नगरमण्डप श्रीकीर्ति विहार कीर्तिपुरस्थित एक प्रसिद्ध बौद्ध विहार हो । थेरवादी बौद्ध परम्पराअन्तर्गतको यो विहार हो । थेरवाद परम्पराअन्तर्गत नेपालमा निर्मित बौद्ध विहारहरुमध्ये यो पनि एउटा उल्लेखनीय छ । काठमाडौं जिल्लाअन्तर्गत कीर्तिपुर क्षेत्रमा नयाँबजार ९अमलसि० मा अवस्थित छ । थाई वास्तुकला शैलीमा निर्मित भएको हुनाले कतिपय यसलाई थाई विहार पनि भन्ने गर्दछन् । सजिलाका लागि धेरै जसो श्रीकीर्ति विहार मात्रै पनि भन्दछन् । यो विहार २०३१ सालमा स्थानिय बौद्ध उपासक उपासिकाहरुको आग्रह तथा भिक्षु सुदर्शन महास्थविरहो अग्रसरतामा निर्मित हो ।
यो विहार बजार क्षेत्रमा चार रोपनी क्षेत्रफलमा ओगटेर बनाइएको छ । फोहर फाल्नका लागि प्रयोग हुने ठाउँलाई विहार बनाउनका लागि स्थानिय निकायले जग्गा उपलब्ध गराएको थियो । सोही स्थानमा सुरुमा एउटा साना झुपडी बनाई विहारको बीजारोपन गरिएको थियो । यसलाई विकास गर्ने क्रममा सबैको साथसहयोगले अहिले एउटा भव्य विहार बनेको छ । कीर्तिपुर घुम्न आउनेहरुका लागि पनि यो आकर्षक गन्तव्यस्थल हुन पुगेको छ ।
