सोलुको चमक

अघि विहान चकलेट थर्मुमा बनेको भन्ने थाहा पाएर अचम्म मानेको थिएँ, नाम्चेमा त बसथोक नै बन्दोरहेछ, आत्मनिर्भर गाउँ जस्तो लाग्यो ।
बसन्त महर्जन

सोलुखुम्बुको स्याङ्बोचे एअरपोर्टबाट उडेको हेलिकप्टर केही मिनेट भित्रै थामेको पावरहाउस अगाडिको हेलिप्याडमा रोकिन पुग्यो । काठमाडाैंबाट विहानै उडेकाे हेलिकप्टर स्याङ्बाेचेमा केही बेरकाे लागि राेकिएकाे थियाे । खादा लिएर बसिरहेका स्थानीयहरूबाट स्वागत पायौं । एउटा कुरा, खादा ओढेको मेरो पहिलो अनुभव यही हो । सोलुखुम्बुको चिसो चिसो वातावरणमा तातो तातो चिया खाइयो । विद्युतको पावर हाउस हेरियो । सँगै एउटा गुम्बा थियो, त्यहाँ त्यस्तै एक घन्टाजति बिताएर थर्मुतिर लाग्यौं । हामी विद्युत परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुनका लागि गएका, थर्मुमा रहेछ औपचारिक कार्यक्रम ।

सानो गोरेटो बाटो थियो । अघि स्याङ्बोचेमा हेलिकप्टर रोकिंदा त्यहाँबाट चढ्न आएकाहरू मध्ये एक जना सँगसँगै पर्यौं र स्वभावतः चिनापर्ची पनि भयो । आफू काठमाडौंबाट आएको भनेर मात्रै पुगेन, काठमाडौंको कुन ठाउँ भन्ने प्र्रश्न पनि तेर्सियो । मुखबाट कीर्तिपुर भन्ने शब्द जसै निस्क्यो, उनको अनुहार पनि चम्क्यो । उनी बोले– ‘‘मेरो घर पनि कीर्तिपुर नै त हो नि ।’’
कीर्तिपुरको पांगा बस्ने उहाँको नाउँ रहेछ, रामभारो महर्जन । विश्वको सर्वोच्च स्थानमा रहेको होटेल माउन्ट एभरेस्ट भ्यू नेपालमा पर्दछ भन्ने कुरा हाजीरी जवाफमा सहभागी हुनका लागि स्कूल पढ्दा कन्ठ गरिएको जानकारी हो, अब म त्यसैको छेउछाउमा पुगिरहेको थिएँ । सुनेको थिएँ, कीर्तिपुरको एक जना त्यही होटेलमा काम गर्दछन् भनेर, त्यो अरु नभई नवपरिचित छिमेकी नै पो रहेन्छ । बाटोमा त्यहाँको बारेमा धेरै जसो जानकारी उनबाटै पाएँ ।

थर्मु गाउँ आइपुगेको रहेछ । रमाइलोसँग कुराकानी गर्दै हिड्दा बाटो काटिएको पनि होसै हुन्न । पुग्नुपर्ने ठाउँमा चाँडै पुगेको जस्तो पो लाग्यो । त्यस गाउँमा पुगेको त पहिलो पल्ट नै हो । तर परिचित गाउँ जस्तै लाग्यो । थुप्रै पल्ट पुगिसकेको जस्तो । अचम्म पनि लाग्यो । डकुमेन्ट्री र फुटेजहरूमा देखिराखेको गाउँमा साक्षात् आफै पुग्दा यस्तो अनुभव भएको हो ।

बाटोमा एउटा परिचित अनुहारमाथि आँखा ठोकिन पुग्यो । मुस्कुराइरहेको त्यो परिचित अनुहार थियो, सगरमाथाका विख्यात आरोही, रेकर्ड ब्रेकर आडरिता शेर्पा । घाम तापिरहेका थिए, परिवारसँगै बसेर । काठमाडौंमा उनी भेटिनु र कुरा गर्नुमा कुनै नौलो लाग्दैन तर उनकै ठाउँमा, उनकै आँगनमा यसरी भेटिनु विशेष लाग्यो । भलाकुसारी गर्यौं । माथि कोठामा आमन्त्रण गर्नु भयो । कार्यक्रम स्थलमा पुग्नु पनि थियो । उनको आमन्त्रणलाई टार्न पनि त सकिन्न । उनको कोठासम्म पुग्ने मौका फेरि पछि पाइन्छ कि पाइन्न, के थाहा ? यो मौका गुमाउन चाहिनँ । यति बेला काठमाडौंबाट सँगै हिडेका साथीहरु पनि आइपुगे । माथि कोठामा गयौं । बस्न भ्याउने होइन । उनलाई उनकै कोठामा राखेर फोटो खिच्ने विचार आयो । भाउजु चिया पकाउनतिर लागिहाल्नु भयो । खायौं । दम्पतिको पनि फोटो खिच्यौं ।

उता कार्यक्रम स्थलमा कार्यक्रम सुरु हुन लागि सकेको रहेछ, बोलावट आयो । छिटो छिटो कार्यक्रमस्थलतर्फ लम्कियौं । स्वागत द्वारमा विभिन्न साँस्कृतिक झँकीसहित सामानहरू सजाएर राखिएको थियो । शेर्पा परम्पराअनुसार खानेकुरालाई बडो सजाएर प्रदर्शनमा राख्ने चलन छ । त्यहाँ चकलेट पनि थियो । यहाँ पनि यस्तो चकलेट ? मेरो मुखबाट निस्केको यो प्रश्नलाई अवाक् बनाइदियो, यो अन्तबाट किनेर ल्याइएको चकलेट हो्इन नि, यही गाउँमा उत्पादन भएको हो ।

साँस्कृतिक झाँकी सहितको औपचारिक कार्यक्रम सिध्याइवरी बिहानको खाना खायौं । हामीलाई त्यही दिन फर्कनु थियो । गाउँबाट छिटोछिटो झर्यौं । तर हेलिकप्टर उडेन । बाक्लो हुस्सु लागेर मात्रै होइन, हेलिकप्टर नै बिग्रेको रहेछ । निकै बेरसम्म कुर्यौं तर कुर्ने मात्रै भयो । हामीलाई त्यहाँ लिएर जाने इको हिमालका कन्ट्री डाइरेक्टर फिन्जो शेर्पाबाट घोषणा भयाे । अब हिडेर नाम्चे बजारमा वास बस्न जाने, भोलि विहान स्याङ्बोचेमा अर्को हेलिकप्टर मगाउने र त्यही चढेर काठमाडौं जाने ।

अघि हेलिकप्टरमा आकाशबाट देखेको नाम्चे बजारमा नै वास बस्न जाने ? स्याङ्बोचे एयरपोर्टको मुनि खाल्डो जस्तो ठाउँमा घरहरू गुजमुच्च नाम्चे बजार सगरमाथाको द्वारको रुपमा पनि चिनिन्छ । त्यही ठाउँमा जाने र वास बस्ने भनेपछि खुशी पनि लाग्यो ।

नाम्चेसम्मको बाटोमा खासै उल्लेखनीय कुरा भएन । अँध्यारो हुनुअघि नै पुगिसक्नु पर्ने एउटा वाध्यता भएका कारण हाम्रो ध्याउन्ना छिटो छिटो हिंड्नमा नै भयो । यही भएर वरिपरिको कुरातर्फ आँखा नलागेको हुन सकछ । दुई तीन ठाउँमा आराम लिनु बाहेक हिड्ने मात्रै भयो । नाम्चे पुग्नुअघि एउटा ठूलो चैत्य आइपुग्यो, त्यसलाई पृष्ठभूमि बनाएर समूह फोटो पनि खिच्यौं ।
हिड्दा हिड्दै एक्कासी नाम्चे बजार देखियो, तल । खाल्डो जस्तो ठाउँमा न हो । अब हामीलाई त्यही खाल्डोमा झर्नु छ । झुर्न अघि माथिबाट केही तस्वीर खिच्न भ्याएँ ।

नाम्चेमा पुगेर वास बस्ने ठाउँको व्यवस्था भएपछि सबैको ध्यान टेलिफोन गर्नतिर केन्द्रित भयो । सोही दिन फर्कने कार्यक्रम थियो तर कुुरा फेरिएपछि घरमा खबर गर्नु परेको हो । हामी त्यहाँ पुगेको द्वन्द्वकालमा थियो । त्यहाँ द्वन्द्वको खासै असर नभएपनि केही समयअघि सल्लेरीमा टेलिफोन टावर ध्वस्त पारिएको थियो । संचारप्रविधिमा पनि सुसम्पन्न भनी चिनिएको नाम्चे बजार अब यही द्वन्द्वको मारमा परेको थियो । टेलिफोन सर्वसुलभ हुन सकेन । कुनै अर्कै प्रविधिको संचारमाध्यम भने त्यहाँ थियो । तर पूरा नाम्चे बजारमा एउटै मात्र । पालो पर्खनु प¥यो । अरुलाई त के भन्न सकिन्छ र ? तर आफ्नै यात्रा समूहको पालो आएपछि थोरैथोरै बोल्ने र सबैलाई पालो पु¥याउने सहमति भयो । कुरा गर्दागर्दै टावर नटिप्न पनि सक्छ । फेरि कति बेला टावर टिप्ने हो थाहै हुन्न ।

थर्मु गाउँमा सम्पन्न वार्षिकोत्सवको प्रमुख अतिथी तत्कालीन पर्यटन मन्त्री याङ्किला शेर्पा थिए । नाम्चेमा उनलाई फुर्सदै भएन । राजा ज्ञानेन्द्रको शासन थियो र उनी मन्त्रीभन्दा बढी राजाको सन्देशवाहकको रुपमा सक्रीय भए । उनको अभिस्त चाहना थियो, आफू सहभागी हुने हरेक क्रियाकलापमा पत्रकारहरू पनि आइदेऊन् । तर पत्रकारहरूकाे दृष्टिमा राजा ज्ञानेन्द्रको हरेक कुरा जनतामा भ्रम फैलाउने सामग्रीबाहेक केही होइन । र, राजाकाे कुरालाई भाउ दिन चाहँदैन थिए । हामीले त्यतातिर वास्तै गरेनौं तर नेपाल टेलिभिजनका संचारकर्मीहरूलाई भने घरिघरि बोलाउन पठाउँथे । सुरुमा मन्त्रीलाई खुशी पार्न लागिपरेका ती सरकारी संचारकर्मीहरूलाई त्यहाँ मान्छे होइनन्, मेशिन नै भन्ठानेजस्तो देखियो । यो कटु अनुभव स्वयं सरकारी संचारकर्मीहरुले पनि हामीसँग व्यक्त गरे । थाकें अब जान्न भनेर हामीकहाँ आउने संचारकर्मी मित्रलाई तुरुन्तै बोलाउन पठाउँथे र अमिलो अनुहार लगाएर पुग्नै पर्ने हुन्थ्यो । यति नै बेला हामी भने नाम्चे बजार घुम्दै गर्यौं ।

अघि विहान चकलेट थर्मुमा बनेको भन्ने थाहा पाएर अचम्म मानेको थिएँ, नाम्चेमा त बसथोक नै बन्दोरहेछ, आत्मनिर्भर गाउँ जस्तो लाग्यो । सुविधाको हिसावले काठमाडौंलाई नै पछाडि पार्लाजस्तो । पैसा मात्रै हुनु पर्छ सब कुरा पाउने ठाउँ जस्तो । चौबिसै घन्टा बिजुली उपलब्ध हुन्छन्, विद्युत गृहमा काम गर्ने प्रावधिकहरु बाहिरका होइनन्, स्थानिय केही व्यक्तिलाई विदेशमा लगेर प्रशिक्षण दिएर ल्याइएका हुन् । बिहान हेरेको पावर हाउसबाट नै यो बिजुली उत्पादन भएको हो । पर्यटन उद्योगले नाम्चेमा ल्याएको यो विकास वा परिवर्तन मननयोग्य पनि छ । नाम्चे बजारका वासिन्दा अफ सिजनमा युरोपतिर हुन्छन् रे, तर सिजनका बेला कमाउनका लागि गाउँ फर्कन्छन् । कमाएर फेरि विदेशमा नै जान्छन् । त्यहाँ केही बेकरी फ्याक्ट्री पनि रहेछन् र काम गर्नेहरूमध्ये कीर्तिपुरबाट आएकाहरू पनि छन् भन्ने कुरा सुनियो । तर भेटिएनन् ।

बेलुका कुन खाना खाने भन्ने प्रश्न आयो । नाम्चेको आलु ज्यादै मिठो हुन्छ भन्ने सुनेको थिएँ । पहिला आलु खाऔं, पछि के खाने भन्ने कुरा अर्डर गरौंला भन्यौं । उसिनेका केही आलु अगाडि ल्याइयो । सबैले खाए । सबैलाई मिठो लाग्यो । फेरि मगायौं । आलुको स्वादले भुतुक्कै पार्यो र भातसात केही नखाने आलु मात्रै खाने सबैको निधो भयो । टन्न आलु खायौं र आआफ्नो कोठामा निदाउन पुग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *