काठमाडौंबाट यस्सो फुत्किन पायो कि कालिन्चोक थुम्कोमा पुग्नेहरु आजभोलि काठमाडौंमा बढेको छ । यो ठाउँको प्रचार वा प्रसिद्धि बिगतमा भन्दा बढेसँगै घुम्न जानेहरुको संख्या पनि बढेको हो । प्राचीन कला र संस्कृति अनि जनजीवनको एक जीवन्त म्यूजियम जस्तै रहेको दोलखासँग कालिन्चोकको सम्बन्ध रहेको छ । यो चरिकोट बजारबाट १५ किलोमिटर उत्तर पर्दछ । जान चाहेर पनि कालिन्चोक पुग्ने योजना बनाएको थिइनँ, यसअघि दुई पल्ट दोलखा पुग्दा पनि । पर्यटनसम्बन्धी योजनाको अध्ययनमा जाँदा पनि दोलखा मात्रै भएर फर्कनु परेको थियो । यस पाली दोलखामा प्रत्येक वर्ष मनाइने करुणामयको रथयात्राको अवलोकनका लागि पुगेको । २३ अप्रिल (२०१९) का दिन लखतरान हुने गरी रथयात्राको अवलोकन गरियो । तर कालिन्चोक पुग्ने कुनै चाँजोपाँजो भने थिएन । यत्तिकै फर्कने कार्यक्रम थियो । भोलिपल्ट विहान अचानक कालिन्चोक पुग्ने योजना बन्यो ।
कालिन्चोकसम्म जान र फर्कनका लागि एउटा जीप रिजर्भ भयो । जीपमा सबै चढ्यौं तर गुडेको होइन । किन ? कसैलाई पर्खनु परेको रहेछ । जीप चढीसकेकाहरुको अनुहार नियालें, कोही पनि छुटेका थिएनन् । कसलाई पर्खेको हो त ? जवाफ आउँछ, देवेन्द्र दाइ र भाउजु । उहाँहरु पनि पनि आउने भन्नु भएको छ, आउँदै हुनुहुन्छ ।
काठमाडौंबाट दोलखाका लागि चढेको बसमा परिचय भएको थियो, यी दुई दोलखाली दम्पतिसँग । लोग्ने गाउँ पञ्चायत छँदाका प्रधानपञ्च । हिजोआज काठमाडौंमा बस्ने गर्दछन्, चाड मनाउनकै लागि दोलखा घर आइपुगेका । जीप चढ्न आइपुगे । रमाइलो कुरा त के भने नातिनातिना भइसकेका भाउजुको पनि यो पहिलो पल्टको कालिन्चोक यात्रा रहेछ ।
जीप गुडेको त्यस्तै पाँच मिनेट जति भयो होला, काठमाडौंबाट श्रीमतीको मोबाइलमा फोन आउँछ । मोबाइलमा काठमाडौंको आवाज गुन्जियो,– ‘‘ठुलै भूकम्प गयो नि यहाँ, त्यहाँ कस्तो छ ?’’
१२ वैशााख (२०७२) को भूकम्पले ठुलै प्रभाव पारेको क्षेत्रमध्ये दोलखा जिल्ला पनि एक हो । भर्खरै भर्खर मात्र तङ्ग्रिन थालेको दोलखा तथा सिन्धुपाल्चोक जिल्ला भूकम्पको पर्यायजस्तै भयो । इपिसेन्टर गोरखाको वारपाक भएपनि बढी क्षति दोलखा र सिन्धुपाल्चोकमै भएको पाइन्छ । यस अवस्थामा दोलखाबारे सोधनी हुनु स्वाभाविक पनि हो । हामी जीप भित्रै थियौं, चालैं पाएनौं तर दोखालमा पनि थोरै महसूस चाहिं गरिएको रहेछ ।
जीप दोलखा चरिकोट कटेर निकै अगाडि बढिरह्यो । एकान्त र एकलासको बाटो हुँदै जीप अगाडि हुइँकिरह्यो । जीप ड्राइभर बोले– ‘‘देख्नु भयो यो बाटो ? हेर्दा फराकिलो र सफा हगि ? तर हिउँ पर्दा यो बाटो यहीँ हराउँछ । हामी मोटर गाडीहरु यहाँ माथि आउदैनौं त्यो बेला । हिडेर यही बाटो फर्कनेहरु पनि बाटो र जंगल छुट्याउन सक्दैनन् । कताकता पुग्छन् । अनि हिउँमा हराउने भनेको यही हो ।’’
कालिन्चोक गएको र फर्कदा बाटो भुलेर जंगलमा हराएको समाचार प्रत्येक वर्षजस्तो सुन्न र पढ्न पाइन्छ । ससाना बाटोहरु भुलेर थुप्रैपल्ट जंगलमा हराएको अनुभव भएको मलाई राजमार्गजस्तो बाटो हिउँले छापिने र यात्रुहरु हराउने कुरा नौलो भयो । बाटोको दायाँबायाँ आँखा दौडाएँ । बाटो किनारमा उभिएर स्वागत गरिहरेकाजस्तो लालीगुराँसै लालीगुराँस देखें । हेर्दै मनमोहक । सहयात्रीहरुको योजना बन्यो, फर्कदा लालीगुराँस आउने गरी फोटो खिचेर जानुपर्छ है । कति राम्रो फुलेको टिपेर लानु पर्छ है ।
कुरि आइपुग्यो । पहिले यो वस्ती थियो । अहिले बजार भएको छ । उहिले उहिले मान्छेहरु कुरिमा वास बसेर भोलिपल्ट विहानै कालिन्चोकको डाँडा चढ्थे । चढ्न त अहिले पनि चढ्छन् तर केबुलकारको निर्माण पछि खुट्टालाई दुःख दिइराख्नेहरु कम भएका छन् । केबुलकारले थोरै मिनेटमा माथि पु¥याइदिने, भगवतीको दर्शन र चारैदिशाको दृष्यपान गराएर फर्काइदिन्छन् ।
कुरीमा गाडीबाट झर्ने र खुल्ला आकासको मुनि हरिया डाँडाको माथि उभिएर आङ तन्काउनुको मज्जा बेग्लै हुन्छ । कालिन्चोकको टुप्पोलाई गन्तव्य बनाएर आएकाहरु गाडीबाट झरेर सल्बलाइरहेकाहरु थुप्रै थिए । कुनै अर्कै समूहबाट आएकामध्येबाट कसैले आफ्नो मान्छेलाई देखाए, ‘ऊ त्यहीँ हो कालिन्चोक ।’
‘ऊ त्यहीँ हो कालिन्चोक’ भन्ने आवाज हाम्रो कानमा पनि ठोक्किन आयो । सबैभन्दा उँचो भागमा रहेको थुम्को रहेछ, कालिन्चोक । यो उँचोभन्नु समुद्री सतहबाट तीन हजार आठ सय बयालीस मिटरको उचाइ हो । झट्ट हेर्दा फुस्रो र नाङ्गो पहाड हो । हिउँ परेको बेला चारैतिर सेताम्ये हिउँ हुँदो हो, अनि त्यो पहाड कैलाशजस्तो उभिएको हुन्थ्यो होला । चिसो चिसो हावा चलिरहेको छ तर दृष्यावलोकनले मन पुलकित पनि ।
एक दिन थुम्को माथि भगवती प्रकट भएकी थिइन् रे । गोठालाहरुले देखेको । त्यही बेलादेखि कालिन्चोक भगवती भनेर दर्शन गर्न जाने चलन चलेको रे । तर मलाई यो हिजोआजमात्रै निर्माण गरेको बनीबनाउ कथा लाग्यो । उच्च थुम्कोहरु स्थानिय देवस्थान मानी श्रद्धा व्यक्ति गर्न जाने चलन पुरानै हो । अन्त पनि हुन्छ । त्यसैमा कथाकहानीको सिर्जनासहित हिन्दूकरण गर्ने प्रवृत्ति गज्जबले छ अन्त पनि । कीर्तिपुरमाथि धिनाचो छ, जसको सम्बन्ध प्राग्–ऐतिहासिक कालसँग सम्बन्धित छ । तर हिजोआज यसको नामाकरण गरिएको छ, चम्पादेवी । दुई चार वर्षअघि पनि नसुनिएका कथाहरु चम्पादेवीको नाममा आजभोलि सुन्न पाइन्छ । कसैकसैले उहीँको उही पनि बनाउँदो रहेछ यस्ता कथाहरु, रमाइलोका लागि । यस्तो काम स्थानिय इतिहास र संस्कृतिमाथिको ठुलै खेलवाड हो । यंकि दह रहेको ठाउँ दहचोक हो तर स्थानियता मास्न दहचोक नामाकरण गरिएको छ । यसरी नै यंकि दह भएको ठाउँलाई इन्द्रस्थान नाम दिइएको छ । चो शब्दले थुम्को अर्थ दिन्छ तर यो अर्थ लाई लत्याएर चोक बनाइदिएको पाइन्छ । अर्थात, फूचोलाई फूलचोकी, शिपूचोलाइ शिवपुरी ….. । कालिन्चोेकको मौलिक नाम के होला ? पक्कै पनि यसको पनि नामको पछाछि चो नै हो र त्यसअघि कुनै अर्कै शब्दको विग्रह भएर कालिन्चो बनेको हुनसक्छ वा कालिन् नै पनि मौलिक नाम हुनसक्छ । यसबारे अध्ययन गर्नु पर्दछ ।
मेरो चाहना थियो, हिंडेर माथि थुम्कोमा पुग्ने । तर एक्लै परें । समूहका सदस्यहरु केबुलकार चढेर सरर जान चाहने । समूहको व्यवस्थापन गर्न संयोजकलाई गा¥हो पर्ने भयो । मन नलागी नलागी केबुलकारबाटै जानु पर्ने भयो । प्रति व्यक्ति पाँच सय रुपैयाको दस्तुर रहेछ । र, चढेर माथि पुगियो ।
केबुलकारबाट झरिसकेपछि पश्चिमतिर लाग्छौं । केही दुरी हिडेपछि एउटा गोरेटो आइपुग्छ । तलबाट हिडेर आउनेहरु पनि यहीँ भेटिने रहेछ । यहाँ माथि पनि केही होटेल र पसलहरु रहेछन् । त्यहाँबाट पनि अलि पश्चिम लागेर दायाँ मोड्दै थोरै उकालो उक्लेपछि अलि चौडा ठाउँ आइपुग्छ, दायाँ गणेशको मूर्ति देख्न पाइन्छ । त्यहाँबाट अझ पूर्व लाग्न अलि मुस्किल हुने भएर होला, फलामको भ¥याङ राखिएको छ । पूर्व लागेपछि अझ ठुलो चौडा ठाउँ आइपुग्छ । यही हो, कालिन्चोकको थुम्को । धार्मिक वातावरणसँग साक्षात्कार हुन्छ ।
धार्मिक वातावरणको तात्पर्य घण्ट बजिरहनु र ध्वजापताकाहरु हावामा फहराइरहनु हो । भगवती हिन्दू देवी हुन् र रातो रंग बढी प्रचलित हुन्छन् । पहाडको टुप्पो भएपनि एउटा कुण्ड छ । भौगोलिक रुपमा वरिपरिबाट च्यापिएर माथि उठेको पानी होला । यसैलाई यहाँ अलौकिक शक्तिको रुपमा ग्रहण गरेको पाइन्छ । यही कुण्डको पानीलाई पवित्र जलको रुपमा त्यहाँबाट निकालिन्छ । त्यही ठाउँमा भगवतीको मूर्ति थापना गरिएको छ । यस ठाउँ वरिपरि त्रिशृुलहरु चढाइएका छन् । यसरी नै माथि आकासमा बौद्धहरुको लुङ्ता फहराएका छन् । डाँडा पूर्व पश्चिम लाम्चिएको छ भने भगवतीको स्थान अलि पूर्वमा पर्दछ । देवथान पनि पूर्व पश्चिम नै लाम्चिएको छ र प्रदक्षिणा गर्न बाटो छ । यहाँ भगवतीलाई भक्तजनहरु केके चढाउन ल्याउँछन्, ल्याउँछन् । परेवाहरु धेरै उचाइको आकासमा घण्टौंसम्म उडेर बस्न सक्छन् तर यहाँ होसै गुमेका जस्ता झोक्राएर बसिरहेको पाइयो ।
यहाँबाट रोल्वालिङ हिमश्रृंखलालाई छर्लङ्गै देखिँन्छ । तर यो दिन हिमश्रृंखलाका सबै हिमालले घुम्तो ओढेजस्तै बादलले छापिएको रहेछ । उघारिन्छ कि ? आसा त थियो तर जति पर्खेपनि उघारिने छाँटकाँट देखिएन । बरु त्यहीँबाट देखिने अन्य मनोरम दृष्यहरुको दृष्यपान गरेर चित्त बुझायौं ।
अलि पर मान्छेहरुको कल्याङकुलुङ आवाज आयो । आत्तिएको आवाज ठम्याउन गा¥हो भएन । एक महिलालाई वाकवाकी लागेको रहेछ । हरन्त भइसकेकी थिइन् । यसलाई ‘हाइअल्टिच्युड सीकनेस’ भनिन्छ । लेक लागेको पनि भनिन्छ । छिटो तल लानुस भनें । र, उनका आफना मान्छेहरुले माथिबाट तल झारे । हामी एक छिन त्यहीँ बस्यौं । चारैतिर हे¥यौं र फोटो खिचेर फर्कने तरखर ग¥यौं । झर्नका लागि फलामको भर्याङ बनाइएको छ । अलि साँघुरो । झर्दै गर्दा देख्यौं । दोलखाली भाउजुलाई पनि गा¥हो भइसकेको रहेछ ।
फर्कने बेलामा हिडेर झर्ने सोच अघि केबुलकार चढेर उक्लिँदै गर्दा आएको थियो । हिड्ने त्यो बाटोलाई माथिबाट हेर्दा नै आरिस लागिसकेको थियो । तर समूहमा यात्रा गर्दा सबै इच्छा पूरा गर्न सकिन्न । यही कारणले पनि हुनसक्छ कुनै बेला मेरो यात्रा प्रायः एकल हुन्थ्यो । जहाँ मनलाग्यो त्यहीँ बस्यो, जति खेर मन लाग्यो त्यति खेर नै हिड्यो । हिडेर फर्कने मनसुवा मनमा नै सीमित थियो तर यात्राको संयोजकलाई शंका लाग्यो कि कुन्नी अथवा कसैले भनेर हो, समूहबाट नछुटिन अनुुरोध आयो । यो अनुरोधलाई अनादर गर्न पनि मिलेन ।
झर्नका लागि केबुलकार चढ्न पालो पर्खनतिर लाग्यौं । हुलमुल छ । एउटा आयो, चढ्न त चढियो तर त्यो केबुलकारमा हाम्रा समूहबाट म मात्रै परेछु । समूहका साथीहरु अर्कोमा पनि चढ्न सकेनन् वा त्यतै अलमलिए । तल झर्नेमा म एक्लै परेछु । स्टेशनमा पर्खदापर्खदा अत्यास पनि लाग्यो । यताउता लागें । बजारै बजार त हो नि । फेदीमा एक्लैं यताउता गरिरहें । खुल्ला आकासको मुनि ससाना थुम्काहरु रहरलाग्दला त हुन्छन् नै । यता उता टहलिन थालें । हातमा क्यामेरा भएको अवस्थामा कहाँ चुपचाप बस्न सकिन्छ र ? फोटोग्राफीको धून चढिहाल्यो ।
अलि पर एउटा थुम्को एक्लै सुसाइरहेको जस्तो लाग्यो । मलाई नै बोलाइ रहेकोजस्तो पनि लाग्यो । त्यतैतिर लागियो । पारिलो घाम, हरियो थुम्का, चिसो हावा, नीलो आकासमा कपासजस्ता साना साना बादलका टुक्राहरु, …. उफ्, अरु के चाहियो र ? प्रकृतिको यो अनुपम रुप लावण्यमा म लुटपुटिएँ ।
चारैतिरको दृष्यलाई आफ्नो क्यामेरामा कैद गर्न थाल्छु । सेल्फी खिचेर आफूलाई पनि राम्रैसँग कैद गरें । त्यहाँ ढुक्कैसँग बस्छु ।
केबलकारबाट झरेर जमीनमा हिड्नेहरु सबैलाई गन्न सकिन्थ्यो चिन्न सकिन्थ्यो । हाम्रा मान्छे कोही आएका होइनन् । यति धेरै अलमलिनु पर्ने त होइन । बिग्रेको भनुँभने अरु त झर्याझर्यै छन् । बल्ल हाम्रो मान्छे देखें । म थुम्कोबाट झर्ने सुरसार कसें । अलि के झरेको थिएँ, उनीहरुको आँखाले मलाई ठम्याइहाले छन् । झर्नु पर्दैन, आफूहरु पनि थुम्कोमा नै आउने भन्ने संकेत अाउँछ । म टक्क उभिन्छु । उक्लिएका उनीहरु आइपुग्छन् ।
एक ठाउँमा बसेर गफ गर्दै रमाउन्जेल ढिलो भएको रहेछ, म पनि रमाइरहेकै त थिएँ । सबै फेरि थुम्कोमै पुग्छाैं । खाजाका पोकाहरु खोलियो, खाली भएका पेटहरु भरियो ।
र, बस चढेर फर्कन थाल्छाैं ।