Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

वीरगंजलाई अवसर: भिस्वा स्तूप

Posted on March 15, 2025June 2, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

औद्योगिक नगर वीरगंजलाई त्यहाँस्थित प्राचीन भिस्वा स्तूपले पर्यटकीय गन्तव्य पनि बनाउन सक्छ।

हालै राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगंज पुगेर यो शहरलाई पोखरा र लुम्बिनीजस्तै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरिन्।

राष्ट्रपतिबाट केका आधारमा वीरगंजलाई पर्यटकस्थल बनाउने भन्ने उल्लेख नभए पनि पर्यटन उद्योगका लागि एउटै धार्मिक स्थल काफी हुनसक्ने सन्दर्भमा यो आलेखमा बौद्धविश्वका लागि अति महत्वपूर्ण भिस्वा स्तूपको चर्चा गरिन्छ।

देशका अन्य शहरमा जस्तै आन्तरिक पर्यटकका लागि रुचिकर हुने अनेकौं स्थल रहेको वीरगंजमा रहेको भिस्वा स्तूपलाई अन्तर्राष्ट्रिय आकर्षणको रूपमा प्रवर्द्धन गर्न सकिन्छ। 

राजधानी काठमाडौंबाट १८३ किलोमिटर दक्षिणमा भारतीय सीमा नजिकै रहेको वीरगंज शहरको नयाँ बसपार्कबाट पूर्वपट्टि बाइपास रोड छेउमा अवस्थित भिस्वा स्तूप मौर्यसम्राट अशोकले निर्माण गरेको भनिन्छ। यसको ऐतिहासिक पुष्टि हुन भने बाँकी नै छ।

समथर भूमिमा रहेको माटोको थुप्रोले उहिल्यैदेखि ध्यानाकर्षण गर्दै आए पनि यहाँ २०४४ सालबाट बौद्ध गतिविधि हुन थालेको हो। त्यसपछि नै हो, स्थानीयवासीले यहाँ बौद्ध प्रस्तर मूर्तिहरू राखेर चारैतिर वृक्षरोपण पनि गर्न थालेको।

पुरातात्विक अवशेषहरू असरल्ल अवस्थामा देखिने भिस्वा स्तूपको विशाल संरचना हेर्दा संरक्षणका लागि अधिग्रहण गरिएको जमीन अपुग देखिन्छ।

यतिकै भरमा यसलाई ऐतिहासिक बौद्ध सम्पदा भनेर विश्वको ध्यानाकर्षण गर्न भने सकिन्न। त्यसको लागि यो स्तूपको बहुआयामिक अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ। केही नभएको ठाउँमा त विविध आकर्षण निर्माण गरेर विश्व पर्यटक भित्र्याइएको छ भने वीरगंजमा भिस्वा स्तूपको ऐतिहासिक तथा पुरातात्विक अध्ययन–अनुसन्धान तथा प्रचार–प्रसार गरेर सजिलै पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।

भारतको पर्यटन उद्योगमा बोधगया, सारनाथ, कुशीनगर, नालन्दा, राजगीर, वैशाली, श्रावस्तीजस्ता बौद्ध सम्पदाहरू कोसेढुङ्गा साबित भएका छन् भने बुद्धको जन्मस्थल लुम्बिनी नजिकै यही कोटिमा गणना हुनसक्ने अत्यधिक संभावना रहेको भिस्वा स्तूपमा यो काम गर्न नसकिने प्रश्नै छैन।

भिस्वा स्तूप रहेको वीरगंज वरिपरिका ठाउँहरू बौद्ध सभ्यताको केन्द्र हुन्। बौद्ध पुरातात्विक अवशेषहरू संरक्षित ती स्थलहरू विश्व पर्यटनस्थलका रूपमा रहेका छन्। पुरातात्विक स्थलहरू जति देखिएका छन्, यति नै हुन् भन्न मिल्दैन।

केही दशकअघि भारतकै विहारमा केसरिया स्तूप भेटियो, जसको संरक्षणको काम अहिले द्रुत गतिमा भइरहेको छ। विहार राज्य सरकारले केसरिया स्तूपको संरक्षण तथा सम्वर्द्धनमा विशेष नीति लिएर काम गरिरहेको छ, विना प्रचार।

कार्य सम्पन्न भएपछि एकै पटक विश्वलाई आश्चर्यचकित पार्ने उसको रणनीति देखिन्छ। अब नेपालले पनि यहीबेला केसरियाबाट नजिकै रहेको भिस्वा स्तूपको उत्खनन् थाल्नुपर्छ। उत्खनन्का क्रममा यसको निर्माणकाल त पत्ता लाग्छ नै, साथै अन्य कुराहरू पनि प्राप्त हुन्छ र विविध पक्ष उजागर हुन्छ।

विश्वका पर्यटकलाई ‘बुद्धिस्ट सर्किट’ मा घुमाउने व्यवसायीहरू नेपाल र भारत दुवै देशमा छन्। तर, यो ‘सर्किट’ मा नेपालका थोरै मात्र बौद्धस्थलहरू समेटिएकोले हामीले अपेक्षित लाभ लिन सकिरहेका छैनौं।

यो अवस्थामा भोलि लुम्बिनीबाट ‘बुद्धिस्ट सर्किट’ को यात्रा शुरू गरेर भारतका विभिन्न बौद्ध स्थलहरू घुमाई भिस्वा स्तूप दर्शनको लागि वीरगंज ल्याउन सकिन्छ। अथवा वीरगंजबाटै यात्रा शुरू गरेर लुम्बिनीमा टुंग्याउने गरेर अधिकतम फाइदा लिन सकिन्छ।

नेपालका पुरातात्विक उत्खनन् अध्ययन–अनुसन्धानमै सीमित हुने गरेका छन्। उत्खनन्पछि संरक्षणका साथ प्रदर्शनमा राख्न नसकी फेरि पुर्नुको एउटा कारण बजेट अभाव पनि हो।

बजेट अभावमा कतिपय उत्खनन् कार्य बीचैमा छाड्ने गरिएको छ। तर, वीरगंज उपमहानगरपालिकाले चाह्यो भने स्तूप उत्खनन् गर्ने आर्थिकभार बहन क्षमता ऊ आफैंसँग छ। उपमहानगरपालिकाले पुरातत्व विभागसँग समन्वय गरेर यो काम अगाडि बढाउन सक्छ।

सम्पदा क्षेत्रमा वीरगंजले गर्न सक्ने यस्तो लगानीबाट पूरा देशलाई फाइदा पुग्नसक्छ। फाइदाको ठूलो हिस्सासँगै उदाहरण बनेको जस पाउने पनि वीरगंज नै हुन्छ।

(सर्वप्रथम पुस २, २०७३  मा हिमालखबर साप्ताहिकमा प्रकाशित)


लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb