
काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा कसैकाे कपाेल कल्पना थिएन । साहित्यिक स्रोतहरुमा उल्लेखित याे कुरा भाैगर्भिक अन्वेषणबाट पुष्टि भयो । हजारौं वर्ष अघिको तलाउ अहिले एउटा सुन्दर र समृद्धिशाली उपत्यकाको रुपमा विकास भएको छ । तलाउकाे पानी निस्केर तथा सुकेर याे भूमि नव बसाेवास याेग्य भयाे र विकासका चरणहरू सुरू भयाे । उपत्यका निर्माणकाे घटनालाई पछि धार्मिकीकरण गर्ने क्रममा अनेक कथाकहानीहरू पनि बनाउन थालियाे । नेपालको राजधानी सुरूदेखि यही उपत्यकामा रहँदै आएकाे छ ।

गाैतम बुद्ध (ई.पू. ५६३-४८३) काे समय, अर्थात् साढे दुई हजार वर्षअघिकाे काठमाडाैं उपत्यकाकाे वर्णन “मूलसर्वास्तीवादविनयसूत्र” नामकाे बाैद्धग्रन्थमा परेकाे छ । त्यस बेलासम्ममा याे ठाउँ व्यापारिक केन्द्रकाे रुपमा विकास भइसकेकाे पाइन्छ । त्यही बेलादेखिको सामाजिक तथा सांस्कृतिक जनजीवन वर्तमानमा पनि निरन्तर र जीवन्त रहेको पाइनु कम्ती चाललाग्दो कुरा होइन । इतिहासको त्यो प्रवाहलाई यस उपत्यकाका आदिवासी नेवार समुदायले थाम्दै आइरहेको छ । हजारौं वर्षअघिको सभ्यतालाई जोगाउँदै अत्याधुनिक सभ्यतालाई पनि आत्मसात गर्दे प्रतिस्पर्धात्मक विश्वमा छुट्टै पहिचान बनाइराख्न सक्नु अर्को चाललाग्लाग्दो कुरा भएको छ ।
केही हजार वर्षअघिदेखि केन्द्रकाे रूपमा रहेकाे काठमाडाैं उपत्यका वर्तमान नेपालकाे केन्द्रीय राजधानी पनि हाे । महानगर तथा नगरपालिकाहरूले भरिएकाे याे उपत्यका अन्यत्रका नेपालीका लागि पनि आकर्षणकाे थलाे बनेका कारण जनघनत्व बढ्दाे छ । यही रफ्तारले जनघनत्व बढ्ने र यसलाई नियन्त्रण वा व्यवस्थापन गर्न नसक्ने हाे भने काठमाडाैं उपत्यकाकाे वैभवता नकारात्मक रूपमा रूपान्तरण हुने खतरा देख्छन्, विज्ञहरू ।
यस उपत्यकाको चारैतिर हरिया पहाडहरु रमाइला छन् । विभिन्न दिशाका पहाडहरु कुनै न कुनै मिथकसँग समवन्धित छन् र निश्चित दिनहरुमा त्यहाँ नेवारहरु मेला भर्न जाने गर्दछन् । अन्य समुदायका लागि पनि यी स्थानहरु पर्यटकीय स्थल भएको छ ।