भोलिपल्टको बिहान, मिर्मिरे उज्यालोमा झ्यालको पर्दा उघारेर बाहिर आँखा डुलाएँ । कतै सपना हो कि जस्तो गरी अन्नपूर्ण हिमालले काँध हालौलाझैं गरेर हेरिरहेको दृश्यले मलाई आनन्दको कण कणमा बिभाजित बनाएको थियो । यिनै स्वर्गीय आनन्दको कण कण मिलेर घान्द्रुकको सिंगो प्राकृतिक सौन्दर्य सिंगारिएकाे थियो ।

हामी फर्कने सुसेधन्धामा लागेका थियौं । तयारीको फत्के भकभकी उम्लदै थियो । पाक्नलाई केही समय लाग्ने नै भयो । कार्यक्रमको नियमकानुनअनुसार छ बजे हामीले धान्द्रुकबाट झर्नुपर्ने थियो । तर हाम्रो भरियालाई विनय कसजूको सामान पनि मिलाएर पठाउनु पर्ने विजयराज आचार्यको संयोजकत्वमा भएको सम्झौताले साकाररूप लिनको लागि केही समय लाग्ने भएको थियो । यसै समयको सदुपयोगितामा हामीले चियासँगै धान्द्रुकमा निकै चलनचल्तीमा रहेको ब्रुमब्रेड खान भ्याइसकेका थियौं । भरियाले विनय कसजूको सामान ल्याइपुर्याएपछि हामीले फर्कने मोर्चा कस्यौं । हामी तीनजना म, मेरा श्रीमान् (तेजबहादुर दाहाल) र इन्द्र अधिकारी तीन दिनदेखि बसेको होटलको मायालाई काखी च्यापेर होटल मालिकमालिक्नीसँग विदावारी हुँदै फर्कियौं । हामी फर्कदा परबाट अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालले नवदुलही झैं लुकेर विदाई गरेझैं लाग्दथ्यो । मैले हिड्नुअघि अन्नपूर्णको सौन्दर्य अघाउञ्जेल दृश्यपान गरेको थिएँ । बिहानको समय हिमालको दृश्य साह्रै मनमोहक थियो । त्यो दृश्य बोकेर ल्याउन हुने भए अहिले कतिले ल्याइसक्थे होलान् । त्यो सौन्दर्यको अनुभूति मजस्ता धेरै प्यासीले रसास्वादन गरिसकेको हुनुपर्छ ।
समयले फट्को मारिसकेको हुनाले हामी हतारहतार गर्दै झर्यौं । बाटामा पर्ने होटलमा बसेका साथीहरूको खैखबरी लियौं । उहाँहरू हिँडिसकेको खबर पाएपछि हामी झन् आत्तिदै ओरालियाैं । अलिक तल झरेपछि अभि सुवेदी र प्रदीप बमजन आदिले हामीलाई भेट्याउनु भयो । उहाँहरू सँगै बसेर एकछिन फोटो लियौं । मलाई सबैभन्दा चिन्ता प्रो. लिन्डाको लागिरहेको थियो । किनभने उहाँ जाँदा एकदमै कठिनाइका साथ जानु भएको थियो । अभि सुवेदीबाट उहाँलाई बोकाएर सजिलोसँग लगिएको समाचार पाएपछि मन चिन्ताबाट मुक्त भयो । अभि सुवेदीहरूको तालमा हाम्रो चाल नमिलेपछि हामी उहाँहरूबाट छोडियाैं । हामी हाम्रै तालसुरमा हिँड्न थाल्यौं । म मनमनै कुराहरू गुथ्न थालें । अस्ति फागुन २३ गतेको कुरा हो— हामी त्यही बाटोलाई पछाडि धकेलेर अगाडि पुग्न हतारिएका थियाैं । आज यहीबाट पछाडि छोड्न जन्मदेखिको बल लगाइरहेका थियौं । धान्द्रुकको कार्यक्रम सफल बनाउन उचालिएका हाम्रा दायित्वका पाइलाहरू आज कार्यक्रमको समापनपछि पुन यथास्थितिमा फर्कदै थिए । वास्तवमा जीवनको सानो लीला हो यो । यहाँ कुनै पनि कुरा अन्तिम सत्य होइन भन्ने दर्शन लागु भएको थियो । हामी एउटा सत्यको अन्त्य पछि अर्को सत्यको प्रस्थानबिन्दुमा थियौं ।
त्यसदिनको सस्मरणको बिस्कुन म बाटोभरि फिजाउँदै अघि बढ्न थालें । त्यसदिन सबभन्दा अन्तिममा म, मेरा श्रीमान, अमेरिकन बालसाहित्यकार प्रो. लिन्डा र प्रमोद प्रधान र अमर न्यौपाने थियाैं । कति मुस्किलले यो उकालो काटेका थियौं । प्रो. लिन्डा ६८ वर्षको हुनुहुन्थ्यो फेरि उहाँ अमेरिकन भएकोले उकालो हिँड्ने आदत–नहुन सक्थ्यो भने प्रमोद दाईले भारी बोक्नु भएको थियो ।
मेरो मनमा विचार र अनुभूतिहरूले छलाङ्ग लगाइरहेको थियो— अस्ति जाँदाको दिनको सम्झनामा । हामी झण्डै अस्सीजना स्वदेशी र विदेशी साहित्यकारहरु, चित्रकारहरु, बालसाहित्य विशेषज्ञहरुको टोली पोखराबाट वि.स.२०६६ फागुन २३ गते आरसिमार्केटबाट बिहान चिया र नास्ताको सुध्याइ गरेर नयाँ पुलका लागि अघि बढेका थियौं । पोखराको आरसिमार्केटको झण्डै टाउकोले छोला झै गर्ने माछापुच्छ्रे हिमालको सौन्दर्यमा लुटपुटिन पाउँदा हामी मन्त्रमुग्ध भएका थियाैं । बिहानको स्वच्छ हावामा होटल माथिबाट देखिएको माछापुच्छ्रे हिमालको सौन्दर्यलाई भोको गोरुले हरियो चौरमा दाइ गरेझै प्राकृतिक सौन्दर्यको तृष्णा हामीले मेटेका थियौं । विदेशीमात्र नभई धेरै स्वदेशी साहित्यकारहरूले त्यसलाई क्यामरामा कैद गरेका थियौँ । नयाँ पुल आउन्जेल बाटोमा गाडीबाट देखिएको माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको सौन्दर्यलाई आँखाभरी लुकाएका थियौं हामीले । गाडीको अन्तिम सीटमा युवराज नयाँघरे, राजेन्द्र शलम, नयनराज पाण्डे र तुलसा पाठक हुनुहुन्थ्यो भने त्यसको अघिल्लो सिटमा म र मेरा श्रीमान थियौं । गाडीबाट निर्धक्क हिमालहरूले प्रेषित गरेको सौन्दर्यपान गर्दै युवा साहित्यकारले रचना गरेका आँसु गजलहरूको श्रवणपानको आनन्द लिन तल्लीन थियौं हामीहरू । त्यस क्षण धेरै गजल, मुक्तक, सस्मरण, उखान, चुटकिलाहरूले संजीवता प्राप्त गरें । तिनीहरूको जीवन्तताको मजा हामी सुन्नेहरूले लिइरहेका थियौं । झण्डै ९–१० बजेको बीचमा हामी नयाँ पुल आइपुगेका थियौं । अब नयाँ पुलबाट हिँड्नुपर्ने थियो । धेरै साहित्यकारहरू आ–आफ्नाे परिपञ्च मिलाउँदै अघि बढ्नु भयो ।
आयोजकहरूमा म, शैलेन्द्रुप्रकाश नेपाल, के.के. कर्माचार्य सामानहरू भरियालाई कसरी बोकाउने भन्ने गनथनको गुथरी सुल्झाउन थाल्यौं । केही समयपछि रमेश श्रेष्ठले भरिया पठाइदिनु हुने आश्वासनको फोहरा हाम्रो कानमा परेपछि हामी ढुक्क भयौं, भरियाको समस्यागत व्यवस्थापनबाट । हाम्रो बसमा चढ्नु हुने सहभागीहरूमा हामीमात्र बाँकी थियौं । अरू सबै हिँडिसक्नु भएको थियो । केही समयपछि अर्को गाडी जहाँ नेपाली साहित्यकार कम र कोरियन साहित्यकारहरू बढी हुनुहुन्थ्यो, आइपुग्यो । त्योभन्दा केही समयअघि मैले प्रदीप नेपाल (दाइ) लाई पनि त्यहाँ देखेको थिएँ । दाइलाई देख्दा म बालकले चकलेट देख्दा खुसी भएझैं खुसी भएको थियो । दाइलाई देख्दा किन हो मनभरी हर्षको सयपत्री ढकमक्क फुलेको थियो तिहारको रमझम नै बिर्साउने गरी । म किन यसरी खुसी भए भनेर आफूले आफैलाई प्रश्न गर्दा यसो भन्न मन लाग्यो – एक त त्यो विरानो प्रदेशमा विश्वासिलो अभिभावकत्व पाएको महसुस गरे हुँला मैले, अर्को त प्रदीप दाइ पनि मजस्तै विमारी, हिँड्न सक्नु हुन्न भन्ने बजारिया हल्लाले मलाई सान्त्वना मिलेको हुन सक्थ्यो । जे होस त्यो खुसीले मलाई बेग्लै आनन्दको अनुभूति गराएको थियो ।
दोस्रो गाडीको नेतृत्व रामबाबु सुवेदीले गर्नुभएको थियो । उहाँहरू आउञ्जेल भरियाले आधा सामान लगिसकेको थियो । त्यसपछि बाँकी सामान रामबाबु सुवेदीलाई जिम्मा लगाएर हिड्याैं हामीहरू । हाम्रो हिँडाइको तालमा सुशीला प्राधानाङ्ग, रेणुका थापा (सोलु), उनकी छोरी रक्षा थापा, टंक उप्रेती र शैलेन्द्रप्रकाश नेपाल हुनुहुन्थ्यो । अरुसँगको हिँडाइको चालमा हाम्रो ताल नमिलेपछि म, मेरा श्रीमान र टंक उप्रेती अलग्गियौं । टंक उप्रेती र हामीले चिनाजानी, अनुभव र परिचयको व्याड लगायौं । नर्सरीहरू हुर्कदै किन्डरगार्टन हुनलाई तम्तयार थिए त्यही बेला हामी खाना खाने ठाउँ विरेठाटी आइपुग्यो । त्यहाँको राम्रो र अलिक ठूलो होटेल आइपुग्दा आधा जसो साहित्यकार खाना खाएर बाटो लागिसक्नुभएको थियो । यति धेरै अनि कतिपय वरिष्ठ साहित्यकारहरूसँग साहित्यिक यात्रामात्र गर्नु नभई आयोजनाको कतिपय महत्वपूर्ण भूमिका निभाउन पाउँदा मेरो मनलाई गौरवको अनुभूतिले छपक्कै छोपेको थियो । अझ त्यहाँ प्रदीप नेपाल दाइका साथै अन्य वरिष्ठ साहित्यकारहरूको आत्मीयताको आँचलमा छपक्क छोपिन पाउँदा मेरो मन धान नाचेझै नाचिरहेको थियो । मनभित्र रोमाञ्चकता र प्रफुल्लताको मिठो धुन गुन्जिरहेको थियो । मेरो जीवनको क्यानभासमा यस्ता अमूल्य रग विरलै पोतिने छन् भन्ने अनुभूतिले मैले त्यहाँ आफैलाई अभिषेचित गरें ।
खाना केही चिसो र कडा भएपनि त्यो मलाई पञ्चामृतझैं स्वादिष्ट लाग्यो । सबै साहित्यकारहरूसँग परिस्थितिको विवेचना गर्दै हामी खानाको व्यावहारिकतामा तल्लिन भयौं । केही खाइसक्ने साथीहरू विदावारी माग्दै बाटो लागिसक्नु भएको थियो । सबैको हिँडाइमा, बोलाइमा बेग्लै रोमाञ्चकता झल्कन्थ्यो । काठमाडौंको व्यस्त र साँगुरो परिवेशमा खुम्चनु परेको साहित्यकारहरू यहाँ विशाल हृदयका साथ फरासिलो र आत्मीय व्यवहारमा देखिनुहुन्थ्यो ।
मलाई भने सबैतिरबाट सोधीखोजी र चिनाजानी गर्ने उत्सुकताको वर्षा गराइ रहनुभएकोथ्यो । त्यो उत्सुकतामा डुब्दै, पौडदै सबैतिर ढलीमली गर्ने आत्मतृष्णाले जति पिए पनि प्यासी नै बनाइरहेकोथ्यो । तर मेरो यो तृप्तीको आँगनमा एउटा आशंकाको वीउले जरो गाडेको थियो । त्यो के भने के म हिँडेर धान्द्रुक पुग्न सकुँला र ?
तर त्यो रोमाञ्चक र आनन्दित क्षणले त्यो वीउलाई बोन्साई बनाइ हुर्कन नै दिएको थिएन । मेरो आत्माले दह्रो प्रतिज्ञा गर्यो – ‘हेर शर्मिला अब तैंले पक्कै हिँड्नुपर्छ नहिँडी अर्को कुनै विकल्प नै छैन । बरु यो मोदी खोलाको पानी सुक्न सक्छ, हिमालको हिउ नपग्लन सक्छ किनभने धेरै हिउ पग्लिसकेको छ, तर धान्द्रुक पुग्नलाई तँलाई अर्को अकाट्य सत्य हिँड्नुको विकल्प कुनै छैन ।’
मेरो मनले मस्तिष्कलाई आदेश दियो । मस्तिष्कले हात खुट्टा र शरीरलाई । शरीरमा स्फुर्ति भरिएर आयो । खानाको हिसाब मैले नै गर्नु पर्थ्याे । त्यहाँ भरियासँग तामझाम नमिलेर केही गलफत्याइ भयो । कवि रमेश श्रेष्ठको संयोजकत्वमा त्यो मिल्यो र हामी बाटो लाग्यौं । हामी सबैभन्दा अन्तिममा थियौं। हामीमध्ये शैलेन्द्रुप्रकाश, कपिल लामिछाने, प्रदीप प्रधान र चित्रकार एकाराम सिं थियौं । बाटामा परशुराम कोइराला, प्रदीप प्रधान र अरू केही साहित्यकारहरू चिनापर्चीको तेलकासा खेल्दै बाटो लाग्यौं । कपिल लामिछाने र मेरो चिनारी पुस्तकमा देखिएको नाम सम्ममा सीमित थियो । अहिले बाटो काट्तै त्यो चिनारीको फैलावट बढाउदै लग्यौ । झण्डै दुई घण्टा हिँडेपछि मेरा शरीरका पार्टपूर्जाले विरोधको घोषणा गर्न थाले । कतै नाराजुलुस गरेर चक्काजाम नै गराउने हुन कि भनेर मन आत्तियो । तातो घाम मोदी खोलाको किनारैकिनारै धेरै ठाउँमा बस्दै बाटो लाग्यौं । ओहो नेपालको भूवनावट ? किन यस्तो बनाइदिएका होलान् ईश्वरले ? मेरो सोचाईले विचारको घैटोमा थोपाथोपा राष्ट्रियताको रस भर्न थाल्यो । सायद यही भूबनावटले गर्दा होला नेपालीको जीवनस्तर उठ्न नसकेको । त्यहाँका मानिसको अध्ययन, स्वास्थ्य उपचार आदि कुराहरू कसरी हुँदो हो मन छटपटायो, मरुभूमिमा पानीको प्यासले तडपेझैं । नभन्दै एउटा मानिसले एकजना विमारीजस्तोलाई कपडाको नाम्लोबनाएर तुर्लुङ्ग झुण्डाएर तल झार्दै गरेको देखियो । त्यो मानिस विमारी भएर कतै उपचारको लागि लादै गरेको देखिन्थ्यो । ऊसँगै अन्य दुईचार जना पछाडि दौडदै थिए । मलाई सम्वेदनाको श्रीपेच लगाएर एउटा कथा लेख्न मन लाग्यो । त्यो विमारी बोक्ने मानिस विमारीको लागि कति चिन्तित देखिन्थ्यो । लाँदालाँदै कतै उसैलाई पो बोक्नुपर्ने हो कि ? एउटा कथाको राम्रो प्लट थियो यो । तर परिस्थितिको प्रतिकुलताले त्यसलाई प्रत्यक्ष प्रभाव पार्यो र त्यो कथा नजन्मी त्यही विलय भयो ।
मभित्र एउटा बैरागी धून गुञ्जनथाल्यो मोदीको खोलाको छङ्छङ् आवाजसँगै । हाय, नेपालीको भाग्य यो दृश्य त नेपालका प्रत्येक गाउघरमा देख्न सकिन्छ अनि लेख्ने हो भने कति कथा लेखिन्छ होला ? तर त्यसको निर्विकल्प के त ? आजसम्म यस्ता कति कथा लेखियो होला ? ती सबै कागज र मनमा नै सीमित रहे । अझ भनुँ नलेखिएका कतिपय कथाहरू समाजमा सम्वेदनाको ढोल बजाईबजाई नाचिरहेका छन् । कस्ले सुन्ने र सुनाउने यस्ता मार्मिक संवेदनाका कथाहरू ? मनले मनलाई नै मनोवाद गर्न पुग्यो । मन भन्ने कुरा पनि अनौठो हुँदोरहेछ । अहिले आफ्नाे सबै थकाइ, अस्वस्थ्यता पराइको व्यथामा अनुवाद भएको रहेछ । जब म हिँड्न नसकेर ताता घाममा स्वाँस्वाँ भए अनि मौलिक व्यथामा आत्माकृत भएँ । मेरा हातहरू रगत नै जम्लाझैँ राता भएका थिए ।
हामी एउटा सानो रेष्टुराँजस्तो कटेरामा पुग्यौं । त्यहाँ विजयराज आचार्य, युवक श्रेष्ठ, अन्य केही साहित्यकारहरू हुनुहुन्थ्यो । त्यहाँ केहीबेर बसेर चिसो लियाैं । त्यो कटेरो अत्यन्त भीरमा बनाइएको थियो । भुइँको रूखमा खम्बा बाधेर बनाइएको त्यो कटेरो पहिरो जानेभीरमा थियो । जब परबाट मैले त्यो कटेरोलाई सिंहले झैं अवलोकन गरें अनि आफैं अचम्ममा परें । यस्तामा मानिसहरू कसरी जीविका चलाउँछन् बा । सायद गरिबीले मान्छेभित्रको डरलाई पनि पटाका पडकाएर हात्ती धपाए झैं धपाउँदो रहेछ क्यार । नत्र देख्दै रिंगटा लाग्ने यो भीरमा मानिस कसरी बस्दा हुन् । फेरि हिँड्नुपर्ने लामो फाँट मेरो आँखामा तेर्सियो । प्रदीप प्रधान र विजयराज आचार्यलाई हिँड्न गारो भइरहेको थियो । गारोसाह्रो नहुनेमा, शैलेन्द्रुप्रकाश, कपिल लामिछाने, एकाराम सिं आदि हुनुहुन्थ्यो । त्यसैले उहाँहरूले हामीलाई परेको गारोसारो नछोइ जस्ताको तस्तै छोडेर बाटो लाग्नु भयो । हामी हाम्रो गारोसारोलाई छेउ किनारा धकेल्दै अघि बढ्याैं ।
निकै लामो घोरेटो काटेपछि हामी उकालो चढ्नुपर्ने बेशीमा आइपुगेका थियौं । भरियाहरू पनि गफको गुड्डि खेल्दै हामीसँगै हिँड्दै थिए । उनीहरूले बोकेको भारी देखेर मेरो मन दुई मनको भारी बोकेझैं भारी भएको थियो । जबकि मैले मेरो हाते ब्याग पनि बोक्न नसकेर श्रीमानलाई दिएको थियो । अब ठाडै उकालो चढनुपर्ने सिढीको मुनि हामी थियौं । सबैजना भेला भएर फोटो लियौं । अब उकालो ठाडै सिढी नै सिढी कति हो कति ? बाटो साँगुरो घोडाको लिदी जताततै छरिएकोले एकप्रकारको दुर्गन्ध आउँथ्यो । मेरो सास फुलेर स्वाँस्वाँ हुन्थ्यो । प्रदीप प्रधान र म बिसौनीको खोजीमा हुन्थ्यौं । डाँडाले घामलाई पोल्टामा हाल्न आँटेको दृश्य देखाउँदै मेरो श्रीमान हामी दुबैलाई हिँड्नलाई आदेश दिनुहुन्थ्यो । हामी लाखेलाखे भन्दै अघि बढ्थ्याैं । मुस्किलले झण्डै दुई घण्टाको ठाडो उकालो कटेपछि शारदा शर्मा, प्रदीप वमजन, युवराज नयाँघरे र अन्य साहित्यकारहरूलाई एउटा बिसौनीमा भेट्यौं । उहाँहरू कविता, गीत भन्दै विश्रामको आनन्द लिइरहनु भएको थियो । हामी केहीछिन गफको गोटी खेल्न थाल्यौं थकाइ मेटाउन । फेरि मेरा श्रीमानकाे उर्दीले प्रदीप प्रधान र मलाई उचालिहाल्यो । हामी फेरि गलेका खुट्टालाई आदेश दिदै मोर्चाका लागि तयार भयौं । निकै माथि पुगेपछि अमर न्यौपानेले अमेरिकन प्रो. लिन्डा लाई हातमा समाएर डोर्याउँदै गरेको देख्यौं । प्रो. लिन्डाको हिँड्न नसक्ने अवस्था र अमरभाइको आफ्नै भारीसहित लिन्डालाई डोर्याउनु पर्ने अवस्था देखेर मेरो मन सहनुभूतिको भारीले बोझिलो भयो । मानवीयताको प्रत्यक्ष चलचित्र देखाउनु हुने अमर भाइप्रति मेरो हृदय श्रद्धाले चुलिएर आयो । त्यो ठाउँमा त्यो अवस्थामा यसरी डोर्याउने परोपकारी कार्य सायदै कसैले गर्ला । त्यसपछि हामी सबै सँगै हिँड्न थाल्यौं ।
ढुङ्गे पहाडमा बनाइएको सिढीको मुन्तिर हेर्दा ठूलो भीर देखिन्थ्यो । घामको प्रकाशलाई डाँडाले पोल्टामा हालिसकेको हुनाले केही मधुर देखिन्थ्यो । त्यो ढुङ्गेभीरबाट लडियो भने कहाँ पुगिन्छ होला कसैले अनुमान लगाउन नसक्ने अवस्था थियो । हामी विस्तारै पाइला गन्दै बिसाउदै फोटो खिच्दै अघि बढ्याैं । त्यो अप्ठेरोभीर चढिसकेपछि हामीले धान्द्रुकको प्रवेशद्वार देख्यौं । मन सन्तुष्टि र आनन्दले तरङ्गित भयो । मूल गेटको बिसौनीमा हामी थकाइ मार्न बस्यौ ।
अमर भाइले बिहानको खाना पनि खानु भएको रहेनछ । समाचार सम्प्रेषणको प्राविधिक गल्तीले यस्तो भएको रहेछ । मलाई केही खानेकुरा छ दिदी भनेर माग्नु हुँदा मन त्यसै सहनुभूतिले भरिएर आयो । मसँग बाटामा खान भनेर राखेको स्याउ र एउटा केक मिसिएको मिठाइ रहेछ । त्यो दिएँ, अमर भाइले बडो आनन्दपूर्वक खानुभयो । त्यो देखेर मेरो मन हर्षले लपक्कै भिज्यो । सायद संसारमा यो जति ठुलो धर्म अरु के हुन सक्ला र ? यहाँ मानवीयताको सानो जीवन सर्कल तयार भएको थियो । अमर भाइले प्रो. लिन्डाप्रति गरेको उदारता अनि अमरभाइप्रति मैले गरेको हार्दिकता । सायद मानवीय जीवन यही सर्कलमा घुमिरहेको होला भन्ने मैले अनुमान गरेँ । त्यो गेटसँगै रहेको होटलमा नवराज रिजाल, अनन्त वाग्ले, बस्नु भनिएको रहेछ । त्यसको केही माथि डाँडाको नमस्ते होटलमा इन्द्र अधिकारी, म, मेरा श्रीमान्, विजयराज आचार्य र युवक श्रेष्ठलाई राखिएको रहेछ । हिड्न नसक्ने अन्तिममा आउनेलाई यसरी तलको होटलमा राखिने प्रयोजन मिलाउनु भएको थियो व्यवस्थापनका संयोजक प्रमोद प्रधान (दाइ) ले ।
भोलिपल्टको बिहान, मिर्मिरे उज्यालोमा झ्यालको पर्दा उघारेर बाहिर आँखा डुलाएँ । कतै सपना हो कि जस्तो गरी अन्नपूर्ण हिमालले काँध हालौला झैं गरेर हेरिरहेको दृश्यले मलाई आनन्दको कणकणमा बिभाजित बनाएको थियो । यिनै स्वर्गीय आनन्दको कणकण मिलेर घान्द्रुकको सिंगो प्राकृतिक सौन्दर्य सिंगारिएकाे थियो । बिहानको झुल्के घाममा प्राकृतिक सौन्दर्यको यो दृश्यले मेरो थकित शरिरमा नयाँ रोमाञ्चकताको सञ्चार सम्प्रेषित भयो । ईश्वरले दिएको यो प्राकृतिक सौन्दर्य म जस्ता धेरै नेपाली अनभिज्ञ भएका हौला भन्ने अफसोचको पीडाले मलाई एकपल्ट नराम्ररी चिमट्यो । बिहानको नित्यक्रम सकेर हामी सो दिन गरिने कार्यक्रमको स्थलतिर लाग्यौं । कार्यक्रम गरिने स्कुल मेश्रम बराह स्कुलको प्राङ्गणमा एउटा सानो स्टेज बनाइएको थियो । बिस्तारै आयोजक र सहभागीहरूको आगमन भइसकेपछि शैलेन्दु्रप्रकाश नेपालले कार्यक्रमको उद्घाेषण गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि अभि सुवेदी हुनुहुन्थ्यो भने विशेष अतिथीमा प्रदीप नेपाल हुनुहुन्थ्यो । कार्यक्रममा अन्य स्वेदेशी साहित्यकारहरूका साथै विदेशी साहित्यकारमा अमेरिकन बालसाहित्यकार प्रो लिन्डा र कोरियन बालसाहित्यकार प्रो लि जुग हुनुहुन्थ्यो । आगन्तुक अतिथीहरूका लागि स्कुलका विद्यार्थीहरूले प्रेमपुर्वक बनाइएका लालीगुराँसको मालाले समारोहलाई रौनकता प्रदान गरेको थियो । समारोह स्वय लालीगुराँस झैं मगमगाइरहेको भान हुन्थ्यो । सोही विद्यालयको सामूहिक गीतबाट कार्यक्रम सुरु भयो । पहिलो सत्रमा पुरस्कार वितरण र पुस्तक विमोचन थियो । यो सत्रमा मेरो भूमिका अलिक बढी थियो । सबैभन्दा खुसी मलाई कक्षा चारमा पढ्ने बहिनी रक्षा थापाको कविता सङ्ग्रह विमोचनले गराएको थियो । त्यस्तै धेरै समय अघिदेखि सानीको साहसलाई अङ्ग्रेजीमा प्रकाशित गर्न मेरो इच्छाले साकार रूप लिएकोले खुसीले बेग्लै आकार लिएको थियो मेरो मनमा । म खुसीको त्यो परिधिभित्र स्वयं रुमलिरहेको थिएँ । अझ विदेशी साहित्यकारको हातमा त्यो सुम्पन पाएकोमा खुसीको त्यो परिधि म नाप्न सकिरहेको थिइन् ।
पहिलो सत्रको कार्यक्रम सकिएपछि दिउँसोको खानाको लागि हामी आ–आफ्ना होटलको लागि रवाना भयौ । मैले चाहि हिड्न नसकेको हुनाले नजिकको होटलमा आश्रय लिएँ । पुनः दोस्रो सत्रको कार्यक्रम कार्यपत्र टिप्पणी र मन्तव्यका साथ सम्पन्न भयो । कार्यक्रम भोलिपल्टको कार्यक्रममा बालसाहित्य विज्ञ विनय कसजूद्वारा अत्यन्त मेहेनत गरी तयार पारिएको घान्द्रुक घोषणापत्र रह्यो भने सोही दिन विद्यार्थीहरूबाट अत्यन्त मनमोहक नृत्य प्रस्तुत भयो । समयको अभावले कार्यक्रम छोट्टाउनु पर्ने बाध्यता आयोजकलाई थियो । सिविनको सहकार्यमा बाह्रजना कोरियन बालसाहित्यकारहरू साथै नेपाली बालसाहित्याकारहरूले बालबालिकाले सिर्जना गरेको चित्रमा कथा लेख्नुपर्ने सहसिर्जना कार्यक्रम पनि थियो । यसरी नेपाल बालसाहित्य घान्द्रुकमा गरेको बालसाहित्य सम्मेलन सम्पन्न भएको थियो । ठाउँ विशेषको प्रतिकुलताले केही गर्नुपर्ने र गरिनुपर्ने कामहरू पाखा लागेका भए पनि एक प्रकारले घान्द्रुकको सम्मेलन सफलताको पयार्य बनेको थियो । यो कार्य आफैमा कठिन र ऐतिहासिक पनि थियो ।
अहिले मलाई हिजो र अस्तिका यस्ता धेरै सस्मरणहरूले थाङ्थिलो परिरहेको थियो । छरिएका सबै सस्मरणहरू बटुल्दै यात्रा साहित्यको भकारीमा भर्दै थिएँ । बाटामा चुडामणि सर र अमर भाइसँग भेट भयो । चुडामणि सरलाई हिड्नलाई कठिन भइरहेको थियो । हामीले चुडामणि सरलाई साथ दियौं । हिँड्दाहिँड्दै हाम्रो प्रदीप नेपाल दाईको ग्रुपभेट भयो । निकै तल देउराली भन्ने ठाउँमा बसेर हामी सबैले चिसो खायाैं । यस समयमा प्रदीप दाईसँग खुलेर गफ गर्ने अवसर प्राप्त भयो । गफको नयाँनयाँ स्वाद लिँदै हामी विरेठाँटी भन्ने ठाउँमा दिउँसोको खाना खाने समयमा आइपुग्यौं । अब भने नेबासासको ऐतिहासिक र रोमाञ्चक घान्द्रुक सम्मेलनले बिश्राम लिएको थियो । कतै टाढा क्षितिजमा यस सम्मेलनको संस्मरण पाश्वचित्र बनेर मेरो मस्तिष्कमा कोरिएको थियो ।