कहाँ जाने ? नेपाली पैसा बोकेर जाने ठाउँ कहीं छैन । आफू नराम्रोसँग फसिसकेको चाल पाएँ । यति नै बेला भित्रबाट नेपाली भाषी एक युवतीको आवाज आयो– ‘‘नलिनु नलिनु नेपाली पैसा, मन पर्दैन त्यस्तो, के गर्नु त्यो ?’’

दार्जिलिङको यात्रा गर्ने तयारी भयो । तयारी के भन्नु र, काकडभिट्टासम्म जाने गाडी पर्खेर बसिरहेको थिएँ, लहान बजारमा । त्यही दिन लहान पुगेको थिएँ, कसैलाई भेट्न । लामो समय लहानमै बसेर सिरहामा केही दिनअघि मात्रै गएको थिएँ र अपूरो काम सकाउन फर्कनु परेको थियो लहानमै । यो कुरा हो, २०५२ को त्यस्तै मंसीर–पुस महिनातिरको ।
अघि साथमा एक साथी थियो, अब भने एक्लो । भेट्नुपर्ने शिक्षक लहानमा थिएनन् । तीन चार दिनपछि मात्रै फर्कने कुरा परिवारबाट थाहा भयो । शिक्षक नफर्केसम्म त्यहाँ यत्तिकै हल्लिएर बस्नु पर्ने भयो । पहिला लहान बस्दा मारवाडी समुदायबाट संचालित अतिथी सदनमा बसेका थियौं । जति जना बसेपनि एउटा कोठाको भाडा तीस रूपैया तिरे पुग्ने । ठूलो कोठा । पचास साठी जना सुत्ने हो भने पनि आरामसँग सुत्न सकिने । निकै सस्तो । बजारमा एक कोठाको मूल्य एक सय पचासको हाराहारीमा थियो । त्यहीं अतिथी सदनमा थाहा भयो, कसैको ठूलै भोज रहेछ । सबै कोठाहरू बुक भइसकेका रहेछन् । यसको अर्थ हो– बजारमा नै जानु प¥यो । लहानको प्रचण्ड गर्मी । छायाँमा बस्न भनेर टिकट बुकिङ सेन्टरको बाहिर एउटा मेचमा थचक्क बसें । सेन्टरको स्टाफसँग यताउताको गफ गर्दै रहें । यसैमा कुरा निस्कयो, रात भरमा काकडभिट्टा पुगिन्छ र त्यहाँबाट थोरै समयमा गाडी चढेर दािर्जलिङ । दार्जिलिङ पढेको, सुनेको र चलचित्र तथा तस्वीरहरूमा देखेको सुन्दर शहर । एक रात वास बसिने पैसाले दार्जिलिङ नै पुगिंदो रहेछ ।
अनि काकडभिट्टाको टिकट काटियो ।
त्यस्तै बेलुका आठ बज्दो हो, गाडी आइपुग्यो । कहाँबाट आएको हो, बिर्से । आफ्नो ठाउँ ड्राइभरको क्याबिनमा मिल्यो । ठाउँ अप्ठ्यारो त होइन तर त्यत्ति सजिलो पनि थिएन । बगलमा नै बसेको मान्छेले आफूलाई गुप्तचर विभागमा कार्यरत गुप्तचरको रूपमा चिनायो । त्यो विभागका मान्छेहरू आफूलाई सजिलै यसरी चिनारी दिंदैनन् । अचम्म लाग्यो । तर के लिनु के दिनु । बरु आफै सजग भएँ, बदमाश नै रहेछ भने पनि बदमाशी गर्न नपाओस् भनेर ।
झिसमिसे बिहान गाडी गन्तव्यमा पुगेर रोकियो । हामी, अर्थात् आफूलाई गुप्तचर भनी चिनाउने बाटोमा नै ओर्लिसकेको थियो, त्यसपछि साथी बनेका केही प्रौढहरू गाडीबाट ओर्लेर हिड्यौं । दार्जिलिङ घुम्न जान लागेको त्यो पनि एक्लो केटा देखेर उनीहरू अचम्मै मान्दै थिए । ख्यालठठ्टामा यसो पनि भनेका थिए– ‘‘दार्जिलिङ त कान्छी लिएर पो जानु पर्ने त ।’’
उनीहरू भारतीय नागरिक, हिन्दी बाहेक अरु भाषा नबुझ्ने । हिन्दीमै जवाफ दिएको थिएँ– ‘किन लिएर जानु प¥यो र चाहियो भने त्यहींबाट ल्याउँला नि । साथी लिएर आएको त होइन, यहाँ तपाइँहरू पाइहालें ।’
उनीहरू पानी ट्यांकी जाँदै थिए । त्यहाँसम्मको लागि साथी पाएको थिएँ मैले । बाटोमा बसबाट झरेर नदी किनार पुग्यौं । नदीको नाम मेची । नेपालको सीमाना नदी । नदी किनारमा सबैले शौच कार्य सम्पनन गरे । अँध्यारो बाँकी नै थियो । नदीमा मुख पनि धोयौं । उक्लेर एउटा चिया पसलमा चिया पनि खायौं र अगाडि बढ्यौं । पानी ट्यांकीतिर नेपाली पैसा र भारतीय पैसाको चेन्ज चेन्ज गर्न पसल थापेर बसिराख्नेहरूले यसैका लागि आवाज दिएका थिए । पैसा साटिराख्नु आवश्यकता देखिनँ । थोरै समयावधिमा हामीबीच गहिरो घनिष्टता विकास भइसकेको थियो । कालिम्पोङ जाने बस चढाएर उनीहरू आफ्नो बाटो लागे ।
पानीट्यांकी पुग्दासम्ममा राम्रैसँग उज्यालो भइसकेको थियो । विचार त थियो, गाडी चढ्नुअघि पानीट्यांकी नाउँको त्यो बजार एक पल्ट घुम्ने तर हितैषीहरूले यताउता नपरोस् भनेर गाडी नै चढाइदिएपछि कसको के लाग्छ ? बरु फर्कदा घुम्ने सोच बनाएँ । गाडी गुड्यो । जसै गाडी गुड्यो, आँखालाई फुर्सद भएन । ठाउँ नयाँ भएपनि हेर्ने कुरा उही । वरिपरि देखिने प्रचार सामग्री र सूचनाका कुराहरू नेपालमा नेपाली भाषामा हुन्छ त त्यहाँ हिन्दी भाषामा, नेपालमा प्रचार सामग्री नेपाली र भारतीय उत्पादनको छ त भारतमा भारतीय, त्यत्ति मात्रै । तर पनि नौलो अनुभूति त भइहाल्छ ।
गाडी भाडा उठाउँदै कन्डक्टर आइपुग्यो । सबैले जस्तै मैले पनि भाडा दिएँ । सबैको लियो, मेरो लिएन । सबैले भाडा दिएको थियो– भारतीय मुद्रा । मैले दिएछु– नेपाली मुद्रा । परेन आपत ? नेपाली मुद्रा चल्दो होला भन्ठानेको र भारतीय मुद्रा आफूसँग नभएको बताएँ । यसअघि भारतीय सीमाक्षेत्रमा विना अवरोध, अझ सहज ड्डरूपमा नेपाली मुद्रामा नै व्यवहार गरेको थिएँ । त्यस्तै होला भन्ठानेको, हुँदो रहेनछ । समस्याको समाधान पछिल्लो सीटमा बस्ने दिदीबाट भयो । बसभाडा तिर्नलाई पुग्ने पैसा साटिदिनु भयो । पुनः सोध्नु भयो– ‘‘कालिम्पोङबाट दार्जिलिङ जानलाई पनि त आइसी चाहियो नि, अब के गर्ने त ?‘’
‘‘कालिम्पोङमा साटुंला ।’’ सहज रूपमा जवाफ दिएँ ।
सहृदयी दिदीले शंका व्यक्त गर्नु भयो– ‘‘साट्न नपाइन पनि सक्छ । दिनुस्, नेपाली रूपैया म साटिदिन्छु ।’’
लाग्यो, म कति भाग्यमानी । यात्रामा अपरिचित तर हितैषीहरू भेट्ने । देश पो फरक, मन त एउटै । पानीट्यांकी सम्मका सहयात्रीहरू भारतीय भइकन पनि मित्रवत । राजनीतिक भूगोल र सामाजिक एवं साँस्कृतिक पृष्ठभूमि फरक भएपनि ती फरकपना आफैमा सीमित । भारतमा बस्ने आप्रवासी नेपाली आफूलाई नेपाली नै ठान्छन् । पैसा साटिदिने दिदी पनि नेपाली नै । त्यहाँ नेपालीहरू नै धेरै भएका कारण नेपाली मुद्रा चल्छ, किन चेन्ज गर्नु प¥यो र भन्ने सोच थियो । सोच अनुसार नभएपछि कस्तोकस्तो लाग्यो । झर्ने बेलामा उनै दिदीले सल्लाह दिनुभयो– ‘‘दार्जिलिङ पुग्नलाई त आइसी पुगिहाल्यो । पुगेपछि साट्नु्, राम्रोसँग घुमेर आउनु्स् ।’’
हतार हतारमा किन दार्जिलिङ हुइँकिने ? दुईचार दिन नै बसेर फर्कने सोच बनाएपछि हतार्नु त आवश्यकता नै थिएन । मेरो हिसाबकितापमा लहानमा कसैलाई पर्खेर बस्नु र दार्जिलिङमा घुम्नुको खर्च उस्तैउस्तै थियो । कालिम्पोङको रेल स्टेशन हेरें । यताउता लागें । रमाइलो अनुभूति भइराखेको थियो, सिक्किम, कालिम्पोङ, दार्जिलिङ आदि ठाउँबाट प्रकाशित कथा–उपन्यासहरूमा वर्णित कालिङपोङ घुम्न पाइराख्दा । नेपालका लेखकहरूले नै पनि थुप्रै चित्रण गरिसकेका छन् यसबारे । त्यहाँ भानुभक्त आचार्यको पूर्णकदको मूर्ति देखें । एउटा चिया पसलमा पसें र बिस्कुट पनि मगाएँ । आइसी सीमित थियो । पैसा तिरें ।
बाटोमा हिडिराखेको थिएँ । एक जनाले ट्याप्प समात्न आइपुग्यो । लगत्तै अर्कोले पनि । अप्रत्यासित थिएन त्यो, बसपार्कको छेउछाउमा पुगिसकेको थिएँ । दार्जिलिङ जान लागेको भनेपछि त फकाउन थालिहाल्यो । एकले जुन भाउ ग¥यो अर्कोले त्यो भन्दा अलि घटाएर भन्यो । तिनीहरूबीच नै विवाद दुबैले मलाई समाएको छ बेस्सरी नै । म भने अलमल्लमा परें । यस्तैमा एक जना ‘मर्निङ वाक’ गर्दै आइरहेको सज्जन हामीतिर दौडेर आइपुगे । झपार्न थाले तिनीहरूलाई । पेसेन्जरलाई आरामसँग यात्रा गर्न नदिई यस्तो व्यवहार गर्न हुँदैन भन्दै थिए, दुवै सुइँकुच्चा ठोकिहाले । कहाँबाट आएको र कहाँ जान लागेको भन्ने प्रश्नको जवाफ पाएर उनी मलाई बसपार्कसम्म छाड्न आए । ती सज्जन स्थानिय बंगाली रहेछन् । भने– ‘‘तिनीहरू ठग हुन्, ठगको पंजामा नपर्नू । नियमानुसार टिकट काट्नुस्, आरामसाथ पुगिन्छ, गाडी उही हो ।’’
‘‘लौ यही हो दार्जिलिङ’’– बसमा एउटै सीटमा रहेको मान्छे बोल्यो, मलाई लक्ष्यित गर्दे । वास्तवमा उनै हुन कालिम्पोङदेखि दार्जिलिङसम्मको बस यात्रामा साथी । धेरै कुराकानी गरियो । कुनै विशेष ठाउँ पुग्यो कि चिनारी दिन्थे । सोधेको कुरा बताउँथे । पैसाको कुरा अघि नै भनिसकेको थिएँ ।
बसबाट झरेर अन्त नलागी सबैभन्दा पहिले पैसा साट्नेतिर लागें । त्यतिन्जेलसम्ममा थाहा पाइसकेको थिएँ – दार्जिलिङमा नेपाली मुद्रा पटक्क चल्दैन । त्यसैले पनि पहिलो प्राथमिकता पैसा साट्ने कामलाई नै दिएँ । नभन्दै कसैले पैसा साटिदिएन ।
सबै नेपाली भाषा नै बोल्ने, नेपाल र नेपालीप्रति आत्मियता देखाउने । तर नेपाली पैसा नचल्ने । विचार आयो– जुन गेष्ट हाउसमा बस्ने हो, त्यहाँ कोठा मिलाइसकेपछि ग्राहकको नाताले पनि पैसा साट्नेका काममा मद्दत गर्ला नि । कोठा पनि मिल्यो, कुरा पनि मिल्यो तर पैसाको कुरा मिलेन । पैसा साट्ने कुरामा सहयोग नगर्ने गेष्टहाउसमा बस्ने नै कसरी ? बाहिर निस्कें । यताउता लाग्दै गरें– पैसा साट्न । सबै ठाउँबाट खाली हात फर्कनु प¥यो । कसैले भन्यो –‘ऊ त्यहाँ रोकिराखेको बस छ नि, त्यो पशुपतिनगरतिर लाग्ने हो, उनीहरूले पैसा साटिदिन सक्छ ।’
बसभित्र छिरें । दुई तीन जना बसेर गफ गरिरहेका रहेछ । चिनापर्ची भयो । त्यसमध्ये एक जनालाई काठमाडौं मात्र भनेर पुगेन, सोध्यो– काठमाडौंको कुन ठाउँ ? काठमाडौं त आतेजाते गर्ने रहेछ । आफ्नो काठमाडौंको कीर्तिपुरबाट आएको बताएँ । आफ्नो अगाडि एकजना कीर्तिपुरे पाएर ऊ निकै खुशी भयो । संयोग नै रहेछ, उसको पुर्खा कीर्तिपुरबाटै दार्जिलिङ पुगेका रहेछन् । सोध्ने पालो मेरो भयो– कीर्तिपुरको कुन ठाउँ ? उसलाई पनि थाहा रहेनछ । दार्जिलिङ घुम्न आएको र थाहा नपाएर समस्यामा परिरहेको भनें । सहयोगको लागि अनुरोध पनि गरें । अघिसम्म कति धेरै हितैषी र आफ्नै परिवार जस्तो व्यवहार गरिसकेको ऊ तुरुन्तै वास्तविक धरातलमा ओर्लिहाल्यो । उसले नसक्ने भएसँगै अरु साथीलाई नै पनि त भन्दिन सक्थ्यो नि, गरेन । आफैले भने । त्यहाँबाट पनि खाली हात फर्के ।
नेपाली पैसा साट्न गाह्रे भइराखेकोमा अचम्म लाग्यो । काठमाडौंमा कसैले भारतीय मुद्रा दिंदाको वातावरण त सहजै हुन्छ । तर दार्जिलिङमा ? मलाई उनीहरूको नेपालीपनमा पनि हाँसो उठ्यो । अघि बसमा संगै आउने व्यक्ति पुनः भेटियो बाटोमा । निराश भइसकेको थिएँ । उसैले पनि त पैसा साटिदिन सक्थ्यो नि । तर उसले त्यहींको एउटा बैंक देखाइदियो । त्यो दिन बिदा परेछ ।
दिउँसो बा¥ह बज्न थालिसकेछ । भोक त अघि नै लागिसकेको । खल्तीमा पैसा छ तर नेपाली । नेपाली पैसाले किन्न नपाइने । हिड्दै गर्दा खल्तीमा भएको दुई रूपैयाको नेपाली नोट भुईमा खस्यो । खसेको नोट झट्ट उठाइँन । भावुक भएँ । हेरिराखें । हेरि नै राखें । फिसिक्क हाँसें पनि । मेरो नेपाली पैसाको त्यहाँ कुनै मूल्य रहेनछ । कागजको टुक्रा जस्तै भयो । आफूलाई निरीह भएको महसूस पनि गरें । मलाई मेरो पैसाको माया लाग्यो । सा¥है माया गरेर त्यो भुइँको नोट उठाएँ । त्यो बेला मलाई नेपालको पनि सा¥हैै माया लाग्यो । भक्कानो फुट्ला जस्तो भयो । आफ्नो देशमा आफनै मात्र पैसा चलाउने सम्वन्धित देशको नीति रहेछ भनुँ भने यसअघि अन्यत्र भारतीय भूमिमा नेपाली रुपैया चलाएको थिएँ । कुनै समस्या थिएन । जसले आफूलाई नेपाली भन्दैन, भारतीय नै भन्थे, तिनीहरुले नेपाली मुद्रालाई सजिल्यैसँग स्वीकारेका थिए तर यहाँ, जो आफूलाई नेपाली भनेर परिचय दिन्छन्, नेपाली मुद्रालाई हेप्न पाएर मख्ख । मेरो मुद्राप्रति यस्तो अपमान ? उनीहरुका लागि नेपाली भन्ने कुरा त मुकुण्डोमात्रै लाग्यो जो उत्रिसकेको छ । मलाई यस्तो लाग्यो, त्यहाँ बरु माग्न गएको भए खाली हात फर्कनु पर्दैनथ्यो । खल्तीमा पैसा भएर पनि बजार क्षेत्रमा भोकै हुनु पर्दा दिक्क लागिराख्यो ।
विचल्लीमा परेको म, यस्तैमा कसैले डण्डाले हान्यो । पछाडि फर्केर हेरें, पुलिस रहेछ । किन हान्यो ? थाहा छैन । उसलाई त अवश्यै थाहा हुनुपर्ने हो तर बोल्दैन । बाटोमा अरु जसरी हिडिराखेको हो म पनि त त्यस्तै थिएँ । तर मैले डण्डा खाएँ । मैले कुनै नियम मिचें ? त्यस्तो केही लाग्दैन । किन भनेर सोध्दा त्यो डण्डावाला मुन्टो फर्काएर अन्तै लाग्यो– आफूले विनासित्ति डण्डा हान्न पुगेछु भन्ने महसूस भयो होला ।
बाटोको एक छेउमा लागें, जहाँ मलाई पिटेको हो त्यो ठाउँलाई नियालेर हेरें । कुनै नियम मिचिने खालको ठाउँ नै रहेनछ त्यो । मलाई डण्डाले पिट्ने त्यो प्रहरी आप्रवासी नेपाली नै हुन्् । अनुहारले प्रष्ट नै छ, पूर्वी पहाडी नेपालको कुनै जिल्लाबाट दार्जिलिङ पुगेको राई, लिम्वू मध्ये कुनै एक जातिको हो । गोरखा जिल्ला उसले त के उसको बाउबाजेले पनि देखेका छैनन् होला, गोरु बेचेको साइनो पनि लाग्दैन उसको गोरखासँग । तर आफूलाई गोरखाली भन्न रुचाउँछन् तिनीहरू र गोरखाली बहादुर भई टोपल्छन् । जहाँ डण्डा खाएको थिएँ त्यहाँ त्यसरी नै दुई चारपल्ट ओहोदोहोर गरें । कसैले केही भनेन, केही भएन ।
बल्लबल्ल एउटा नेपाली भाषी पसलको मान्छे पैसा साटिदिन मान्छ । मनमनले धन्यवाद दिएँ । खुशी भएँ । तर एउटा शर्त तेर्सायो– नेपाली हजारको भारतीय पाँचसय मात्रै दिने । त्यहाँ नेपाली मुद्रा चल्दैन, त्यो त मानें । तर हजारको पाँचसय रूपैयाको भाउ बुझिनँ । अचम्म पनि लाग्यो । त्यो बेला एक रूपैया पैंतालीस पैसाका बराबर भारतीय मुद्रा एकको दर थियो । मैले यो कुरा अवगत गराएँ । उसले भन्यो– ‘‘उसो भए भैगो, साट्दिन ।’’ मलाई झनक्क रीस उठ्यो तर आफ्नो रीस आफैसँग । आपत त मलाई पो परिरहेको थियो । बरु उत्तिखेरै अर्को निर्णय गरें, खुरुक्क नेपालै फर्कने । मैले पनि भने– ‘‘उसो भए पाँच सयको मात्र साट्छु, फर्कन्छु ।’’ उसले भन्यो– ‘‘साट्ने भए हजारको साट्ने, होइन भने अन्तै जानु्स् ।’’ कहाँ जाने ? नेपाली पैसा बोकेर जाने ठाउँ कहीं छैन । आफू नराम्रोसँग फसिसकेको चाल पाएँ । यति नै बेला भित्रबाट नेपाली भाषी एक युवतीको आवाज आयो– ‘‘नलिनु नलिनु नेपाली पैसा, मन पर्दैन त्यस्तो, के गर्नु त्यो ?’’
सपनामा पनि नसोचेको ती नेपाली युवतीको कुराले कसैलाई नेपाली हुनुमा हिनताबोध गर्देला, तर मलाई त्यति नै बेला नेपालप्रति अगाध माया जाग्यो । तर चुपचाप हजार रूपैयाको नेपाली नोट तेर्साइदिएँ र पाँच सय रूपैयाको भारतीय नोट लिएर निस्कें । यताउता कतै नहेरी एउटा पसलमा पसें, केही किनें र खाएँ । दुई चार दिन बस्न भनेर गएको मलाई त्यहाँ एक क्षण पनि बस्न मन लागेन, औडाहा भइसकेको थियो । दार्जिलिङकाे साैन्दर्यकाे बखान मेराे दिमागबाट कुन बेला हाे, उडिसकेकाे थियाे । पैसा साटेको ठाउँमा पाँच सयको पो नसाट्ने भनेको हजार हजारको त खुसी हुँदै साट्थ्यो । दार्जिलिङ दश बाह्र दिनभन्दा बढी बस्ने हो भने पनि खल्तीले आनाकानी गर्ने अवस्था थिएन ।
बस चढें । नेपाल प्रवेश गर्दा अँध्यारो भइसकेको थियो, काकडभिट्टामा वास बसियो ।