न्यागःमणि हुँदै तारकेश्वर तर्फ

न्यागःमणि हुँदै तारकेश्वर तर्फ
बसन्त महर्जन

गन्तव्य अन्यत्र नै थियो । त्यसैको तयारी थियो । तर त्यहाँसम्म पु¥याइदिने यातायात साधनको अभाव भयो । दशैं लागि सकेको थियो अर्थात्, फूलपातीको दिन । र, तत्काल गन्तव्य फेरियो र काठमाडौंको उत्तरी दिशामा पर्ने तारकेश्वर महादेवस्थानतिर मोडियो ।

तारकेश्वर नगरपालिकास्थित यो धार्मिकस्थल मेरो लागि नौलो हो । न्यागःमणि (पाँचमाने) जाँदा यहीँबाट तारकेश्वर मन्दिर जाने हो भनेर देखाइएको थियो, केही वर्षअघि । पछि जाउँला भनेर नगएको, यत्तिकै भयो । हामी जीतपुर फेदीसम्मको गाडी चढेर फेदीमा गाडीबाट झरेपछि थाहा पाउँछौं, तारकेश्वर मन्दिर जाने बाटो दुई वटा रहेछ । अर्को बाटो लागेनौं किनभने न्यागःमणि भएर जाँदा त्यहाँको फेरिँदा दृष्य पनि हेर्न पाइने हिसाबकिताब भयो ।

जीतपुर फेदी अहिले सुनसान छ । कुनै बेला थियो, काठमाडौं छिर्ने एउटा व्यापारिक नाका । त्यो बेला यहाँ गुलजार हुन्थ्यो रे । पछिल्लो पल्ट जाँदा जीतपुरका एक वृद्धाले भनेकी थिइन्, विहान चार नबज्दै मान्छेहरु हुलकाहुल हुन्थ्योे । तर अहिले एका विहान त के, दिन भरमा पनि मान्छे गन्न सकस हुन्छ । बाटो पनि बिग्रेको छ । हामी उकालिँदै न्यागःमणितर्फ लाग्छौं । जीतपुर फेदीमा पुराना कुरा सम्झाउने केही नेवार वास्तुकला र नियो क्लासिकल शैली (राणा कालीन) का घरहरु, चैत्य, तथा ढुुंगेधारा बाँकी छन् । तर यी अवशेषहरु नवप्रवेशी तथा तिनीहरुको घरघडेरीले छोपिँदो छ । पुराना जातीय समुदायले आफूलाई त्यहाँ आफूलाई टिकाइराख्न सकेको देखिन्न । उदाहरणका लागि कलाकार मदनकृष्ण श्रेष्ठ यही क्षेत्रमा हुर्केका थिए । उनको कलात्मक घर अहिले पनि ठिङ्ग उभिएको त छ, तर बस्ने कोही छैन । घर भनेको मान्छे बस्नलाई हो, मान्छे नै नबस्ने भएपछि के को घर हुनु ?

उक्लिँदै गयौं । आफ्नो काम भनुुँ या रुची, पुराना कुुराको खोजी गर्ने र त्यसको अभिलेखन गर्ने । उक्लिंदै गर्दा एउटा पुरानो ढुुंगे धारा दायाँतर्फ देख्र्छौं । धारा साधारण नै हो । अघिल्लो पल्ट पनि हेरिसकेको । फेरि दोहो¥याएर हेर्न त हुन्थ्यो तर त्यहाँ एउटी युवती नुहाइरहेकी थिइन् । अलि असहज भयो । नाघेर केही पाइला के अगाडि बढेको थियो, अनायासै फर्केर हेरेछुु र देखेछु, एउटा अभिलेख । अचम्म लाग्यो । पहिला त्यो अभिलेखतर्फ हामी कसैको ध्यान गएको थिएन । अझ त्यति बेला यस्तै पुुराना कलावस्तुुकै खोजअनुसन्धानमा रुची राख्नेहरुको समूूहमा थिएँ । धारामा निहित कलावस्तुको अवलोकन पनि गरेका थियौं । कहीँ अन्तै थियो वा पछि मात्रै भेटिएको र अहिले यहाँ राख्न ल्याइएको हो कि ? धाराको सिरानमा पछाडि यो शिलालेख राखिएको छ । अभिलेखको फोटो उतार्नतिर लाग्छौं ।

फराकिलो बाटो भेटियो । आजभोलि जताततै डोजर चलाएर बाटो लाने लहर नै चलेको छ । यही बाटो पछ्याएर उक्लिन थाल्छौं । एक ठाउँमा पुगेपछि टक्क अडियौं । बायाँतर्फको ढिस्कोमा ठुुलै पहिरो खसेको रहेछ । यो ढिस्को अरु होइन, पाँच वटा चैत्य यही ढिस्को माथि बनेको छ । पाँच वटा चैत्यकै कारण यसलाई न्यागःमणि भनिएको हो । पहिरोकै कारण उहिल्यै एउटा चैत्यको नामोनिशान हराइसकेको छ भने अबको यो क्षतिले अर्को चैत्य पनि खसाल्यो कि ? छिटोछिटो माथि लाग्छौं र देख्छौं, खसालेको रहेनछ । बाँकी नै रहेछ तर पहिरोले तान्नै लागेको अवस्था । न्यागःमणिमा चार वटा मात्रै बाँकी, चार वटामध्ये पनि छेउको चैत्यलाई छुन नसकेर यत्तिकै राखी चार वटालाई इँटाको नयाँ चैत्यले छोपी सुुरक्षा गर्न लागिएको छ । चैत्यहरुको सुरक्षा वा जीर्णोद्धार गर्न केही बौद्धहरु यहाँ आई शिलान्यास गर्दा म पनि थिएँ । अर्को पल्टा आउँदा ढुुंगाले बनेका पुराना चैत्यहरुलाई इँटाको नयाँ चैत्यले छोप्न लागेको मलाइ निको लागेको थिएन । अहिले पनि छोपि सकेको त छैन र पुुरानो संरचनाको झारपात वा रुख बढेपनि नयाँ बन्न लागेको चैत्यको संरचना तिनै रुखको सुरक्षाका लागि उठाएको बार हो कि जस्तो भ्रम पर्ने खालको छ । ढिस्कोलाई काटेर बाटो बनाएको छ । प्राङ्गणमा अमोघसिद्धि बुद्धको मूर्ति र माथि ढिस्कोसम्म जाने भ¥र्याङ र भ¥र्याङ मुुनि कोठा निस्कने गरी संरचना बनाइएको छ । संभवतः भोलिका दिन यहाँ पसल वा अफिस राख्ने योजना हो ।

न्यागःमणिलाई स्थानिय व्यक्तिहरु तिब्बती सेनाले कुनै बेला आक्रमण गर्न आएको, चैत्य बिगारेर गएको जस्ता घटनाहरु सुनाउने गर्दछन् तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य पाइँदैन । तिब्बती सेना आक्रमण नै गर्न आएको भएपनि चैत्य किन बिगार्छन् र ? तिब्बतीहरुको धर्म संस्कारमाथि ध्यान दिने हो भने बरु बिग्रेका चैत्यहरु बनाएर पो जान्छन् त । यो चैत्य कति पुराना हुन् ? यसका सम्बन्धमा ठोस जानकारी पाइँदैन । काठमाडौं छिर्ने व्यापारिक नाका मात्रै नभएर काठमाडौंबाट रसुुवा हुँदै तिब्बत जाने बाटो पनि यही हो । प्रसिद्ध सिलुुतीर्थ (गोसाइँकुन्ड) यही बाटो भएर जानुपर्दछ । एघारौं शताब्दीमा भारतीय बौद्ध विद्वान अतीशा दिपंकर श्रीज्ञान तिब्बत जाँदा पनि यही बाटो हिडेका थिए । र, यात्रा विवरणअनुुसार त्यो बेला नै यहाँ पाँच वटा चैत्य बनिसकेको थियो । अर्थात् एघारौं शताब्दी अघि नै यहाँ पाँच वटा स्तूप लहरै थियो र न्यागःमणि’ नामबाट प्रसिद्ध । उत्तरतिर सोझिने बाटो रानीपौवा पुुग्छन् अर्थात् यही त्यो पुुरानो बाटो हो । पहिलो पल्ट अलिकति अगाडि बढ्दा एउटा ठुुलो सत्तल देखेको थिएँ । त्यो सत्तल एक पल्ट पुनः हेर्न मन लाग्यो । त्यतैतिर लाग्छौं । तर त्यहाँ त कुुखुरा फार्मिङको ठुुलो भवन बनिसकेको रहेछ । सत्तल अलि माथि नै प¥यो कि भनेर हेर्न जान्छु त सैनिक इलाका सुुरु भइसकेको रहेछ र अगाडि बढ्न निषेध गरिएको सूचना पाटी देखेर लुखुरलुखर फर्कनु बाहेक अरु उपाय भएन ।

पाँच चैत्यको थुम्कोबाट ठिक्क उत्तर खुुड्किला सहितको बाटो घुुमाउरो परेर माथि गएको छ । त्यहाँ तारकेश्वर मन्दिर जाने बाटो भनेर सुुचना पनि छ । अब तिनै खुडकिलाहरु उक्लँदै अगाडि बढ्छौं । अथवा भनँुु, तारकेश्वरतर्फ लाग्छौं । अलि पर पुुगेपछि हल्लागुुल्ला सुनियो । जंगलको बीचमा नै सही, हल्लागुुल्ला सुुनेपछि हिन्दू मन्दिर आइपुुग्यो भन्ने अनुमान हुन्छ । तर मन्दिर आइपुुगेको होइन रहेछ । तारकेश्वरलाई नै गन्तव्य बनाएर गएको तर भेटाउन नसकेर फर्केका ६ युवाहरुको आवाज रहेछ । जीतपुरमा डकर्मीको काम गर्न आएका तिनीहरु काम नहुने दिन पारेर घुुम्न निस्केका तर मन्दिर भेटाउन नसकेर फर्केका रहेछन् । अघि एउटा सानो बाटो देखेका थियौं उनीहरु त्यो बाटोबाट पनि अघि बढिसकेका रहेछन् तर आर्मीको गेटमा पुुगेकाले फर्केर यो बाटो समाटेको । निकै परसम्म पुुगेर पनि केही नदेखेर निराश हुँदै फर्केका बताए । हाम्रो मनमा पनि चिसो पस्छ । साथीले त्यहीबाट फोन लगाएर जान्ने मान्छेसँग सोध्दा बाटो सही रहेको जानकारी आयो । अगाडि बढ्छौं ।
अब त्यहाँ तार्केश्वरतिर लम्किरहेकाहरु हामी दुई र तिनीहरु छ जना भयो । दशैंका कारण काम बन्द हुँदा फूर्सद भएका रहेछन् । बढी नै हल्लागुल्ला भयो । शान्त वन जंगल, त्यो पनि राष्ट्रिय निकुन्जमा यस्तो हल्ला अवांछनीय हो । वनमा हल्ला गर्न नहुने भन्छुं, चुप लाग्छन् । साथीले सुझायो, केही हुनसक्छ,, उनीहरुको फोटो खिच्नू । तर कसरी खिच्ने ? उनीहरु पछाडि पछाडि छन् । हामी आफ्नो फोटो खिचेजस्तो गरी तिनीहरुको खिच्न थाल्छौं ।

एउटा पोखरी आइपुग्छ । पोखरीको दक्षिण लाम्चो खालको सत्तल, पश्चिममा अभिलेखसहितको ढुंगाको एउटा सानो खाँबो । संरचनाहरु नयाँ नै हुन्, अभिलेख पनि नयाँ नै । पोखरीलाई बायाँ बारेर अगाडि बढिरहेको सानो बाटो भएर पुनः उकालिन्छौं ।

तार्केश्वर मन्दिर भनेर त्यहाँ केही गतिविधि नदेख्दा कस्तो कस्तो हुनथाल्यो । तर केही बेरपछि एउटा कुटी देख्छौं । भाङ् र धतुरा खानेहरुका लागि यी कुटीहरु एक खालको अखडा नै हुन्छन् । पहिला पहिला भए म यिनीहरुसँग कुरा गर्न जान्थें तर त्यस्तो कुराको सेवन नगर्ने भएका कारण कुरा जम्न पाउँदैनथ्यो । अब त यस्ता कुराहरुमा वास्ता हुन छाडेको पनि धेरै भइसक्यो । हाम्रो पछि आइरहेका अरुहरु कुटी हेर्न जान्छन् । शिवलिंग सहितको एउटा सानो गुफा आकारको संरचना देखियो । खुडकिलाहरु सकिएको थिएन र त्यहाँबाट पनि माथि जाँदा मन्दिर क्षेत्र भन्न सुहाउने गरी शिवलिंग, धारा, कुटी, आदिको संरचना देखियो । धाराको छेवैमा तारकेश्वर मन्दिर जाने भनेर संकेत गरिराखेको सूचनापाटी देखियो र त्यतैतिर लागियो । तर त्यहाँ मन्दिरको वास्तुकला देखिनँ । फलामको भ¥र्याङ राखिएको छ र त्यसले माथि पहरासम्म पु¥याउँछ । पहरामा पुजिएको एउटा ढुंगा देखेर बुझ्नु प¥यो, तार्केश्वर यही हो, यही मुख्य ठाउँ । मन्दिर भनेपछि एउटा निश्चित वास्तु संरचनाको अपेक्षा हुन्छ तर यहाँ त्यस्तो केही छैन । भ¥र्याङ् नचढी सिधै जाँदा सानो ओढारमा गारो लगाएर गुफाको आकार दिइराखेको संरचना देख्न पाइन्छ । भित्र सुरुमा गणेशको मूर्ति, त्यसपछि शिबलिंग र सानासाना ढुंगाहरुलाई पूजा गरिएका छन् ।

फर्कने बेलामा हामी पछि आउने एक पुरुषसहित तीन महिलाको टोलीले तार्केश्वर मन्दिर भनेको यही हो र ? भव्य मन्दिर छ होइन र ? भनेर प्रश्न गर्छ । हामीलाई मात्र के थाहा ? अलमल भयौं । अर्कै पो हो कि ? त्यसको प्रतिकृति यो हो वा यसको प्रतिकृति अन्तै छ कि ? अलमल भयो । निकै दोेधारमा पनि परियो । जेजस्तो भएपनि फर्कन थाल्छौं र निकै पछि मात्रै तल पुग्दा थाहा भयो, तार्केश्वर मन्दिर यही हो । यही मन्दिरको नाममा नगरपालिकाको नामाकरण भएको हो । तर जान्नबुझ्न त्यहाँ अरु त अरु एउटा पूजारीसम्म पनि रहेनछ ।

लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *