Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

पाल्पाको भैरवथान

Posted on April 3, 2025June 2, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ

पाल्पा घुम्न जाने त, तर भैरवथान नपुग्ने ? यो त हुनै सक्दैन ।

तर पाल्पा गएर पनि त्यहाँ पुग्न नसक्दा सँधै थकथकी लागिरहेको भने थियो । यस पटक जसरी भएनि पुग्ने दृढता बोकेको थिएँ । अघिल्लो दिन रिदी जाँदा बसमा गएको, बाटैमा पर्दो रहैछ, बसको झ्यालबाट देखेको । राति सुत्दा नै भोलिको विहान भैरवथानका नाममा भाकेर सुतेको, विहानै उठेर तम्तयारी गरी निस्कें पनि । तर गाडी पाइनँ । पर्खें, पर्खें । बल्ल बल्ल आउँछ, चढ्न सक्दिनँ । अर्को कहिले आउँछ, थाहा छैन । आउँछ भनेर पर्खनेहरुको भीड फेरि उस्तै भइसक्यो । बसमा यात्रुहरुलाई गन्द्रूजस्तै कसरी खाँदैर लान्छ र उकुसमुकुमा यात्रा गर्नु पर्छ भन्ने दृष्टान्त अघिल्लो दिनमात्र आफेले भोगेको । फेरि त्यही कोचाकोच र उकुसमुकु ? हैट्, यस्तो यात्रा पनि के यात्रा ?

भैरवथान तानसेनबाट टाढा होइन, त्यसो भनेर नजिक पनि छैन । मात्र ९ किलोमिटरको दुरी । विहानको हावा, स्वास फेर्दा नै जीउ लाग्ला झैं ताजा । वरिपरि जता हेरे पनि हरियारी नै हरियाली, आकास पनि छ्याङ्ग खुलेको बिहान । बतासे डाँडा भएर जानुपर्छ । बतासे डाडाँले त २०४७ सालको पहिलो यात्राले नै मोहनी लगाइसकेको थियो । साइनो त पुरानै । यी सबै छाडेर बस पर्खेर बस्नु, हिड्न मन पराउनै यात्रीका लागि कत्ति पनि सुहाउने कुरा होइन । अनि लम्कियो, भैरवथानलाई गन्तव्य बनाएर ।

तानसेन बजारको सिरानमै पर्दछ बतासे डाँडा । डाँडामा पहिले एक घर पनि थिएन । अहिले ? अहिले त घरैघर । होटेलै होटेल । उहिलेको बतासे डाँडा अहिले कत्ति पनि बाँकी रहेन कसरी भनुँ ? यहाँ चल्ने हावाको गतिमा फरक आएको छैन । यहाँ पुग्दा अतीतमा अलि भुलें पनि । तर गन्तव्य त भैरवथान नै हो । मलाई मेरो गन्तव्यले यस्सरी तानिरहेको थियो, चुम्बकले तानेजस्तै र मेरो दुरी घट्दै थियो । हरियो परिवेशमा कालोपत्रे बाटो लम्पसार परेको थियो । कहिलेकाहीँ त्यो बाटोमा सानाठुला गाडी गुड्ने बाहेक सुनसान नै भन्दा हुन्छ । मज्जाले लम्किरहेको थिएँ । कोचाकोच भरिएको बस चढेर उकुसमुकुसका साथ गरिने बस यात्रालाई नकार्न सकेकोमा आफै मख्ख पनि थिएँ ।

बतासे डाँडा, लिपमदेवी, सामाकोट हुँदै उही रफ्तारले लम्कदै अगाडि बढें । सिमेन्टीले बनायएको केही घरहरु आइपुग्यो । त्यसको केही मिटरको दुरीमा लहरै बाह्र पन्ध्र वटा घर भएको एउटा बजार आइपुग्यो । यसलाई पाल्पा हटिया पनि भनिन्छ । कुनै बेला पाल्पाको केन्द्र यही रहेछ । घरहरुको बनावट र वातावरण मलाई पटक्कै नौलो लागेन । मेरो हुर्काइबढाइ नै यहाँ भएको र अहिले घर आँगनमा फर्केको जस्तो पो महसूस भयो । यस्तो हुनाको खास कारण हो, नेवार परिवेश । उहिले नेवारहरु जहाँजहाँ पुग्थे, आफ्नो परिवेश पनि त्यहीँत्यहीँ लिएर जान्थे । जहाँ बस्थे, त्यहाँ बजार बस्थ्यो । र, वरिपरिको जनजीवनलाई सेवा सुविधा पुर्याउँथे । वस्तीहरुलाई गुलजार बनाइदिन्थे । तर अहिले यहाँ सुकेको छ, निचोरिएको कागती अथवा निख्रिएकौ वैश जस्तै । वन्दीपुरलगायतका कतिपय ठाउँमा यस्ता वस्तीहरुले पुनर्जीवन पाएर पर्यटकीय आकर्षणको थलो बनेको छ । कतिपय वस्ती त एकनासले चलायमान नै छ । तर यहाँ घरहरुमा ताला मारेको देखिन्छ, घरहरु कलात्मक नै नभएपनि नेवारको परिवेशकौ इतिहास बताइरहेको थियो । तर, जीवन्तताको अभावमा रौनकता हराइसकेको छ । एकादुका घरमा बस्ने मान्छेहरुले बल्लबल्ल प्राण धानेको छ । झस्स सम्झें, समयले कोल्टे फेर्दै गएपछि एक समयको गुलजार भीमफेदी बजार पनि त यस्तै छ, आजभोलि । यस्तै खालको वातावरण पूर्वी नेपालका धरान धनकुटठामा पनि देखेको छु । पाल्पा हटियाको छेवैमा पर्दछ भैरवस्थान, बरु अलि माथि उक्लिएर जानुपर्दछ । भैरवथानले नै यो वस्तीलाई धानिरहेको जस्तो पनि लाग्यो । भैरवथानको प्रचारप्रसार गरी व्यवस्थित रुपमा पर्यटकीय गन्तव्य बनाउने हो भने यो वस्ती पुनः जुर्मुराउने देखिन्छ ।

खुट्किलाहरुको घुमाउरो बाटो हुँदै भैरवथानरित उक्लिन्छु । बाटोको दायाँबायाँ पूजा सामग्री बेच्न थापिएका ससाना पसलहरु अन्यत्रजस्तै छन् । यहाँको विशेषता रोट रहेछ । भक्तजन भैरवलाई रोट चढाएर भक्तिभाव प्रकट गर्दारहेछन् । र त, रोट बनाउने पसलहरु यति धेरै भएको । पकाउन लगाउनेले पकाइदेउ भन्दैमा झट्ट पकाउन सकिन्न, समय लाग्छ, धैर्य चाहिन्छ । खासमा रोटी नै हो तर विभिन्न खाद्य सामग्रीहरु मिसाएर मुछ्दै घिउमा पकाउनु पर्छ । चाँडै चाहियो भन्दैमा आगो ठुलो पारेर कहाँ हुने हो र ? विस्तारै पकाउनु पर्छ । फेरि अरु दश वा¥ह वटा रोटीको मोटाइ खान्छ एउटा रोटले ।

भक्तजनहरुको भीडभाड सकिसकेको अवस्था थियो । मन्दिरको प्रांगणमा प्रवेश गर्छु । प्राङ्गणमा नै जुत्ता फुकालेर राख्ने व्यवस्था बनाइएको रहेछ, फुकालें । भवनको पश्चिमतिर सानो ढोका रहेछ, त्यहाँबाट छिरेर पुनः पश्चिम मोड्नु पर्ने रहेछ र दक्षिण भई भर्याङ चढेपछि भैरवको चाँदीको मूर्ति देख्न पाइन्छ । प्रसाद लिएँ, दक्षिणा चढाएँ । त्यहाँबाट झरेर भित्र भुइँ तल्लाकौ कोठातिर पसें । अँध्यारोमा बिजुली बत्ती बालेर उज्यालो पारेको छ । माताको दर्शन गर्न भनेर यता ल्याइएको हो । यही तल्लाको एउटा कोठामा भैरवको मुख्य मूर्ति राखिएको छ तर देखाइन्न । मूर्ति यत्ति डरलाग्दो छ रे, देख्ने मान्छेको प्राण पखेरु उहीँको उहीँ उडिसक्छ रे । पूजारीले समेत बीचमा कपडाको पर्दा लगाई पूजा गर्नुपर्छ रे । तर यो प्रसंग अलि चित्त बुझ्दो छैन । भैरवसेन नामका एक सेन राजाले यो मन्दिरको निर्माण गराएको र उनैको नामबाट मन्दिरको नामाकरण गरिएको भन्ने भनाइ रहेको पाइन्छ । देखाउन नहुने भनिएको भैरवको मूर्ति वनारसबाट ल्याइएको बताइन्छ । तर इतिहासमा भैरव नामका कुनै सेन राजा नै छैनन् । सोह्राैं शताब्दीमा सेनराज्यका संस्थापक राजा मुकुन्द सेन बरोबर काठमाडौं उपत्यकामा आक्रमण गर्न आइराख्ने र धनमान लुटेर लाने गरेको प्रसंग त प्रमाणित इतिहास नै हो । विभिन्न सन्धिपत्रहरु पाइएका छन् । आक्रमणका क्रममा एक पल्ट यी राजा र यिनका सेनाले काठमाडौंको इतुंबहाल नै कब्जा गरेर बसेका थिए । केलटोलस्थित जनबहाल पनि भनिने मच्छिन्द्रनाथ विहारमा रहेको भैरवको मूर्ति उठाई पाल्पा लगिएको उल्लेख छ । भैरवका मूर्तिहरु महायान बौद्ध धर्मसँग पनि सम्बन्धित भएका कारण यिनका मूर्तिहरुलाई पनि महत्व दिएर नै राखिन्छन् । हाल पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ ।
मन्दिर पूर्व–पश्चिम लम्बिएको छ । मुख्य भाग त पूर्वमा नै पर्छ । झिंगटीको छाना भएपनि पछि मर्मत गर्ने क्रममा सुन मोलम्बा गरेको पित्तलको छाना छाएको, सुन मोलम्बा नै गरिएको तिकिझ्यालले सिंगारिएको छ । पूर्वीभागमा नै ठुलो पित्तलको त्रिशुल ठडयाइएको छ । सबैभन्दा ठुलो भनेर चिनाइने यो त्रिशुल यहाँको आकर्षण पनि हो । यस त्रिशुलमुनि ससाना अन्य थुप्रै त्रिशुल तथा मूर्तिहरु चढाइएका छन् । यही चौकमा पशुपंक्षी लगायतको बली दिने तथा अन्य धार्मिक कृत्यहरु सम्पन्न गरिन्छन् । बली दिने बेलामा यहाँ रहेका सबै घन्टहरु बजाउने गरिन्छ ।

भैरवथान मेरो लागि इतिहास पुस्तकको एउटा महत्वपूर्ण पाठजस्तै भयो । तर, पुस्तक नै भएपनि पाना च्याटिएको, अक्षर पनि धुमिल भइसकेको जस्तै गरी यहाँका कतिपय कुराहरु निकै अस्पष्ट, थपथाप पारिएको र जमिनमुनि पुरिएको प्रतीत भयो । सेनराजाहरुका दरवार यतै भएको त थाहा पाइन्छ तर यसका सम्बन्धमा पनि कतिपय कुराहरु थाहा पाइन्न । खोतल्नु पर्ने अवस्था छ ।

लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb