पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ

पाल्पा घुम्न जाने, तर भैरवथान नपुग्ने ? यो त हुनै सक्दैन ।
तर पटक पटक पाल्पा गएर पनि त्यहाँ पुग्न नसक्दा सँधै थकथकी लागिरहेको भने थियो । यस पटक जसरी भएनि पुग्ने दृढता बोकेको थिएँ । अघिल्लो दिन रिदी जाँदा बसमा गएको, बाटैमा पर्दो रहैछ, बसको झ्यालबाट देखेको । राति सुत्दा नै भोलिको विहान भैरवथानका नाममा भाकेर सुतेको, विहानै उठेर तम्तयारी गरी निस्कें पनि । तर गाडी पाइनँ । पर्खें, पर्खें । बल्ल बल्ल आउँछ, चढ्न सक्दिनँ । अर्को कहिले आउँछ, थाहा छैन । आउँछ भनेर पर्खनेहरुको भीड फेरि उस्तै भइसक्यो । बसमा यात्रुहरुलाई गन्द्रूजस्तै कसरी खाँदैर लान्छ र उकुसमुकुमा यात्रा गर्नु पर्छ भन्ने दृष्टान्त अघिल्लो दिनमात्र आफेले भोगेको । फेरि त्यही कोचाकोच र उकुसमुकु ? हैट्, यस्तो यात्रा पनि के यात्रा ?
भैरवथान तानसेनबाट टाढा होइन, त्यसो भनेर नजिक पनि छैन । मात्र ९ किलोमिटरको दुरी । विहानको हावा, स्वास फेर्दा नै जीउ लाग्ला झैं ताजा । वरिपरि जता हेरे पनि हरियारी नै हरियाली, आकास पनि छ्याङ्ग खुलेको बिहान । बतासे डाँडा भएर जानुपर्छ । बतासे डाडाँले त २०४७ सालको पहिलो यात्राले नै मोहनी लगाइसकेको थियो । साइनो त पुरानै । यी सबै छाडेर बस पर्खेर बस्नु, हिड्न मन पराउनै यात्रीका लागि कत्ति पनि सुहाउने कुरा होइन । अनि लम्कियो, भैरवथानलाई गन्तव्य बनाएर ।
तानसेन बजारको सिरानमै पर्दछ बतासे डाँडा । डाँडामा पहिले एक घर पनि थिएन । अहिले ? अहिले त घरैघर । होटेलै होटेल । उहिलेको बतासे डाँडा अहिले कत्ति पनि बाँकी रहेन कसरी भनुँ ? यहाँ चल्ने हावाको गतिमा फरक आएको छैन । यहाँ पुग्दा अतीतमा अलि भुलें पनि । तर गन्तव्य त भैरवथान नै हो । मलाई मेरो गन्तव्यले यस्सरी तानिरहेको थियो, चुम्बकले तानेजस्तै र मेरो दुरी घट्दै थियो । हरियो परिवेशमा कालोपत्रे बाटो लम्पसार परेको थियो । कहिलेकाहीँ त्यो बाटोमा सानाठुला गाडी गुड्ने बाहेक सुनसान नै भन्दा हुन्छ । मज्जाले लम्किरहेको थिएँ । कोचाकोच भरिएको बस चढेर उकुसमुकुसका साथ गरिने बस यात्रालाई नकार्न सकेकोमा आफै मख्ख पनि थिएँ ।
बतासे डाँडा, लिपमदेवी, सामाकोट हुँदै उही रफ्तारले लम्कदै अगाडि बढें । सिमेन्टीले बनायएको केही घरहरु आइपुग्यो । त्यसको केही मिटरको दुरीमा लहरै बाह्र पन्ध्र वटा घर भएको एउटा बजार आइपुग्यो । यसलाई पाल्पा हटिया पनि भनिन्छ । कुनै बेला पाल्पाको केन्द्र यही रहेछ । घरहरुको बनावट र वातावरण मलाई पटक्कै नौलो लागेन । मेरो हुर्काइबढाइ नै यहाँ भएको र अहिले घर आँगनमा फर्केको जस्तो पो महसूस भयो । यस्तो हुनाको खास कारण हो, नेवार परिवेश । उहिले नेवारहरु जहाँजहाँ पुग्थे, आफ्नो परिवेश पनि त्यहीँत्यहीँ लिएर जान्थे । जहाँ बस्थे, त्यहाँ बजार बस्थ्यो । र, वरिपरिको जनजीवनलाई सेवा सुविधा पुर्याउँथे । वस्तीहरुलाई गुलजार बनाइदिन्थे । तर अहिले यहाँ सुकेको छ, निचोरिएको कागती अथवा निख्रिएकौ वैश जस्तै । वन्दीपुरलगायतका कतिपय ठाउँमा यस्ता वस्तीहरुले पुनर्जीवन पाएर पर्यटकीय आकर्षणको थलो बनेको छ । कतिपय वस्ती त एकनासले चलायमान नै छ । तर यहाँ घरहरुमा ताला मारेको देखिन्छ, घरहरु कलात्मक नै नभएपनि नेवारको परिवेशकौ इतिहास बताइरहेको थियो । तर, जीवन्तताको अभावमा रौनकता हराइसकेको छ । एकादुका घरमा बस्ने मान्छेहरुले बल्लबल्ल प्राण धानेको छ । झस्स सम्झें, समयले कोल्टे फेर्दै गएपछि एक समयको गुलजार भीमफेदी बजार पनि त यस्तै छ, आजभोलि । यस्तै खालको वातावरण पूर्वी नेपालका धरान धनकुटामा पनि देखेको छु । पाल्पा हटियाको छेवैमा पर्दछ भैरवस्थान, बरु अलि माथि उक्लिएर जानुपर्दछ । भैरवथानले नै यो वस्तीलाई धानिरहेको जस्तो पनि लाग्यो । भैरवथानको प्रचारप्रसार गरी व्यवस्थित रुपमा पर्यटकीय गन्तव्य बनाउने हो भने यो वस्ती पुनः जुर्मुराउने देखिन्छ ।
खुट्किलाहरुको घुमाउरो बाटो हुँदै भैरवथानरित उक्लिन्छु । बाटोको दायाँबायाँ पूजा सामग्री बेच्न थापिएका ससाना पसलहरु अन्यत्रजस्तै छन् । यहाँको विशेषता रोट रहेछ । भक्तजन भैरवलाई रोट चढाएर भक्तिभाव प्रकट गर्दारहेछन् । र त, रोट बनाउने पसलहरु यति धेरै भएको । पकाउन लगाउनेले पकाइदेउ भन्दैमा झट्ट पकाउन सकिन्न, समय लाग्छ, धैर्य चाहिन्छ । खासमा रोटी नै हो तर विभिन्न खाद्य सामग्रीहरु मिसाएर मुछ्दै घिउमा पकाउनु पर्छ । चाँडै चाहियो भन्दैमा आगो ठुलो पारेर कहाँ हुने हो र ? विस्तारै पकाउनु पर्छ । फेरि अरु दश वा¥ह वटा रोटीको मोटाइ खान्छ एउटा रोटले ।
भक्तजनहरुको भीडभाड सकिसकेको अवस्था थियो । मन्दिरको प्रांगणमा प्रवेश गर्छु । प्राङ्गणमा नै जुत्ता फुकालेर राख्ने व्यवस्था बनाइएको रहेछ, फुकालें । भवनको पश्चिमतिर सानो ढोका रहेछ, त्यहाँबाट छिरेर पुनः पश्चिम मोड्नु पर्ने रहेछ र दक्षिण भई भर्याङ चढेपछि भैरवको चाँदीको मूर्ति देख्न पाइन्छ । प्रसाद लिएँ, दक्षिणा चढाएँ । त्यहाँबाट झरेर भित्र भुइँ तल्लाकौ कोठातिर पसें । अँध्यारोमा बिजुली बत्ती बालेर उज्यालो पारेको छ । माताको दर्शन गर्न भनेर यता ल्याइएको हो । यही तल्लाको एउटा कोठामा भैरवको मुख्य मूर्ति राखिएको छ तर देखाइन्न । मूर्ति यत्ति डरलाग्दो छ रे, देख्ने मान्छेको प्राण पखेरु उहीँको उहीँ उडिसक्छ रे । पूजारीले समेत बीचमा कपडाको पर्दा लगाई पूजा गर्नुपर्छ रे । तर यो प्रसंग अलि चित्त बुझ्दो छैन । भैरवसेन नामका एक सेन राजाले यो मन्दिरको निर्माण गराएको र उनैको नामबाट मन्दिरको नामाकरण गरिएको भन्ने भनाइ रहेको पाइन्छ । देखाउन नहुने भनिएको भैरवको मूर्ति वनारसबाट ल्याइएको बताइन्छ । तर इतिहासमा भैरव नामका कुनै सेन राजा नै छैनन् । सोह्राैं शताब्दीमा सेनराज्यका संस्थापक राजा मुकुन्द सेन बरोबर काठमाडौं उपत्यकामा आक्रमण गर्न आइराख्ने र धनमान लुटेर लाने गरेको प्रसंग त प्रमाणित इतिहास नै हो । विभिन्न सन्धिपत्रहरु पाइएका छन् । आक्रमणका क्रममा एक पल्ट यी राजा र यिनका सेनाले काठमाडौंको इतुंबहाल नै कब्जा गरेर बसेका थिए । केलटोलस्थित जनबहाल पनि भनिने मच्छिन्द्रनाथ विहारमा रहेको भैरवको मूर्ति उठाई पाल्पा लगिएको उल्लेख छ । भैरवका मूर्तिहरु महायान बौद्ध धर्मसँग पनि सम्बन्धित भएका कारण यिनका मूर्तिहरुलाई पनि महत्व दिएर नै राखिन्छन् । हाल पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ ।
मन्दिर पूर्व–पश्चिम लम्बिएको छ । मुख्य भाग त पूर्वमा नै पर्छ । झिंगटीको छाना भएपनि पछि मर्मत गर्ने क्रममा सुन मोलम्बा गरेको पित्तलको छाना छाएको, सुन मोलम्बा नै गरिएको तिकिझ्यालले सिंगारिएको छ । पूर्वीभागमा नै ठुलो पित्तलको त्रिशुल ठडयाइएको छ । सबैभन्दा ठुलो भनेर चिनाइने यो त्रिशुल यहाँको आकर्षण पनि हो । यस त्रिशुलमुनि ससाना अन्य थुप्रै त्रिशुल तथा मूर्तिहरु चढाइएका छन् । यही चौकमा पशुपंक्षी लगायतको बली दिने तथा अन्य धार्मिक कृत्यहरु सम्पन्न गरिन्छन् । बली दिने बेलामा यहाँ रहेका सबै घन्टहरु बजाउने गरिन्छ ।
भैरवथान मेरो लागि इतिहास पुस्तकको एउटा महत्वपूर्ण पाठजस्तै भयो । तर, पुस्तक नै भएपनि पाना च्याटिएको, अक्षर पनि धुमिल भइसकेको जस्तै गरी यहाँका कतिपय कुराहरु निकै अस्पष्ट, थपथाप पारिएको र जमिनमुनि पुरिएको प्रतीत भयो । सेनराजाहरुका दरवार यतै भएको त थाहा पाइन्छ तर यसका सम्बन्धमा पनि कतिपय कुराहरु थाहा पाइन्न । खोतल्नु पर्ने अवस्था छ ।