यहाँ ‘रिदी’ भन्ने पुरानै नाउँ थियो र पछि हिन्दूहरुको आगमनसँग यो ठाउँको नाम उही रह्यो तर नयाँ अर्थ पायो

रुरु पुग्न रिडी बजार भएर मात्रै पुग्नु पर्छ भन्ने होइन रहेछ । हामी गुडेकै बाटोबाट फाटेर निस्केको एउटा अर्को बाटो मन्दिरसम्मै पुग्दो रहेछ । यही बाटो भएर ओर्लेको एउटा ठूलो बस नदी किनारमा आएर रुक्छ र मान्छेहरु फुत्तफुत्त भित्रबाट निस्कन थाल्छन् । तीमध्ये केही वरिपरि टहलिन थाल्छन् त कोही बसको छतमा चढ्न । छतबाट केही सामान झार्न खोजेजस्तो देखियो तर त्यो सामान नभएर पिताम्बरले बेरिएको शव पो रहेछ । शव देखेर मात्रै थाहा भयो, बसमा आएका अरु जम्मै मलामी रहेछन् । मर्ने मान्छेको इच्छा रुरु क्षेत्रमा दाहसंस्कार सम्पन्न गरियोस् भन्ने होला र त यहाँ ल्याइयो । गाडीबाट शव ओरालेर उत्तिखेरै शङ्ख फुक्दै त्यहींबाट शबयात्रा थाली अलि लग्यो र त्यहाँ चिता बनाई त्यसमा सुतायो । गर्धनमा क्यामेरा झुन्ड्याएर अचम्म मानी हेरिरहेको मलाई हेरी त्यहींको एक आइमाईले बताइन्– ‘‘यो पवित्र क्षेत्र हो । यहाँ जलाइँदा स्वर्ग पुगिन्छ भनेर टाढाटाढाबाट पनि शब ल्याइन्छ ।’’
भैरहवादेखिन् ल्याइएको रहेछ ।

पश्चिमतर्फबाट आएको रिडी खोला र गुल्मी–स्याङजाको सीमा भई उत्तरबाट बग्दै आएको कालीगण्डकी यहाँ मिसिएको छ । दुई नदी मिसिएको ठाउँ हिन्दूहरुको मान्यतामा तीर्थ बन्दछ । सोही मान्यताअनुसार नै यो अचेल धार्मिक स्थलको रुपमा परिचित हुँदै आइरहेको छ । हिन्दूहरु यसलाई रुरु क्षेत्र भन्न मन पराउँछन् । उनीहरुका अनुसार रुरुकन्याले तपस्या गरी भगवान विष्णुलाई प्रसन्न गराई यही क्षेत्रमा बस्न अनुरोध गरेकाले भगवान हृषिकेश यसै ठाउँमा बस्नु भएको हुनाले यो क्षेत्र रुरु कन्याकै नामबाट रुरुक्षेत्र नामले प्रसिद्ध छ । कोही रुरु र कोही ऋण शब्द अपभ्रंश भई रिडी रहेको भन्ने भनाइ अघि सार्दछन् । मानिस जन्मदा लिएर आउने तीन ऋण (देवऋण, पितृऋण र ऋषिऋण) लाई हटाइदिने हुनाले ऋणी भन्ने नाम भएकी नदी पश्चिमतिरबाट आएकी र यहाँ स्नान गर्नाले पाप पखालिनुका साथै मानिस तीन ऋणबाट मुक्त हुने भएकाले पछि रिडी भएको भन्ने भनाईमा हिन्दू मान्यता वा आग्रहबाहेक अरु केही पाइँदैन । भाषा विज्ञानअनुसार रुरु वा ऋणीबाट अपभ्रंश भई रिडी हुने कुनै आधार छैन । बरु यसको सही नाम ‘रिडी’ नभएर रिदी’ हुनुपर्दछ र ‘दी’ शब्दले मगर भाषामा पानीको अर्थ दिन्छ । पानीसँग सम्बन्ध राख्ने विभिन्न खोलानाला तथा ठाउँको मगर नामको अन्त्यमा ‘दी’ आएको हुन्छ, जस्तो म्याग्दी, मर्स्याङ्दी, दरौंदी, राम्दी, खुदी, ……. । आजभोलि गुरुङ जातिको आवादी रहेका कतिपय गाउँठाउँको नामको अन्त्यमा पनि ‘दी’ नै रहेको पाइन्छ जसले त्यस क्षेत्रमा गुरुङहरु आउनुअघि मगरको बर्चश्व थियो भन्ने जनाउ दिन्छ । यहाँ ‘रिदी’ भन्ने पुरानै नाउँ थियो र पछि हिन्दूहरुको आगमनसँग यो ठाउँको नाम उही रह्यो तर नयाँ अर्थ पायो ।
पाल्पा, गुल्मी र स्याङ्जा तिन जिल्लाको संगममा बनेको यो रिडी क्षेत्र तिन वटै जिल्लाका पहाडहरुको खोंचमा परेको छ । नाम कहलिएको रिडी बजार गुल्मी जिल्लामा पर्दछ र यसले कुनै बेला वरिपरिका क्षेत्रहरुलाई पनि सामान आपूर्ति गर्ने केन्द्रको भूमिका निर्वाह गरेको पाइन्छ । केही मात्रामा स्थानिय व्यावसायिक भूमिका निर्वाह गरेको पाइन्छ ।
पूरै बगर छोप्ने गरी नदी बग्ने हो भने रुरु मन्दिरको लागि चढ्ने सिंढीसम्मै पुग्छ । केही खुड्किला चढेर गएपछि अर्को कलात्मक द्वार आइपुग्छ र त्यहाँबाट मन्दिरको प्राङ्गणमा पुगिन्छ । सिंढी उक्लेर प्राङ्गनमा टेक्न पाएको थिएन, एउटा ब्राम्हण बोल्छन्– ‘‘जुत्ता फुकाल्नुस्, भगवानको दर्शन गर्नुस् ।’’

रुरु मन्दिरको मुख्य पुजारी तिनै ब्राम्हण रहेछन् । त्यहीं बस्नेहरुबाहेक अरु बाहिरिया कोही थिएनन् । माघे संक्रान्तिको बेला पाइला टेक्ने ठाउँ पनि नहुने त्यहाँ त्यो बेला ढलिमलि नै गर्दा पनि हुने रहेछ । साना ठूलो मन्दिरहरु नियाल्दै र फोटो पनि खिच्दै परिसरको परिक्रमा गरें र मुख्य मन्दिर ऋषिकेशको अगाडि गएर रोकिएँ । गुम्बज शैलीमा बनेको उक्त मन्दिरभित्र निख्खर कालो शिलामा निर्मित ऋषिकेशको मूर्ति रहेछ, मालाले ढपक्कै छोपिएको । आफू मूर्ति विज्ञानको पनि विद्यार्थी भएकाले माला हटाउन मिल्छ कि भनेर सोधें । हटाउन त मिल्छ तर फेरि राख्न समय लाग्ने समस्या बताए । विहान आरती हुनुअघि नै भए राम्रोसँग अवलोकन गर्न मिल्ने रहेछ । ऋषिकेशको यो मूर्ति नदीमा एक सेनवंशीय राजाले भेटाएको भन्ने भनाइ व्यापक छ । यो मध्यकालिन कुरा हो । यस अर्थमा मूर्ति मध्यकालभन्दा अघि नै बनाइएको हुनु पर्ने हो तर, मूर्तिको शैलीले त्यस्तो भन्दैन । धर्मभीरुहरू यो मूर्ति स्वयं उत्पत्ति भएकाे मान्दछन् । मूर्तिको तस्वीर देख्न पाइन्छ । तस्वीर र आफैले प्रत्यक्ष हेर्दा मूर्तिको शैली सेनकालिन नै हो अर्थात ती राजाकाे समयमा बनाएको मूर्तिलाई नै नदीमा पाएको भनी पछि प्रचार गरिएको भनेर बुझ्न गाहो हुन्न । जे होस्, तबैदेखि यो मूर्ति मुख्य रुपमा पुज्नै र आस्थाको कुरा भइरहेको छ । दर्शन गरें, प्रसाद लिएँ । पूर्वाभिमुख ऋषिकेशको ठिक्क अगाडि अर्को एउटा सानो मन्दिर र मन्दिरभित्र अरु मूर्तिका बीचमा रुरुकन्याको मूर्ति रहेछ ।

मन्दिर प्राङ्गणमा मुख्य मन्दिरभन्दा ठूलो र भव्य अर्को मन्दिर रहेछ– गायत्री मन्दिर । यस मन्दिरभित्र भित्तामा थुप्रै देवीदेवताका तस्वीरहरु ताङ्गिएका छन् भने प्रार्थना गर्ने ठाउँ पनि फराकिलो रहेछ । पूर्व फर्काएर बनाइएकाे यस मन्दिरको भित्तामा बेग्लाबेग्लै तिन वटा खोपी बनाइएको छ जसमध्ये दायाँको खोपी हवनका लागि प्रयुक्त हुँदारहेछन् भने बीचमा गायत्रीकाे मार्वलको मूर्ति र बायाँको खोपीमा खोलाबाट संकलन गरिएका हजारभन्दा बढी शालीग्राम रहेछन् ।
गायत्री मन्दिरको बायाँ कुनाको बगलमै राधाकृष्ण मन्दिर रहेको छ । राधाकृष्ण मन्दिर भनिएपछि राधा र कृष्णको मूर्तिलाई प्रमुख महत्व दिएर राखिने त भइ हाल्यो । साथसाथै अन्यत्र राख्दा हराउने डरले सृुरक्षाका लागि भण्डारण गर्न ल्याइएका पित्तल तथा ढुंगाका साना ठुला मूर्तिहरु पनि यहाँ देख्न पाइन्छ । काठ निर्मित तर बिग्रिसकेको एउटा ठूलो तोरण पनि यहाँ रहेको छ । यो यसै मन्दिरको हुनुपर्दछ । जीर्णोद्धार गर्दा तोरणबिहिन हुन पुगेपनि तोरण बिनाको होइन रहेछ भन्ने यसबाट थाहा हुन्छ । प्यागोडा शैलीमा झिंगटी छानाको यो मन्दिर त्यस प्राङ्गणमा छुट्टै पहिचान बोकेर ठडिएको छ र यो देखेपछि जो कसैलाई काठमाडौं उपत्यकाको कुनै नेवार वस्तीमा पुगेको अनुभव हुन्छ । काठमाडौं उपत्यका तथा नेवार सभ्यताको प्रभाव परेका शहरवस्तीमा प्रचलित नेवार कला र वास्तुशैलीले युक्त मन्दिर लोकप्रिय छन् । यो प्रभाव पाल्पाको यस रुरु क्षेत्रको राधाकृष्ण मन्दिरमा पनि परेको छ । यस्तो प्रभाव यस जिल्लाको सदरमुकाम तानसेनमा प्रसस्त मात्रामा देख्न पाइन्छ । यस क्षेत्रमा निर्माण कार्यमा नेवार जातिको संलग्नता हुनु तथा प्रशासन कार्यका लागि खटिएर आउने राणाहरु पनि नेवार कला तथा वास्तुकलाबाट प्रभावित हुने भएका कारण यस्तो हुनु स्वाभाविक नै मान्नु पर्दछ ।

मन्दिर परिसरमा अन्य थुप्रै ठुलासाना मन्दिर पनि रहेका छन् । दक्षिणमा भिरालो रहेको छ भने उत्तरको जग्गामा ठुलो सत्तल रहेको छ । मन्दिरसम्बद्ध ब्राम्हणहरु यसै सत्तलमा बस्छन् । भजनकीर्तन गर्न तथा बसिबियाँलो गर्न मिल्ने खालको छ ।
केही बेर त्यहाँका ब्राम्हण तथा सन्यासीहरुसँग भलाकुसारी गरी उनीहरुकै राय सल्लाहमा रानीघाटनिर लम्किएँ ।