Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

आधुनिक हुँदै नाम्चेबजार

Posted on March 13, 2022March 13, 2022 By अमिका राजथला 1 Comment on आधुनिक हुँदै नाम्चेबजार
विद्युत आपूर्तिले बन फडानीमात्र रोकेको छैन दाउराको लागि जंगल जाने बालबालिकाहरूको समय बचत हुँदा उनीहरूले पढ्नको लागि बढी समय पाउन थालेका छन् भने गृहिणीहरूले पनि बचेको समयमा विभिन्न कार्यमा संलग्न हुने अवसर पाएका छन् ।
अमिका राजथला amiaaju@gmail.com

हिमाली भेगको एउटा प्रख्यात बजार, नाम्चे । प्रख्यात नै भएतापनि हिमाली भेगको बजारभन्ने वित्तिकै एउटा विकट र दुरुहपूर्ण जीवन शैली, अहिलेको प्रविधिको युगभन्दा टाढाको, बख्खु–दोचामा सजिएका शेर्पा शेर्पिनीको परिकल्पना । तर यथार्थ, किताबहरूले पढाएकोभन्दा निकै टाढा पुगिसकेको छ । सुविधाको दृष्टिकोणले हेर्दा कुनै अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रभन्दा कम देखिंदैन ।

लुक्लाबाट पैदलयात्रा गरी नाम्चे बजार पुगियोस् या विमानबाट ३,७५० मीटरको उचाईमा रहेको स्याङ्बोचे विमानस्थलबाट ठाडै नाम्चे झरियोस्, बजारका घरका छाना छानामा तथा करेसाबारीमैं गाडिएका डिस्क एण्टेनाले खोंचको यो गाउँलाई पनि प्राविधिक विकासले आफ्नो छिमेकी बनाइसकेको कुरा सजिलै अनुमान गर्न सकिन्छ । अर्थात, विद्युतका कारण विश्वको सर्वोच्च उचाईमा रहेको हिमाली क्षेत्रमा प्राविधिक क्रान्ति नै आएको छ ।

सगरमाथाको प्रवेशद्वारको रूपमा रहेकाले पनि नाम्चे बजार (सोलुखुम्बु जिल्ला)मा सधैं पर्यटकको भिड लाग्ने गर्दछ । प्रदेश १ को उत्तरपूर्वी नेपालमा पर्ने खुम्बु क्षेत्र (३४४० मीटर)को उचाइमा रहेको नाम्चेमा अधिकांश शेर्पा वस्ती छ । अधिकांश पर्यटन व्यवसायी शेर्पा नै रहेको यस क्षेत्रमा तीन तारे होटलको समेत व्यवस्था भई सकेको छ ।

सुन्दा र देख्दा जो कोहीलाई आश्चर्य चकित तुल्याउने नाम्चेबजारको परिवर्तनमा हवाई सेवा, खुम्बु जलविद्युत कम्पनी, टेलिफोन सेवाको प्रमुख भूमिका रहेको छ । यसमा पनि विद्युतको आपूर्तिले त यहाँका वासिन्दाको जनजीवनमैं कायापलट ल्याएको छ । सन् १९८८ मा सरकार तथा अष्ट्रियाको संघीय सरकारबीच थामेमा सानो जलविद्युत केन्द्र स्थापना गर्ने सम्झौता भएबमोजिम थामे खोलाबाट ६ सय किलोवाट विद्युत उत्पादन भएपछि खुम्जुङ, नाम्चे र थामेका जनता विद्युत सेवाबाट लाभान्वित भएका हुन् । थामे सानो जलविद्युत आयोजना तथा खुम्बु विद्युत कम्पनीको देनको रूपमा पर्यटकीय क्षेत्र नाम्चे विविध किसिमले परिवर्तित हुँदैछ । पर्यटन व्यवसाय विस्तृतीकरणका लागि साइवर क्याफे, बेकरी क्याफे, मिनरल वाटर उद्योग, हाइभिजन हल तथा स्तरीय होटल संचालन तथा सुविधाहरू थप गर्नमा यहाँका पर्यटन व्यवसायीहरू दत्तचित्त छन् ।

यही विद्युत तथा टेलिफोनको आपूर्तिका कारण यस क्षेत्रमा आएका विदेशी पर्यटकहरू पनि हिमालको काखबाटै एकै क्षण भए पनि स्वदेशमा रहेका इष्टमित्रसँग भलाकुसारी गर्छन् । इमेल–इन्टरनेटको माध्यमबाट गर्न हुने काम सगरमाथाको फेदीबाटै सम्पन्न गर्छन् र भोक लाग्दा बेकरी क्याफेमा पसी आफ्नै देशको जस्तो केकहरू छानीछानी खान्छन् । हिमालको चिसो वातावरणमा पनि आफ्नै देशमा जस्तो सुविधायुक्त सावरमा नुहाउँछन् ।

सुविधायुक्त सामान तथा भाडाकुँडाहरूका रूपमा लिइने फ्रिज, राइसकुकर, व्लिण्डर, ओभन, हिटर जस्ता सामाग्री यहाँका वासिन्दाको लागि अव अपरिहार्य भएको छ । हिमालको फेदमा फल्ने स्वादिलो आलु ओभनमा सेकाएर खाँदा अझै स्वादिलो हुन थालेको छ भने एसी, हिटरको प्रयोगले चिसो र जाडो भयो भनेर कठ्याङ्ग्रिनु पर्ने अवस्था पनि छैन ।

थामे निवासी प्रसिद्ध सगरमाथा आरोही आङरिता शेर्पाले आफ्नो गाउँमा सन् १९९४ मा विद्युतको लाइन आउदा आफ्नै घरमा बत्ती बलेको कुरालाई विश्वास गर्न सकेनन् । बत्तीको नजिक बस्न राजधानी काठमाडौं नै पुग्नु पर्ने तत्कालीन वाध्यतालाई भोग्दै आएका आङरिताले आफ्नो गाउँमा बत्ती आएपछि थुप्रै परिवर्तन भएको पाए ।

हिमाली क्षेत्रको पर्यटन केन्द्रविन्दु नाम्चेबजार जुन किसिमले पर्यटकहरूको केन्द्र विन्दु बनेको छ, पश्चिमाहरूको प्रभावले स्थानीय जनजीवनमा पनि व्यापक परिवर्तन आउन थालेको पाइन्छ । बख्खु र दोचा लगाउने शेर्पा शेर्पिनीहरू ट्रयाक सुट, पाइन्ट, ज्याकेट तथा स्पोर्टस्मै आफूलाई सजिलो महसुस गर्न थालेका छन् ।

चौंरी पालेर त्यसैको ऊनबाट बख्खु र दोचा लगाउने शेर्पा शेर्पिनीहरू अहिले ती परिधानहरू लगाउने विरलै पाइन्छन् भने दोचा पर्यटकहरूलाई देखाउने साधनको रूपमा पसलमा सजिन थालेको छ । हिमाली भेगको सवारी साधन तथा भारी वोक्ने काममा प्रयोग भइरहेका चौंरीले घाँटीमा झुण्ड्याईएको घण्टी जति सुकै बजाएपछि स्थानीय वासिन्दाहरूले चौरीको आव्हानलाई नसुनेझै गरी व्यवसाय परिवर्तन गरेबाट स्थानीय वासिन्दाहरू सम्पूर्ण रूपले परनिर्भर पनि हुंदै गएका छन् ।

चौंरी गाईको घ्यू तथा नून राखेर दोङ्मुमा परम्परागत किसिमले पकाइने शेर्पाहरूको विशेष पेय पदार्थ ‘सुच्या’ अहिले विद्युतीय सामग्री मिक्सचरमा पाक्न थालेको छ भने काठको परम्परागत सामग्री दोङ्मु अहिले सजावटको बस्तु हुन पुगेको छ । प्रविधिको वरदान ‘मिक्स्चर’ मा बनाउँदा छिटो बन्नेहुँदा काठको ढुंग्रोको सामुन्ने मिक्स्चरले अधिपत्य जमाएको छ । यहाँ प्रविधिको विकासको रूपमा खुलेका साइवर कयाफे, बेकरी क्याफे, लाउण्ड्री, हाइभिजन हलका उपभोक्ता विदेशी मात्र नभई स्वदेशीहरू तथा शेर्पा शेर्पिनीहरू पनि हुन पुगेका छन् ।

यस्तै विद्युतीय सहुलियतका कारण स्वस्थ्य केन्द्रमा ल्याइएका भ्याक्सिनहरूलाई सुरक्षित तवरले भण्डारण गर्न तथा एक्स–रे, अल्ट्रासाउण्ड, तथा इसीजी जस्ता चिकित्सकीय सामाग्रीलाई संचालन गर्न सजिलो भएको छ । अर्थात भनौं, स्वास्थ्य क्षेत्रमा समेत विद्युतीय प्रभाव उल्लेखनीय छ ।

हिमाली क्षेत्रको पर्यटन केन्द्रविन्दु नाम्चेबजार जुन किसिमले पर्यटकहरूको केन्द्र विन्दु बनेको छ, पश्चिमाहरूको प्रभावले स्थानीय जनजीवनमा पनि व्यापक परिवर्तन आउन थालेको पाइन्छ । विद्युतका कारण सञ्चार माध्यमसँग मितेरी गाँसेका तथा हिमाली खोंचमा रहेर पनि सम्पूर्ण विश्वसँग नजिकिन पुगेका शेर्पा जाति बख्खु र दोचाजस्ता पहिरनको लागि आत्मनिर्भर थिए तर अहिले शेर्पा शेर्पिनीहरू ट्रयाक सुट, पाइन्ट, ज्याकेट तथा स्पोर्टस्मै आफूलाई सजिलो महसुस गर्न थालेका छन् । भेंडा तथा चौंरी पालेर त्यसैको ऊनबाट बख्खु र दोचा लगाउने शेर्पा शेर्पिनीहरू अहिले ती परिधानहरू लगाउने विरलै पाइन्छन् भने दोचा पर्यटकहरूलाई देखाउने साधनको रूपमा पसल र संग्रहालयमा सजिन थालेको छ । थामेमा सनसाइन लज चलाएर बसेकी डोमा शेर्पा परम्परागत लुगा लगाएर दैनिक रूपमा काम गर्न अप्ठ्यारो पर्ने गरेकोले परम्परागत लुगा चाडवाड तथा विशेष अवसरमा मात्र लगाउने गरेको बताउँछिन् ।

थाम्सेर्कु र कोङ्दे हिमालको फेदमा रहेको नाम्चे बजारका होटलभित्र पस्दा कतै विदेशमा पसेको आभाष हुने गरेको कुरा वाह्य पर्यटकहरू नै बताउँछन् । तातो बनाउने हिसाबले कोठाहरूका भित्ताहरूमा प्रयोग गरिएको प्लाइउड र शिल्पी हातबाट निर्मित कलात्मक काठले नाम्चेमा अझै रौनक थप्ने काम गरेको पाइन्छ । जाडोका कारण अत्यधिक काठ खपत हुने तथा सगरमाथा राष्ट्रिय निकुञ्जले काठ काट्न बन्देज लगाएपछि घर निर्माणमा प्रयोगहुने काठहरू अधिकांश अन्यत्रबाट ल्याइने गरिएको छ । यसै गरी घर निर्माण गर्दा नाम्चेमा पनि माटोको ठाउँ सिमेन्टले लिन थालेको छ, घर निर्माताले एक बोरा सिमेन्टको जतिसुकै महंगो नै किन तिर्न नपरोस् । काठको तथा सिलेटको छाना छाउने परम्परा बोकेकोमा अहिले अधिकांश घरहरूका छानो जस्ता पाताले छाएको देखिन्छ । घर तथा लजको निर्माणमा आफूले लगानी गरेको लगानी पर्यटन व्यवसायबाट कमाइने आशामा लगानी पनि प्रशस्त हुन थालेको छ ।

काठ दाउरा आफ्नो घर आँगनमा जतिसक्दो बढी थुपार्नु हिमाली क्षेत्रका जनताको संस्कृति तथा आफ्नो बढप्प्नको नमूनाको रूपमा लिने गर्दछन् । अर्थात् जंगल फडानी गर्नु हिमाली भेगका जनताको लागि सामान्य कुराको रूपमा लिइएकोमा सो कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले उल्लेखित आयोजनाको शुरुवात गरिएको कुरा अष्ट्रियाली संस्था इको हिमालका निर्देशक कुर्तलुगर बताउनुहुन्छ ।

विद्युत आपूर्तिले बन फडानीमात्र रोकेको छैन दाउराको लागि जंगल जाने बालबालिकाहरूको समय बचत हुँदा उनीहरूले पढ्नको लागि बढी समय पाउन थालेका छन् भने गृहिणीहरूले पनि बचेको समयमा विभिन्न कार्यमा संलग्न हुने अवसर पाएका छन् । पहिलो पटक आफ्नो घरमा बत्ती बलेको देख्दा खुशीले निदाउनै नसकेकी बृद्धा निमा लागीको जीवन शैली विद्युतकै कारण व्यापक परिवर्तन भएको छ । बत्ती नहुँदा उनको दिनको प्रमुख काम नै दाउरा टिप्ने र सोत्तर सोर्ने हुन्थ्यो भने अहिले उनले त्यो काम गर्ने समयमा एक नर्सरीमा काम गर्ने अवसर पाएकी छिन्, पैसा कमाइरहेकी छिन् ।

नाम्चेमा विदेशीको अत्यधिक सम्पर्कका कारण अधिकांश परिवारका सदस्य विभिन्न अवसरको खोजीमा विदेशिएका छन् भने प्रत्येक वर्ष पर्यटकहरू बढ्दै गएको र प्रतिस्पर्धा पनि कम भएकोले युवा जनशक्ति विदेशिनु जरुरी नभएको कुरा पनि स्थानिय व्यापारीहरू बताउँछन् ।

बालकदेखि वृद्धसम्म गोलवद्ध भई नाच्ने शेर्पाहरूको शेर्पु नाच, परम्परागत खानेकुरा, संस्कृतिको आफ्नै महत्व छ । यसलाई मेटिन नदिने कुरा यहाँका युवाहरू बताउँछन् । तर विद्युती तार तथा स्याटेलाइटकोे माध्यमबाट हिमाली भेगका शेर्पा–शेर्पीनीको रहनसहनमा पारेको प्रभाव उनीहरूकै लागि प्रत्युत्पादक हुन सक्ने कुरालाई नकार्न सकिन्न । खुल्ला सिमानका कारण तिब्वतबाट भित्रिएका न्यानो लुगा तथा ओढ्ने ओछ्याउनेले स्थानीय परम्परागत लुगालाई विस्थापन गरेको छ भने ओढ्ने ओछ्याउने राडीपाखी बनाउने स्थानिय कौशललाई पनि विस्थापन गरेको छ । अर्को, परम्परागत आलु तथा कोदोको रोटीको ठाउँ विभिन्न स्वादका केकले लिन थाल्यो भने वाह्य क्षेत्रबाट गएका पर्यटकको लागि सो ठाउँको नवीनता के ?
विश्व संस्कृतिलाई प्रभावित तुल्याइरहेको संचार माध्यमबाट शेर्पा संस्कृतिलाई बचाउने हिसावले नाम्चे निवासी लाक्पा सोनाम शेर्पाले आफ्नो निवासलाई शेर्पा संग्रहालयकै रूपमा खडा गरेका छन् । अहिले शेर्पा सांस्कृतिक संग्रहालयले विस्तृत रूप लिएको छ । आफ्नो घर तथा होटल सेरुवी खाङ्वालाई शेर्पाहरूको परम्परागत रूप दिन उद्दत लाक्पाले शेर्पाहरूको भेषभूषा तथा अन्य संस्कृति संस्कारको फोटो ग्यालरी पनि खोलेका छन् ।

पर्यटन केन्द्रविन्दु नाम्चेमा तिव्वत तथा वरिपरिका ग्रामिण भेगबाट पनि होटलमा काम गर्ने मजदुरहरू थुप्रै झरेका पाइन्छन् । नाम्चेमा विदेशीको अत्यधिक सम्पर्कका कारण अधिकांश परिवारका सदस्यहरू विभिन्न अवसरको खोजीमा विदेशिएका छन् भने प्रत्येक वर्ष पर्यटकहरू बढ्दै गएको र प्रतिस्पर्धा पनि कम भएकोले युवा जनशक्ति विदेशिनु जरुरी नभएको कुरा पनि स्थानिय व्यापारीहरू बताउँछन् । यद्यपि सिजनमा नाम्चे आउँने अरु बेलामा विदेश वस्ने गरी एक पाईला स्वदेशमा अर्को पाईला विदेशमा राख्नेको संख्या पनि धेरै छ ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
प्रदेश १

Post navigation

Previous Post: थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पटिहानी
Next Post: प्राचीन कपिलवस्तुमा बाैद्ध पर्यटन

Related Posts

सगरमाथा आधार शिविर प्रदेश १

Comment (1) on “आधुनिक हुँदै नाम्चेबजार”

  1. ROUX says:
    March 14, 2022 at 10:16 am

    Oh oh🙏
    NAMASTE dear Phinjo
    i am Happy to recognize Namche So sorry to have forgetten my nepali ..Do you have english translation ..?NAMASTE to all family and friends around AG Lodge where your mother and father really save my life …taking care of me during i was so sick .
    Special NAMASTE to family of three boys’ father as well as auntie and oncle of three boys coming in France !!
    Hope to visit Nepal soon Best souvenir .
    Marcelle Didi

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme