Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

लड्दैपड्दै दम्राङ गाउँमा

Posted on March 23, 2022March 23, 2022 By अमिका राजथला No Comments on लड्दैपड्दै दम्राङ गाउँमा
खजिमायाले भनिन्, ‘हाम्रो गाउँ आयो ।’ घरहरू देखिन थालेकोले खुशी भएँ । तर हामी बस्ने घर अझै आएको रहेनछ, गाउँ मात्र पुगिएछ । गाउँ आयो भनिएको झण्डै आधा घण्टापछि बल्ल घर आइपुग्यो ।
अमिका राजथला amiaaju@gmail.com

डङ्डङ् … डङ्डङ् … गर्दै एक तमासको ढ्याङ्ग्रोको आवाज आउँन थाल्यो । त्यो आवाजको स्वर झन् झन् बढ्न थालेपछि लाग्यो, अब हाम्रो गन्तब्य दम्राङ आइपुग्न लाग्यो होला । आवाज आउँदाआउँदै, उकालो उक्लिंदाउक्लिंदा झण्डै एक घण्टा हिँडियो तर बास बस्ने गाउँ आउँदैन त ! साथै गएका साथीहरू भन्थे– आउँनै लाग्यो, अब पुगिनै लाग्यो । यही आउँनै लाग्यो र पुगिनै लाग्यो भन्ने हौसलापूर्ण शव्दले नै पूर्ण रूपमा थाकेको शरीरलाई म लतार्दै अघि बढिरहेको थिएँ ।

नथाक्नु पनि किन र ? झण्डै चार घण्टादेखि एक तमासले वर्षे बाढी आएको लोथर खोला, रेउती खोला अनि शंकर खोलालाई पटक पटक तर्दै, लड्दै, झण्डै ८० डिग्रीमा ठडिएको पहाड उक्लँदै थिएँ ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–७ दम्राङ पुग्नको लागि सिलिंगेको गाडी गुड्ने बाटो हुँदै जान सकिने रहेछ भन्ने कुरा ती ठाउँमा पुगेपछि मात्र बुझें तर त्यो कठीन बाटो किन लगियो बुझ्दिन । सिलिंगेसम्म गाडीमा गएर सिलिंगेको पहाडबाट झरेको भए दम्राङ पुग्न त्यति गाह्रो नहुने रहेछ भन्ने कुरा सिलिंगेको पहाड उक्लिंदा र त्यहाँ पुगिसकेपछि महसुस गरें । धेरै थकथकी लाग्यो, अनाहकमा दुई दुई वटा पहाड चढ्नु परेकोमा । हुनत पहाडको बाटो हिंड्न सजिलो हुन्न भन्ने थाहा छ तर पनि दुई दुई पटक अनावश्यक रूपमा घण्टौंको पहाड चढ्नु परेको थियो, मुटुले नै ठाउँ छोड्ला कि जस्तो हुने गरी । देशका झण्डै ४६ वटा जिल्ला घुम्ने क्रममा यी पहाड जत्तिको गाह्रो हुने गरी आजसम्म कुनै पहाड चढिएन ।

गत असोज महिनामा पटक पटकको स्थगनपछि दम्राङ पुगेको हो । झण्डै भदौसम्म लम्बिएको वर्षातले गर्दा पनि निर्धारित कार्यक्रम पटक पटक सरेको थियो । म त्यहाँ चेपाङ महिलाहरूलाई लैंगिकता तथा महिला सशक्तिकरणसम्बन्धी तालिम दिनको लागि गएको थिएँ । गैर सरकारी संस्था नाफानको आयोजनामा भएको कार्यक्रमअन्तर्गत सहजकर्ताको रूपमा म गएको थिएँ । काठमाडौं, हेटौंडा, भण्डाराहुँदै लोथर पुलसम्म थरीथरीको यातायातको साधन प्रयोग गरेर सहज तरिकाले यात्रा गरियो ।

भण्डाराबाट साढे एक बजे बोलेरो चढेर सजिलो, अप्ठेरो बाटो हुँदै लोथर पुल पार गरेर बोलेरो रोकियो । बोलेरोमा ड्राइभरसँगैको अगाडिको सीटमा अर्को एक महिला र म बसेका थियौं । थोरै कुरा भए पनि उनीसँग कुराकानी नै भने भएको थिएन । लोथर पुल पुगेपछि धेरैले खाजा खाने एउटा सानो पसल रहेछ, सबैले खाएको देखेपछि मैले पनि खाजा खाएर मात्र हिंड्ने प्रस्ताव गरें । खाजा खायौं, चाउचाउ बाहेक केही पाइन्न भने पछि त्यसैको शरण परियो, चाउचाउ पकाउन लगाएर खाइयो । अब हिंड्ने बेला भयो ।

त्यही बेला मसँगै भएका सहयोगी भाईले ‘उहाँसँगै हामी जाने हो, उहाँकै घरमा बस्ने हो’ भनेपछि मैले ती महिलासँग आफ्नो पाइला मिलाउन थालें । संगसंगै हिंडेपछि थाहा भयो उनी नेपाली कांग्रेसको क्रियाशील सदस्य खजिमाया चेपाङ रहिछिन् र चैनपुरमा भएको नेकाको स्थानीय कार्यकर्ता भेलामा सहभागी भएर फर्किएकी रहिछिन् । हिंडदै जाने क्रममा खोला तर्ने क्रम शुरु भयो । लोथर खोलाको बगरैबगर हिंडेर तीन पटकसम्म खोला तर्दा त खासै केही समस्या महसुस भएन तर चौैंथो पटकदेखि भने अलि गाह्रो हुन थाल्यो । हिंड्दा हिंड्दै पानी पर्न थालेको थियो । खोला तर्ने क्रममा खोलाको पानी अब घुँडामुनि होइन, कम्मरैसम्म पुगेको थियो । अगाडि झोला, पछाडि पनि लुगाको झोला अनि हातमा छाता पनि । पछाडि बोकेको झोला खोलाको पानीमा चोपलिंदा भिजेर गह्रौं हुन थालिसकेको थियोभने अगाडिको झोलालाई पानीले नभिज्ने गरी प्लाष्टिकको झोलाले बाँधेको थिएँ । अब खोला तर्ने क्रममा एक्लै तर्न गाह्रो भएकोले हात समातेर तर्न थालेका थियौं । हिंड्दाहिंड्दै एक ठाउँमा म अलि अगाडि पुगेंछु । खोलाको किनारमा खरको घारीहुँदै हिंड्न रमाइलै लागेको थियो । अब फेरि खोला तर्ने बेला भयो तर उनी आइनन् । कुरेर बसें, आइन् । ‘किन ढीला भयो ?’ भनेर सोधेको उनी लडेर लगाएको जुत्ता पनि खोलाले बगाएछ । उनको जुत्ता खोलाले बगायो भने पछि म सतर्क भएँ र खोला तर्न मैले पनि जुत्ता फुकालेर खोलामा पसेको मात्र के थिएँ, डङग्रङ्गै लडें । मैले टेकेको ढुंगा काई परेको चिप्लो रहेछ, होसै भएन, टेकिएछ, लडियो । हत्त न पत्त उठेको पछाडिको लुगा भएको ब्याग आधाउधी भिजेछ । भारी ब्याग झन भारी भयो । नुन बोकेको गधा र कपास बोकेको गधाको कथा सम्झना भयो । उपाय केही थिएन, सहनु र जानु बाहेक । अर्को पटक खोला तर्दा ढुंगामा टेकेर खुट्टा पनि नदुख्ने, लड्दा पनि नलडिने सोचेर जुत्ता लगाएरै खोला तर्ने निधो गरें । खोला बगे (तल) तिरै हिंडेर पाइला चाल्दा जुत्ता बगाउला जस्तो हुने रहेछ, अलि माथितिर हुँदै जाँदा जुत्ता बगाउँदैन भन्ने कुराको भेउ पाएपछि त्यसै गरेर खोला तर्दै गएँ, सहयोग लिँदै ।

छैठौं पटक खोला तर्ने क्रममा ठूलो भंगालो आयो । छेउ छेउबाट हिंडेर त्यो ठाउँ पार गर्दा कम्मरमुनिसम्म पूरै भिजियो । यो ठाउँ पार गर्दा १२–१३ वर्षका दुई जना भाईहरू देखा परे । खजिमायाले उनको भाईहरूलाई फोन गरेर गाउँबाट बोलाएकी रहिछन् । उनले मेरो लुगाको झोला उनीहरूलाई दिन भनेपछि ठूलो राहत महसुस भयो । खजिमायाले पनि आफ्नो एउटा झोला दिइन् ।

अब अन्तिम खोला तर्ने पालो आयो । त्यो ठाउँ त्यति गहिरो थिएन तर त्यहाँ खोला तर्नुअघि एउठा ढुंगाको ककारो उक्लिएर मात्र खोला तर्नु पर्दथ्यो । म उक्लिएर खोला तर्न पाइलामात्र राखेको थिएँ मेरो जुत्ता, खुट्टा चिप्लिएर खुट्टा फर्कियो । देब्रे खुट्टाको कान्छी औंला र संगैको औंलामा चोट लाग्यो । एक क्षणसम्म त केही गर्न सकिएन, औंलाहरू निलो भयो, घाउ पनि भयो । के गर्ने, के नगर्ने केही सोच्न सकिएन । एक क्षण आराम गरेपछि दुखाई केही कम भएको हो कि भन्ने जस्तो भयो । तर आराम गर्ने समय थिएन । साँझ पर्न थालिसकेको थियो ।

भर्खर खोला तर्न सकियो, पहाड चढेर अगाडि बढ्न त बाँकी नै थियो । ती दुइजना केटाहरू झोला बोकेर यत्ति छिटो दौडिए कि म तिनछक्क परें ।

खोला तर्ने बित्तिकै उकालो चढ्न शुरु गरियो । झण्डैं ८० डिग्रीको उकालो । बाटो भन्नु पनि नाम मात्रको थियो, जनावर हिडेर बनेको बाटोजस्तो, एक फिट पनि नभएको बाटो । त्यहाँबाट खस्ने हो भने अघि भर्खर तरेको खोलामा पुगेर बग्न बेर थिएन । उकालो चढ्दा स्वाँस्वाँ आउँने र खुट्टा गल्नेको त सिमै थिएन, पटक पटक पेटको आन्द्रा नै तानिएजस्तो के के खाले दुखाई हुन थाल्यो । पटक पटक दुख्दा एक क्षण आराम गर्थे, फेरि हिंड्थें ।

डाँडा पनि यस्तो, कुनै रुख बुट्यानलाई समाएर अगाडि बढौं भने त्यो पनि थिएन । गनाउने घाँस, पुदिनाजस्तो पात भएको घाँस(नाम थाहा भएन), कहिं कहिं अम्रिसो आदि घाँस थिए । सहारा लिने खालको कुनै बुट्यान थिएन । एक ठाउँमा चढ्नको लागि नसमाई नसक्ने भएँ । हेरेको गनाउँने घाँसबाहेक केही थिएन । त्यसैलाई समातेर चढ्न खोजेको घिस्रेर तलै खसें । धन्न धेरै तल पुगिएन ।

बोकेको पानी सकिएको थियो, हिंड्दा हिंड्दा पानी प्यास लाग्यो । उपाय केही नभएपछि एक ठाउँमा पानी परेको पानी घाँसको पातमा शितजस्तै बनेर रहेको थियो, त्यसैबाट जिब्रो भिजाएँ । अलि प…र पुगेपछि सानो पानीको झरनाजस्तो देखें तर पानी खान जान सक्ने बाटो भएकोले यत्तिकै हिंडियो । अलि माथि पुगेपछि वर पिपलको चौतारी अनि धारा आयो । के चाहियो र अब ? पानी घटघट पिएँ । त्यहाँ मलाई तातो पानी, बोतलको पानी चाहिएन । थकाई यति लागेको थियो, पानी परेर हिलाम्य भएको चौतारीमा थ्याच्चै बसें । अघि झोला बोकेर दौडिएका साना भाईहरू हामीलाई त्यही कुर्दै रहेछन् ।

यति बेलासम्म झमक्क साँझ परिसकेको थियो । गन्तब्य अझै आएको थिएन तर आधाउधी उकालो लागेपछि सुनिन थालेको ढ्याङ्ग्रोको आवाज अब नजिकै आएको थियो ।

खजिमायाले भनिन्, ‘हाम्रो गाउँ आयो ।’ घरहरू देखिन थालेकोले खुशी भएँ । तर हामी बस्ने घर अझै आएको रहेनछ, गाउँ मात्र पुगिएछ । गाउँ आयो भनिएको झण्डै आधा घण्टापछि बल्ल घर आइपुग्यो । हामी पुग्दा ६ः३० बज्यो । पिंढीमा बसेर चैनको सास फेरियो, भित्रबाट तातोपानी ग्लासमा लिएर आए, खजिमायाका श्रीमान पानबहादुर चेपाङ । उनले खाना पनि पकाइसकेका रहेछन् । एक क्षण आराम गरेर खाना खाइयो ।
चेपाङ समुदायका बालिकाहरूको शैक्षिक प्रवद्र्धनका लागि काम गर्दै आएको संस्था दीगो विकासका लागि एकता नेपालमार्फत स्वयंसेवकको काम गर्दै आएका पानबहादुर घरको सबै काम गर्न नहिच्किचाउने रहेछन् । उनी खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने सबै काम गर्दा रहेछन् ।

स्थानीय विद्यालयका शिक्षक, पानबहादुर तथा घरका अभिभावकबाट बुझ्दा दीगो विकासका लागि एकता नेपाल नामक संस्थाले स्थानीय बालिकाहरूको शैक्षिक विकासको लागि विद्यालयमा चाहिने हरेक सामग्रीदेखि घरमा प्रयोग गर्नेसम्मको सबै वस्तु, खर्च व्यहोर्ने रहेछ । यही कारण विद्यालयहरूमा बालकभन्दा बालिकाको संख्या बढ्दो क्रममा छ । यही दरमा केही वर्ष सहयोग हुने हो भने थुप्रै चेपाङ बालिकाहरू शिक्षाको उज्यालोमा छिर्नेछन् । यद्यपि बालबिवाह निमिट्यान्न भइसकेको अवस्था भने छैन ।
पानबहादुरले केही वर्षदेखि पशुपालक कृषकका रूपमा थुप्रै बाख्रा, भैंसी, सुंगुर पनि पाल्दै आएका छन् भने खजिमायाले घरमैं सामान्य पसल पनि चलाउने रहिछन् । साथै उनी, लुगा सिलाउने सीप पनि भएकोले अरुले कपडा ल्याउँदा मात्र सिलाउने नभई रेडिमेड लुगा पनि बेच्ने गर्दिरहिछन् । यी दुई दम्पत्तीलाई देख्दा गाउँमा पनि गर्नखोजे गर्न सकिने ठाउँको अभाव नहुने रहेछ भन्ने लाग्यो ।

खोला तर्दा तथा उकालो चढ्दाको थकान त थियो नै । राति खाना खाएर आरामले सुतौंला भन्ने सोचेको, रातको २ बजेदेखि नै ढ्याङग्रो बज्न थाल्यो गाउँमा कतै । ढ्याङ्ग्रो बज्नु अगाडि नै घरमा मुसा, बाख्रा, कुकुराको गाना–बजाना त थियो नै । ३ बजेदेखि जाँतो घुम्न थाल्यो । जाँतो घुम्न थालेपछि भने ढ्याङ्ग्रोको आवाज मत्थर भयो । खजिमायाकी जेठानीले पल्लो घरमा मकैको पिठो बनाउन जाँतो घुमाउन थालेकी रहिछन् । चार दिन उक्त घरमा बस्दा दैनिक रूपमा नै उनी ३ बजे नै उठेर जाँतोमा पिठो बनाउँथिन् । दम्राङ्को बासिन्दाका लागि आवश्यक पिठो बनाउने पानी घट्ट वर्षा याममा खोलाले बगाएपछि उनीजस्ता गाउँलेले जाँतोको सहारा लिनु परेको रहेछ ।

दम्राङ पुगेको दोस्रो दिन तालिम सिध्याएर घर फर्कंदै थियौं, खजिमाया र म । घर पुग्ने बेलामा एक जना बहिनीले चेपाङ भाषामा के के भनिन् । कुरा सुनेपछि उनले अनुहार अंध्यारो बनाइन् । के भयो भनेर सोध्दा बाख्रा मरेछ भनिन् । चिन्तित हुँदै दौडँदै घर आउँदा घर नजिकै मेरेको बाख्रा लडाएर राखिएको थियो भने अर्को दुई वटा बाख्रा बोकेर चार जना केटाहरू आए । दुबैलाई पहिला लडाएकै ठाउँमा लडाएर उनीहरू खेल्न गए । उनी चिन्तित भएर बसिन्, खासै बोलिनन् ।

जंगलमा विषादी घाँस खाएर यसरी पशुहरू मर्ने रहेछन् । ‘मरेको बाख्रा के गर्ने ? गाड्ने हो ?’ भनेर मैले उनलाई सोधें । उनले ‘उम्’ मात्र भनिन् । एक क्षणमा सबै मरेका बाख्राहरू घर पछाडि लिएर गए, केटाकेटी अनि खजिमायाको जेठानीले । साँच्चै गाड्न लगिएको होला भन्ने ठानें । तर एक घण्टा जतिपछि त बाख्रा खुइल्याएर, आन्द्राभुंडी छुट्याएर आँगनमा ठूला ठूला केराको पात ल्याएर त्यसमा मासु राखियो ।
जेठानीले खुकुरीले मासु काट्न थालिन् । एउटामात्र थाली भएको तुलो ल्याइयो । त्यसमा मासु जोख्न थालिन् उनले । यस्तो तुलो पहिलो पटक देखेकी थिएँ मैले । खजिमाया यी सबै दृश्य पिंढीमा बसेर हेरी मात्र रहिन् । मैले सोधें, बेच्न लागेको हो ? उनले ‘हो’ मा मुन्टो हल्लाइन् र भनिन्, ‘गाउँलेले यसरी मरेको जनावरको मासु सस्तोमा किनेर खान्छन्, त्यसैले बेच्न लागेको होला ।’ जेठानीले साँच्चै मासु जोख्दै गाउँलेलाई दिएर पठाइन् ।

निकै थाकेको कारणले साँझ अलि छिट्टै खाना खाएर म सुत्नतिर लागें । तर पछि कल्याङमल्याङ गर्दै मसला पिनेको, भान्छामा मसला भुटेको अनेक आवाज आएपछि ब्युँझिएँ । मासु पकाएर खाने तयारी रहेछ । यसरी मरेको जनावरको सहज तरिकाले मासु खाइन्छ भन्ने कुरा पनि थाहा थिएन मलाई ।
यस अगाडि पनि थुप्रै गाउँमा बास बसियो तर दम्राङ्मा गाउँको वास्तविक छनक थियो । पुग्न जतिसुकै गाह्रो भए पनि यहाँ पुगेपछि गाउँको अर्कै रौनक भेटियो, मानसपटलमा छापै बस्नेखालको ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: रुरुदेखि रानीमहलसम्म
Next Post: ल्हासापाको महामञ्जुश्री गुफा

Related Posts

मारातिकामा ध्यान नियात्रा
बन्दिपुर यात्रा नियात्रा
दहचोक हाइकिङ नियात्रा
वाग्द्वारमा वैशाख १, २०६६ नियात्रा
झरी, कविता र धरान-भेडेटार  नियात्रा
सोलुको चमक नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme