Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

देश चिनाउने आन्तरिक पर्यटन

Posted on February 28, 2022March 8, 2022 By बसन्त महर्जन No Comments on देश चिनाउने आन्तरिक पर्यटन
बसन्त महर्जन

कोरोनाको कहरमा नेपालमा पनि धेरै कुरा बदलिएको छ । ढलमलिँदो पर्यटन उद्योग त धराशयी नै भयो । यो उद्योग अब कसरी बौरिन्छ भन्ने चिन्तन भइरहेकै बेला केही अघि सरकारले ल्याएको आन्तरिक पर्यटनमुखी कार्यक्रम आशालाग्दो छ । समाज पूर्ववत् आफ्नो लयमा हिँडेपछि मात्रै कार्यान्वयन गर्न सकिने भए पनि यो त्यत्ति टाढाको कुरा होइन । तर, आन्तरिक पर्यटनलाई पुरानैपाराले चल्ने छाँटकाँटबाट जोगाउन नितान्त जरुरी छ ।

विगतमा पर्यटन वा पर्यटक भनेर हाम्रो सोच वा दृष्टिकोण तेस्रो मुलुकबाट आउने पर्यटकमा केन्द्रित थियो । आर्थिक क्षेत्रमा यसको योगदान जति देखिए पनि समग्रमा त्यो आँकडा कम नै हो । ती पर्यटकले गर्ने कुल खर्चमा थोरैमात्र अंश नेपालमा भित्रिने वा रहने हो । नेपालको आफ्नै उत्पादनको खपत पनि खासै हुँदैन । उनीहरूका लागि चाहिने खानपानदेखि अनेक कुरा बाहिरबाटै आयात गर्नुपर्ने हुन्छ । कतिपय सन्दर्भमा उनीहरूको ट्राभल एजेन्सी, टुरिस्ट गाइड तथा होटेल ‘बुकिङ’ आदिमा पनि नेपालीको पहुँच थोरैमात्र हुन्छ । यस्तो अवस्थामा नेपाली अर्थतन्त्रलाई थोरैमात्र योगदान दिएको हुन्छ । तर, आन्तरिक पर्यटकको खर्च बढीजसो नेपालमा नै रहने र आफ्नै उत्पादनको खपत यसमा हुने भएर वास्तवमा यो लाभदायक पनि छ ।

नेपालमा पर्यटन भनेर प्राकृतिक सौन्दर्यलाई मात्र बुझ्ने चलन पनि छ । मनमोहक पहाड, पर्वतको भूदृश्य, नदीनाला, प्राकृतिक बनोटमात्रै नभएर, सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमशृङ्खलाहरू यहाँको आकर्षण हुन् । तर, पर्यटन उद्योगको आकर्षण भनेर यतिमात्रै बुझ्नु धेरै हदसम्म साँघुरो सोचाइ हो । प्राकृतिकबाहेक विविधतापूर्ण जातीय समूह र तिनको सामाजिक, साँस्कृतिक, ऐतिहासिक तथा परम्परागत कुरा छन् । ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भमा नेपालका यी विषयवस्तु विश्वकै लागि उल्लेखनीय तथा नेपालमा मात्रै देख्न पाइने आकर्षण छन् । यी मौलिक कुराको संरक्षण र प्रचार–प्रसारमा लगानी गर्नु समग्रमा देशको अत्यावश्यक ठाउँमा काम गर्नु हो भने यो स्वतः पर्यटन उद्योगमा आकर्षण थप्नु पनि हो ।

नेपालको विविधताका सम्बन्धमा नेपाली नै अनभिज्ञ हुनु सुखद पक्ष होइन । राष्ट्र र राष्ट्रियताको भावना आफ्नो राष्ट्र र राष्ट्रियतालाई नजिकबाट हेर्न पाएमा बलियो हुने हो । यस अवस्थामा देश दर्शन भनौँ वा आन्तरिक पर्यटन, यसले राष्ट्र र राष्ट्रियताको विकासमा ठूलै टेवा पु¥याउने हुन्छ भन्नुमा दुईमत नहोला । यथार्थवादी भएर भन्नुपर्दा भौगोलिक रूपमा नेपाल एकीकृत भए पनि सामाजिक र साँस्कृतिक रूपमा पनि टिप्पणी गर्नै नपर्नेगरी नजिक भन्न मिल्दैन । हिमाली क्षेत्रको जनजीवनले तराईको जनजीवनलाई नजिकबाट चिन्ने पाइएको छैन भने पश्चिम नेपालको जनजीवन पूर्वी नेपालको जनजीवनबारे अनभिज्ञ रहेको पाइनु राज्य सञ्चालनमा देखिएको खोट हो । भिन्नाभिन्नै पृष्ठभूमि रहेका जनजीवनलाई बुझ्न विशाल दृष्टिकोण आवश्यक पर्छ तर हिन्दु धर्म, संस्कृति र हिन्दुशास्त्रहरूलाई मियो बनाएर बुझ्ने र बुझाउने प्रवृत्तिले एकाङ्की हो । यसले ती विविध सामाजिक, साँस्कृतिक तथा परम्परागत कुराहरूलाई मास्नु र एउटैमात्र पहिचानले छोप्नु हो । स्थानीय कला, साहित्य, संस्कृति, इतिहास, आस्था र विश्वाससँग सम्बन्धित विषयवस्तुलाई बुझ्न नसकेर वा बुझेरै पनि हठात् हिन्दुकरण गरिएको पाइन्छ । हिन्दु धर्म र परम्पराको कुनै प्रभाव नै नभएको गाउँठाउँ तथा नदीनाला एवम् हिमालहरूको नामाकरण हिन्दुअनुसार गरिने तथा गाउँठाउँ, नदीनाला तथा अनेक कुराको स्थानीय भाषा एवम् परम्पराअनुसारको नाम फेरिदिनु पनि विविधतालाई मास्नु नै हो । यस्तो विविधतालाई मास्नु मानवीय निधिलाई क्षति पुर्याउनु त हो नै, साथसाथै पर्यटन उद्योगलाई पनि यसले असर पारेको हुन्छ ।

नेपालीलाई नेपालको चिनारी दिनु आजको टड्कारो आवश्यकता हो । यो ज्ञानको अभावमा स्वयम् नेपाली नेपालका बारेमा अनर्गल कुरा गरिरहेको पाइन्छ भने कतिपय नीति निर्माता कुहिरोमा हराएको कागजस्तै हुने गरेको पाइन्छ । यो स्थिति देशकै लागि दुर्भाग्यपूर्ण हो । यो समस्याको निराकरण आन्तरिक पर्यटनबाट हुन सक्छ । आन्तरिक पर्यटनका लागि सरकारले ल्याएको कार्यक्रम निजामती कर्मचारीका लागि एक महिनाको बिदा हो । निजामती कर्मचारीबाहेक अन्य सर्वसाधारणलाई पनि ध्यानमा राख्नुका साथै यसलाई सिक्ने र सिकाउने लक्ष्य बनाउनुपर्छ ।

नेपालको एउटा पर्यटकीय क्षेत्र पोखरा हो भने यसको पहिचान बढीजसो फेवाताल र यहाँबाट देखिने माछापुच्छ्रे हिमालका रूपमा प्रचार–प्रसार गरिएको पाइन्छ । प्राकृतिक विषयवस्तुका अलावा पोखरामा नै नेवार जनजीवन अर्को आकर्षण हुन सक्छ । गन्धर्व समुदायलाई चिन्ने सबैभन्दा उपयुक्त ठाउँ पोखराको बाटुलेचौर हो । कतिपय ब्राह्मण समुदायको विशिष्ट पहिचान पोखरामा देख्न पाइन्छ । लमजुङ, पर्वतलगायतका क्षेत्रबाट पोखरा झरेका गुरुङ समुदायलाई पनि यहाँ राम्रैसँग देख्न पाइन्छ । विभिन्न जातीय सम्मिश्रण रहेको पोखरामा जातीय सङ्ग्रहालय बनाएर कुन जाति कहिले आए र कसरी विकास गरे भन्ने जानकारी दिन सकियो भने अन्य जातीय समुदायका अलावा सम्बन्धित जातीय समुदायलाई नै कम रोचक हुँदैन । चितवन तथा सौराहालाई वन्यजन्तुमात्रै होइन, थारू जातिको सामाजिक तथा साँस्कृतिक जनजीवनबारे थाहा पाउने थलोका रूपमा पनि विकास गर्न सकिन्छ । यस्ता क्षेत्रहरू नेपालमा अनेकौँ छन् । नेपालका विभिन्न क्षेत्रलाई प्राकृतिक रूपमा मात्रै नभएर जातीय र संस्कृतिका रूपमा पनि पहिचान दिँदा एक नेपालीले अर्को नेपालीलाई व्यावहारिक रूपमा चिन्ने मौका पाइन्छ । विविध जातीय संरचना रहेको नेपाली समाजबीच अन्तरघुलन गराउनु जति आवश्यक छ, त्यति नै यो चुनौतीपूर्ण पनि छ । एउटाको पहिचानबाट अरूको पहिचानमा प्रभाव पार्ने र प्रभावित वा विलय गर्ने हिसाबले नभई, सबैले आ–आफ्नो पहिचान कायम नै राखेर एक–अर्कासँग चिनापर्ची गर्ने हुनुपर्छ । एक–अर्काको संस्कृति–संस्कार तथा परम्पराहरू कति मिल्छ वा मिल्दैन भन्ने कुराको अवलोकन गर्नु पनि कम रोचक विषय होइन । यस्तोखालको अन्तक्र्रियाले विभिन्न जातीय समुदायले नराम्रा कुरा छाड्ने तथा राम्रा कुरालाई अपनाउने हुन्छ । साथै चलनचल्तीबाट हराइसकेका आफ्नो कुराहरूलाई पुनर्जीवन दिन पनि प्रोत्साहित गर्ने सम्भावना छ ।

आर्थिक गतिविधिका कतिपय माध्यम विविध जातीय सम्पदाहरू पनि हुन सक्छ । तिनका सीप तथा परम्परागत उत्पादनलाई बजारीकरण गर्ने राम्रो अवसर आन्तरिक पर्यटन पनि हो । बाह्य पर्यटकको सम्भावना अबका केही वर्षसम्म ज्यादै न्यूनमात्र हुने आँकलन छ तर राम्रोसँग सञ्चालन गर्ने हो भने आन्तरिक पर्यटनले नै यो उद्योगलाई धान्न सक्ने पनि देखिन्छ । चीनलगायत कतिपय देशको पर्यटन उद्योग आन्तरिक पर्यटनबाटै फस्टाइरहेको सन्दर्भमा नेपालले यसतर्फ ध्यान दिनुको विकल्प छैन ।

(गाेरखापत्रबाट साभार )

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
विमर्श

Post navigation

Previous Post: पाल्पाको भैरवथान
Next Post: हेलम्बु

Related Posts

घट्दैछन् घाटु नाच्नेहरू विमर्श
पर्यटन विकासमा लुम्बिनी र भ्रम विमर्श
पर्यटन ब्युँताउने सांस्कृतिक आकर्षण विमर्श
काठमाडौंमा ‘गुफा पर्यटन’ विमर्श
पर्यटकलाई स्वागत गर्ने चेपाङ समुदायको चाह विमर्श
नियात्रा लेखन विमर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme