सारनाथ पुगेपछि हामीलाई जानकारी दिइएको ठाउँ, चाइनिज टेम्पलमा गएर सोध्यौं, त्यहाँ त कसैको अत्तोपत्तो थिएन । अघिल्लो पटक जाँदा पनि त्यहीं बास बसेका थिर्यौ, कसैलाई नभेटेको र सम्पर्क पनि नभएपछि अब कहाँ जाने ?? परेन फसाद !

रातको नौ बजेतिर हामी सारनाथको एउटा रेष्टुरेन्टमा पस्यौं । निकै जाडो भएकोले हामी सातजनाको टोली रेष्टुरेन्टभित्र छिर्ने वित्तिकै तातो पानी माग्यौं । रेष्टुरेन्टमा भएका ती व्यक्ति संचालक थिए वा कामदार थाहा भएन । तातो पानी छैन भने । त्यसपछि हिटर भए बाल्न अनुरोध गर्यौं तर उनले यस्तो जवाफ दिए, हामी अवाक भयौं । रेष्टुरेन्ट पस्ने ग्राहकले त्यस्तो जवाफको अपेक्षा गरेका हुन्छन् भन्ने लाग्दैन । उनले भने, १०–१५ मिनेट भित्र बस्नुस् यत्तिकै तात्तिन्छ । निकै पटक भनेपछि तातो पानी दिन तयार भए । बसाइको १५–२० मिनेट पछि तातो पानी त आयो तर मनतातो भन्न पनि नमिल्ने खालको । यो भन्दा बढी पाइन्न भन्ने निश्चित भए पछि कसैले केही बोलेनन्, खुरुखुरु पिइयो त्यही चिसो पानी । पानी सकियो, अर्को पानि माग्दा अब तातो पानी सकियो, अर्को तताउन नमिल्ने जवाफ दिए ।
हामी चुप लाग्यौं ।
सारनाथ चोकमा रहेको त्यो एएफसी रेष्टुरेन्टमा खाना खाएर सुत्नको लागि अन्त जाने हाम्रो तयारीअनुसार आयोजकले त्यहाँ बोलाएपछि हामी त्यहाँ पुगेका थियौं । निकै भोकाएका पनि थियौं । पानी नपाएपछि त्यहाँ भएका जत्तिलाई खाना ल्याइदिन आग्रह गर्यौं तर खाना दिन पनि आनाकानी हुन थाल्यो । घडी हेर्दा रातको ९ः३० भइसकेको थियो । अन्त जाने सम्भावना थिएन र वरिपरी अर्को खानपिन गर्ने ठाउँ पनि थिएन । त्यसैले अन्त जाने सोच्दा पनि सोचिएन । त्यही ५० जनाको लागि खानको अर्डर गरिसकेको थियो । तर खाना आउँदैन ! पछि कुरा बुझदा त त्यो रेष्टुरेन्टले अर्को ठाउँमा अर्डर गरेको रहेछ, उताबाट आउन नै ढीला भएको रहेछ । अब १० मिनेटमा आउँछ भन्दै कुर्दै बस्दा १०ः१५ पछि मात्र खाना खाने अवसर जुर्यो । सानो सानो कचौरीमा भात, दाल, तरकारी, अचार, रोटी सजाएर जब खानाको थाल आयो खुशी मनाउँदै खाना खायौं । तर त्यति बेला खाना खाने हाम्रो टोलीका करीव १२ जना मात्र त्यहाँ थिए । बाँकी सबै साथीहरु वाराणासीमा अड्किएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका कारण पुरै यातायातको व्यवस्थापन गोलमाल भएको थियो ।
त्यसदिन सारनाथ पुग्न विहान ३ बजे नै उठेर तयारी गरेको थिएँ । अघिल्लो दिनको बोधगया भ्रमण पछि सारनाथका लागि गाडी विहान ५ बजे मात्र गुड्यो । सारनाथ जानु अघि हामी वाराणासी पनि जानु पर्ने थियो । विहान बेलुकी नै हामी आफूसँगै गएका कुकले पकाएको घरकै स्वादमा खाना खाँदै हिंडेका हामीले त्यो दिन विहान बाटोमैं पर्ने एउटा ढावामा १२ बजेतिर खाना खाएका थियौ, नमिठो भने थिएन । ५० जनाको टोलीलाई खाना खुवाउन उक्त ढावालाई गाह्रो नभए पनि भ्याइ नभ्याई भएको थियो । त्यहाँबाट खाना खाएर हिंडेको हाम्रो टोलीको गाडी वाराणासी ट्रमा सेन्टर अगाडि पुगेर रोकियो । आयोजकले भने, अब अगाडि गाडी जाँदैन, आफू आफू घुमेर टेम्पो लिएर सारनाथ पुग्ने । सारनाथ त पुग्ने तर सारनाथ कहाँ पुग्ने जानकारी दिइएको थिएन । तर मसँग बसन्तजी हुनु भएकोले म ढुक्क थिएँ ।
गाडीबाट बाराणासी घाटतिर जाने तयारी सहित नौ वटा टेम्पो रिजर्भ गरियो । पाँच पाँच जनाको दरले टेम्पोमा बस्दै टेम्पो अगाडि बढ्यो, म पनि गएँ । अगाडि पछाडि हाम्रो टोलीका साथीहरु भएको टेम्पोहरु गुड्दै थिए । तुरुन्तै टेम्पोहरु बाराणासीको घाटमा पंक्तिवद्ध हुन आए । एक, दुई, तीन चार गरी गन्दै गएँ, सात वटाभन्दा बढी टेम्पो नै आएन । बसन्तजी पनि आउँनु भएन । साथीहरु घाटमा भएको डुंगामा उल्लासका साथ बस्न र फोटो खिच्न थालिसके तर बसन्तजी नआएपछि म भने चिन्तित हुन थालें । हुन त उहाँसँग भारतको सिम सहितको फोन थियो तर बोधगयादेखि नै उहाँको फोनले काम गरेको थिएन, यहाँ पनि नभएकोले उहाँलाई सम्पर्क गर्न गाह्रो भयो । के गर्ने, कसो गर्ने ?? यस्तैमा आयोजकमध्येका पुष्प सरले ‘बसन्तलाई बाराणासी, सारनाथ सबै थाहा छ, ऊ आइहाल्छ जार्औ हामी’ भन्नु भयो र ४१ जना यात्रु लिएर डुंगा खिइन थाल्यो । चिन्ता नै भए पनि वरिपरिको फोटो खिच्न थालें ।
गंगोत्रीबाट बग्दै आएको नदी नै गंगा हो । यहाँ आइपुग्दा वरुण र अस्सी नाम गरेका दुई नदी पनि मिसिन आइपुग्दछ । यिनै दुई नदी बीचको भूभागलाई मौलिक रुपमा वाराणसी भनिएको हो । यसलाई काशी पनि भनिन्छ । यसलाई विश्वका अत्यन्तै पुरानो सहरहरुमध्ये एकमा गनिन्छ । यहाँ आएर गंगामा एक पल्ट डुबुल्की मार्दा पनि सबै पाप पखालिन्छ भन्ने विश्वास हिन्दू धर्मावलम्बीहरुको पाइन्छ । यही भएर डुबुल्की मारिरहनेहरु जताततै देख्न पाइन्छन् ।
अघिल्लो यात्राको बेला पन्द्र बीस जनामात्रै अट्ने सानो डुंगाबाट नौका विहार गरेको थिएँ । अहिले ? अहिले त पचासभन्दा बढी बोक्ने ठुलो बोट चलिसकेको रहेछ । यात्राको आधा भन्दा बढी दूरी तय गरिसक्दा पनि बसन्तजीहरुसँग सम्पर्क नभएपछि म खिन्न नै थिएँ । एक्कासी उहाँहरु मीरघाट नजिक देखिनु भयो । टोलीको पहिचानको लागि घिउ रंगको टोपी दिएको थियो आयोजकले । यो टोपी नै उहाँहरुको पहिचानका लागि सहायकसिद्ध भएको थियो । उहाँहरुलाई देख्ने वित्तिकै हामी चढ्ेको डुंगा मीर घाटतिर मोडियो । साथीहरु हात हल्लाउँदै कराउँन थाले तर हामी सबैको आवाज उहाँहरुसम्म पुगेन, फोन लागेन । फोन नलागेपछि डुंगा रोकेर उहाँहरु बसिरहनुभएको राजेन्द्रप्रसाद घाटमै गएर बोलाउन चन्द्रजी जानु भयो । तर त्यही बस्दाबस्दै बसन्तको फोन आयो, दशाश्वमेघ घाटबाट । हामीलाई नदेखेपछि आफूसँग भएका साथीहरुलाई राजेन्द्रघाटमा नै राखेर यताउता खोज्न जानु भएको रहेछ र त्यहाँबाट कोही अरुको मोबाइल सेटबाट हामीलाई सम्पर्क गर्नुभएको थियो । कुरा के भएको रहेछभने, सबै टेम्पो सँगै जाने तय भएको थियो र कुन घाटबाट डुंगा लिने कुरा तय भएको थिएन । बाटोमा पछि परेको दुई टेम्पोका दश जना यसरी छुटेको थियो । हामी सबै मीर घाटमा रहेको जानकारी भएपछि बल्ल सबै एकत्रित भयौंं अबको हाम्रो गंगामा डुंगाको यात्रा रमाइलो बन्यो ।
त्यो डुंगाका नावक हामीलाई विभिन्न घाटको परिचय सहित, उसले थाहा पाएजतिको जानकारी दिंदै थियो । मलाई चाहिं घाटतिर हेर्ने कि पारीपट्टीको समुन्द्र सम्झाउँने गंगालाई हेर्ने भइरहेको थियो । डुंगाले बनाएको पानीको लहर, हावाले गर्दा पानीमा देखिएको लहर, चराहरुको सामूहिक उडान, गंगामा चंगा उडाउनेको रमाइलो ! अहो ! केही समय त डुंगाको टुप्पामा बसेर फोटो पनि नखिची बसिरहें, आनन्द मानेर ! गंगाको चिसो हावा खाँदै, हावामा कपाल उडाउँदै ! यतिबेला छोरालाई धेरै मिस गरें । डुंगाका सबै साथीहरु यो समयलाई मेमोरियल बनाउन फोटो र भिडियो खिच्न व्यस्त थिए भने त्यहीको एक फोटो ग्राफर पनि डुंगामा चढेर अनुरोध गर्नेहरुको फोटो खिच्दै थियो । उसले पोर्टेबल प्रिन्टर ल्याएर तत्कालै फोटो प्रिन्ट निकालेर दिने हुँदा एकपछि अर्को गर्दै ऊसँग फोटो खिच्न हौसिएका थिए थुप्रै साथीहरु । एक जनाको ६० रुपैयाँ भारुमा । उसले निकै व्यापार गर्दो रहेछ, यसरी नै ।
गंगाको यात्रामा यो पटक थाहा भयो प..रको आकाश छोएजस्तो गगनचुम्बी पुलमा त गाडी पनि गुड्दो रहेछ ! टाढाबाट देख्दा झोलुंगे पुल, हिंड्नको लागि मात्र होला भन्ने ठानेको थिएँ मैले । करीब करीव पुलमुनि पुगेपछि हामी फर्कियौं र झर्यौं ललिता घाटमा । नेपाली रानी ललितत्रिपुरासुन्दरीको नामबाट राखिएको रहेछ यो घाट । घाटका् ठिक माथि रहेछ, नेपाली मन्दिर । नेपाली शैलीमा नै बनाइएको । नेपाली वातावरण नै पाइन्छ त्यहाँ । अलि बेर त्यहाँ अलमलिएर बाराणासीको गल्ली गल्ली हुँदै अगाडि बढ्यौं ।
हाम्रो समूहमा निकै बृद्ध बृद्धा पनि भएकोले बृद्धा आमाको हात मैले समाएर हिंडिरहेको थिएँ । उहाँहरु हिंड्न गाह्रो हुने हुँदा बाराणासी बजार नघुम्ने, सपिङ नगर्ने, सिधै सारनाथ जाने हुनुभयो । हाम्रो पनि त्यस्तै योजना भएकोले हामी करीव पाँच बजेतिर अर्को टोलीसँग छुट्टियौं, थोरै बजार घुमेर दुइटा टेम्पो लिएर सारनाथतिर लाग्यौं । हामी छुट्टिनु अगाडि सबै टेम्पोमैं जाने कुरा थियो, सोहीअनुसार हामी गयौं ।
बाटो जताततै जाम र ब्लक भएको कारण घुम्दैघुम्दै बल्लबल्ल राती ८ बजे सारनाथ पुगियो । पहिलो पटक केही वर्ष अघि जाँदा त यति समय लागेको थिएन भन्ने कुरा मनमा गम्दै थिएँ म । धेरै समय लगाएको, घुमाएर लगेको कारण यिनले हामीलाई अर्कैै ठाउँमा त लग्न लागेको हैन ? भन्ने डर मनमा थियो तर हामी हामीबीच कुरा गरे पनि उनीहरुलाई भने त्यसरी सोधिएन । ड्राइभर भन्थ्यो, अब चाँडै पुगिन्छ, बाटो अप्ठेरो भएकोले घुमेर जानु पर्यो । सारनाथ पुगियो ।
सारनाथ पुगेपछि हामीलाई जानकारी दिइएको ठाउँ, चाइनिज टेम्पलमा गएर सोध्यौं, त्यहाँ त कसैको अत्तोपत्तो थिएन । अघिल्लो पटक जाँदा पनि त्यहीं बास बसेका थिर्यौ, कसैलाई नभेटेको र सम्पर्क पनि नभएपछि अब कहाँ जाने ?? परेन फसाद ! कोही नदेखेपछि हामीलाई त्यहाँ पुर्याईदिने टेम्पो ड्राइभरकै मोबाइलबाट आयोजकलाई सोधियो, सम्पर्क भयो । उहाँले पहिलो व्यवस्था गरेको ठाउँमा मिलेन, अर्को ठाउँमा मिलाएर एक छिनपछि खबर गरौंला भन्नुभएपछि हामी त्यही बाटोमै बसेर एक्कैछिन आगो ताप्यौ, चिया र चप खाएर बस्यौं । त्यहाँ बस्दा बस्दै सबैजना जाडोले काम्न थालेका थियौं । दिउँसो गर्मी भएकोले ज्याकेट, ओढ्ने सबै गाडीमैं छोडेको थिएँ । त्यसमाथि हामीसँग त बृद्धबृद्धा पनि हुनुहुन्थ्यो । उहाँहरुलाई हेर्दा निक्कै माया लाग्यो । नौ बज्न लाग्दा पनि आयोजकसँग सम्पर्क गर्न नसकिएपछि फेरि फोन खोज्ने क्रममा त्यही चिया पसलेको मोबाइलबाट आयोजकलाई सम्पर्क गर्दा उनले एएफसी रेष्टुरेन्टमा बोलाएका थिए ।
उक्त रेष्टुरेन्टमा के कस्तो व्यवहार भयो भन्ने तीतो अनुभव त सुरुमै उल्लेख गरिहालें । जसोतसो त्यहाँ खाना खाएर बास बस्ने ठाउँतिर लाग्यौं । यो बेलासम्म साथीहरु आइपुगेकै थिएनन् । रेष्टुरेष्ट बन्द हुने बेला भइसकेको थियो । पर्खेर बस्ने कुरा भएन । खाने कुरा प्याकिङ भयो र वास बस्नको लागि व्यवस्था गरिएको निजी घरतर्फ लाग्यौं ।
खानाले साथीहरुलाई कुरिरहेको थियो । करीव ११ बजे साथीहरु आइपुगे । एकजनालाई मेरो कोठामा सँगै बस्ने ओम कुमारी दिदीको बारेमा सोध्दा निक्कै झर्किएर थाहा छैन भन्ने जवाफ दिनु भयो । कारण हो, उहाँहरुको सोचाइमा हामी मात्रै छिट्टै आएर आरामसाथ बस्यौ भन्ने । तर हाम्रो सोचाइमा उहाँहरु ढीला भए पनि हामीजस्तो खुल्ला आकाशमुनि जाडोले काम्दै त बस्नु परेन ! सबै साथीहरु हंसीमजाक गर्दै गाडीमा त बस्न पाए ! घुम्न त पाए !
वास्तवमा त्यो दिनमा वाराणासीमा स्थानीय मुख्य मन्त्री र भारतीय प्रधानमन्त्री भ्रमण कार्यक्रमले सबै यातायात व्यवस्थालाई तहसनहस बनाएको रहेछ । यही कारणले पहिल्यै सारनाथ आउँने भनिएको गाडि आउँन नपाएपछि सबै साथीहरुले रिजर्भ गरिएको हामै्र गाडिबाट फर्किने मौका पाए, ढीलै भएपनि । साथीहरुलाई हाम्रो समूहले कन्भिन्स गर्न निकै मिहेनत गर्नु परेको थियो । हामी सुत्दा रातको १ बजेको थियो । सारनाथको चिसो काठमाडौंको भन्दा बढी भएको र साथीहरुको मन त्योभन्दा पनि चिसिएको महसुस गरें त्यो दिनमा ।
भोलिपल्ट विहान ६ बज्दा पनि भान्छे साथीहरु आएनन् । सधैं त यतिबेला विहानको खाजा तयार भईसक्थ्यो, ढिलै सुत्दा पनि । आगरा पुगेको रात सुत्दा तीन बजेको थियो तर पनि यति ढीला भएको थिएन । त्यसैले मैले नै चिया पकाउने चाँजो पाँजो मिलाउन थालें । गर्दागर्दै भान्छे साथीहरु आएर भान्छा सम्हाले । उनीहरुले भान्छा सम्हालेपनि त एक्कै क्षण भनेजस्तो विहानको खाजा तयार भयो । खाजा खाएर हामी सारनाथ घुम्न हिंड्यौं । पहिला हामी बौद्ध स्तूपको भग्नावषेशमाथि हुमायुँले बनाएको बुर्जातिर गयौं । बुद्ध सारनाथ पुगेर पाँच भिक्षुलाई यहीँबाट देखेका थिए रे, अनि त्यसैको संस्मरणमा स्तूप बनाइउको । हुमायुँ आइपुग्दा स्तूप एउटा ढिस्को मात्रै भइसकेको थियो र त्यति बेला भारतमा बुद्ध धर्मको नामोनिशान हराइसकेको अवस्था थियो । र, त्यहाँ बुर्जा बनाइयो । अहिले दुबैको संरक्षण भइरहेको छ । यहाँ हामीसँगै गएका बृद्धबृद्धाहरु पनि रमाएर घुमे, फोटो खिचे । कतिपय ठाउँमा बोकेरै पनि उकाल्नु परेको थियो वृद्धा यात्रीलाई । आयोजकमध्येबाट बोकेरै उकाल्ने तथा झारेर भ्रमण गर्न पाउँदा ती बृद्धवृद्धा निकै रमाएका थिए । यसपछि अग्लो बुद्धको मूर्तिभएको ठाउँमा गयौं । जुन पछिल्लो निर्माण भए पनि यसले पर्यटकलाई मज्जाले आकर्षित गरेको छ । यस पछि सारनाथको मूल आकर्षण अर्थात् आर्कोलोजिकल अर्भे अफ इन्डियाद्वारा संरक्षित स्मारक क्षेत्र । यहीँ हो भगवान बुद्धले कौडिण्यलगायत पाँच भिक्षुहरुलाई पहिलो पल्ट उपदेश दिनु भएको ठाउँ । यहीँ छ, विशाल धम्मेक स्तूप पनि । बुद्ध जीवनीसँग सम्बन्धित महत्वपूर्ण स्थल भएर सम्राट अशोकले यहाँ चिन्हको रुपमा गाडेको ढुंगाको स्तम्भ अहिले टुक्राटुक्रा अवस्थामा संरक्षित गरेर राखिएको छ ।
हामी विहानै गएको हुँदा यहाँको स्तुपलाई कुहिरोले छपक्कै छोेपेको थियो । निक्कै टाढाबाट देख्न सकिने स्तुप विहान त नजिकै गएपछि मात्र देख्न सकिन्थ्यो । यहाँ गेटबाट भित्र छिर्ने वित्तिकै नै देखिने थुप्रै पुरातात्विक संरचनाहरु, शान्त र सरसफाई युक्त वातावरणले जो कोहीलाई मोहित तुल्याउने गर्दछ । त्यहाँ विभिन्न देशबाट पर्यटकहरुमा बौद्ध धर्मप्रति देखिने अगाध आस्था, व्यवहार देख्दा मैले हाम्रो देशको कपिलवस्तुलाई झल्झली सम्झेंंं । जहाँ सरसफाई र फूलको बगैंचा त टाढाको कुरा उम्रिएका बुट्यान, झाडीमा डढेलो लगाएर हेर्दैै उजाड लाग्दो बनाइएको छ । यद्यपि पछिल्लो समय हिंड्नको लागि काठको बाटो बनाइएको छ ताकि पर्यटकले पुरातात्विक संरचनाबाट नहिंडून् ।
आर्कोलोजिकल गार्डेनबाट निस्केर मूलगन्धकुटी विहारभित्र पस्यौं । विहार नयाँ नै हो तर भव्य । विहारभित्रको भित्ते चित्रकला बेजोड नै मान्नु पर्दछ । यहीँ पाँच भिक्षुलाई धर्मउपदेश दिइरहेको मूर्तिहरु आकर्षक रुपमा बनाइएका छन् । सारनाथको विकासमा श्रीलंकाली अनागारिक धम्मपालको योगदानको कदर गर्दै उहाँको मूर्ति पनि ठड्याइएको छ । उनीसँग सम्बन्धित वस्तुहरु राखी बेग्लै म्युजियम संचालित छ । त्यहाँ जैन मन्दिरलगायत अन्य स्थलहरु घुमिसक्दा विहानको १०ः३० भइसकेको थियो । घुम्न सकिएपछि बसेको ठाउँमा गएर खाना खायौंं । खाना खाने क्रममा थाहा भयो, आजको घुमाई निकै रमाइलो भयो, आनन्द आयो । यति बेलासम्म हिजोको गलत बुझाई पनि स्पष्ट भइसकेको थियो र साथीहरुको त्यो रिस त रफुचक्कर भईसकेछ !