Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

पर्यटन विकासमा लुम्बिनी र भ्रम

Posted on February 16, 2022October 10, 2022 By बसन्त महर्जन No Comments on पर्यटन विकासमा लुम्बिनी र भ्रम

गौतम बुद्धको जन्मस्थाल लुम्बिनी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । गौतम बुद्धको जन्मस्थल भएकै कारण यो ऐतिहासिक स्थल भयो र बुद्धकै वचनअनुसार बौद्धहरूले यसलाई तीर्थस्थलका रूपमा विकास गरे । विभिन्न कालखण्डहरूका ऐतिहासिक साक्षीहरू धरोहरका रूपमा रहेका कारण यो पुरातात्विक स्थल पनि भयो । यी तीन वटै कुरा एउटै ठाउँमा हुुनु नै लुम्विनीको विशिष्टता हो र विश्व बजारमा यस्ता स्थलहरू स्वतः विशिष्ट पर्यटकीय स्थल बन्छ ।

लुम्बिनीलाई ऐतिहासिक एवं पुरातात्विक स्थलका रूपमा मात्र सीमित नराखी विश्व वजारमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने सोचाइ बनाएपछि थुप्रै कुराहरूमा ध्यान दिनुपर्ने, पुर्‍याउनु पर्ने हुन्छ । पुरातत्व र पर्यटन दुइ अति नै सम्वेदनशील क्षेत्र हुन् । सोहीअनुसार व्यवस्थापन गर्न सकियो भने दूध र पानी जस्तो मिलन हुन्छ, नभए त्यसैलाई आगो र पानीको उपमा दिन सकिन्छ । लुम्बिनीका सम्बन्धमा थुप्रै यस्ता कुरा छन् जसमाथि लामो बहस चलाउन सकिन्छ । तर यहाँ हालै बौद्ध महिला संघद्वारा आयोजित ‘लुम्बिनी र पर्यटन विकास’ विषयक एक दिने कार्यशाला गोष्ठीमा पर्यटनविद् एवं व्यवसायी कर्ण शाक्यद्वारा प्रस्तुत कार्यपत्रभित्र रहेको पीपलको बोटको प्रसंगमा मात्र केन्द्रित रही केही चर्चा गरिन्छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिरको पूर्वी छेउमा रहेको पीपलको जरा मन्दिर र अशोक स्तम्भसम्म फैलिएको र समयमै त्यसलाई नरोक्ने हो भने पुरातात्विक कुरामा असर पार्ने हुँदा सन् १९९३ तिर काटिएको थियो । कार्यपत्रमा लुम्बिनीको परिकल्पना गर्नासाथ ठूलो पीपलको बोट र मायादेवीको मन्दिर याद आउने गरेको र त्यस रुखको धार्मिक महत्व रहेको उल्लेख छ । उक्त रुखको महत्व बताउने क्रममा त्यसलाई ‘बोधिवृक्ष’ पनि भनिएको छ । त्यस रूख काटिएपछि वनस्पतिविद्हरूले त्यसबाट ‘टिस्यू कल्चर’ गरेर केही विरुवाहरू निकालिएको थियो र त्यसैबाट ‘थप विरुवा उत्पादन गरी ‘विक्रीवितरण’ तथा ‘उपहार’ प्रदान गर्न सकिने उपाय त्यसमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा पर्यटन प्रवर्द्धनमा गजबको उपाय र उत्साहजनक जस्तो देखिए पनि वास्तवमा यो कुरो होइन, भ्रमको पोको मात्र हो । पर्यटन उद्योग विश्वासमा अडेको हुन्छ र यसमा अलिकति पनि तलमाथि पर्नु विनास नै हुनु हो । त्यस माथि झूठो बोल्नु त बौद्ध समाजमा दैनिक जीवनमा अपनाउनु पर्ने आधारभूत पाँच कुरा (पञ्चशील) कै विरुद्धमा जाने हु्न्छ ।

मायादेवी मन्दिरको त्यो पीपलको रुखका बारेमा धेरैलाई के भ्रम परेको रहेछ भने सिर्द्धार्थ गौतमलाई मायादेवीले सोही रुखमुनि जन्माएको हो । यही भ्रमले अनाहकमा मान्छेहरूलाई सम्वेदनशील बनाइदियो । सो रुख काटिएको भनी अदालतमा मुद्दा हाल्ने काम समेत भयो । वास्तवमा त्यो पीपलको रुखले बुद्धको जन्म वा लुम्बिनीसँग कुनै सम्वन्ध राख्दैन । सिर्द्धार्थको जन्म पीपलको रुखमुनि नभई शालको रुखमुनि भएको थियो । चिनियाँ यात्री सेङ-साइ लुम्विनीको भ्रमणमा आउँदासम्म उक्त शाल जीवितै थियो (चौथो शताब्दीको पाण्डुलिपि) भने सन् ४०३ मा पुगेका अर्का चिनियाँ यात्री फाहियानले त्यस रुखका सम्वन्धमा उल्लेख गरेका छैनन् । यसरी नै इसं. ६३७ अघि लुम्बिनी पुगेका चिनियाँ यात्री हुयन-साङले पोखरीभन्दा २४-२५ पाइला उत्तरतिर अशोक वृक्ष (बौद्ध ग्रन्थहरूमा शाल र प्लाक्ष पनि भनिएको पाइन्छ) रहेको भन्ने उल्लेख गरेका थिए । उनको भ्रमणको बेलासम्ममा त रुख सुकिसकेको थियो । पछिल्लो पुरातात्विक उत्खननका क्रममा भेटिएको रुखको ‘फोसिल’ सोही उल्लेखित रुखको हुन सक्ने अनुमान छ ।

