
‘यो मेरो धार्मिक यात्रामा म केवल दर्शकमात्र नभई बुद्धकाे चरणाभिलाषी पनि बन्दैगएँ र यसैमा मलाई आनन्दको अनुभूति भइरह्यो ।’
नेपाली वाङ्मयमा घनश्याम राजकर्णिकार नियात्राकारका रूपमा सुपरिचित नाम हो । समालोचक डा. दयाराम श्रेष्ठका अनुसार आधुनिक नेपाली नियात्रा साहित्यको ऐतिहासिक विकासक्रमको तेस्रो चरण (सं. २०२५ उप्रान्त) मा आएर मात्र उनी देखापरेका हुन् । तर, अरू नियात्राकारले जस्तो यसलाई ‘फोसा’ काम नबनाई उनले नियात्रा साहित्यलाई नै आफ्नो क्षेत्र बनाइरहेका छन् । हालसम्म उनले नियात्रा साहित्यमा ‘विदेशको यात्रा, स्वदेशको सम्झना’, ‘देशप्रदेशको भ्रमण : केही संस्मरण’ र ‘सम्झनाको लहरमा लहरिँदै जाँदा’ र पछिल्लो ‘बौद्ध तीर्थयात्रा : नालन्दादेखि लुम्बिनीसम्म’ शीर्षकमा कृतिहरू दिएका छन् । माथि सुरुमा उद्धृत गरिएको वाक्य पछिल्लो कृतिबाट उद्घृत हो, जुन प्रस्तुत कृतिको एक पक्षमा आफैँ बोल्छ ।
मानिस घुम्न मन पराउने प्राणी हो । घुमेर फर्केपछि आफ्नो यात्रावृत्तान्त वा यात्रानुभव सुनाउन औधी मन पराउँछन् । लेख्नेले त्यसैलाई लेखेर अझ व्यापक पार्छन् । मानिसहरू अर्काका नियात्रा (यात्रा वृत्तान्त वा यात्रानुभव) सुन्न वा पढ्न मन पराउने प्राणी पनि हो । सुनाउने र सुन्ने वा लेख्ने र पढ्नेबीच तारतम्य नमिले त्यस्तो काम हुँदैन । सुन्ने वा पढ्नेले नियात्राबाट धेरै कुराको अपेक्षा गरिरहेको हुन्छ । जस्तो, यो ठाउँ के हो, कस्तो छ, आफू जानुपर्यो भने कसरी जाने आदि । आफू बौद्ध नै भएको र आफ्नो धर्मसँग सम्बन्धित मुख्यमुख्य स्थानको भ्रमण गर्ने क्रममा २०५८ चैत १३ गते उनी परिवारसहित घरबाट निस्केका थिए । हप्तादिनसम्मको आफ्नो यात्रा वृत्तान्त उनले अघिल्ला कृतिमा जस्तै आफ्नो शैलीमा सविस्तार रोचक शैलीमा पस्केका छन् । यसमा थप विशेषता सुरुमै उल्लेख गरिएजस्तो यात्राका क्रममा उनी बुद्धको चरणाभिलाषी पनि हुँदै गएका थिए र त्यतिबेला उनले गरेको आनन्दको अनुभूति अभिव्यक्त हुन पनि खोजेको पाइन्छ ।
यात्रा नालन्दाबाट सुरु हुन्छ । नालन्दा कुनै समय शिक्षाको केन्द्र थियो र पछि विध्वंश पारियो । नालन्दा बुद्धका प्रमुख शिष्यद्वय सारिपुत्र र मौद्गल्यायणको गृहनगर पनि हो । त्याे बेला नालन्दाकाे नाम नालक थियाे । तर, आज त्यसको वैभवता किताबमा सीमित छ र पुरातात्त्विक उत्खनन्बाट प्राप्त भग्न संरचनाले त्यसको साक्षी बकिरहेको छ ।
नालन्दापछि लेखक राजगिर पुगेका छन् जहाँ यायावर बुद्ध धेरैपल्ट पुगेका थिए, उपदेश दिएका थिए । तत्कालीन मगध राजा बिम्बिसारको राजधानी पनि त्यहीँ नै थियो । त्यसपछि यात्रा दल बोधगया, सारनाथ, कुशीनगर र लुम्बिनी पुगेर यात्रा समाप्त गरी काठमाडौं फर्केको थियो ।
यी ठाउँहरू क्रमशः बुद्धले बोधिज्ञान लाभ गरेको, बुद्धले प्रथमपटक धर्मोपदेश दिएको, बुद्धको महापरिनिर्वाण भएको र बुद्ध जन्मेका थियो । यात्राका क्रममा आफू जहाँजहाँ पुग्छन्, पाठकलाई पनि अाफूसँगै पुर्याउन लेखक सफल छन् । सानासाना ठाउँको बयान गर्न पनि छुटाउँदैनन् । उनी आफू गएको ठाउँको सर्सर्ती वर्णन मात्रै गर्दैनन्, अनुभूति पनि पस्कन्छन्। आफूले जे देखे त्यसको वस्तुस्थिति, इतिहास खोतल्नेतिर पनि लाग्छन् । अझ कहिलेकाहीँ त ती ठाउँहरू हेरेर आफ्नो गाउँठाउँ पनि सम्झन्छन् ।
यात्रादल घुमेका ६ स्थलमध्ये एउटा मात्र नेपालमा पर्दछ । अरू पाँच ठाउँलाई भारतले कसरी संरक्षण गरी पर्यटकीय स्थलको रूपमा विकास गरेको छ भन्ने देखाउँछ । ती ठाउँको प्रचारप्रसार पनि उत्तिकै छ । तर, नेपालमा भने त्यसको ठीक उल्टो अवस्था छ। गाैतम बुद्ध बाेधिसत्वकाे रूपमा प्राचीन कपिलवस्तुमा जन्मेको सही हो र पछि महाभिनिष्क्रमण, बुद्धत्व प्राप्ति र त्यसपछिको समय गरी देश देशान्तर घुमेको पनि सही नै हो । यस क्रममा उनीसँग सम्बन्धित ठाउँको महत्त्व बढ्नु स्वाभाविक हो । आज संसारभरिका बौद्ध धर्मावलम्बी ती ठाउँको भ्रमण र दर्शन गर्न चाहन्छन् । भारतले आफ्नो भूमिमा परेका स्थलहरूको पहिचान र प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधार तयार गरी पर्यटकीय स्थलका रूपमा विकास गरी आर्थिक उपार्जन गरिरहेको छ । बुद्धसित सम्बन्धित स्थल नेपालमा पनि थुप्रै छन् तर भारतमा जस्तो विकास गरिएको छैन र ओझेलमा परेका छन् । त्यसको उचित विकास भएको छैन । भर्खरमात्र विदेशीको प्रयासमा केही हुन सकेको छ । त्यस्तै महत्त्वपूर्ण स्थल हो महाभिनिष्कण गर्नुअघि २९ वर्षसम्म बुद्धले जीवन बिताएको कपिलवस्तु । थोरै कुराको उत्खनन् पनि भएको छ तर उत्खनित स्थलको संरक्षण हुन सकेको छैन । आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा थोरैमात्र पुग्ने मान्छे पनि चाडै फर्कन अत्तालिन्छन् ।
प्राचीन कपिलवस्तु यस्तो क्षेत्र हो जहां दिनभरि घुम्ने हो भने पनि भ्याउन मुस्किल पर्दछ । त्यस्तै, अर्को महत्त्वपूर्ण स्थल हो, प्राचीन कोलीय नगर । कोलीय नगर बुद्धको मावली र ससुराली खलकको राज्य थियो । तत्कालीन समयमा त्यहाँ पनि बुद्ध धर्मको विकास भएको थियो । त्यति बेलाका निर्माण आजभोलि पनि देख्न पाइन्छ कोली नगरअन्तर्गत रामग्राम स्तूप ती आठ स्तूपमध्येकै एक हो जुन बुद्धको अस्थिधातु पाएर बनाइएको थियो । अरू स्तूपबाट पछि सम्राट अशोकले अस्थिधातु झिके पनि रामग्राम स्तूपबाट भने झिकेका थिएनन् । सोही राज्यको देवदह अर्को महत्त्वपूर्ण स्थल हो जसको पुरातात्त्विक उत्खनन् हाल पण्डितपुरमा भइरहेको छ । रामग्राम स्तूप र वरिपरि हालै गरिएको उत्खननबाट त्यहाँ स्तूपमात्रै नभई त्यसको वरिपरि बिहारलगार संरचना भेटिएको छ । भारतमा जस्तै नेपालमा पनि यी सबै पुरातात्त्विक स्थलको विकास गरी स्वदेशी एवं विदेशी पर्यटकलाई घुमाउन सकिन्छ ।
नेपाल प्रवेश गरेपछि बुद्धसँग सम्बन्धित अरू पनि थुप्रै ठाउँ घुम्न सकिन्थ्याे, जस्ताे रामग्राम र प्राचीन कपिलवस्तु । तर लुम्बिनीमात्र घुमेर काठमाडौं फर्केकोलाई नीति निर्माता योजनाकारले ध्यान दिनुपर्ने विषय हो । आवश्यक प्रचारप्रसार र केही भौतिक पूर्वाधारमात्र बनाइएको भए पनि लेखक नेपालका ती ठाउँमा पुग्नेथिए र त्यहाँका कुरा पनि पुस्तकमा समावेश हुनेथिए ।