Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

मणि दानस्थल मणिचुड दह

Posted on March 2, 2022March 9, 2022 By बसन्त महर्जन No Comments on मणि दानस्थल मणिचुड दह
बसन्त महर्जन

भूकम्पले क्षतिग्रस्त प्राचीन नेवार वस्ती साँखुलाई तलै छाडेर हामी चढेको गाडी उत्तरतिर हुुइँकिएको केही बेरमा नै उकालो सुरु भयो । हामी मणिचुड दहलाई गन्तव्य बनाएर हिडेका थियौं । बाटोको दायाँ बज्रंयोगिणी मन्दिरको ढोकैमा पुुग्दा पनि गाडीअगाडि बढेको पारा हेर्दा लाग्दथ्यो, हिड्नै नपर्ने गरी मणिचुड दहसम्मै पुर्यादिन्छ । बज्रयोगिनी हामीमध्ये कसैका लागि पनि नौलो थिएन र फर्केर आउँदा मन्दिरमा पस्ने योजना त थियो नै ।

प्रसिद्ध बौद्ध तीर्थस्थल मणिचुड दहसम्मको यो यात्रा मेरो दोस्रो हो । त्यहाँसम्म पुग्ने मोटर बाटो पहिला त थिएन, अब बन्यो कि ? आजभोलि हिड्ने बाटो मास्ने र मोटर बाटो बनाउने एक खालको लहर देसैभरि चलेको छ, कुनै विचार धारा वा फेसन जस्तै । यहाँ पनि यस्तै नहोला भन्न सकिन्न । पहाडमा घुुमाउरो बाटो, पटक पटक आइराख्ने मोडहरु र अप्ठ्यारो ड्राइभिङ, साधारण कुरा हुन्छ । यहाँ पनि यही साधारण कुरा देख्न पाइन्छ । तर एक ठाउँमा पुुगेर गाडी घ्याच्च रोकिन्छ र भन्छन्, ‘‘माथिसम्म लान अलि नमिल्ला जस्तो लाग्यो । तपाईहरु गएर आउनुस्, त्यस्तै दश पन्द्रह मिनेटमा पुगिन्छ ।’’

‘नहिडेको बाटो हो र ? अनि, खुब पुगिन्छ दश पन्द्रह मिनेटमा’ भन्न मन लागेको त हो । भनिनँ । मनमनै फिस्स हाँसे मात्र । मोटर गुड्न मिल्ने गरी फराकिलो  पारिएको बाटो अगाडि अझै बाँकी छ । घन्टाभन्दा बढी हिड्नु पर्दछ । नमिल्ला जस्तो छ भनिसकेको ड्राइभरलाई कर गरेर लैजाउ भन्न पनि मिल्दैन । यति हिड्नुुपर्छ उति हिड्नुपर्छ भनेर पहिलो पल्ट आएकालाई  अनि अत्याएर तर्साउनु पनि उचित थिएन । यही भएर हिड्दै जाउँ, पुगिन्छ भनी दिएँ ।

थुम्काहरुलाई गन्तव्य बनाइ हिड्दा एउटा रमाइलो हो, आफू जति जति उकालो लाग्दै अग्लिँदै गइन्छ, एक छिन अघि टेकेको भुुइँ पनि होचिँदै जानु । अघि हिडेको साँखु वस्ती आधा घण्टाको उकालोपछि हवाइजहाजको झ्यालबाट हेरेजस्तो भइसकेको थियो । फर्केर हेर्दा तल साँखु बजार अनि दायाँतिर खास्ति चैत्य (झ्यारुङ खास्योर, बाैद्ध) तथा त्यस वरिपरिका गुम्बाहरुको दृष्यपान भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्वयम्भू डाँडा मात्रै होइन, मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य र महामञ्जुश्रीको डाँडा पनि छर्लंगै देख्न पाउँदा हाम्राे समूहका सदस्यहरुको मनमस्तिष्क उल्लासमय भइसकेको उनीहरुको हाउभाउमा राम्रैसँग पढ्न सकिन्थ्यो । सहरी वातावरणमा अभ्यस्तका लागि ग्रामिण परिवेश पनि दर्शनीय नै हुन्छ । विहानी वातावरण छिप्पिदै मध्य दिनतर्फ लम्कँदै गरेको जनाउ घामको रापले दिइरहेको थियो । हिड्नमा कोही सक्ने, कोही नसक्ने । साथमा ल्याइएका साना साना छोराछोरीहरुको हिडाईले सबैलाई चुनौती दिइरहको थियो भने उनीहरु आफ्नो अग्रसरतालाई कायम राख्न हौसिरहेका थिए ।

यात्रा लोटस एकेडेमिक कलेजको आयोजनामा भएको थियो । बौद्ध अध्ययनसँग सम्बन्धित अध्यापक र विद्यार्थीको सहभागिता छ ।

बोधिसत्व राजा मणिचुडसँग सम्बन्धित बौद्ध स्थल हो, याे ठाउँ । गौतम बुद्ध एउटा पूर्व जन्ममा बोधिसत्व मणिचुड थिए र बोधिचर्या गर्ने क्रममा आफ्नो शिरमा रहेका मणि नै दान गरेका थिए । ‘मणिशैलचुडावदान’ मा वर्णित दानगाथा यही ठाउँ त्यहीसँग सम्बन्धित मानिन्छ । त्यसअनुसार बाेधिसत्व पहिला साकेत देशको राजकुुमार थिए र उनी गर्भमा छँदा नै रानीलाई धार्मिक कार्यमा अभिरुचि बढेको थियो । बोधिसत्व जन्मेकै बेला शिरमा सूर्यको रश्मी समान जाज्वल्यमान मणि थियो । उक्त मणिको लक्षण भनेको रोगीहरुलाई मणिको जल पिलाएमा रोग निको हुने, आँखा नदेख्नेलाई मणि छुआईदिएमा आँखा देख्ने, दुर्भिक्ष भएमा मणिजल छर्किदिएमा सुभिक्ष हुने थियो ।

बोधिसत्व युुवावस्थामा पुुगेपछि राजा बनाइए । दानधर्ममा अभिरुची राख्ने क्रममा जसले जे माग्यो त्यही दान दिन एक दिन विशाल दानशाला नै बनाए । यो दान कर्म स्वर्ग प्राप्तीका लागि नभएर सम्यकसम्बोधि लाभका निमित्त थियो । यसरी दान धर्म गरिरहँदा ईन्द्रको आसन तात्यो र राक्षसको भेषमा आएर मांसहारी भोजनको माग गरे । राजाले आफ्नाे घाँटी रेट्न तरबार उठाएकै बेला पृथ्वी कम्पन भएको थियो ।

साधनाका लागि बोधिसत्व मणिचुड साकेत छाडेर अन्यत्र लागे । त्यसको केही समयपछि साकेतमा दुर्भिक्षको मार पर्यो । रोगव्याधीले पनि सतायो । यस्तो बेलामा बोधिसत्वको शिरमा रहेको मणि छुवाएको पानी छर्किदिँदा सुभिक्ष सुरु हुने निष्कर्षमा सबै भद्रभलादमी पुुगे । बोधिसत्व मणिचुडको खोजी हुँदा वर्तमान साँखुु माथिको डाँडामा साधना गरिहरको कुरा थाहा पाए । मणिका लागि मान्छेहरु खटाइए । साकेतको समस्या समाधानका लागि मणि दिन तयार भए, बोधिसत्व मणिचुड । आफ्नो शिर करौतीले रेट्न लगाए र मणि निकालेर दहमा पखाले । र, बोधिसत्वले आफ्नै हातले मणि दान गरेकै बेला पृथ्वी कम्पन भयो । मणि दान गरेपछि देवगण जम्मा भई विभिन्न प्रकारका फूलले पूजा गरे । यसरी मणिचूड राजाले दान पारमिता पूरा गरेको स्थान भएकोले यो ठाउँ बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल बन्यो र ‘मणिचुड दह’ नाम रह्यो । शिर रेटेर मणि निकाल्न लगाएको स्थान मणिचूड डाँडाबाट झण्डै डेढ घण्टा तल झर्नु पर्ने रहेछ । त्यहाँ रहेको गुफालाई मणिगुफा भनिन्छ ।  हामी त्यही मणिचुड दहमा जाँदैथियौं । जनै पूर्णिमाको दिन डाँडा माथिको यस मणिचूड दहमा मेला लाग्ने गर्दछ ।

एक ठाउँमा आइपुगेपछि खुल्ला र समतल भूमि टेक्न पुुग्छौं । त्यहाँबाट अगाडि बढ्दा दुुई सैनिकले रोके । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो यो । खानपानको बन्दोबस्त साँखु बजारमा नै हो । निकुञ्जभित्र के के गर्न पाइन्छ र के के गर्न पाइँदैन भन्ने जनाउ दिइन्छ । चुरोट सल्काउन नपाउने र सलाई बुुझाएर जानुु पर्ने रहेछ, हाम्रो समूहमा चुुरोट खाने कोही पनि थिएनन् । पशुपंक्षी मार्न नपाइने, जनाउ दिए, पञ्चशील पालनामा आफ्नो धर्म देख्नेहरुबाट यस्तो काम कुरा हुने कुरै भएन । वातावरण संरक्षणमा बौद्धहरुको यो आनिवानी एउटा उदाहरण वा आदर्श नै बन्न सक्छ । त्यसमाथि ‘एप्लाइड बुद्धिज्म’ पढ्नेहरु, वातावरणको संरक्षणसम्बन्धी पाठ्यपुस्तक नै पढ्नुपर्ने ।

अगाडि बढ्दै गयौं । विभिन्न उपसमूहमा भिन्नाभिन्नै विषयवस्तुको कुराकानी पनि हुँदै थियो । प्राध्यापकीय भूमिकामा रहेको हुनाले हुनसक्छ, आफूूसँग हिड्नेहरु बौद्ध विषयवस्तुकै बारेमा कुरा गर्ने । कतिपय प्रश्न सोधियो भने कतिपय जवाफ पनि दिइयो । साथै, कतिमय सुनियो पनि । बौद्ध विषयवस्तुको ज्ञान आर्जन गर्ने राम्रो मौका भइरहेको थियो ।

डेढ घण्टा जतिको उकालो चढिसकेपछि एउटा खुल्ला चौर आइपुग्यो । चौरको एक छेउमा रहेको गणेशको मूर्ति धार्मिक महत्वको हुँदै हो, साथसाथै कलाका दुष्टिले पनि उल्लेखनीय मान्नुपर्दछ । नेपालमण्डलको बज्रयानी बौद्ध समाजमा गणेशको मूर्तिले बेग्लै अर्थ राख्छ भने प्रायः धार्मिक स्थलमा गणेशको मूर्ति चाहिने मान्यता छ । यही चौरको सितल छहारीमा सुस्ताएर पछाडि परेका सदस्यहरुलाई कुुर्यौं । अलि निकै बेर पर्खनु पर्यो । यही पर्खाइका बीच पनि अनेकौं कुरा भयो । रमाइलो नै भयो । फोटो पनि खिचियो । र, सबै आइपुुगेपछि पुनः बाटो लाग्छौं । त्यहाँबाट एक दुुई मिनेटको जंगलको बाटो पन्छयाउँदै गएपछि खुल्ला ठाउँको बीचैमा पोखरी देख्यौं । यही हो, मणिचुड दह । यस स्थलमा हामी पश्चिमबाट प्रवेश गरेका हौं ।

दहमा त्यति धेरै पानी छैन । प्रायः सुुकेको अवस्था भन्दा नि हुन्छ । यो ठाउँको मुख्य कुरा यही दह हो, यसको परिक्रमा कोही एक पल्ट गर्छन् त कोही तीन पल्ट परिक्रमा गर्नु पर्छ भनेर तीन पल्ट नै परिक्रमा गर्दछन् । यति पल्ट नै गर्नु पर्छ भन्ने विधि कहीँ उल्लेख भएको पाइँदैन, त्यसैले होला कोही कोही सात पल्टको मान्यता राखेर सात फन्को लगाइरहेको पाइन्छ । कोही यहाँ पुुगेपछि पवित्र जल भन्दै सिसिमा भरेर लान्छन् । अलिमाथि सानो धाराबाट आइरहेको चिसो पानी यहाँ जम्मा भएको हो ।

दुुई व्यक्तिले करौंतीले बोधिसत्वको टाउको रेटेर मणि निकाल्ने प्रयास गरिरहेको मूर्ति उत्तरतर्पm देख्न पाइन्छ । मूर्ति नयाँ नै हो तर कसैले क्षति पुुर्याइसकेको छ । दहको पश्चिम दिशामा केही चैत्यहरु छन् जसमा प्राचीनता देख्न पाइन्छ । छेवैमा एउटा शिवलिंग र त्यसको अगाडि ढुंगाको साँढेको मूर्ति रहेछ ।

डाँडाको टुप्पो र जंगलको बीचमा रमाइलो वातावरण थियो । धार्मिक तथा सांस्कृतिक महत्वको ठाउँ त हो नै, साथसाथै जैविक विविधता र जीवजन्तुुहरुका लागि पनि महत्वपूूर्ण ठाउँ हो । भनिन्छ, नेपालमा मात्रै पाइने काँडेभ्याकुर पनि भनिने इन्डेमिक पक्षी ‘स्पाइनी व्याब्लर’ यहाँ पाइन्छ । पर्खन पाएको भए काँडेभ्याकुर पनि देख्थ्यौं तर समयले साथ दिएन । भ्याए मणिगुफामा पनि पुुग्ने योजनालाई स्थगन गरी गएकै बाटो फर्क्याैं।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: पाेखराहुँदै जनकपुर
Next Post: आहा ! रुप्से, फेरि भेटौंला !!

Related Posts

गुफा डाँडामा उक्लिंदा नियात्रा
वाग्द्वारमा वैशाख १, २०६६ नियात्रा
वनारसकाे घुमाइ, आफ्नै हेराइ नियात्रा
छोएर पनि देख्न नपाएको समुद्र नियात्रा
रूरूमा रूमल्लिँदै नियात्रा
सोलुको चमक नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme