
जलविद्यु्तको इतिहासमा नेपाल दोस्रो मुलुक हो र यहाँ पहिलो पल्ट फर्पिङ जलविद्युत आयोजना संचालन गरी बिजुली बत्ती बालिएको हो । पहिलो पल्ट बिजुली बत्ती बाल्ने गाउँ खोकना हो भनेर सामान्य ज्ञान घोकेर हुुर्केको मलाई सो जलविद्युतको पोखरी हेर्ने मौका भने धेरै पछि मात्रै जुर्यो । केहीअघि खोकनादेखि जलविघुुत आएको बाटो पछ्याउँदै जलभण्डारसम्म पुुगेको थिएँ । सोही बाटो हुँदै फेरि जाउँ वा घुमाइदेउ भन्ने अनुुरोध धेरैबाट आयो । इतिहाससँग जोडिएका ठाउँहरू पहिल्याउँदै हिड्ने र इतिहास नै लेख्ने र पढाउने मलाई योभन्दा ठुुलो कुरा के हुन्छ र ? जेठको दोस्रो साता (२०७९) एउटा सानो समूह लिएर फेरि त्यही बाटो लागियो ।
नेवार जीवनशैलीलाई नजिकबाट नियाल्ने थुप्रै गाउँ तथा सहर वस्ती अझै पनि थुप्रै छन् । तीमध्ये एउटा हो, खोकना । मलाई खोकना असाध्यै मनपर्छ । कहिलेकाहीँ यही गाउँमा मात्रै हल्लिएर बस्थें, स्थानियसँग बसिबियाँलो गरिरहन्थें । खोकना हुँदै फर्पिङको जलविद्युत पुुग्ने कार्यक्रम बनाएर नख्खु दोबाटोमा पुुगें । आउँछु भन्नेहरूलाई पख्र्यौं । पानी परिरहेको थियो । त्यहाँबाट विभिन्न ठाउँमा जाने सार्वजनिक यातायातहरू लाग्छ । हिड्ने सुरसार गर्दा खोकना नै जाने गाडी भरिभराउ थियो भने अर्को गाडीको टुंगो थिएन । बुंगमति जाने गाडी चढेर हुुइँकियौं । भैंसेपाटी हुँदै अगाडि बढेको ठुुलो फराकिलो बाटोबाट अलि अगाडि बढेपछि मूलबाटो छाडेर दायाँतिर लाग्ने अर्को बाटोबाट भित्र पस्यो भने खोकना पुगिन्छ । तर हामी चढेको गाडीको बाटो त्यो थिएन र हामी त्यहीँ रोक्यौं र हिड्न थाल्यौं ।
त्यस्तै पचास पाइला मात्रै हिडेको हुँला, माथिबाट तल खोकनालाई सर्लक्कै देख्न पायौं । कुनै बेला खेतको हरियो फाँट देखिने ठाउँमा प्लटिङ गरेर जग्गा बेच्न ठिक्क पारेको दृष्यल बिझायो । वरिपरि प्लटिङ गरेर बेचेको जग्गामा ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत शैलीभन्दा बेग्लै किसिमका घरहरू बनिसकेको रहेछ । यही रीतले अगाडि बढ्ने हो भने अबको केही वर्षमा नै खोकनाको पहिचान दिने वास्तुकलाका नमूनाहरू सिमेन्ट र कंक्रिटको जंगलले छोपिने हुन्छ । खोज्नै पर्ने हुन्छ । समूहमा सहभागी सानो बाबु ‘अंकल मेरो फोटो एउटा खिचिस्यो न’ भन्दै खोकनालाई पृष्ठभूमि बनाएर उभिन्छ र खिचिदिन्छु ।
अलि ओरालो लाग्दै खोकनामा प्रवेश गर्छौं । यहाँँका घर तथा अन्य कुराहरूमा दु्रतत्तर गतिमा परिवर्तनहरू आइराख्दापनि जनजीवन तथा जीवनशैलीमा खासै परिवर्तन आएको पाइँदैन । सानाठु्ला मन्दिर, पोखरी, पाटीपौवा तथा अन्य ऐतिहासिक तथा सांस्कृतिक कुराहरूको जीर्णोद्धार र संरक्षण भइरहेको पाइन्छ । खोकनाको मूलवस्तीलाई दायाँ पारेर सुरुमा दक्षिण र त्यसपछि पश्चिमतिर लाग्छौं । प्रसिद्ध सिकाली मन्दिर यहीँ छ तर पुनर्निर्माणका लागि पूरै भत्काइएको अवस्था छ । त्यहाँ वरिपरि अलि बेर अलमलियौं । पुनः पश्चिमतिर नै लाग्दै ग¥यौं । पहिला ढुंगाको सिँढीबाट ओर्लेर जाने बाटो अहिले सिमेन्ट र कंक्रिटबाट ढलान गरेर बनाइएका छन् । वडा कार्यालयको छेवैमा एउटा पाटी छ, । त्यहाँ एक छिन बस्यौं । यहाँबाट सिढै तल झ¥यो भने सांस्कृतिक महत्वको सिकाली चौर पुगिन्छ, जहाँ सिकाली जात्राको महत्वपूर्ण विधि सम्पन्न गरिन्छ । त्यहीँबाट वागमति नदीको किनारै किनार भएर तल झरी पुल तरेर काठमाडौं जिल्लाको फर्पिङ क्षेत्रमा पाइला टेक्न सकिन्छ । पाटीको पछाडिबाट जाने अर्को सानो बाटो पनि छ । हामी यही सानो बाटो पर्केर ओरालो लाग्छौं । खेरैखेतको बीच भएर फरिरहेको यो बाटो पुरानै हो । पहिला गोरेटो बाटो थियो अब मोटर गुडाउने बाटो बनिसकेको छ । यो बाटो भएर सिधै झुुलुुंगे पुुल पुगिन्छ ।
इतिहास बताउने बाटाघाटाहरू भएर हिँडिराख्दा मलाई जहिले पनि गौरवान्वित र हर्सित हुन्छ । यो बाटोमा पनि मलाई त्यस्तै अनुुभव भयो । जलबिद्युतसँग त्यो झोलुुंगे पुल पनि बनेको थियो । मुुनि वागमति बगिरहेको छ । सानो बाबुलाई अचम्म लाग्छ र सोध्छ, ‘‘हामीकहाँको बागमति कति फोहर यहाँ त्यो फोहर खोइ ?’’
नदी निश्चित दूरीसम्म बगेपछि सफा हुुँदै जाने र बीचमा अर्को फोहर फेरि थपियो भने मात्रै सफा नहुने कुुरा बताएँ । र, यो पनि बताएँ, अझ तल पुुगेपछि बागमतिको पानी सङ्लिन पुुग्छ ।
पुल भएर पारि पुग्छौं र सुुरुमा सोझो तर अलिपछि घुुमाउरो हुँदै उकालिने बाटो लागेर अर्को बाटोमा जोडिन पुुग्छौं । यतैतिर ग्वालिन्दह पर्दछ । दायाँतिर लागेर अलि झरेपछि वागमतिलाई पुनः देख्छौं र वागमतिलाई बायाँ पारेर हिड्दै गछौं, हिड्दै गर्छौं । वास्तवमा यो चल्तीकै बाटो हो तर ठाउँ ठाउँमा खाल्डाखुुल्डीहरू छन् । कहिँ बाटो खसेको छ । एक ठाउँमा त चिप्लेर ड्याङ्ग लडें पनि ।
अलि बेर हिडेपछि सिमेन्ट निर्मित एउटा द्वार आउँछ । जलविद्युत आयोजना निर्माणको सय वर्ष पुुगेको सन्दर्भमा शतवार्षिक मनाउन यो द्वार बनेको हो । त्यहीँबाट अलि माथि डाँडामा शतवार्षिक समारोहको स्मारक देखिन्छ । द्वारबाट भित्र छिरेपछि मूलबाटोबाट फाटेर सानो बाटो सोझै जलविद्युुतको पावर हाउसमा पुुगिन्छ । पहिलो पल्टा जाँदा त्यस ठाउँको खरवारी गर्न राखिएका कर्मचारीले हेर्नेवर्ने केही छैन, फर्कनुस् भनेर टाढैबाट भवनहरू मात्रै देखाएर फर्काएको थियो । भित्र जान दिँदैन, यतैबाट हेर्ने मात्रै हो भनेर बाबुुलाई भनेको, तर मान्दै मानेन । अलि नजिकबाट हेर्छु भनेर अगाडि बढिहाल्यो । पछि पछि म लागें । कर्मचारीले भित्रै गएर हेर्दा पनि हुुन्छ तर छुुने काम मात्रै नगरिदिनुस् भने । भित्र पस्यौं । कोठा त अँध्यारो नै छ तर झ्यालबाट आएको प्रकाशबाट सबै कुरा राम्रै हेर्न सकिन्छ । त्यसलाई म्युजियम भनिहाल्न न मिल्दैन तर ऐतिहासिक ती मेसिनहरूको सुरक्षा भने भइरहेको छ । त्यही कोठामा अन्य जलविद्युुगत गृहहरूको तस्वीर पनि टांगेर राखिएका छन् ।
पावर हाउसबाट उकालो लागेर चुुच्चोमा स्मारक क्षेत्रमा पुुग्छौं । त्यहाँबाट देखिने चारैतिरको दृष्य अत्यन्तै मनमोहक हुन्छ । केही बेर त्यहाँ बसेर पुनः झर्छौं र मूल बाटो पक्रेर अगाडि बढ्दौं । फलामको ठूलो पाइप लगाएर माथि जलभण्डारबाट ल्याइएको पानीबाट पहिला बिजुली उत्पादन गरिन्थ्यो तर अहिले त्यही पाइपको प्रयोग गरेर खानेपानीको रूपमा विभिन्न ठाउँमा वितरण गरिँदै आएको छ । पाइपसँगै खुुडकिलाहरू बनाइएका छन् र त्यही खुडुकिला भएर माथि जलभन्डार क्षेत्रमा पुुग्ने हो । यो खुडुकिला चढ्नु पनि रमाइलो नै हुन्छ । तर केही समस्याका कारण खुुड्किला चढ््ने अवस्थामा भएनौं र घुुमाउरो बाटो भएर हिड्यौं । बाटो त्यही खुड्किलामा पुुग्दो रहेछ । फेरि बाटो घुुुम्छ । एवंरितले जलभण्डार क्षेत्र पुुग्छौं ।
पूर्व र उत्तरतिर भिरालो रहेको चौडा ठाउँको अधिकांश भाग ओगटेर गोला आकारको पोखरी बनाइएको छ । यही हो प्रथम जलविद्युत आयोजनाको जलभन्डार । फर्पिङ शेषनारायणस्थानबाट ल्याइएको पानी यहाँ जम्मा गरी तल पठाइएको छ । दक्षिण भाग भिरालो छ । त्यही भिरालामाथि राणाकालीन शैलीमा भवनहरू बनाइएका छन् । भनिन्छ, त्यो बेला भवन भव्य थियो, निकै पछिसम्म पनि भवन उपयोग हुन्थ्यो । तर अहिले भवनहरूको अधिकांश भाग भत्केका छन्, खण्डहर बनेका छन् । कुनै कुनै भाग त गारो एउटा मात्रै ठिंग उभिरहेको छ । त्यो ठाउँबाट पोखरी, पोखरी वरिपरि र टाढाटाढाको भूदृष्यको अवलोकन गर्न सकिन्छ । घुम्न आउनेहरूको चहलपहल पनि हेर्न लायककै हुन्छ । फोटो खिच्नेहरू खिचिरहेका छन् । चलचित्र छायाङ्कनको लागि पनि यो उपयुक्त ठाउँ हो । प्रायः आइरहन्छन् । हामी पुगेकै बेला पनि अलि तल चलचित्र वा गीतको छायाङ्कन भइरहेको थियो । गाउँले परिवेशको लुगा तथा डोको नाम्लो बोकेका चार पाँच युवतीको छायाङ्कन थियो । एक छिनपछि छायाङ्कन टोली माथि पाइपुग्यो । पोखरीको डिलैमा चौतारी पनि छ । कतैबाट आएको गरी चौतारीमा बस्न आइपुगेको दृृष्य छायाङ्कन एकतिर हुँदै थियो भने हामी अलि पर मेचमा बसी खाजा खान थाल्यौं ।
हाम्रो योजना पोखरीभन्दा पश्चिमतर्फको तेर्सैतेर्सो परेको बाटो भई भन्ज्याङ् पुग्ने र गाडी चढेर फर्के थियो । अघि तलैदेखि यतातिर एउटा झुलुङ्गे पुल देखेको । पुल नजिकै रहेको र त्यहाँ घुम्न जानु पनि रमाइलो नै हुने थाहा भयो । पोखरीको दक्षिणतिर एउटा बाटो झर्छ र मोटर गुड्ने बाटोमा जोडिन जान्छ । पुल हेर्नका लागि त्यतै तिर लाग्यौं । यो बाटो भएर पुलमा जानेहरूको भीड नै लाग्दो रहेछ । घुुमाउरो र उकालो बाटो लाग्दै हामी पुलको छेउमा पुग्छौ । पुल हेर्ने मात्रै हो र ? अरुजस्तै अलि परसम्म जाने हिसावले विचार आयो । पुलको बीचभाग नपुुग्दै आफूहरू आकासमा झुुुण्डिरहेको जस्तो अनुुभव हुु्ने गरी उचाइमा पुुग्यौं । त्यहाँबाट तल पुल बन्नुुअघिको सानो गोरेटो बाटो पनि देख्यौं । वारिबाटै पारि अलि गुुजमुच्च घरहरू देखेका थियौं तर त्यो कुन वस्ती हो भनेर ठम्याउन सकेनौं । पारि पुुगेपछि फेरि फर्कनुप¥यो । जंगलको बीचबाट आएको एउटा बाटो पुलसम्म पुुग्ने रहेछ ।
‘‘यो बाटो कहाँ जाने हो ?’’ त्यहाँ कसैलाई सोध्छौं ।
अचम्म लाग्ने गरी जवाफ आउँछ– फर्पिङ । ‘‘कति मिनेटमा पुगिन्छ ?’’ फेरि सोध्छौं ।
अचम्म लाग्ने जवाफ आउँछ– ‘‘पन्द्र्रह मिनेट जति ।’’
‘‘पारि देखिएको गाउँ नै फर्पिङ हो कि ?’’ जवाफ आउँछ– ‘‘हो ।’’
पुलबाट फर्केर भन्ज्याङसम्म पुुग्न कम्तीमा पनि बीस पच्चीस मिनेट लाग्दो हो । त्यहाँ फर्पिङबाटै आउने गाडी पर्खने हो । फर्पिङतर्फ नै जाने निधो भयो । र, जंगलको बाटो लाग्यौं । त्यही बाटोको छेउमा पिकनिक खान आइराख्नेहरूको नाचगान चलिरहेको थियो ।
जंगलको बाटोपछि घरहरू आइपुुग्यो । फर्पिङ त थुप्रै पल्ट पुुगेको तर यतातर्फ कहिल्यै आएको थिएन । अनौठो अनुुभव भइरह्यो । यस्तैमा अलि पर तर सिधै तीन तल्ले मन्दिर देख्यौं । कुन मन्दिर होला ? परिसरमा नै पुुगेर हेर्दा थाहा भयो, गोपालेश्वर मन्दिर ।
फर्पिङमा थुप्रै पल्ट सुनिएको मन्दिर तर पुुग्ने चाँजापाँचो नमिलेको । तीन छक्क परें । मेरो लागि यहाँ पुुग्नु मात्रै पनि एउटा उपलब्ध भयो । मन्दिरको मर्मत कार्य सकिएको र परिसरको काम हुँदैरहेछ । मन्दिरबाट अलि माथि हिडेपछि पीच गरिएको फराकिलो बाटो पुुगिन्छ । दक्षिणकालीबाट लाग्ने बस यही बाटो भएर फर्पिङ पुुग्ने रहेछ । दक्षिणकालीको दिशा ठम्याउन सकिनँ र त्यहीँ एउटा पसलमा सोध्यौं । बायाँतिर दक्षिणकाली र दायाँतिर फर्पिङ रहेछ । यहीँ बसेर गाडी पर्खंदा पनि हुने सुुझाव मान्नुुभन्दा अलि हिडेर फर्पिङको बसपार्कसम्म हिडेर जाने रहर चढ्यो । पहिला त्यहाँ फर्पिङको छुुट्टै वसपार्क हुुन्थ्यो तर अहिले दक्षिणकालीबाटै आउनुुपर्ने नियम भइसकेको रहेछ । एकछिन पनि बस आइपुुग्यो र चढ्छाैं ।
हामी थाहा भयो, खोकनादेखि फर्पिङको मूलवस्तीसम्मै हामीले जुन बाटो पछ्याएका थियौं, कुनै बेला प्रचलित र ऐतिहासिक बाटो रहेछ । यो दिनको यो यात्रा मेरो लागि सोह्रमा सत्र नै भयो ।
लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np