अब प्रश्न रह्यो, मायादेवी मन्दिरमा रहेको त्यो पीपलको रुख के हो त – जसमाथि जनमानसमा यति ठूलो प्रभाव छ । ऐतिहासिक भनिएको त्यो पीपलको रुख काटिनु अघि नै पुरानो नभई नयाँ रहेको कुरा थाहा भइसकेको थियो । जनरल केशरशमशेरको पहलमा लुम्बिनीको पुरातात्विक सम्पदाहरूको व्यापक संरक्षण कार्य भएको थियो । त्यस अघि अर्थात् सन् १९३३ तिर खिचिएको एउटा तस्वीरमा त्यहाँ कुनै पनि पीपलको रुख देखिन्नथ्यो । यसबाट बुझिन्छ, त्यहाँ पीपलको रुख उम्रिन थालेको त्यसपछि मात्रै हो । पीपल काटेर वृक्षवृत्त गणना गरी हेर्दा पनि अस्सी वटा मात्र पाइयो । तसर्थ यो करिब अस्सी वर्षो अवधीमा मात्र त्यहाँ उम्रेको देखिन्छ । यसकारण त्यस पीपललाई छब्बीस सय वर्षअघिको ठान्नु र त्यसैको पछि लाग्नु उचित होइन ।

कार्यपत्रमा ‘बोधिवृक्ष’ भनेर मायादेवीले शिशुलाई जन्माउँदा समाएको रुखलाई चिनाइएको छ तर बौद्ध जगतमा बोधिवृक्ष भन्नाले सिर्द्धार्थले गयास्थित जन रुख मुनि बसेर ध्यान गरी बुद्धत्व प्राप्त गरेका थिए त्यसलाइ लिइन्छ । बौद्ध समाजमा बोधिवृक्षलाई अत्यन्तै महत्व दिइन्छ । लुम्बिनीको वृक्षलाई पनि बोधिवृक्ष भनी प्रचार गर्दै हिड्दा नेपाली पक्ष हाँसोको पात्र मात्र बन्ने हुन्छ ।

पीपलको रूख बुद्ध धर्ममा एउटा साधारण वनस्पति मात्र हो, विशेष कुनै अर्थ छैन । टिस्यू कल्चरबाट उत्पादन गरिएको यो वनस्पतिलाई बुद्ध जन्मिएको बेलाको रुख भनेर बेच्नु हुँदैन । यस्तो बेइमानी काम पर्यटन उद्योगमा चलाउनु हुन्न । यो हालसालको मात्रै विवाद नभई रुख काटिदादेखिको नै हो । शाल वृक्ष र पीपल वृक्ष बीचको भेद छुट्याएर अथवा ऐतिहासिक विश्लेषण गरेर त्यस कार्यप्रति आपत्ती जनाउँदा तिनै व्यक्तिहरू ‘लुम्बिनीसम्वन्धी हरेक कुराको महत्व हुने र पुरानो बुद्धकालिन नभएपनि मायादेवी मन्दिरबाट निस्किएको विरुवा भनेर दिँदा पनि भइहाल्छ नि’ भनेर अझै पनि जित्न खोज्छन् ।

तर लुम्बिनीको प्रचारप्रसार गर्न भनेर अघि सारिएको यो उपाय हलुका र सस्तो छ, राम्रो होइन । लुम्बिनीका लागि त्यस्ता सानातिना कुराको सहारा लिनु पर्ने अवस्था छैन, यस्ता कुराहरूले झन् नकारात्मक असर पर्ने सबंभावना पनि हुन्छ । यस्ता प्रचार सामग्रीले गंभीर र गुणस्तरका पर्यटकहरूलाई विचलित बनाउने हुन्छ । लुम्बिनीमा पर्यटकहरूलाई आकषिर्त गर्न त्यस्तो उपहारको पनि जरुरत देखिँदैन । बुद्धको जन्म, तीर्थस्थलको रूपमा उहिल्यैदेखि विकास र पुरातात्विक भण्डार नै लुम्बिनीको विशिष्टता हो । यति नै पर्यटकीय स्थलको रूपमा विकास गर्ने पर्याप्त आधार हुन् । प्रचार प्रसार र व्यवस्थापन मात्र गर्न सक्ने हो भने बौद्ध धर्मावलम्बीहरू तथा पर्यटकहरू आफै आउने छन् ।

(Gorkhapatra Dainik, Saturday, 17, 2010)

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
विमर्श

Post navigation

Previous Post: ‘गन्तव्य लुम्बिनी’ किन लेखियाे ?
Next Post: वनारसकाे घुमाइ, आफ्नै हेराइ

Related Posts

पर्यटकलाई स्वागत गर्ने चेपाङ समुदायको चाह विमर्श
धर्मको बर्काेमा पर्यटनकाे खेला विमर्श
लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने उपाय विमर्श
नियात्रा लेखन विमर्श
काठमाडौंमा ‘गुफा पर्यटन’ विमर्श
कोरोनापछि आन्तरिक पर्यटन विमर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme