Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

घटराज भट्टराईकाे ‘गोसाइँकुण्ड’

Posted on March 8, 2022March 8, 2022 By बसन्त महर्जन No Comments on घटराज भट्टराईकाे ‘गोसाइँकुण्ड’
बसन्त महर्जन

नेपाली साहित्यको अनुशीलन गर्नेका लागि घटराज भट्टराई नौलो नाम होइनन् । काव्यकृति तथा समालोचनाका कृतिहरु थुप्रै छन् । उनका कृतिहरुमा नियात्रा पनि भएको कुरा त्यत्ति चर्चाको विषय बनेको छैन । ‘डोल्पाको छोटी’ (वि.सं. २०३९) पछि अर्को नियात्रा कृति हो– गोसाईँकुण्ड (वि.सं. २०४६) । उनको समालोचनात्मक लेखनभन्दा फरक छन्– नियात्रा लेखन ।

जेठ १२ (वि.सं.२०४५) को विहान काठमाडौंबाट जीप यात्रा सुरु हुन्छ र पाँचौं वास काठमाडौंमा पुगेर टुंगिन्छ । पाँच दिनको यात्रालाई स्गिो पुस्तकको रुप दिइएको छ । सहायकरथी (जर्नेल) यज्ञविक्रम राणाको यात्रा दलमा मिसिन पाएका लेखक आफ्नो यात्राअवधीमा रमाएनन् मात्र, हरेक कुरालाई शूक्ष्म ढंगले नियाल्ने पनि भ्याए । हरेक कुरालाई शब्द र वाक्यमा उनेर बस्दा पाठकको ध्यान बिच्किने खतरा उत्तिकै हुन्छ । पाठक बिच्किनु भनेको लेखक असफल हुनु हो । तर शब्दशिल्पीहरु के कुरा कसरी लेख्ने र आफ्नो अभिस्त पूरा गर्ने भन्ने कुरामा सजग हुन्छन । लेखक भट्टराई काल्य तथा समालोककीय लेखनमा भन्दा नियात्रा लेखनमा आफ्नो शब्द शिल्पीको खुबी दर्साउन सक्षम छन् । तर यस क्षेत्रमा उनको उपस्थिति पातलिनु नेपाली नियात्रा विधाको लागि खतीको कुरा हो ।

धुंचेबाट उकालो लागेको यात्रा दलका लेखक चन्दनवारि नपुग्दै छक्क पर्छन् र लेख्छन्, ‘‘हामीले त लाली गुराँसमात्र देखेका थियौं । गुराँसका पनि थरी थरी हुन्छन् भन्ने कुरा त यसै यात्राबाट थाहा पायौं । ६, ७ हजारको उचाइमा लाली गुराँस, त्यसपछि छिरबिरे गुराँस निकै माथि पुगेपछि सेतो गुराँस देखिन थाल्यो ।’’

उनी लेख्छन्, ‘‘मानिसहरु जानेभन्दा फर्कने बढी छन् । किनभने दशहराको मेला हिजै सकिएको छ । त्यसमा पनि यस वर्ष अधिकमास परेकाले दशहरामा त्यति ठुलो मेला नलागेको कुरा त्यहाँ पसल थाप्ने तामाङहरु बताउँछन् ।’’

नियात्रा लेखन इतिहासका श्रोत सामग्री पनि बन्नसक्छन् । त्यहाँ चोलाङपाटी भन्ने ठाउँ छ । यो नाम कसरी रह्यो भन्ने कुरा एउटा खुल्दुली थियो । यस नियात्रामा उल्लेख परेकोछ, ‘लौरी विनायकको फेदीमा एउटा पाटी छ, त्यस ठाउँलाई चोलाङ भनिदो रहेछ ।’ त्यो पाटी पछि जाने हामीले देखेनौं । भत्केर नष्ट भयो होला । त्यही ठाउँमा पाटीको पुनःनिर्माण गरेर चोलाङपाटी नामलाई सार्थक बनाउन पनि सक्छ । तर, चोलाङको पाटी भएर चोलाङपाटी नाम दिइएको भनेर थाहा भयो ।

लेखक समालोचक मात्रै होइनन्, कवि पनि हुन् । केही काव्यकृति पनि प्रकाशमा ल्याइसकेका उनी यस नियात्रामा पनि काव्यिकचेत् प्रस्फुटन हुन्छ । यात्राका दौरान उत्तरमा हिमालहरु लहरै उभिएको देख्न पाइन्छन् । यही वर्णन उनी काव्यिक भाषामा लेख्छन्, ‘‘उत्तरतिर लाम्टाङ, लिरुङ हिमालहरु मानो तीथायात्रीहरु आएको हिसावकिताब राखिरहेका छन् जस्तो भान हुन्छ ।’’

यथार्थ कुरा त के हो भने, गोसाइँकुण्ड प्राकृतिक भूबनोटको एउटा सुन्दर थलो हो । यसैलाई पनि विभिन्न धर्म वा आस्थाले आफू अनुकुल भाष्य बनायो । हिन्दू धर्माबलम्बीले यसलाई हिन्दूकरण ग¥यो भने बोन धर्मावलम्बीले बोनकरण ।

गोसाइँकुण्डको हिन्दूकरण पौराणिक ग्रन्थको कथालाई यता स्थानियकरणबाट गरेको पाइन्छ । पौराणिक ग्रन्थमा देव–दानव मिली समुद्रमन्थन गर्ने क्रममा हलाहल विष निस्केको र सृष्टिलाई नै भष्म पार्ने गरी आतंक मच्चिदा महादेवले सो विषपान गरी कण्ठमा जम्मा पारेको कथा पाइन्छ । सो विषको प्रभावले कण्ठ निलो हुनाका साथै जलन पनि भएकाले सितलताका लागि महादेव गोसाइँकुण्ड पुगेको कथा पाइन्छ । उक्त कथाअनुसार महादेवले पहरोमा त्रिशुलले हान्दा तीन वटा प्वालबाट पानी निस्केको र त्यही पानी जम्मा भएर गोसाइँकुण्ड बनेको हो । र, कुण्डमा पसेर बल्ल शान्त भएको थियो । गणेश गौडाबाट सरस्वती कुण्ड र भैरव कुण्ड देखिन्छन् । यहाँभन्दा अलि पर पुगेपछि गोसाइँकुण्ड आउने हो ।

यहाँ वरिपरि अन्य सूर्य कुण्ड, दीप कुण्ड, पय कुण्ड, यत्र कुण्ड, धर्म कुण्ड, चन्द्र कुण्डलगायत १०८ कुण्ड रहेको भनिन्छ । यी सबै कुण्डहरुको उत्पत्तिको कथा पुराणकै आधारमा लेखकले जुन कुरा लेख्छन्, त्यो पहरामा त्रिशुलले हानेर तीन प्वाल पारेको कुरासँग बाझिन्छ । उनी यसरी लेख्छन्, ‘‘पुराणहरुमा शैलपुत्री गौरीको महिमा व्यापक छ । गौरी शिवकी अर्धाङ्गिनी हुन् । जसले गर्दा उनको महादेव शिवलाई प्राप्त गरिन् । उनी हिमालय पुत्री भएकीले हिमाल नै उनको बाल–क्रीडा भूमि हो । यिनै हिमाली श्रृङ्खलाहरुमा उनी दौडिन्, खेलिन्, रमाइन् । त्यस्तै रमाइला प्रसंगहरुमा उनका पसीना चुहे । यिनै पसीनाबाट यी कुण्डहरु पुण्यस्थलका रुपमा उत्पन्न भएका थिए भन्ने वर्णन पनि धार्मिक प्राचीन ग्रन्थहरुमा पाइन्छन् ।’’

लेखकको पृष्ठभूमि पूर्वीय दर्शन र संस्कार–संस्कृति भएकोमा शंका छैन । उनको सोचविचार तथा दृष्टिकोण पनि यही अनुरुप हुनु स्वाभाविक पनि हो । ‘गोसाइँकुण्ड’ नियात्रामा हिन्दू पौराणिक कथाहरुको प्रभाव प्रसस्त मात्रामा परेको पाइन्छ ।
गोसाइँकुण्डबाट फर्कने क्रममा यात्रादल धिम्सामा पुगेर खाना खान्छन् र आउँदाको बाटो कठिन भन्दै भार्कु भएर धुंचे पुग्न बाटो मोड्छन् । तर यो बाटो झनै गा¥हो भएको अनुभव यात्रादललाई हुन्छ । यही बाटोका कारण पार्वतीकुण्ड पुग्ने अवसर प्राप्त हुन्छ । लेखकको एउटा चाहना थियो, फर्कदा नुवाकोट दरवार पनि हेर्ने । हेर्ने मात्रै होइन, साता तल्लाको उक्त दरवार माथिसम्मै चढ्न पनि पाए ।

यात्रा अवधिमा लेखकले जेजति देखे, अनुभूति गरे पाठकलाई पनि पस्किदिए । यो नियात्रा पढिसकेपछि मात्रै म आफू गोसाइँकुण्ड गएको थिएँ । फर्केर पनि पढें । थुप्रैपल्ट पढें । मलाई यसको रचना शैलीले आकर्षित गरेको हो । यही आकर्षणले लेखक घटराजसँग पटक पटक गोसाइँकुण्डको यात्रा गर्न पाइरहेकोछु ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
कृति

Post navigation

Previous Post: सारनाथको सिरेटो र सहयात्रीहरुको चिसो मन
Next Post: दार्जिलिङबाट भागेर नेपालमा

Related Posts

बाैद्ध तीर्थयात्रा:नालन्दादेखि लुम्बिनीसम्म कृति
‘गन्तव्य लुम्बिनी’ किन लेखियाे ? कृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme