
बौद्ध इतिहासमा रामग्राम स्तूपको अत्यन्तै ठुलोे महत्व रहेको छ । ई.पू. ४८३ मा कुशिनगरमा गौतम बुद्धको महापरिनिर्वाणपछि दाहसंस्कार गरी निस्केको अस्थिधातुलार्ई विभिन्न आठ राज्यले बाँडेर लिएका थिए र त्यसलार्ई आआफ्नो ठाउँमा स्तूप निर्माण गरेको थियो । बुद्धको अस्थि धातु पाउने आठ राज्यमध्ये एक कोलीय राज्य पनि थियो । कोलीयहरूले सो अस्थिधातु राखी बनाएको स्तूप नै रामग्राम स्तूप हो । यसबाट बुझिन्छ, रामग्राम स्तूप प्राचीन कोलीय राज्यको सीमाभित्र पर्दछ ।
मौर्य सम्राट अशोकले ती आठ वटै स्तूप खोलेर सबै अस्थि धातु झिक्ने र त्यसलार्ई ८४ हजार भाग लगाएर अन्यत्र पनि फैलाई सबैतिर स्तूप निर्माण गरी बुद्ध धर्म फैलाउने अभियान चलाएका थिए । रामग्रामको अस्थि धातु निकाल्न स्वयं अशोक नै आएको तर स्तूपलार्ई नागहरूले संरक्षण दिइराखेको हुँदा झिक्न नसकेर फर्केको भन्ने भनाइ रहेको पाइन्छ ।
फाहियान र ह्वेनसाङले गरेको वर्णनका आधारमा रामग्राम स्तूप वर्तमान नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि करिब ४ किलोमिटर दक्षिणमा रहेको उज्जैनीस्थित स्तूप नै रामग्राम स्तूप हो भन्ने अनुमान गरिएको छ । भिक्षु शाक्यानन्द महास्थविरले उज्जैनीको स्तूप नै रामग्राम हो भनी सो ठाउँमा नाम सङ्केत राखिदिएपछि भने यसले धेरै चर्चा पाउन थालेको र सन् १९७४ मा सो स्तूपको अध्ययनका लागि पुरातत्व विभागबाट पुगेका पुरातत्वविद् बाबुकृष्ण रिजालले यसलाई प्राचीन रामग्राम बाहेक अरू केही हुनै नसक्ने भनी घोषणा नै गरिदिए । त्यस उप्रान्त थुप्रै अनुमान तथा अध्ययन अनुसन्धानपछि पुरातत्व विभागले उत्खनन् गरेरै पनि हेरेको थियो । सन् १९९० मा पुरातत्व विभागको तत्वावधानमा पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा उत्खनन् कार्य गरिएको थियो । उक्त उत्खनन् कार्य पूर्ण हुनु अगावै बीचमा रोकिन गएको थियो । उत्खनन्का क्रममा रामग्राम यही हो भन्ने प्रमाणित गर्ने अभिलेख वा यस्तै कुनै पनि ऐतिहासिक स्रोत प्रमाण भेटिएको छैन । तर पनि सो स्थल निकै पुरानो हो भन्न सकिने अवस्था भने छ । उत्खननका क्रममा वर्तमान स्तूपको ढिस्को एकै समयको नभई विभिन्न समयमा क्रमशः विस्तार गर्दै ल्याएको र यस स्तूप वरिपरि पाँच वटा बौद्ध विहार पनि रहेको खुल्न आएको छ ।
“गन्तव्य लुम्बिनी” पुस्तकबाट साभार



