एउटा गुम्बामा हुनुपर्ने दैनिक कृयाकलाप आजभोलि ज्यम्पा गुम्बामा हुँदैन । यहाँ लामाहरू कोही पनि बस्दैनन् । यसको आफ्नै संघ पनि छैन । गुम्बामा बत्ती बाल्न संगैको मन्थाङ गुम्बाका लामाहरू आउने गर्दछन् ।

लोमन्थाङको ज्येथाङ टोलमा स्थित ‘झ्यम्पा गुम्बा’लाई ‘मैत्रेय विहार’ पनि भन्न सकिन्छ किनभने बोधिसत्व मैत्रेयलाई तिब्बती भाषामा झ्यम्पा भनिन्छ र यो गुम्बा मैत्रेय बुद्धसँग सम्बन्धित छ । गौतम बुद्धपछि आउने भविष्यको बुद्धका रूपमा चिनिएका यी मैत्रेय बुद्धको १६ फीट ८ इन्च अग्लो बज्रपर्यङ्काशनमा रहेको ठूलो र आकर्षक मूर्ति यस गुम्बाको प्रमुख आकर्षण हो । दुबै हातले नाल सहितका नागकेशर फूल लिएर व्याख्यान मुद्रामा मूर्ति रहेको छ ।
मुस्ताङ राज्यको संस्थापक राजा अम पालका छोरा अगोएन साङ्पोले इ.सं. १४४७ मा निर्मााण गरेको यो एउटा विशाल गुम्बा हो । यस गुम्बाको प्रतिष्ठा गर्न ङोर सम्प्रदायका प्रवर्तक ङोरछेन कुङ्गा साङ्पो मुस्ताङ आएका थिए । यसको जीर्णोद्धार इ.सं. १६६३ मा राजा समढुव पलवरको समयमा भएको थियो ।
प्रभावशाली राजाबाट निर्माण भएको र राजकीय संरक्षण पनि प्राप्त भएपनि यी कुराहरु इतिहासमा सीमित हुनपुगेको छ । हाल यो गुम्बा संरक्षकहरूको अभावमा दीनहिन अवस्थामा पुगेको छ । गुम्बाको दुखाङ मात्र संरक्षित रहेको छ भने अरु भाग भत्केर बिलाइसकेका छन् । पूर्वाभिमुख यस गुम्बाभित्र प्रवेश गर्नासाथ एउटा ठूलो आगन आउँछ जहाँ माथिल्लो भाग थेग्न ठड्याइएका ठूल्ठूला काठका कलात्मक खम्बाहरू रहेका छन् । यी खम्बाहरू सग्ला छैनन्, दुई वटा खम्बालाई फल्याकहरूले जोडेर बनाइएका छन् । यही खम्बाको माथिलो भाग दलानमा रन्जना लिपिमा ‘ऊँ नमः रत्न त्रयाय’ जस्ता बौद्ध मन्त्रहरू उत्कीर्ण गरिएका छन् । पूर्वतिर फर्किएको बन्द कोठा भुइँतल्ला हो । यस भुइँतल्लाको कोठाभित्र मैत्रेय बुद्धको आसन रहेको छ । भुई तल्लाको यो पूरै उचाइ मूर्तिको आसनले नै ओगटेको छ । भित्ताहरू विभिन्न चित्रहरूले सिंगारिएको छ । कतिपय चित्रहरू नष्ट भइसकेका छन् भने कतिपय चित्रहरू अझै पनि देख्न पाइन्छ । ती मध्ये एउटा मारिचीको चित्र देवानन्द नामका कलाकार, जो काठमाडौंबाट पुगेका थिए, ले लेखेका हुन् । त्यस्तै, गरी अन्य चित्रहरू पनि त्यहाँ रहेका छन्, जो बेग्लाबेग्लै कलाकारहरूले बनाएका हुन्, कतिपय चित्रका दाता राजमाता पद्मभुटी हुन भने कतिपयका दाता स्थानिय जनता नै रहेका छन् ।
भूई तल्लामाथि गुम्वाको नाममा दुखाङ मात्रै बाँकी रहेको छ । यो दुखाङ पनि प्रायः बन्द नै हुने गर्दछ । कोही पर्यटक आएर अनुरोध गरेको खण्डमा खोलिन्छ र पर्यटकहरू गएपछि पुनः बन्द नै गरिन्छ । यसै दुखाङभित्र मैत्रेय बुद्धको ठूलो मूर्ति देख्न पाइन्छ जसको पादपीठ भुईँतल्लामा रहेको छ । यसै मूर्तिका वरिपरि डाकिनी, बज्रसत्व, गुह्यसमाज, बज्रभैरव, चक्रसंवर आदिका सानासाना मूर्तिहरू पनि रहेका छन् । यस दुृखाङको भित्ताभरि नै मण्डला तथा अन्यको साना साना भित्तेचित्रहरूले सजिएको छन् । यी चित्रहरू समकालिन तिब्बती चित्रकलासँग तुलना गर्न सकिन्छ ।
तेस्रो तल्लामा जान बाहिरबाट एउटा छुट्टै तर सानो र साँघुरो भ¥र्याङको व्यवस्था गरिएको छ । प्रायशः बाहिरको मान्छे वा पर्यटकहरू माथि चढ्न दिइँदैन । एक भिक्षुको सहयोगले त्यहाँ जान पाएको थिएँ । गुम्बा निर्माणको केही वर्षपछि मात्रै थपिएको यो तेस्रो तल्ला विशेष गरी लामाहरू ध्यान गर्नमा प्रयोग हुने गरेको छ । साँच्चै, वस्ती बीचमा रहेको गुम्बा भएपनि त्यहाँ शास्त वातावरण छ । गुम्बामा केही गतिविधि संचालित भइरहँदा पनि यस तेस्रो तल्लामा भने ती गतिविधिहरूका आवाजले केही प्रभाव पार्ने देखिँदैन । भित्तामा रहेका विभिन्न तान्त्रिक मण्डलहरू एवं सिद्ध तथा प्रसिद्ध लामाहरूका चित्रले एउटा विचित्रको अनुभव गराउँछ । सानो झ्याल, त्यो पनि माथिबाट आइरहेको प्रकाश बाहेक त्यहाँ अँध्यारो नै छ । मलाई त्यहाँ लैजाने लामाले भनेअनुसार कोही कोही त कोठाको वातावरणले डराउने र आँत्तिने पनि गर्दछन् । यसलाई ‘प्याराडाइज च्यापेल’ पनि भन्ने गरिएको छ ।
एउटा गुम्बामा हुनुपर्ने दैनिक कृयाकलाप आजभोलि ज्यम्पा गुम्बामा हुँदैन । यहाँ लामाहरू कोही पनि बस्दैनन् । यसको आफ्नै संघ पनि छैन । गुम्बामा बत्ती बाल्न संगैको मन्थाङ गुम्बाका लामाहरू आउने गर्दछन् । यहाँका मूर्ति तथा ग्रन्थहरू मन्थाङ गुम्बामा नै लगिएका छन् । वैशाख महिनातिर स्थानिय जनताको सहभागितामा सामान्य मर्मत तथा लिपपोत हुने गरेको छ । केही पूजा बाहेक अन्य कुनै पनि क्रियाकलाप यहाँ हुँदैन । कुनै बेलाको समृद्ध र वैभवशाली गुम्बा हाल यसरी प्रायः अस्तित्वविहीन अवस्थामा पुग्नु समग्र रूपमा साँस्कृतिक सम्पदाको ठूलो नोक्सानी मान्नु पर्दछ ।
(साभारः पुस्तक उत्तरी नेपालमा बाैद्ध धर्म)