Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

दहचोक हाइकिङ

Posted on September 3, 2022January 24, 2023 By बसन्त महर्जन No Comments on दहचोक हाइकिङ
बसन्त महर्जन

राजधानी काठमाडौं उपत्यका वरिपरि घुमघामका लागि गन्तव्य स्थलका रूपमा उत्तर–पश्चिमस्थित डाँडा दहचोक पनि अहिले चर्चित बनेको छ । यो मेरा लागि कुनै नौलो कुरा होइन, करीब तीन दशकअघि पहिलो पल्ट पुग्दा जुन दृष्य देखेको थिएँ, त्यसपछि त्यो त्यहाँ आएको बदलावको म पनि एक साक्षी हुँ । गत अप्रिल (२०२२) को पहिलो शनिवार यहाँ हाइकिङ जाने कुरा हुँदा थानकोट चेकपोष्टबाट डाँडैडाँडा हिड्ने तय भएको थियो र सोहीअनुसार त्यहाँको एउटा बस चढेर गएका थियौं । तर आफूहरूको रुट त्यहाँसम्म नभएको भनेर निकै वर बस रोक्यो । त्यहाँबाट अगाडि चेकपोष्ट देखिन्छ, सरासर हिड्दा पन्द्रह मिनेट जतिमा पुगिन्छ । दहचोक डाँडा पनि सिधै उत्तरमा देखिन्छ । बस्ती हुँदै फेदिसम्म पुग्ने र त्यसपछि उकालो लाग्ने निधो गरी पाइला चाल्यौं ।

केही वर्षअघि मात्रै खेतैखेत देखिने र लहलह धानको बाला झुल्ने यो ठाउँ अहिले घरैघरले ठडिएका छन् । विभिन्न नामका यी नयाँ वस्तीहरूमा बनेका साना साना बाटाहरू छिचोल्दै एउटा पीच बाटोमा पुग्छौं । दहचोककै नामबाट पूरै क्षेत्रको नामाकरण गरिएका कारण अब त्यहाँ हामीले इन्द्रथान जाने बाटो भनेर सोध्नु पर्ने भएको छ । इन्द्रथान आजभोलि मात्रै राखिएको नाम हो ।

काठमाडौंमा मनाइने प्रसिद्ध यँयाः .(इन्द्रजात्रा) को एउटा पक्ष दागिं वनेगु भनेर मृतकका आफन्तहरू राती बत्ती बालेर नगर परिक्रममा गर्नु पनि हो । परिक्रमा पछि यही दहचोकस्थित साना कुण्डमा नुहाउन आउनु पर्दछ । यो कुन्डको नाम यंकिदह हो । प्रचलित कथाअनुसार यो दहसँग स्वर्गका राजा इन्द्रको नभएर उनकी आमासँग मात्रै यो दहको सम्बन्ध छ । कथाले इन्द्रकी आमा बसुन्धरा भनिएपनि इन्द्रसँग सम्बन्धित शास्त्रले बेग्लै आमा चिनाउँछ । यसअनुसार हिन्दूशास्त्रमा उल्लेखित इन्द्र र काठमाडौंको कथामा उल्लेखति इन्द्रबीच तारतम्य मिल्दैन । यसरी नै ठाउँ वा क्षेत्रको नाम दहचोक पनि बिगारिएको नाम हो । काठमाडौंमा चारैतिर घर बनाएर बीचमा बन्ने खुल्ला ठाउँलाई चोक भन्ने गरिन्छ तर दहचोक त्यस्तो ठाउँ होइन । यसको वास्तविक नाम ‘दहचो’ हो र ‘चो’ शब्दले थुम्को भन्ने अर्थ दिन्छ । यसर्थ थुम्को अर्थ दिने ठाउँहरूलाई चोक नामाकरण गरेर विकृत रूप फैलाउने चलन हिजोआजा अचाक्ली छ । तर यहाँ दहचोक र इन्द्रस्थान नै नाम प्रचलित छ ।

एउटा पसलमा गएर सोध्यौंं– ‘‘इन्द्रथान जाने बाटो कुन हो ?’’ उनलाई थाहा नाइ । अर्को पसलमा गएर सोध्दा सँगैको बाटो पनि त्यहीँ पुग्ने हो ‘तर तपाईहरू ऊ त्यो मन्दिरको मुनि भएर जानुस्’ भनेर सुझाव दिए । सँगैको बाटो पुरानो रहेछ तर बिग्रिसकेको र झाडी पनि उम्रेकोले ठम्याउन गा¥हो हुने ठानी परको बाटो सुझाएको रहेछ ।

पीचैपीच हिडेर मन्दिरको मुनि पुग्यौं । राधाकृष्ण नामको नयाँ मन्दिर रहेछ । मन्दिरमा उक्लन बनाइएको सिँढीमा प्रयुक्त सिमेन्ट सुकेकै रहेनछ र चढ्न मिल्दैन । मन्दिरलाई दायाँ पारेर अगाडि बढ्यौं र एउटा घुम्तीमा आइपुग्दा सोही मन्दिरको पछाडिको बाटो भेटिँदो रहेछ । हामी हिडेको त्यो बाटोको पुरानो स्वरूप कस्तो थियो थाहा नाइ तर पुरानो भूसतहको करीब ५ फिट उचाइ काटेर बनाइएको भनेर एउटा धाराको अवशेषबाट बुझियो । नयाँ बनाउँदै गरेको त्यो चौडा बाटो छाडेर उकालो लाग्यौं । केही उकालो लागेको मात्रै के थियो, ढुंगाको पुरानो सिँढी आयो । उक्लिंदै गयौं । सिँढी सक्यो । केही परबाट फेरि सिँढी सुरु । त्यो उकालोबाट पश्चिम थानकोट चेकपोष्ट देखिन्छ र त्यहाँबाट डाँडैडाँडा जाने बाटोको पनि अनुमान लगाउन सकिन्थ्यो ।

पूर्वनिर्धारित बाटो हिड्न नपाएर लागेको थकथकीको मात्रा कम हुँदै गइरहेको थियो, जसै उक्लँदै गयौं । सरर आइरहेको चिसो हावा र यहाँबाट देखिने रमाइलो भूदृष्यले अब यही बाटो पनि रमाइलो लाग्न थाल्यो । एक ठाउँमा पुग्दा एउटा सम्म परेको सानो चउर आइपुग्यो । त्यहाँ दुई युवायुवती सँगै उभिएर छर्लङ्गै देखिने काठमाडौंतिरको घरैघरको दृष्य हेरिरहेका थिए । हाम्रो टोलीमा सम्मिलित सानो बाबुलाई यो ठाउँ यत्ति मन प¥यो कि, उल्लासित हुँदै चौरमा घोप्टो नै परे । केही बेर त्यहाँ सुस्तायौं ।

पुनः उकालो लाग्यौं, माथिबाट एक जोडी झरिरहेका थिए । अलिमाथि फराकिलो तर बुङ्बुङ् धुलो उड्ने बाटो भेटियो । दहचोक जानका लागि मोटर वा बाइक चढेर आउनेहरूको बाटो रहेछ । त्यो बाटो पक्रेर केही अगाडि बढेपछि पुनः सिँढीको बाटो भेटायौं । माथिसम्म पुग्दा बीच बीचमा पुरानो बाटोलाई काट्दै नयाँ बाटो बनाएको रहेछ भनेर बुझ्न गा¥हो भएन ।

‘बाहुनडाँडा’ नामको ठाउँ आइपुग्यो । सिग्देल थरीका बाहुनहरूको रस्तीबस्ती रहेछ तर २०७२ सालको भुइँचालोले भत्काएको घरलाई बनाउनुका सट्टा तल रहेका आफनो जग्गामा बनाएर बस्न तिर लागेका रहेछन् । त्यहाँ एउटा पसलमा केही खाएर पुनः अगाडि बढ्छौं ।

एक ठाउँमा आइपुगेपछि हल्लाखल्ला सुन्छौं । क्यासेट प्लेयरमा घन्किरहेको संगीत र युवायुवतीहरूको हाँसोले संकेत दियो, गन्तव्य स्थलमा पुग्यो । पीच बाटो आइपुगेको मात्रै होइन, त्यहाँ रोकिराखेका बाइक र सानासाना मोटर बाइकहरूले जनाउ दिइराखेको छ, यो शनिवार धेरै मान्छे यहाँ पुगेका रहेछन् । सल्लाघारीको सानो बाटो हुँदै पुनः अगाडि बढेको केही बेरमा प्यागोडा शैलीको एउटा भव्य मन्दिर देखा पर्दा आफू अन्तै पुगेको जस्तो अनुभव भयो । त्यहाँ बाटोमा बुङ्बङ् धुलो उडेको र मान्छे तथा गाडीको भीड त थियो नै । अलि पर कालुपाँडेको शालिक देख्यौं र बल्ल यो ठाउँलाई ठम्याउन सकें ।

पच्चीस वर्षअघि आउँदा यहाँ थुम्कोमा ढुंगाहरू जम्मा पारेर स्तूपको आकार दिइएको थियो र पहिलो गोरखा–कीर्तिपुर युद्धमा मारिएका गोरखाली सेनापति कालु पाण्डेको स्मारक भनेर चिनाइएको थियो । भनिन्छ, मर्नुअघि नै कालुपाण्डले आफ्नो स्मारक यहाँ बनाउन भनेका थिए । पछिल्लो पटक आउँदा यहाँ स्मारक क्षेत्रलाई व्यवस्थित र भव्य बनाइसकेको थियो । पहिला एउटा सानो छाप्रोको स्वरूपमा देखेको मनकामना मन्दिर पनि अहिले प्यागोडा शैलीमा भव्य मन्दिर बनेको रहेछ । पहिला कालुपाण्डेको मूर्ति जहाँ थियो त्यहाँबाट उठाएर पुनः स्थानान्तर गरेको पनि पाइयो । पहिला बनाउँदै गरेको भ्यूटावर बन्न सकिएपनि प्रयोगमा भने ल्याइसकेको छैन । पच्चीस वर्षअघि उजाड ठाउँ केही वर्षअघि आउँदा मकै वारीमा परिणत भइसकेको थियो भने अहिले यहाँ पनि घरहरू बन्न थालिसकेका छन् । यहाँको परिवर्तनशील स्वभावलाई देख्दा अबको केही वर्षपछि नै भीडभावयुक्त र असनको गल्लीको स्वरूप नलेला भन्न सकिन्न । यो ठाउँबाट सीधा पूर्व लाग्दा अझ फराकिलो बाटो आइपुग्छ र त्यसको दायाँ स्वीटजरल्याण्ड पार्क बनाइएको छ ।

कालुपाण्डे र मनकामना मन्दिरभन्दा अलि मुनि खोंचजस्तो ठाउँमा पर्दछ यंकिदह । हामी त्यतैतिर झर्छौंं । दहमा आजभोलि प्रायः पानी हुँदैन । पहिला हुँदो हो, अब मूल सुक्यो कि ? आकासबाट झरेको पानी वा कतैबाट व्यवस्था गरेको पानीले दहले आफ्नो अस्तित्व धानिरहेको छ । रुखको पातपतिंगर कुहिएर पनि होला अहिले दहमा पानी फोहर बनेको छ । प्राकृतिक रूपमा नै रहँदा यो गोलो थियो होला तर अहिले चारैतिर सिंढी बनाएर चारकुने बनाएको छ । दहको वरिपरि रहेका साना साना मन्दिर र त्यसभित्रका मूर्तिहरू पुरानै हुन् । यसरी नै कलात्मक सत्तलहरू पनि हालै बनाइएको छ । संभवतः त्यो ठाउँमा पुराना सत्तलहरू थिए र मासिने क्रममा केही वर्षअघिसम्ममा दृष्टिगोचर नै भएन । अहिले त्यही ठाउँमा नयाँ बनाइएको हो । चारैतिर बाउन्ड्री वाल पनि बनाइएको छ । यसलाई पनि व्यवस्थित रूपमा विकास गर्न खोजिएको भनेर बुझ्न गा¥हो छैन ।

यंकिदह परिसरमा नै खाजाको पोखो खोल्यौं र एक छिन सुस्ताएर झर्दैझर्दै फेदिमा पुगेर गाडी चढ्यौं ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: बनेपामा गोसाईकुण्ड खाेज्दै
Next Post: धर्मको बर्काेमा पर्यटनकाे खेला

Related Posts

धिनाचोको टुप्पोमा योमरिको स्वाद नियात्रा
साँखुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन नियात्रा
घान्द्रूकको घुमाइ नियात्रा
आहा ! रुप्से, फेरि भेटौंला !! नियात्रा
चिसा कालिञ्चोककाे तताउने उकालाे नियात्रा
सुन्दरीजलभन्दा माथि माथि नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme