माेरङ जिल्लाकाे उत्तरी क्षेत्रस्थित लेटाङ नगरपालिकाका पर्यटकीय अाकर्षणहरू मध्ये एक प्रमुख स्थल राजारानी ताल पनि हाे । वडा नं. १ मा पर्ने याे स्थल प्राकृतिक दृष्टिले ठुलै महत्व राख्दछ भने यसकाे सांस्कृतिक तथा एेतिहासिक महत्व पिन रहेकाे पाइन्छ । विशेषातः याे क्षेत्र धिमाल जातिसँग सम्बन्धित मानिन्छ ।
हिजाेअाज याे क्षेत्रमा धिमाल जातिकाे बसाेवास पाइँदैन । तर कुनै बेला यहाँ धिमाल जातिकाे राज्य रहेकाे र यहीँबाट अन्यत्र बसाइ सरेकाे भन्ने मान्यता रहँदै अाएकाे छ । धिमालहरूका अनुसार कुनै धिमाल राजा र रानीकाे संस्मरण राजारानी ताल भनिएकाे हाे । राजारानी ताल भनिएपनि यहाँ तीन वटा ताल रहेका छन् र तेस्राेलाइ राजकुमारीकाे भनिन्छ । यहाँ प्रत्येक वैशाख २ गतेका दिन धिमालहरूकाे जात्री पर्व लाग्छ ।
