
प्राकृतिक सुन्दरताका लागि प्रख्यात पर्यटकीय गन्तव्यहरुमा पोखरा पनि एक हो । कास्की जिल्लामा पर्ने यस तालैतालको उपत्यकावा सुन्दरताको खानी त हो नै, साथसार्थ पर्यटकहरु यसलाई मुकाम बनाई अन्य पर्यटकीय गन्तव्यहरुमा आउजाउस पनि गर्दछन् ।
पोखराबाट देखिने हिमालहरुमा माछापुच्छ्रे प्रसिद्ध छ । माछाको पुच्छर आकारमा रहेको हिमाल भएर यसैअनुसार नाम पाएको माछापुच्छ्रे सफा मौसमका बेला फेवाताल प्रतिबिम्बित हुँदा अत्यन्तै मनमोहक हुन्छ । यो दृष्यले कवि हृदयलाई छुने भएरै हुनुपर्दछ, तालमा साँच्चै माछापुच्छ्रे खेल्न आएको कल्पना गरी त्यसलाई बिम्ब बनाएर कविता पनि लेखिएका छन् ।

फेवातालकै पानी बगेर एक ठाउँमा पुगेर पृथ्वीको एउटा गाल्डोमा खस्छन् र विलुप्त हुन्छन् । यसलाई पातले छाङ्गो भनिन्छ । कोही डेबी नाम गरेकी विदेशी पर्यटक यसमा खसेको हुनाले डेबीज फल्स पनि नाम दिइएको छ । अलि पर बैदानमा हालै एउटा गुफा फेला परेको छ जसभित्र पस्नाले यही बिलुप्त फेवातालको झरना र उक्त झरना बगेर गइरहेको गुफा देख्न पाइन्छ । अन्य गुफाहरूमा महेन्द्र गुफा प्रसिद्ध छ ।

पाेखराको एउटा प्रमुख आकर्षण फेवाताल त हो नै साथसार्थ बेगनास, रुपालगायत आधा दर्जन तालहरुले पोखरा शोभायमान बनेको छ ।
पोखराको अर्को आकर्षण हो, यहाँबाट लहरै देखिने हिमालहरु हुन् । फेवातालको उत्तर ठिक माथि रहेको सराङकोट आफैमा पनि एउटा पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै आइरहेको छ । यहाँबाट माछापुच्छे तथा अन्य हिमालहरुलाइ आँखा अगाडि नै लहरै देख्न पाइन्छ । र, मान्छेहरु हिमाल हेर्न यहाँ पुग्छन् । अझ यहाँबाट सूर्योदयको दृष्यपान गर्न बिहान पर्यटकहरुको ओइरो नै लागेको हुन्छ ।

पोखरालाई बजारको रुप दिनमा नेवार समुदायको ठुलो योगदान रहेको पाइन्छ । कास्की तथा अन्य क्षेत्रबाट लाहुर गएका गुरुङहरु फर्के आफ्नै गाउँमा जानुको सट्टा पोखरामा बस्न रुचाउन थाल्दा यो अझ बढी गुलजार बन्न पुग्यो । यसरी नै संगीत र गायनसँग सम्बन्धित गन्धर्व समुदाय पोखराको बाटुलेचौरमा रहेका छन् । यसदेखि बाहेक यहाँ अन्य जातीय समुदायको पनि बसोवास पाइन्छ जसले सांस्कृतिक विविधता झल्काउँछ ।
फेवातालको बीचमा तालवाराही मन्दिर रहेको छ । यसको ठिक माथि डाँडामा जापानको बौद्ध संस्था निप्पोन म्योहोजीद्वारा निर्मित विश्वशान्ति स्तूप ठडिएको छ । स्तूपबाट केही पश्चिम महादेवको विशालमूति अर्को आकर्षण बनेको छ । यो हालैमात्रै निर्माण सम्पन्न भएको थलो हो । पोखराको उत्तरतिर अलि उँचो ठाउँमा अवस्थित बिन्ध्येवासिनी मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि आकर्षणको थलो हो । यसदेखि बाहेक यहाँ गणेश तथा भैरवका मन्दिरहरु बजार क्षेत्रमा नै रहेको छन् ।


