Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

रुरुदेखि रानीमहलसम्म

Posted on March 21, 2022March 21, 2022 By बसन्त महर्जन 1 Comment on रुरुदेखि रानीमहलसम्म
ऋषिकेशदेखि जंगलको बाटो हिडेर आएको भनेपछि उनै प्रहरीहरु अचम्म परे । अब हिडेर तानसेन पुग्छु भन्दा अझै अचम्म माने । साँझ तानसेनबाट एउटा गाडी आउँछ र भोलि विहानमात्रै फर्कन्छ, । त्यसैमा जानको लागि सुझाए ।
बसन्त महर्जन

रुरुको ऋषिकेशव मन्दिर परिसरमा सन्यासी र ब्राम्हणहरुसँग भलाकुसारी गर्ने क्रममा रानीघाटको प्रसंग आएको थियो । रानीघाटस्थित रानीमहलमा जाने कार्यक्रम त थियो नै तानसेनबाट जाने, अर्को दिन । तानसेनबाट हिडेर जाँदा तिन घन्टा लाग्दथ्यो भने रुरुबाट पनि लगभग तिन घन्टामा नै पुगिने थाहा भयो । त्यो दिन पूर्वनिर्धातिर अरु कार्यक्रम थिएन पनि । भोलिको काम आजै किन नगर्ने भन्ने सोच आयो र रानीघाटतिरको यात्रा तय भयो ।

ऋषिकेश मन्दिरबाट पूर्व लाग्दै गर्दा बायाँ कालीगण्डकीको उचाइ बढ्दै जान्छ । बग्दै गरेको नीलो नदी र सेतो बगर मनमोहक त छ नै । बगरमा अघि दाह संस्कार गर्न ल्याइएको शव चितामा जल्दै छ भने मलामी आउनेहरु यताउति गरिरहेको कमिलाको सलबलाहट जस्तो लाग्यो भनुँ अथवा हवाइ जहाजको झ्यालबाट पृथ्वी तलमा देखिएको दृष्य, त्यस्तैत्यस्तै लाग्यो ।

बाटोको छेवैमा दायाँ एउटा मन्दिरतर्फ दृष्टिगोचर हुन्छ । भित्र गएँ, हेरें । काठमाडौंको वास्तुकलाको झलक दिने उक्त मन्दिरको रौनक कुनै बेला बेग्लै थियो होला अथवा आजभोलि नै पनि कुनै अवसर विशेषमा हुँदो हो तर अहिले भने कत्ति पनि छैन । केही फोटो खिचेर निस्कें । त्यसको बगलमा नै सत्तल देखें । झट्ट हेर्दा सत्तलमात्रै हो, हेर्ने कुरा के नै होला र जस्तो लाग्ने हुन्छ । त्यस अनकन्टारजस्तो ठाउँमा त्यो पनि काठमाडौंमा प्रायः देखिने वास्तुकलाले युक्त सत्तलतर्फ आँखा लाग्नु स्वाभाविक नै हो । नजिक गएर हेर्दा मात्र दैखें, मिहीन काष्ठकलामा अनेकौं कलाकृतिहरु । विविध क्षेत्रको कला संस्कृतिको अध्ययनअनुसन्धानमा नै हिडिरहनेका लागि के खोज्छस काना भनेर सोधेजस्तै भयो । अन्य कलाकृतिका अलावा केही विशेषतासहितका कामकलाले युक्त सानासाना आकृतिहरु काठमा कुँदिएको रहेछ र त्यसको पनि फोटो उतारें । यस्ता आकृतिहरु अन्यत्र भए मन्दिरको तुँडालमा रहेको हुन्छ तर यहाँ खम्बामा पाइयो । कलाका विद्यार्थीलाई यो विशेष हो । अभिलेखहरु केही छ कि भनेर खोजें, देखिनँ ।

सत्तलबाट केही अघि बढेपछि बाटो छेवैमा एउटा धारा देखें । अनौठो आकृतिले युक्त धाराले ध्यान खिच्यो । धाराको फोटो खिच्न लाग्दा पानी भर्दै गरैकी महिला अलि पर हटिन् । फोटोमा आफ्नो अनुहार आउछ भनेर डराएकी होलिन् । नेवारनी रहेछ । त्यहाँ नेवार समुदायकै बसोवास रहेछ । उनैबाट थाहा भयो, अलि पर गुफा पनि रहेछ तर गुफा गइराख्न समयको अभाव छ । मलाई अर्गेली जानु थियो । बाटो सोधेर त्यतै लागें । अगाडि बढ्ने क्रममा दुई आइमाई त्यतैतिर हिडिरहेको भेटियो । उनीहरुबाटै त्यहाँ छोटो बाटो पनि रहेको पनि थाहा पाइयो । सजिलो भन्दै लामो बाटो किन हिड्ने ? तिनै आइमाईको पछि लागियो । अघि ऋषिकेश मन्दिरको माथि केही घरहरु देखेको थिएँ, यी आइमाइहरुको घर त्यतै रहेछ । उनीहरु आफ्नै कुरामा मग्न थिए, घरायसी कुरा रहेछ । छोटो बाटोमा पाइला राखेपछि आफु छिटोछिटो गरी पाइला चालेर अगाडि बढें । पीच बाटो पुगें । यति बेलासम्ममा १२ बजिसकेको थियो । भोक पनि लागिसकेको थियो । रेष्टुरेन्ट भनी लेखिएको एउटा भोजनालयमा पसें । खाना खान पाइन्छ ? भनेर सोधें । पाइन्छ भन्ने जवाफ आयो । मासु र भात मात्रै ख्वाउन लागेको रहेछ । आफू परियो शाकाहारी । अन्डा बनाइ दिउँ भनेर सोधिन्, आफू भने अन्डा पनि नचल्ने । थालमा भात भने पस्किसकेको । भोक पनि लागिरहेको । बिचरीसँग दाल धरि रहेनछ । सा¥है फसात् प¥यो । एक छिन पख्नुस् है भनेर बाहिर निस्किन् र एकै छिनमा कचौरा भनी दाल लिएर आइन् । त्यही दालसँग मुछेर भात खाइयो । अरु बेला खाना खाँदा के के खान पाइन्थ्यो कुन्नी, सुख्खा दालसँग भात खाएको पैसा दुईसय पचास रुपैया भन्यो । तानसेन बजारमा राम्रोसँग खाएको भातको भाउ पनि एक सय पचास पुग्दैन । तर, त्यहाँको भाउ त्यही हो भनिन् । साँच्चै एक छाक भातको भाउ दुईसय पचास नै हो भने मुस्किलले मात्र पसल चल्दथ्यो । अलि नयाँ अनुहार देख्यो कि केही पैसा झार्ने मनसाय राखेर व्यापार व्यवसाय गर्नेहरुको कमी छैन नेपालको गाउँघरतिर । यिनीहरुको यो प्रवृत्तिलाई ठगीकै कोटीमा राख्नु पर्दछ । घुम्न आएका पर्यटक भनेर थाहा पाउदासाथ ठग्नै पर्ने मनसाय राखेर होटेल व्यवसाय चलाउनेहरुले नै आफ्नो ठाउँठाउँको प्रचारप्रसार गरेर पर्यटनको बिकास गर्ने कुरा गर्दा एकतिर हाँसौ उठ्छ भने अर्को तिर पर्यटन गर्नेहरु ठगिन आएको होइन है भनेर बुझाउन नसक्ने नेपाली पर्यटनविद्हरु देखेर दिक्क लाग्छ । मन अमिलो पारेर दुई सय पचास रुपैया दिई यात्रालाई जारी राखें ।

अर्गलीबाट पीचै पीचको बाटो भई निकै तल झरेपछि एउटा प्रहरीसँग सोधें, रानीघाट जाने बाटो । अलि पर गएर (एउटा ठाउँ, नाम बिर्से) बाट बायाँ लागेर रानीघाट पुग्न सकिने जानकारी उनमा रहेछ । उनै प्रहरीले ‘अरु पनि बाटो हुनसक्छ, ऊ… त्यहाँ पसल अगाडि पत्रिका पढ्दै गरेकोसँग सोध्नुस्’ भनेर सल्लाह दिए । साँचै अर्को बाटो पनि रहेछ । अर्को बाटोका लागि तल पुगिराख्नु पर्दैन त्यहींबाट बाटो लाग्दा हुने रहेछ । अलि पर के गएको, बाटो फाटिहाल्यो । कसैलाई सौधें र एउटा बाटो लागियो । फेरि बाटो फाट्यो । सोध्नै पर्ने भयौ, सोधेर फेरि एउटा बाटो पक्रियो । अचम्म लाग्यो, तुरुन्तातुरुन्तै बाटोहरु जोडिने र फाटिने । एक ठाउँमा पुगेर बाटो सोधेको, एक छिन पर्खनलाई भनिन्, एउटी युवतीले । किन र ? प्रश्नको जवाफमा बोलिन्, ‘एकै छिनमा अब बस आइ हाल्छ नि ।’ ‘होइन, हिडेर जाने हो’ भन्न पाएको छैन, तिनी अचम्म मानेर कराइहालिन् ‘आम्मामामा… किन हिड्नु प¥यो, बस आइहाल्छ नि ?’ उसको कुरा सुनेर वरिपरिका मान्छेहरुको ध्यान मेरोमा भयो । ती युवती फेरि आफ्नै सूर बोलिन्, धेरै पैसा पर्दन क्या, हिड्नु पर्दैन । मैले पनि भनिदिएँ, ‘बसमा जाँदा बस्न पाइन्छ नै भन्ने छैन, पाइला टेक्ने ठाउँ पनि नहुन सक्छ, गान्टाङगुन्टुङ गरेर लैजान्छन् । बरु फटाफट हिडेर जाँदा मज्जा हुन्छ ।’ मेरो कुरा सुनेर पनि तिनीहरु झनै गललल हाँसे ।

हिड्दै गर्दा एक ठाउँमा पुगेपछि भने शंका लाग्यो । भनिएको थियो, अर्को बाटो लाग्दा तल झर्नु पर्दछ र सोझै गए नदी किनारमा पुगिन्छ, फर्केर आउन नि गा¥हो पर्छ । केही समयअघि एउटी विदेशी युवती बाटो भुलेर तुगेको रहेछ, पाउनुसम्म दुःख पाएर फर्कनु परेछ । आफू पनि त्यही समस्याको मुखमा परेजस्तो लाग्यो र चारैतिर आँखा दौडाएँ । कोही देखिनँ । केही बेर पर्खे, कोही आएन । ‘कोही हुनुहुन्छ ?’ भनेर सोधें, कतैबाट पनि कसैको आवाज आएन । वाध्य भएर फर्कें र अलि दुईचार घर देखें । त्यतैतिर लागे । ‘कोही हुनुहुन्छ ?’ भन्दै तिनचार पल्ट आवाज दिएपछि बल्ल एउटा पुरुष निस्क्यो र मन धुक्क भयो । साँच्चै म हिडन लागेको बाटो त गलत नैे रहेछ । पीपलको रुख नआएसम्म फर्कनु पर्ने र त्यो रुखको दायाँ जुन बाटो आउने हो त्यही बाटो भएर जानु पर्ने पो रहेछ । साँच्चै उक्त बाटो अघि देखेको त थिएँ, सानो देखेकोले नपत्याई ठूलो बाटो हिडेको, गल्ती पो भएछ । पीपलको बोटसम्मै फर्कें र अघि नपत्याएकेै बाटो पक्रेर अगाडि बढें ।

केही अगाडि बढेपछि आफू गइरहेको बाटो त भइहाल्यो, पारि डाडाँमा अर्को बाटो देखियो । आफू हिडेको बाटो त्यहीँ पुग्ने हो कि ? सोधुँ कसलाई, आफू बाहेक त्यहाँ कोही थिएन । केही छिनपछि एक जना गोठालो केटा भेटियो । सोधें । यही बाटो त्यहाँ पुग्ने रहेछ । अझ उसैले भनेर मात्रै थाहा भयो, त्यति लामो घुमाउरो बाटो हिड्नु पर्दैन, पुल तरैर पारि डाँडाको बाटोमा पुग्न सकिन्छ । खोइ त पुल ? यहीँ त छ भनेर बाटो मुन्तिर देखाइ दियो । साँच्चै बाटो मुन्तिर पुल रहेछ र लामो र घुमाउरो बाटो छोटियो ।

निकै बाटो लागिसकेपछि मनमा अलि अलि चिसो पस्न थाल्यो । एक लासको बाटो । फेरि पनि बाटो बिराएन र ? भन्न त जंगलकै बाटोे भनिएको हो, तर फेरि बिराउन सक्दैन भन्ने के छ र ? शंका लाग्नुको कारण मोटर गुड्ने गरी बनाइएको बाटोमा मोटर त के, प्राणीको नाममा चराचुरुङ्गी र आफूलाई मात्र पाउदा त्यस्तो लाग्नु स्वाभाविकै हो । सही बाटो हो भने पर्यटकलाई ठाउँ ठाउँमा सुविधाका लागि सुचनापाटी राखिदिनु पर्दथ्यो । सुचनापाटीकै अभावमा पनि शंका लागेको थियो । फर्कौ, कति फर्कने ? हिडौं कहाँ पुग्ने ? तै पनि जे पर्लापर्ला भनी हिड्दै गरियो । यस्तैमा परबाट दुई जना मान्छे विस्तारै गफ गर्दै आइरहेको देखियो । उनीहरुलाई ेभेटेपछि थाहा भयो, बाटो यही रहेछ ।

बीच बाटोमा केही घरहरुको एउटा सानो गाउँ आयो । गाउँमा अलमलिनुको अर्थ हो, रानीघाट पुग्न ढिलो हुनु । आफूलाई भने रानीघाटबाट फेरि तानसेन पुग्नुछ । रानीघाट वा परिपरि वासवस्ने कुनै बन्दोवस्त छैन । त्यहाँबाट अलि हिडेपछि भने बाटोमा मान्छेहरु फाटफुट भेटिन थाल्छ ।

निकै टाढा कालीगण्डकीको छेवैमा रानीमहल देख्छु । म त्यसैका लागि त हिडिरहेको । गन्तव्य पुगिनसकेको भएपनि गन्तव्य देखेरै दङ्ग परें । जहाँबाट रानीमहल देखें त्यहींबाट सुरु हुँदो रहेछ, अप्ठ्यारो बाटो । कान्लाकान्लाजस्तो ठाउँबाट दायाँबायाँ टेको लिँदै झर्नु पर्ने सानो बाटो सा¥है अप्ठेरो । एक दुई इन्च तलमाथि प¥यो भने खस्न बेर लाग्दैथ्यो । खसेर झ्वाम्मै कालिगण्डकीमा पगिने पनि होइन, खोँचमा, खोज्न पनि मुस्किल हुने ठाउँमा । बडो होसियार हुँदै रानीमहलतिर लम्किरहेको, बाटो त झन्झन अप्ठ्यारो हुँदै जान थाल्यो । रानी महल जानेबाटो यति विधि अप्ठेरो ? पक्कै पनि बाटो भुलेको हुनुपर्छ भन्ने लाग्यो । तक्क अडेँ तर कोसँग सोध्ने ? कसैको नाकमुख देखिन । फर्केर हैरें, निकै अगाडि आइसकेछु । झस्स सम्झेँ, अघि आउँदा भेटेका दुई व्यक्तिले भनेका थिए, बाटो बनिसकेको छैन अलि अप्ठेरो छ । र विस्तारै सम्झें, यो अप्ठेरो बाटो लाग्नुअघि दोबाटो पक्कै पनि आएको थिएन । दिशा मिलेकै छ, बाटो त बाटै हो, जसो भए पनि जाउँला भनेर अगाडि बढ्नुबाहेक अर्को विकल्प थिएन । एउटा ठाउँ त यस्तो पनि आयो, भीर काटेर बनाएको करीब एक डेढ फीटको बलौटे बाटो त्यसमा पनि बीच बीचमा खसेको । त्यो बाटोमा कोही हिडेको फोटो खिच्नु पनि समाचारको विषयवस्तु बन्थ्यो तर त्यहाँ म एक्लै थिएँ । त्यसमा हिड्नुअघि सुख्खा बाटोको मात्रै खिचिक्क फोटो खिचें र क्यामेरालाई काँधमा तेर्सो पारेर झुन्ड्याएँ । सासै ठामेर हिडें तर पन्द्रह फीट भन्दा लामो छैन ।
केही अगाडि बढेपछि चौडाबाटो आइपुग्यो । तानसेनबाट बनाउँदै ल्याएको मोटर बाटो रहेछ । त्यही बाटो हुँदै झरेर रानीमहलको प्राङ्गनमा पुगें । रानी महलको जीर्णोद्धार कार्यमा संलग्नहरु काम गरिरहेका छन् भने त्यहाँ केही चहलपहल पनि रहेछ । म भने खुरुखुरु खुड्किलाहरु उक्लँदै रानीमहलतिर लम्केँ ।

यसअघि रानीमहल आउँदा पनि जीर्णोद्धारको कार्य भइरहेको थियो भने अहिले पनि त्यो कार्य सकिएको छैन । यस्तो पनि हुन्छ र ? तर हुँदो रहेछ । सुस्त गतिमा भइरहेको जीर्णोद्धारको कार्य आफै हेर्दै रानी महलको प्राङ्गन पुग्दा त्यहाँ चार पाँच जना प्रहरी गफिरहेको पाएँ । सोधें– भित्र जान मिल्छ ? जानुस, केही हुन्न भन्ने जवाफ पाएँ । भित्र पस्नुअघि महलको अग्रभागको फोटो विभिन्न दिशाबाट खिचें । भित्र जान्छु केही काम त भएको छ तर ह्वाङ्ह्वाङ्ती खाली । यताउता अलि फोटो खिचेर निस्कें ।

रानी महलको कथा यस्तो छ– काठमाडौंमा तत्कालीन राणा शासक रणोद्दीप सिंहको हत्या कार्यमा खड्ग शमसेरको प्रमुख हात थियो । उक्त हत्यकाण्डपछि वीर शमसेर नेपालको श्री ३ महाराज एवं प्रधानमन्त्री बने । नवनियुक्त शासकलाई डर थियो, काका रणोद्दीपलाई मार्ने भाइले दाजुलाई पनि मार्न सक्छ । त्यही भएर पाल्पा क्षेत्रको बडा हाकिम बनाएर यतातिर पठाइए । बडाहाकिमले आफ्नो लागि बनाएको दरवार नै रानीमहल हो । उनकी रानीको नाम तेजकुमारी हो । तेजकुमारीको मृत्यु भइसकेको थियो र उनैको सम्झनामा कालीगण्डकीको तीरमा यो दरवार बनाइएको हो । प्रशासनिक भवन तानसेन पाल्पामा थियो भने निवास यहाँ । दिनहुँ घोडाबाट ओहोरदोहोर गर्ने बाटो यहाँ पहिलो पटक आउँदा देखेको थिएँ तर अब ती बाटोहरुको नामोनिशास बाँकी छैन । खड्गशमसेरविरुद्ध फेरि षडयन्त्र भयो र काठमाडौं दरवारमा आक्रमण गर्न फौज तयार पार्दैछन् भन्ने आरोममा उनीमाथि कारवाही हुने सुइँको पाउँदासाथ केही सहयोगीलाई साथमा लिएर भारततिर लागे । त्यसपछि दरवार लुटियो । बेवारिस भयो । पछि खण्डहरमा परिणत भयो । पहिलो पल्ट यहाँ आउँदा मैले दरवारलाई खण्डहरको रुपमा मात्रै देखेको थिएँ । अब रानीमहलले पुनर्जीवन पाउन लागेको छ ।

ऋषिकेशदेखि जंगलको बाटो हिडेर आएको भनेपछि उनै प्रहरीहरु अचम्म परे । अब हिडेर तानसेन पुग्छु भन्दा अझै अचम्म माने । साँझ तानसेनबाट एउटा गाडी आउँछ र भोलि विहानमात्रै फर्कन्छ, । त्यसैमा जानको लागि सुझाए । सुझाव त ठिकै थियो तर कहाँ वास बस्ने ? यहीँ कसैलाई अनुरोध गरेर वास वस्ने भन्यो । कुनै घर छैन, काम गरिरहेकाहरुको टहरा बाहेक । त्यति बेला दिउँसो ठिक तिन बजेको थियो । जति सुकै ढिलो गरी हिडेपनि तिन घन्टामा तानसेन पुगिने अनुभव त पहिल्यै लिइसकेको थिएँ तसर्थ हिडेर तानसेनतिर लागियो ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: रूरूमा रूमल्लिँदै
Next Post: लड्दैपड्दै दम्राङ गाउँमा

Related Posts

गुफा डाँडामा उक्लिंदा नियात्रा
घान्द्रूकको घुमाइ नियात्रा
जामाच्व हाईकिङमा स्वयम्भू दर्शन नियात्रा
दहचोक हाइकिङ नियात्रा
घान्द्रुुक यात्रामा कोरिएका पार्श्र्वचित्रहरू नियात्रा
मणि दानस्थल मणिचुड दह नियात्रा

Comment (1) on “रुरुदेखि रानीमहलसम्म”

  1. भद्रगोल किराँती ,सोताङ सोलुखुम्बु says:
    April 16, 2022 at 1:15 pm

    गजब रमाइलो बसन्त सर, तस्बिरहरु पनि यात्राको भए झन्नै रमाइलो हुने थियो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme