दमौलीको व्यास गुफा गरिपरि

दमौलीको व्यास गुफा गरिपरि
बसन्त महर्जन

केही अघि पोखराबाट काठामाडौं फर्कदै गर्दा दमौली बजारमा अलिबेर रोकिनु प¥यो । गर्मी र औलका कारण कुनै बेला कत्ति पनि आकर्षण नभएको यो ठाउँमा औलो पचाइसकेका कुमाल, बोटे र दरै जातका केही मान्छेहरू मात्रै बस्दथे । औलो त निर्मूल भइसक्यो तर गर्मी ज्युँको त्युँ छ । पृथ्वीराजमार्ग बनेपछि तनहुँको सदरमुकाल बन्दिपुरबाट दमौलीमा २०२५ सालमा सारिएपछि भने यसले गुलजार हुने मौका पायो । वरिपरिका गाउँहरूको लागि व्यापारिक केन्द्र भएको छ, तसर्थ यसको महत्व पनि चुलिएको छ । तर दमौली वा यस क्षेत्रलाई यत्तिमा नै सीमित गरेर महत्व दिनु विगतका धेरै कुराहरूबाट विमुख हुनु हो । दमौली भएर कैयौं पल्ट आउजाउ गरेपनि त्यहाँ घुमफर गर्ने मौका भने पाइसकेको थिएन । हामीसँग सीमित समय थियो । ढेड दुई घन्टामा पुग्न सकिने छाब्दी वाराहीसम्म जाने समय पनि थिएन । अतः बजारबाट दुई पाइला चाले पुग्ने जस्तो नजिकको स्थल व्यास गुफा हेर्ने र केही कुरामा गम्न थालियो ।

कुनै एक नदीमा अर्को नदी जोडिन आएपछि बनेको संगम स्थललाई पवित्र मानिन्छ र तीर्थ स्थलकै रुपमा लिइन्छ । प्रसिद्ध सेती गण्डकीमा मादी नदी दमौलीमा पुगेर संगम भएको छ ।

यो ठाउँलाई महाभारत महाकाव्यसँग जोडेर कथा हाल्ने गरेको पनि पाइन्छ । यतातिर प्रचलनमा ल्याइएको कथाअनुसार यही त्यो ठाउँ हो जहाँ पराशर ऋषि तपश्या गर्दथे र स्थानिय माझीकी छोरी मत्स्यगन्धाबाट छोरा वेदव्यास पाएका थिए । हस्तिनापरका महाराज शन्तनु शिकार खेल्दै आउने क्रममा यहाँ सम्म पुगेका थिए र मत्स्यगन्धाको रुपलावण्यमा मोहित बनेका थिए । तर मत्स्यगन्धाको बाबु छोरीको विवाह शन्तनुसँग गरिदिन राजी नभएपछि समस्या आएको थियो । समस्याको कारण हो, मत्स्यगन्धाबाट जन्मने छोरा हस्तिनापुर राजगद्दीको उत्तराधिकारी नहुनु किनभने त्यहाँ उत्तराधिकारीका रुपमा भीष्म थिए । आफूलाई मन परेकीसँग विवाह गर्न नपाउँदा चिन्ताले सुक्दै गएको बाबुको उपचारका लागि भीष्मले आफू राजगद्दीको उत्तराधिकारी नहुने र मत्स्यगन्धाबाट हुने सन्तानलाई नै राजगद्दीको उत्तराधिकारी बनाउने घोषणा गरेपछि वास्तविक रुपमा महाभारतको कथा सुरु हुन्छ । मत्स्यगन्धा हस्तिनापुरका महाराज शन्तनुले विवाह गरी दरवार भित्र्याएपछि सत्यवतीका नामले प्रख्यात भइन् । सत्यवतीबाट जन्मेका छोराहरू विचित्रवीर्य र चित्राङ््गदको सन्तान नहुँदा तिनका रानीहरू र दासीले वेदव्यासबाट नियोग प्रथाबाट धृतराष्ट्र, पाण्डु र विदूरको जन्म भएको कथा महाभारतमा प्रसिद्ध छ । यही कथालाई गण्डकी महात्म्यले दमैलीस्थित मादी र सेतीको संगमस्थलसँग सम्बन्धित बनाएको छ । परासर ऋषिसँग यस ठाउँको सम्बन्ध पनि छ वा छैन भन्ने कुनै आधार छैन तर उनले तपश्या गरेको गुफा, सोही गुफिामा वेदव्यासको जन्म भएको उल्लेख गण्डकी महात्म्यमा गरिएको छ । पराशर ऋषिले तपश्या गरेको गुफाको भौतिक अवशेषत छैन तर वेदव्यासको गुफा भने रहेको पनि सोही महात्म्यले औल्याइदिएको छ । यही विश्वासअनुसार तनहुँ दमौलीका लागि व्यास गुफा एक पर्यटकीय स्थलको रुपमा प्रचारित छ । तर महाभारतसँग सम्बन्धित ठाउँहरू वर्तमानमा औंल्याउन नसकेको अवस्था छ भने कथामा प्रसिद्ध ती ठाउँहरू आफ्नो गाउँठाउँ नै हो भनेर प्रचार प्रसार गर्नेहरूको कमी छैन । मत्स्यगन्धाको गाउँकै रुपमा भारतका अन्य ठाउँहरू पनि प्रचारमा रहेको कुरा यहाँ बिर्सन मिल्दैन ।

मादी र सेतीको संगमभन्दा ठिक उत्तरतर्फ एउटा सानो तर प्राकृतिक गुफा रहेको छ । यस गुफालाई हालै वेदव्यासको नामबाट ‘व्यास गुफा’ राखिएको छ । गुफालाई दुई तल्ला भएको मान्न सकिन्छ । पहिलो तल्ला ठूलो र फराकिलो रहेको छ । यो ठाउँको पर्यटकीय महत्व बढाउनका लागि पर्यटन गुफासम्बद्ध मान्छेहरूले वेदव्यास भुईँखण्डको गुफा बसेर अन्यसँग सत्संग गर्ने तथा माथिल्लो तलामा ध्यान गर्ने गर्दथे भनेर कथा हाल्न थालेका छन् । माथिल्लो तल्लामा उक्लिन अलि गा¥हो, अष्ठ्यारो र साँघुरो पनि छ । माथिल्लो तल्लाबाटै निस्केर खुल्ला ठाउँ जाने प्वाल पनि रहेको छ ।

गण्डकी महात्म्यले उल्लेख गरेजस्तो यस स्थललाई महाभारतसँग जोडर हेर्ने–नहेर्नै वा विश्वास गर्ने नगर्ने भन्ने कुरा विवादको कुरा होला । तर महाभारतभन्दा लाखौं वर्षअघिको भूभर्ग विज्ञानसँग सम्वन्धित गरेर यस स्थलको अध्ययन गर्न अवश्य पनि गर्न सकिन्छ ।

गुफाको बनोट नै पनि ठूलो ढुंगालाई पानीले खियाएर प्वाल पारेको देखिन्छ । नदीमा पानीको भुमरी बनेको ठाउँमा त्यसमुनिको ढुंगालाई बढी खियाउने क्रममा प्वाल पर्दै जान्छ । यहाँको गुफामा पनि माथिल्लो भाग यसरी नै भुमरीबाट बनेको प्वाल देख्न पाइन्छ । यो प्रकृया दुईचार वर्ष वा सय दुई सय वर्षमा सम्पन्न हुँदैन, यसका लागि हजारौं लाखौं वर्ष लाग्ने हुन्छ । अहिले झट्ट हेर्दा नदी निकै ढाटा र मुनि छ, गुफा माथि कसरी नदी बग्दथ्यो र भनी प्रश्न गर्नेहरू पनि होलान् तर यसको जवाफ सजिल्यैसँग दिन सकिन्न र भूगर्भविज्ञानके जवाफसँग सर्वसाधारणले चित्त बुझाउन पनि नसक्ला । हजारौं लाखौं वर्षअघि यो ढुंगा यही ठाउँमा नहुन पनि सक्छ अर्थात् कुनै अरु नै ठाउँमा यसको अवस्थिति हुन सक्छ तर पृथ्वीको भूसतहमा आउने हलचलको क्रममा सर्दै आएर यो ढुंगा यहाँ रहन आएको पनि हुन सक्छ । अथवा कुनै बेला संगै रहेको नदीको सतह यही ढुंगाको माथिबाट भएर बग्दथ्यो र पछि नदी सरेर दक्षिण तर्फ गहिरिदै गएको पनि हुन सक्छ तर यस सम्बन्धमा भूगर्भको अध्ययन यहाँ भएजस्तो लाग्दैन । गुफामा देखिने चट्टानहरूको अध्ययन गरेर भूगर्भविज्ञहरूले भविष्यमा केही भन्ला, अनिमात्रै यसका बारेमा यथार्थ ज्ञान हुनसक्छ । पानीको भुमरीले प्वाल पारेका अरु ढुंगाहरू पनि यहाँ देख्न पाइन्छ ।

भूभर्ग विज्ञानबाहेक व्यास गुफालाई पुरातत्व विज्ञानसँग पनि सम्बन्धित गरेर पनि हेर्न सकिन्छ । पृथ्वीको सतहमा मानव गतिविधि सुरु भएपछि त्यसका गतिविधिहरूको अध्ययन पुरातत्व विज्ञानले गर्दछ । यस क्षेत्रमा यही व्यास गुफा एउटा मात्रै छैनन् । प्रागैतिरहासिक कालमा मानव जातिको वासस्थान यस्तै गुफाहरूमा हुने गर्दथ्यो । मानव जातिको इतिहास गुफामा पाइएका सामग्रीहरूको अध्ययनबाट नै भएको छ । मुस्ताङका गुफाहरूमा पनि मानवीय गतिविधि पाइएका छन् तर ती गुफाहरू तिनै पछिल्ला समयका छन्, प्राप्त सामग्रीहरूको आधारमा यस स्थानलाई जतिसुकै पुरानो भनेर हल्ला गरेपनि डेढ दुई हजारभन्दा पुराना छैनन् र यसले प्राग्मानव मानव जातिको अध्ययन हुन सक्दैन । नेपालमा गुफाहरूको अध्ययन उचित रुपमा हुन सकेको छैन । अध्ययनअघि नै मान्छेहरू पस्ने, जथाभावी क्रियाकलापहरू गर्नाले भविष्यमा यसको अध्ययनमा ठूलो असर पर्ने देखिन्छ । कथंकदाचित कुनै बेला ती गुफाहरूमा मानव बसोवास हुने नै रहेछ भने अहिले हुने गरेको लापरवाहीले ती अध्ययनका सामग्रीहरू नष्ट हुने धेरै संभावना हुन्छ । व्यास गुफामा नै पनि अहिले जुन रुपमा निर्माण तथा अन्य गतिविधि देखिन्छ त्यसले पनि पुराना कुराहरूलाई नष्ट गर्ने ठूलो संभावना रहेको छ ।

व्यास गुफा र गुफा वरिपरिका कुराहरूलाई उचित संरक्षण गरेर यसलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । यसलाई धार्मिक आस्थामा मात्रै सीमित राखेर प्रचारप्रसार गर्नुभन्दा भूगर्भ र पुरातत्व क्षेत्रसम्वद्ध विज्ञहरूलाई पनि समावेश गरी अध्ययन गराई ती कुराहरू प्रकाशमा ल्याउनु पर्ने देखिन्छ जसले यस क्षेत्रको महत्व बहुआयामिक रुपमा बढाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *