
मुक्तिनाथ मन्दिरभित्र पसेर दर्शन गर्नुअघि १०८ धारा मुक्तिधारामा नुहायौं । चिसोको कारण १ सेकेण्ड पनि नरोकी सबै धारामा टाउको भिजाउँदै दौडियौ ।
यसपालि (२०७४)को दशैं बिदामा मुस्ताङको मुक्तिनाथ यात्रामा जाने योजना १ वर्षअघि नै तय भएको थियो । १० वर्ष अघि गाडिको व्यवस्था नभएको बेलामा ट्रेकिङ जादाँ १५ दिन लाग्छ, त्यहाँको बाटो नराम्रो भए पनि विविध प्राकृतिक दृश्यले जो कोहीलाई मोहित बनाउँछ भन्ने कुरा सुनेको थिएँ । आफू जाँदा थाहा भयो, नेपाल प्राकृतिक धनी देश भनेर त्यत्तिकै भनेको होइन रहेछ ।
यात्रामा जाने १३ जनाको हाम्रो समूहमा ३ जना १२ वर्ष मुनिका बालबालिका पनि सामेल थिए । गाडीबाट जाने भएकोले सुविस्तासंग जाने सोच लिएका थियौं । टीकाको भोलिपल्ट विहान ७ बजे लगनखेलमा ट्राभल्सको बसले लिन आउने कुरा भयो । बिहान ७ बजे आईपुग्नुपर्ने गाडि ८ बजेसम्म पनि आएन, सम्पर्क गर्दा उल्टौ हामीलाई कलंकीमा आउन भने । निकै रोमान्चक हुने सोचेको, ट्राभल्सले धोका दिएर पहिलो गाँसमै ढुंगाको अनुभव गर्नुपर्यो । बल्ल ११ बजेतिर ह्यास आईपुग्यो र २ सय कि.मी.को बाटो तय गरी तालै तालको सुन्दर नगरी पोखरा पुग्यौं । त्यहाँ पुग्दा फेरि होटलको समस्या भयो । ड्राइभरलाई कुन होटल जाने थाहा भएन । दुईतीन पल्ट फोन गरेपछि एउटा होटलको नाम दियो । तर त्यहाँ पुग्दा ठाउँ नभएकोले होटल सवलाइममा बसियो । पोखरासम्म त आईयो तर मुक्तिनाथ जानका लागि पनि यस्तै समस्या झेल्न प¥यो भने के गर्ने भनेर तनाब भयो । जे पर्ला पर्ला भन्दै हामी बिहानै धर्ना बस्न गयौं पोखराको ट्राभल्स एजेन्सीको होटलमा । नभन्दै उसले त जसको पावर चल्यो त्यसलाई पहिला गाडि मिलाएर पठाउँदै थियो । बिहान एकछिन फेवातालको किनारामा रमाएर हतार हतार गाडि चढ्यौं ।
पोखराबाट झण्डै १० घण्टाको यात्रा तय गर्नु पर्ने थियो । बेनी, घासा, मार्फा हुँदै जोमसोम पुग्नुपर्ने थियो । पोखरादेखि कालीगण्डकीको तिरैतिर हुँदै बेनीसम्मको बाटो राम्रै थियो । बेनीदेखि बाटो अलि नराम्रो थियो । पहाडलाई छाँटेर बनाइएको रफ बाटो अनि दायाँतिर काली गण्डकी सलल बग्दै थियो । पानीको रंग अलि कालो कालो थियो, त्यसैले त काली गण्डकी नाम राखेको रहेछ । बेनीमा पुग्दा १ बजिसकेको थियो । बिहानको खाना त्यहीं मिलाइएको थियो तर खाना खाने होटल पुग्दा खाना सकेको जानकारी पाईयो । हामीलाई भनेर पकाएको खाना अर्कै समूहले खाएर हिंडिसकेका थिए । तनाव भयो । यात्रा गर्दा यस्ता साना तिना तनाव त आइनै रहने रहेछ । खाना खाईसकेपछि फेरि जिपमा चढी हामी सोभैm लाग्यौं, गन्तव्यतिर । बाटो अलि डरलाग्दो रहेछ, ठूलो बस आयो कि साइड दिन ठाउँ हम्मेहम्मे पर्ने । यस्तो बाटोमा पनि लस्करै गाडि आइरहेका थिए । हाँडीमा मकै भुट्ने बेला उफ्रेजस्तै हामी जिप भित्र उफ्रिरहेका थियौं । रुप्से छहरामा ४ घण्टा जाममा फस्यौं । त्यस ठाउँमा अघिल्लो दिन पानी परेकोले बाटो बिग्रेको थियो । ४ घण्टा जामको फाइदा उठाउन छहारीमा फोटो खिच्न ब्यस्त भईयो । गाडिको ताँती कमिलाको ताँतीभन्दा लामो आँखाले भ्याउन्जेल देखिने । जाम खुलेपछि बल्ल जिप अगाडि बढ्यो । हामी मार्फा पुग्दा अलि अँध्यारो अँध्यारो भैसकेको थियो । मार्फाबाट अँध्यारोमैं जोमसोमको बाटो लाग्यौं ।
बल्ल जोमसोम पुग्यौं रातीको १० बजे । अँध्यारो रातमा होटल फेला पारी हत्तरपत्तर सामान निकाली होटलभित्र पस्यौं । जोमसोमको हावा चिसो थियो, एक मिनेट पनि बाहिर बस्न नसकिने । स्वीटर, डाउन ज्याकेट, उलन ट्राउजर डबल लगाएको थिएँ तर यतिले नि नपुग्ने भयो चिसो हावा छेक्न । लामो यात्राले गर्दा शरीर निकै थाकिसकेको थियो, खाना खाने बित्तिकै सुत्न हतार भयो । हामीलाई दुईवटा कोठा मात्र उपलब्ध भयो । जसोतसो मिलाएर सुत्यौं ।
बिहान मुक्तिनाथ जान जिपमा एक घण्टा गए पुग्ने रहेछ । मुक्तिनाथ क्षेत्र नामैले प्रख्यात । हिन्दू मात्र होइन बौद्धहरूको पनि आस्थाको केन्द्र । यस ठाउँमा दर्शन गरेपछि मुक्ति पाइन्छ भन्ने जनधारणा त छँदै छ, त्यो भन्दा पनि नेपालको विविध प्राकृतिक भू बनोटले यहाँ आउने हरेक मानिसलाई लोभ्याएको हुन्छ । जिप चढेर बिहानै निस्कियौं । जिप अगाडि बढ्दै थियो भने सुनौलो हिमाललेले पनि हामीलाई पछ्याई रहेकै थियो । जोमसोमबाट अलि माथि उकालो लागेपछि पिच बाटो आइपुग्यो ।
मुक्तिनाथ आईपुग्नु अघि केही त्यस्तै ३ कि.मी जति बाटो पिच थियो । हामी मुक्तिनाथ जानु अघि टिभी समाचारमा देखेको भनी आमाले अब त पिच भईसकेको छ भन्नुभएको कुरा याद आयो । ३ हजार ७१० कि.मी उचाईमा रहेको शान्त रमणीय मुक्ति क्षेत्र आइपुग्यो । मुक्तिनाथ मन्दिरको बायाँतिर एउटा बाटो तेर्सिएको थियो, उपल्लो मुस्ताङ जाने बाटो रहेछ । मन्दिर जान फेरि आधा घण्टा जति उकालो चढ्नुपर्ने थियो । हिंड्न नसक्नेलाई घोडाको व्यवस्था थियो । कोही अनुभवको लागि घोडा चढेर गए, कोही खुट्टाको समस्याका कारण । तर मलाई हिंड्न नै रमाइलो लाग्थ्यो । हिंडेर जाने बाटोमा सिंढीहरू बनाएका थिए ।
मुक्तिनाथ मन्दिर परिसर शुरु हुने ठाउँ भन्दा दायाँ अलि पर ३२ फिट अग्लो प्रस्तरको बुद्ध मूर्ति देखें । मूर्ति पाटनमा आप्mनै छिमेकी कलाकारहरूले बनाएकोले पनि उक्त मूर्ति नजिकबाट हेर्ने धोको थियो । मुक्तिनाथको मन्दिरको दर्शनपछि हामी मूर्तिस्थलतिर गयौं र त्यसै ठाउँमा हिमाललाई व्याकग्राउण्ड बनाएर गु्रप फोटो खिच्यौं । उक्त मूर्ति भन्दा अलि पर पद्मसंभवको ठूलो मूर्ति पनि टाढैबाट देख्यौं ।
मुक्तिनाथ मन्दिरभित्र पसेर दर्शन गर्न पहिला १०८ धारा मुक्तिधारामा नुहायौं । चिसोको कारण १ सेकेण्ड पनि नरोकी सबै धारामा टाउको भिजाउँदै दौडियौ । त्यति चिसो त थिएन सहन सक्ने नै थियो, पछि मन्दिरअगाडि रहेको २ वटा मुक्ति कुण्डहरूमा पनि डुबुल्की मा¥यौंं । दुई वटै कुण्डभित्र पसेर बाहिर निस्केपछि अझै बढी चिसाको अनुभव भयो । चिसो यति कि– खुट्टा ठिहि¥याएर टेक्नै नमिल्ने, ओंठ नीलो भइसकेको पनि चालै पाइएन । सबैजना नुहाई सकेपछि मन्दिर दर्शन गर्न लामबद्ध भयौं । चिसो, त्यसमा पनि खाली खुट्टा भएकोले कहाँ टेकिएको छ, केही चाल पाइन । आधा घण्टा चिसोमा खुट्टाले उभिनै गा¥हो भैसकेको थियो । बल्ल मन्दिर भित्र पस्ने पालो आयो । मन्दिरमा आनी पुजारीको रुपमा थिइन्, त्यसैले यो बौद्ध मूर्ति हो भनी अड्कल काट्यौ । हिन्दू मन्दिर भएको भए बौद्ध धर्मका आनी किन पुजारी राखिन्थ्यो र ? मनमा प्रश्न उठिरह्यो । मुक्तिनाथ मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धहरूले विशेष गरी तिब्बेतियनहरूले छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ सय पानी) भन्ने गर्दछन् ।
मुक्तिनाथको दर्शन गरी सोभैm जोमसोम पुग्यौं र बिहानको खाना खायौं । “जोमसोमै बजार… १२ बजे हावा सरर…….” नेपथ्य व्याण्डको चर्चित गीत याद आयो । हावा यति चल्यो कि १२ बजेकै थिएन उडाउला जस्तो ! खाना खाने समयमा एकछिन बजार घुम्यौं, जहाँ स्याउ प्रशस्त बेचिरहेका थिए । मुस्ताङको स्याउ प्रख्यात छ । स्याउको सुकुटी त झन मीठो लामो समयसम्म पनि नबिग्रने अनि हरियो काँचो स्याउको स्वाद झनै मीठो । झोला भरी कोसेलीको रुपमा स्याउ अनि टिम्मुरको मसला किन्यौं । जोमसोमको विमानस्थल हामी सामुन्ने नै थियो तर हवाईजहाज थिएन ।
मार्फा मुक्तिनाथ क्षेत्रभन्दा फरक भू बनोट भएको गाउँ । ढुंगाको पुरानो ढोकाबाट भित्र पस्यौं, जसरी काठमाडौंमा बहाल भित्र पस्न बनाइएका हुन्छन् । मार्फामा लटरम्म स्याउ फलेको देखियो जताततै स्याउका रुखहरू । यहाँको मानिसहरूको व्यवसाय भन्नु नै यी स्याउ बेच्नु, स्याउको सुकुटी अनि रक्सी बनाएर बेच्नु रहेको छ । मार्फामा एउटा पुरानो गुम्बा रहेको छ, जहाँ ढुंगाको सिंढीहरू करीब सयभन्दा बढी चढ्नुपर्ने । गुम्बामा लामा गुरुहरू पुजा गर्दै थिए । गुम्बाको माथिल्लो भागबाट मार्फा गाउँको दृश्य छर्लङ्ग देखिन्थ्यो । मार्फामा धेरै जसो नेपाली सिनेमाको सुटिङ भएको देखिन्छ । सेता सेता रंगले पोतिएका १ तल्ले घरहरू, काठका दलान साँघुरो ढुंगा छापिएको सफा गल्लीहरूले पाटनको गल्लीहरू याद आउँछ । जे होस्, जोमसोम बजारभन्दा शान्त र राम्रो लाग्यो, मार्फा गाउँ । मार्फा गाउँको केन्द्रमा धौलागिरी बेस क्याप जाने बाटो पनि रहेछ । मार्फा गाउँ छिर्नको लागि उत्तरी ढोकाबाट जाने, अनि फर्कंदा दक्षिण ढोकाबाट फर्किनु पर्ने तर म र बहिनी बाटो भुलेर पहिलेकै बाटो भएर फर्कियौं । जसले गर्दा धुलाम्मे बाटो ५ मिनेट जति हिंड्नुपर्याे ।
मार्फाबाट सीधै बेनीको तातोपानी बस्ने हिसाबले फर्कियौ हामी । रुप्से छहारीतिर आइपुग्दा फेरि ६ घण्टा जाम । बेलुकी तातोपानी नजिक रहेको एउटा होटल पुग्यौं । त्यहाँ पुग्दा दुखद खबर सुन्यौं, बिहान ६ बजेतिर मुक्तिनाथ जाने बाटोमा एउटा बस दुर्घटना भएर ३ जनाको ज्यान गएको ।
म्याग्दीकोे होटलमा रात काटेर बिहान नजिकै रहेको तातोपानी कुण्डमा गयौं । अघिल्लो दिन हिउँजस्तो चिसो पानीको अनुभव ग¥यौं भने आजको दिन भत्भती पोल्ने तातोपानीको कुण्डमा डुबेर रमाइलो अनुभव गर्यौं । यस कुण्डमा नुहाएको खण्डमा शरीरको दुखान निको हुने भनाई छ । म्याग्दीको बेनी आईपुग्यो, सानो बजार । म्याग्दीबाट फर्किने क्रममा सल्लाह भयो कि मुक्तिनाथको धुम्बाताल जान नपाएकोले ट्राभल्ससंग कुरा गरी बाग्लुङको बाराही मन्दिर र पर्वत कुश्माको सबभन्दा लामो पुल हेर्ने निधो भयो । धुम्बाताललाई मिस गरेको थिएँ तर पर्वतको एशियाकै सबभन्दा लामो पुल हेर्न पाउने कुराले दंग भएँ । कुनै योजना नबनाई बाग्लुङ र पर्वत पुग्ने भईयो । बाग्लुङको बाराही मन्दिर परिसर रमाइलो थियो । दायाँबायाँ जंगल, बीच बाटो पिच गरेको अनि मन्दिर परिसरमा ढुंगा छापिएको । मन्दिर तीन तल्ले छाने शैलीको थियो । बाराही मन्दिरको दर्शन गरी पर्वतको नेपालकै सबभन्दा लामो पुल हेर्न गयौं । १६६ मीटर उचाईमा अनि ३४७ मीटर लामो पुल रहेछ । वारिबाट पारीसम्म जान १० मिनेट लाग्ने ।
पुलको बिच भागबाट तल हेर्दा रिंगटा लाग्ने । एउटा पुलबाट फेरि अर्कोतिर यस्तै लामो पुल देखियो । जम्मा तीनवटा यस्ता लामो पुलहरू रहेका छन् । कुश्माको विशेषता भन्नु नै यी झोलुङ्गे पुलहरू हुन् जसले यस ठाउँलाई चिनाएको छ । म पनि यसै पुल हेर्न व्यग्र थिएँ । पुलको उचाईले गर्दा दुईजना बहिनीहरू वारपार गर्न आँटै गरेनन् तर म भने आतुर थिएँ, कौतुहलता थियो ।
पोखरा पुगेपछि बल्ल आनन्दको सास फे¥यौं । पोखरा पुगेर एकछिन आराम गरी फेवा ताल घुम्न गयौं । मेरो लागि पोखरा यस्तो ठाउँ हो, जहाँ जति पटक पुगेपनि प्यास नमेटिने ! जति घुमे पनि नपुग्ने ! तालबाराहीको मन्दिर दर्शन गरी डुंगा शयर गर्दै फर्किरहेका थियौं, अचानक पानी पर्न थाल्यो । पोखरामा कतिखेर पानी पर्ने थाहै नहुने । पानी रोकेपछि बजार घुमेर होटल फर्कियौं । खाना खाएर त्यो दिन दिदीबहिनीहरू नाचगानमा रम्न थाल्यौं, मुक्तिनाथको यात्राको थकान मेटिएको अनुभव भयो । ५ दिनको मुक्तिनाथ यात्रा सकाएर भोलिपल्ट बिहान ७ बजे नै पोखराबाट काठमाडौं फर्कियौं ।



