक शब्दको अपभ्रंश पो हो कि भनेर अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ । नेवार बौद्ध समाजसँग यस स्थलसँग गहिरो सम्बन्ध रहेको जनाउने सांस्कृतिक मान्यताहरु रहेका छन् । अन्य पूजाका अतिरिक्त घरमा कसैको मृत्यु हुँदा काठमाडौ, भक्तपुर, ललितपुरलगायतका नेवार वस्तीहरुबाट यस स्थलमा पूजा गर्न आउने परम्परा हिजोआज पनि कायम नै छ । परम्परागत रुपमा यसरी पूजा आउनेहरुबाट नमो बुद्धको सांस्कृतिक परम्परा जीवन्त बनेको छ । आजभोलि विदेशी पर्यटकका साथै स्वदेशीहरु नै पनि घुलिखेलदेखि वा पनौती देखि हाइकिङ गरेर पुग्ने गरेको पाइन्छ । यसरी नै यस स्थलसँग तामाङ समुदायको पनि गहिरो सम्बन्ध रहेको पाइन्छ । त्यसदेखि बाहेक तिब्बतलगायतका बौद्धहरुपनि आस्थाको स्थलका रुपमा यहाँ पुग्ने गरेको पाइन्छ भने आजभोलि यहाँ भव्य बौद्ध गुम्बाहरुको निर्माणले सुविधा तथा आकर्षणहरु थपिएको पाइन्छ । साथै, उत्तर दिशामा रहेको हिमाल तथा अन्य प्राकृतिक सौन्दर्यको दृष्यपान गर्न पनि यो ठाउँ उपयुक्त हुनाले पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पाइन्छ । यहाँ प्रत्येक कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्दछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb