Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

शान्त धुन्चे

Posted on June 2, 2025June 2, 2025 by अमिका राजथला
अमिका राजथला

मैले सुनेको धुन्चेले काँचुली फेरेको रहेछ। मेरा मानसपटलमा रसुवाको प्रख्यात धुन्चेमा ससाना घर थिए, ढुङ्गाको छाना भएका घर थिए तर यहाँ त ठूलठूला घरहरू प्रशस्त रहेछन्। घरका छाना कि त ढलानयुक्त कि जस्ताका। यी ढलानयुक्त घरले मलाई सिक्किमको सम्झना गरायो। 

धुन्चे, सानैदेखि मानसपटलमा चित्र कोरेको ठाउँ । आमा गोसाइँकुण्ड यात्राको वृत्तान्त सुनाउनु हुन्थ्यो । धुन्चे, देउराली, चन्दनबारी, लौरीबिना….गोसाइँकुण्डको सामाजिक, प्राकृतिक वातावरण आदि इत्यादि। यो यात्राका कुरा सुन्दै गर्दा कतिपय रोचक घटना पनि आउँथे, मानिसलाई बेहोस् बनाउँने फूलका कुरा, पकाएको खाना थालमा राख्ने बित्तिकै काँचै हुने जस्ता कुराले मलाई अचम्म तुल्याउँथ्यो। झण्डै ६०–६५ वर्षअगाडि गाडीको सुविधा नभएको समयमा लुभु, ललितपुरदेखि गोसाइँकुण्डसम्मको पैदल यात्रा। उहाँको गोसाइँकुण्ड भ्रमण एक पटक मात्र होइन, दुई पटक। आमाले गरेको त्यो कठिन यात्रालाई मनमनै कोर्थेँ। तत्कालीन अवस्थामा फोटो र गुगल नहुँदा त्यहाँको रमणीय वातावरणको चित्र काल्पनिक रूपमा मानसपटलमै कोर्नुबाहेक अर्को विकल्प थिएन मसँग।

समयक्रममा गोसाइँकुण्डको यात्रामा जाने परिवारका सदस्यहरू बढ्दै गए, कोही खुट्टा दुखाएर आउँने, कोही जुकालाई टोकाएर आउँथे, कोही धुन्चे पुग्नु अगाडिदेखि नै गगनभेदी पहाड देखेर नै रिँगटा लागेको महसुस गरेर फर्कन्थे । ओहो ! अनुभव जेजस्तो भए पनि गोसाइँकुण्डको यात्रा अविस्मरणीय बनाएर फर्कन्थे। तर मलाई भने धेरै हिँड्नु पर्ने कुराले गोसाइँकुण्ड जाने आँट कहिल्यै पलाएन र धुन्चेलाई छुने अवसर पाएको थिइन। तर यो वर्ष भने काम विशेषले पटक पटक कार्यक्रम परिवर्तन भए पनि धुन्चे पुग्ने मौका मिल्यो, मात्र धुन्चेसम्मको गन्तव्य।

बाटोमा जाँदा निकै उत्साहित थिएँ। गल्छीदेखिको बाटो कहीँ धुलाम्य, कहीँ सललल बग्ने त कतै बिग्रिएको, गाडीनै पल्टिएला जस्तो गरी उफार्ने। विद्युत आयोजनाहरूले हिलाम्ये बनाएको त्रिशूली नदीलाई बायाँ पार्दै नुवाकोटको उत्तरगया घाटसम्म बाटो बन्दै गरेकोले ठाउँठाउँमा धुलो बुङ्बुङ् उड्ने बाटो हुँदै गुड्यौँ। बेत्रावती नदीसँगै रसुवा प्रवेश गरेपछि भने बाटो ज्यादा फराकिलो देखिएन। यद्यपि केही ठाउँमा बिग्रिएको बाटोले सातो नलिएको पनि होइन। पहाडका कुना कन्दराबाट बगिरहने पानीले बाटो बिगारिरहने हुँदा पासाङह्लामु राजमार्गका केही ठाउँ त पिच नै गरेको रहेनछ।

जाँदाजाँदै राम्चे भीरको पहिरो देखियो । पहिरो गएको ठाउँमा अझै बाटो व्यवस्थित बनेको रहेनछ। यहाँको पहिरोले धेरै नै मानवीय क्षति भएको थियो । स्थानीयका अनुसार २०४० सालमा पहिलो पटक राम्चेमा पहिरो गएको रहेछ। दोस्रो पटक २०६० मा गएको पहिरोमा परी २३ जना सेनाको मृत्यु भएको थियो । बाटामुनिको सेनाको क्याम्प तथा स्थानीय बासिन्दाका थुप्रै घर बगाएको राम्चे भीर भएको ठाउँमा अझै राम्रो बाटो बनेको छैन । कतै कतै बाटो ढलान गरेर बनाउन थालिएको छ तर, राम्चेको पहिरो गएको ठाउँ जस्ताको तस्तै छ । यो वर्ष पनि बन्ला जस्तो छैन । बाटो तलतिर हेर्दा आङ नै सिरिङ्ग हुने। खसेका ढुङ्गाहरू पनि सामान्य घरभन्दा ठूला, ओहो ! राम्चेको भीर आएसँगै सहचालक र साथीहरू पनि पहिरो, दुर्घटनाजस्ता कुरा गर्न थाले । माहौल नै भयावह भएपछि यस्ता कुरा नगर भन्नुपरेको अवस्था थियो । सन् २०१५ मा यही भीरबाट बस खस्दा ३० जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए । नाम मात्रको डिलक्स, गाडीमा ढोकासँगैको सिटमा खुट्टा खुम्च्याएर बस्नु पर्दाको पीडा भए पनि साथीको गफ भने सहचालकसँग गज्जबले जमेको थियो। डिलक्स बस पनि रसुवाको सीमा सुरु भएपछि लोकल बस बन्दोरहेछ। यात्रु कोच्न थालिँदो रहेछ। हामी गएको बसमा पनि हिँड्ने प्यासेजमा ४ वटा कुखुराको दानाका ठूलो ठूलो बोरा राखियो, अनि यात्रुहरू पनि अटेसमटेस हुने गरी। पटक पटक हुने दुर्घटनाको कारण यही क्षमताभन्दा बढी यात्रु कोच्ने प्रवृति पनि हो ।

बाटोमा जाँदा पटक पटक स्थानीय तथा गाडीका सहचालकलाई सोधिन्थ्यो, धुन्चे पुग्न अब कति बाँकी छ ? अर्कोतिर फोन गरेर कहाँ पुग्नु भयो दिदी भन्दै रसुवाका साथीहरू पनि फोन गर्दै थिए । सोधिरहेको सहचालकलाई रिस उठेर हो कि किन हो, ऊ…… त्यही हो भनेर देखाए । ओहो ! धुन्चे भन्दै फुलखर्कबाट फोटो खिचिहालेँ तर त्यो धुन्चे होइन रहेछ ठाडे रहेछ। अब त्यहाँबाट अझै जानुपर्ने कुरा थाहा पाइयो।

गाडी रोकियो, लाङटाङ राष्ट्रिय निकुञ्ज जानेहरू यहीँ झर्नु पर्ने रहेछ। हामी गएको गाडीमा भएका विदेशीहरू सबै त्यहीँ झरे। नेपाली युवायुवतीको ७ जनाको एउटा टोली पनि त्यहीँ झर्‍यो, आफ्नो सामान जाँच गराउँन सुरक्षाकर्मी भएको कोठामा लागे । धेरै विदेशीको गन्तव्य लाङटाङ राष्ट्रिय निकुञ्ज रहेछ भने अधिकांश नेपालीहरूको गन्तव्य गोसाइँकुण्ड।

त्यहाँबाट थोरै अगाडि बढेपछि आइपुग्यो, धुन्चे । काठमाडौँदेखि १२० किलोमिटरको हाम्रो यात्राले बिट मार्‍यो । लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्डको मध्यबिन्दु धुन्चे अर्थात लाङटाङ राष्ट्रिय निकुञ्ज जाने, गएर फर्कने तथा गोसाइँकुण्ड जाने, गएर फर्कनेको बिसौनी हो धुन्चे । तर, हाम्रा लागि भने धुन्चे गन्तव्य थियो।

आहा ! धोर्जेले सिँगारेर झिलिमिलि पारिएको धुन्चे। सफा र शान्त धुन्चे । बसबाट ओर्लने बित्तिकै आनन्द आयो। हामी पुग्दा धुन्चे धुम्मिएको थियो। अर्को दिन मात्र थाहा भयो। बिहान मनमोहक हुने धुन्चे बेलुका धुम्मिने रहेछ।

मैले सुनेको धुन्चेले काँचुली फेरेको रहेछ। मेरा मानसपटलमा रसुवाको प्रख्यात धुन्चेमा ससाना घर थिए, ढुङ्गाको छाना भएका घर थिए तर यहाँ त ठूलठूला घरहरू प्रशस्त रहेछन्। घरका छाना कि त ढलानयुक्त कि जस्ताका। यी ढलानयुक्त घरले मलाई सिक्किमको सम्झना गरायो। तलबाट उठाएर बनाइएका ८–९ तल्ले घर तर बाटोमा देखिँदा १–२ तल्लामात्र देखिने दृश्य वास्तबमा तित्ताकर्षक थिए।

पुरै तामाङ बस्ती भएको धुन्चे धेरैका लागि बिसौनी मात्र भए पनि यही ठाउँलाई गन्तव्य बनाएर जानेहरू पुरानो गुम्बा टुल्कु छेलिङ गुम्बा, छोर्तेन मिनी गोसाइँकुण्ड घुमेर साँस्कृतिक रूपमा रमाउँदा रहेछन् । धुन्चेको प्राकृतिक सौरम्यता त छँदैछ । धुन्चेको मुख्य बस्तीबाट थोरै झरेपछि देखिने त्रिशूली नदी त्यति ठूलो देखिँदैन, जुन गोसाइँकुण्डबाटै आएको पानीको गडगडाहट सुन्दा लाग्दैन कि यो त्यही ठूलो त्रिशूली नदी हो । यही ठाउँबाट माथितिर त्रिशूलीको किनारमा शिव मन्दिरसहितको मिनी गोसाइँकुण्ड बनाइएको छ । यहाँ गोसाइँकुण्ड पुग्न नसक्नेहरू जाने हरेछन् ।

२०७२ सालको भूकम्पले बेस्सरी हल्लाएको रसुवाका अधिकांश घरमा जस्ताका छानाले प्रवेश पाएको छ भने कतिपय घर नै जस्ताका बनेका छन् । वातावरणीय पक्षलाई ध्यान नदिइ सबैतिर एकै खालको सहुलियत तथा सहयोग दिँदा स्थानीयबासीले भोग्ने पीडालाई महसुस गर्न सकिन्छ, धुन्चेका जस्ताका घरबाट । रसुवा लागेदेखि नै देखिन्छन्, रङ्गीचङ्गी जस्तका घरहरू । जाडोमा हिउँ पर्ने धुन्चेमा जस्ताको घरले कसरी न्यानो दिँदो हो ?

भूकम्पले लाङटाङमा केही बाँकी छैन भन्ने हल्लाले यहाँको पर्यटन व्यवसायलाई केही वर्ष प्रभावित गर्‍यो । तर पनि पर्यटक आवागमनका दृष्टिले हेर्ने हो भने भूकम्प अगाडिकै हाराहारीमा आइसकेको स्थानीय होटल व्यवसायी संघका महासचिव निशान गजुरेल बताउँछन्। उनका अनुसार धुन्चेलाई पूनर्निमाण गर्न भूकम्पले सहयोग गर्‍यो। उनी भन्छन्, ‘नयाँ घर टहरा बनेकाले पर्यटकलाई सुविधा दिन अझ सहज भएको छ।’

कुनै रणनीतिक योजनाबिना स्वतःस्फूर्त रूपमा इको टुरिज्म विकसित हुँदै आएको धुन्चेमा अधिकांश पर्यटन व्यवसायी महिला छन् । उनीहरू घर हेर्दै पर्यटकलाई स्वागत गर्छन् । अधिकांश स्थानीय बासिन्दा पनि कुनै औपचारिक तथा स्तरीय तालिम लिएर भन्दा पनि घरको काम गरेजस्तै गरी पर्यटनलाई टेवा दिँदै आएका छन् । घरका मान्छेले नपुगेमात्र बाहिरको कामदार राखिन्छ । महासचिव गजुरेल पनि २०५६ देखि ट्रेकिङ् क्षेत्रमा लाग्दै आए पनि आफ्नै जिल्लामा केही गरौँ भन्ने सोचले अहिले होटल व्यवसायी भएका छन् । होटलका लागि चाहिने अधिकांश अनाज आफ्नै खेतबारीको चलाउँछन् । उनी अगाडि भन्छन्, “हामी अधिकांश खानेकुरा आफ्नै बारीको चलाउँछौँ, धुन्चेको पर्यटन व्यवसायलाई बेग्लै किसिमले लैजानुपर्छ भनेर लागिपरेका छौँ ।”

सन् २०१९ वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले जारी गरेको वातावरण संरक्षणका लागि सरकारको १७ बुँदे घोषणापत्रमा प्रकृतिमा आधारित आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि सरकार, निजी क्षेत्र, सहकारी र स्थानीय समुदायको सहभागितामा नयाँ प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान गरी पर्यटकीय गन्तव्यको विकास गर्ने कुरा उल्लेख छ ।

नयाँ प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान गरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने कुरा स्वागत योग्य छ तर भएकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न गर्नुपर्ने प्रयासमा पनि सरकारको ध्यान जानु जरुरी देखिन्छ । किनभने गोसाइँकुण्ड मेला लाग्ने बेला भएको छ । लाङटाङको पनि सिजन नै छ । तर, धुन्चे पुग्ने सीमित डिलक्स बस र केही सुमोबाहेक अर्को यातायातका साधनको विकल्प छैन । त्यो पनि निश्चित समयमा मात्र । लाङटाङ जानेहरूका लागि पर्याप्त होटलको स्थापना हुन सकेको छैन भने गोसाइँकुण्ड जानेहरू पनि बास नपाएर सानो ठाउँमा कोच्चिएर, कठ्याङ्ग्रिएर बास बस्नु परेको गुनासो वर्षैपिच्छे सुनिन्छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाका पुग्न पहिला यही धुन्चे हुँदै कन्टेनरहरू गुड्थे । दैनिक २ सयभन्दा बढी गाडी चीनको केरुङ, नेपालको रसुवागढी नाकाहुँदै व्यापारिक सामग्रीसहित आउँथे । भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो बाटो नै विकल्प बनेको थियो भने २०७४ सालमा यो नाकालाई चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै यसको चहलपहल अझै बढेको थियो । तर पछिल्लो समय रसुवागढी जाने गाडीहरू, ठूलाठूला कन्टेनर मैलुङ–स्याफ्रुको तल्लो बाटोबाट जान थालेपछि धुन्चेबासीले राहत महसुस गर्न थालेका छन् । स्थानीय होटल संघका महासचिव निशान भन्छन्, ‘डब्बा (कन्टेनर)हरू तल्लो बाटो जान थालेपछि धुन्चेबासीलाई राम्रै भएको छ ।’ वातावरण फोहर हुन्न, धेरै आवाज आउँदैन, पर्यटकहरू शान्तसँग बस्न पाएका छन् । धुन्चे शान्त भएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb