यहाँ स्वयम्भू महाचैत्य वरिपरि छ सयभन्दा बढी संख्यामा बौद्ध मूर्तिहरू तथा कैयौं साना ठुला स्तूप र अन्य सम्पदाहरू छरिएर रहेका छन् । यी सम्पदाहरू कुनै लिच्छविकालिन हुन् भने कुनै हालसालैमात्र निर्माण गरिएका छन् ।

काठमाडौ उपत्यकामा अवस्थित सबैभन्दा बढी लोकप्रिय र महत्वपूर्ण बौद्ध सम्पदा स्थलमा स्वयम्भू महाचैत्यको नाम अग्रपङ्तिमा आउँछ । यहाँ उपत्यकावासी मात्रै नभएर दिनभर नै आन्तरिक तथा वाह्य पर्यटकहरूको घुइँचो लागिरहेको हुन्छ । काठमाडौं उपत्यका नेपालको पहाडी भूभागअन्तर्गत पर्ने भएपनि उत्तरी नेपालस्थित बौद्ध समाजको आस्था र आकर्षण स्वयम्भू महास्तूपप्रति बढी भएको र सुलभ पनि भएका कारण यहाँ समावेश गरिएको हो ।
स्तूपहरू विभिन्न उद्देश्यले विभिन्न पक्षसँग सम्बन्धित गरेर निर्माण गरिएका हुन्छन् । स्वयम्भू स्तूप भने आदिबुद्धसँग सम्बन्धित गरेर बनाइएको र यो प्रकृतिको स्तूप अन्यत्र विरलै हुनाले पनि यसको महत्व बढी भएको हो । आदि बुद्धको अवधारणा महायान बौद्ध परम्परामा रहेको छ । यसको अर्थ बुद्धत्वको जड हो । स्वयम्भू पुराणअनुसार निकै समयअघि काठमाडौं उपत्यका एउटा विशाल तलाउ थियो र यहाँ अतीत बुद्ध विपश्वीले अकनिष्ट भुवनबाट कमलको बीज ल्याएर रोपेका थिए भन्ने स्थानिय नेवार बौद्धहरूको मान्यता छ । पछि यसबाट स्वयम्भू ज्योति रूप निस्केको थियो र यही ज्योतिलाई निदान गरी पछि स्तूप बनाइएको हो । यो ज्योति रूपको दर्शन गर्न शाक्यमुनि बुद्धभन्दा अघिका अतीत बुद्धहरू पनि उपत्यकामा आएका थिए भन्ने मान्यता रहेको पाइन्छ । स्वयं शाक्यमुनि बुद्ध पनि स्वयम्भूमा आएर प्रदक्षिणा गरी फर्केको कुरा स्वयभ्भू पुराणमा वर्णित छ तर यी कुराहरू इतिहाससिद्ध कुरा होइनन् ।
तिब्बतमा बौद्ध धर्मको प्रवेश गरेपछि बौद्ध धर्मदर्शनको अध्ययनका लागि जिज्ञासुहरू काठमाडौं उपत्यका तथा भारतका विभिन्न शैक्षिक केन्द्रहरूमा जाने चलन चलेको पाइन्छ । काठमाडौं उपत्यकामा मात्रै आएर फर्केको होस् वा काठमाडौंको बाटो भई भारत जान आएका होउन्, केही दिन यहाँ बस्दथ्यो र विभिन्न बौद्ध स्थलको दर्शन गर्ने क्रममा स्वयम्भू स्तुपमा पनि पुग्ने गर्दथे ।
यहाँ स्वयम्भू महाचैत्य वरिपरि छ सयभन्दा बढी संख्यामा बौद्ध मूर्तिहरू तथा कैयौं साना ठुला स्तूप र अन्य सम्पदाहरू छरिएर रहेका छन् । यी सम्पदाहरू कुनै लिच्छविकालिन हुन् भने कुनै हालसालैमात्र निर्माण गरिएका छन् । तिब्बती गुम्बा, संग्रहालय तथा पुस्तकालयहरू यस क्षेत्रको नयाँ निर्माण हुन् ।
(साभारः उत्तरी नेपालमा बाैद्ध धर्म)
