Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

झरी, कविता र धरान-भेडेटार 

Posted on July 26, 2023July 26, 2023 By admin No Comments on झरी, कविता र धरान-भेडेटार 
जीविका अश्रु

मध्य वर्षा। मानो रोपेर मुरी फलाउने बेला। अर्थात्, असारको १४ गते।

हुन त हामी सहर बस्नेलाई के थाहा कहिले कृषकका लागि महत्त्वपूर्ण दिन अथवा महिना हो भन्ने। जंगल पसे पो बाघ देखिन्छ।साहित्यको भूत जो सवार छ, मन मस्तिष्कमा। पाउनु खानु केही छैन। एउटा कविता सुनाउनकै लागि सयौं किलोमीटरको दुरी पार गरेर दौडिन्छौं। अझ भनौं हजार किलोमीटर पनि दौडिन पछि हट्दैनौं। हामीले लेखेका कविताले कति सचेत गराउछ सरकारलाई? कति जागरुक बनाउछ समाजलाई? अहँ थाहा छैन। तर एउटा भोक सधैं लागिरहन्छ। त्यो हो साहित्यिक भोक।

हो साहित्यको भोक मेट्न म धरान उपमहानगरपालिका  वडा नं. १३ को अभिभावकत्वमा  दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक महोत्सव २०८०- को कार्यक्रम (असार १५ र १६) को लागि निस्किने तयारीमा लागें। हामी अर्जुन यावा राई, अस्मिता राई र म थियौ । अर्जुन र अस्मिता राङ्काबाट आउनुपर्ने । आकाशले घुम्टो उघार्नु त कता हो कता पानीको फोहरा नै छोडेको थियो। त्यस्तो झरीको पनि पर्वाह नगरी स्कुटरमा आइपुगे बाबू छोरी। हामी तीन जना भएर लाग्यौं देउरालीको बस स्टेशन तर्फ। यत्तिको पानी झरीमा पनि यसपटक भने बाटोघाटो राम्रै रैछ। कतै जाममा नपरी पानीट्याङ्की पुग्यौं। अर्जुन भने भ्लगको लागि छोटो छोटो भिडियो बनाउनमा ब्यस्त देखिन्थे। पानी राेकिन छाँटकाँट छैन । विद्युतीय रिक्सामा काँकडभिट्टा जाँदै गर्दा नेपाल बोर्डरमा परिचय पत्र देखाउनु पर्दोरहेछ र नाम चढाउदा रहेछन बहीमा। हामी ती प्रक्रिया पूरा गरेर  लगभग ११ः३० तिर काँकडभिट्टा पुग्यौं । काँकडभिट्टामा भारतीय  लेखक, साहित्यकारलाई स्वागत गर्न गाडी  सहित आयोजकका तर्फबाट धरान १३ का वडा अध्यक्ष नेत्र काफ्ले , समाजसेवी तथा वरिष्ठ कवि बम देवान,  गजलकार विवश बलिभद्र कोइराला, कवि विष्णु नेउपाने, दिपक सुवेदी, मनिकुमार खत्री आदिको उपस्थिति थियो। गाडीमा चढेपछि बम देवान र विवश दाइले  स्वागत मन्तव्य राखे र सबैलाई रुद्राक्षका माला लगाइदिएर सम्मान गरिएको थियो।

…

अब हाम्रो यात्रा तय भयो धरानसम्मका लागि। गाडीको अगाडिको सिटमा थियौं म र अस्मिता। मेरो सिटको बिपरित तर्फको सिटमा हुनुहुन्थ्यो साहित्यकार ज्ञानेन्द्र खतिवडा अनि असम नेपाली साहित्य समाका अध्यक्ष दुर्गा खतिवडा। नजिकैको सिटमा रण काफ्ले र बिष्णु निरौला। हामी तीनजना खतिवडा जम्मा भएका थियौं। एकछिन थरको बारेमा पनि रमाइलो गर्दै आयौं । हुन त अन्य थरका पनि धेरैजना हुनुहुन्थ्यो होला तर चर्चा खतिवडाको खुब चल्यो। कालूसिंह रनपहेंली सरले घरीघरी कुरा निकालिरहने। जेहोस गर्मीले छट्पटी भएको बेला पनि बाटो काट्न भने गार्‍हो भएन।अँ हामी यात्रामै छौं । धरान पुग्नु अघि दमक, बेलबारी र झोराहाटमा फरकफरक संस्थाले स्वागत स्वरूप भेटघाट कार्यक्रम राखेका रहेछन् ।

दमक पुगेपछि गाडी रोकियो। दमकमा स्वागतका लागि  बिन्दु दाहाल, हरि पराजुली, एन.बि. दाहाल लगायतका थुप्रै साहित्यकार थिए। कला संगम दमकको सभाहलमा सबै भेला भयौं र परिचय साटासाट गर्यौं। केही  भारतीय केही नेपाली कविहरुका कविता सुन्ने सुनाउने कार्यक्रम भयो। एक घण्टा आसपास कार्यक्रम सकियो। खाजापानको व्यबस्था मिलाएको रहेछ। खाजा पश्चात्  हामीलाई लिएर कला संगमका पदाधिकारीहरु हामी सँगै हाम्रो यात्रामा मिसिनु भयो।

त्यस्तै चार बजेको हुँदो हो, हामी बेतना सिमसार, बेलबारी पुग्यौं । बेलबारी नगरपालिकाका प्रमुख लगायत साहित्यकार ईरान राई, तिला लेकाली, रेखा सुवेदी, बादलदेवी चम्लिङ आदिको बाक्लो उपस्थिति थियो। मुख्य प्रवेशद्वारबाट पस्ने बित्तिकै हामीलाई देव्रेतर्फ रहेको सभाहलमा लगियो। फेरि उस्तै स्वागत, उस्तै रुद्राक्षका माला, खादा , उस्तै कार्यक्रम , उस्तै परिचय साटासाट ।

नेपाल र भारतका विषेश व्यक्तिबाट मन्तव्य राखियो। कविता वाचन भए। बेलबारीका नगर प्रमुखले बेतना सिमसार विशेष किसिमले महत्त्वपूर्ण रहेको जानकारी दिए। विश्वबाट लोप हुँदै गरेको मयुर कछुवा यस सिमसारमा पाइने कुरा हामीले जान्न पायौं । भेटघाट कार्यक्रम सकिएपछि एकैछिन हामीले बेतना सिमसार भित्र रहेका केही सुन्दर दृश्य तिर आँखा डुलायौं। फोटो खिच्यौं। पोखरीमा माछा अनि नाऊसँग अल्मलियौं। उता अर्जुन यावा भने छोटो छोटो भिडियो बनाउनमा तल्लीन देखिन्थे। सिमसारमा जाँदा हाम्रो बायाँतर्फ ठूलो कमिलोको आकृति देखियो। त्यो बनाउने कलाकार हुनुहुदो रहेछ बिक्रमश्री दाजु। कलाकारका सुन्दर कला र प्राकृतिक सौर्न्दर्यले भरिएको यो पार्कमा बसिरहुँ, हेरिरहूँ, रमाइरहूँ जस्तो भएको बेला मनिकुमार खत्री दाजुले लौ रात पर्यो चाँडै गर्नुस् भन्दै हामीलाई बाटो लगाउने काम गरे। बेलबारी यत्तिमै छोड्दै थिएनौं हामी । अब खाना खान त्यसै थियो। बजार बीचको कार्की होटेलमा पुगेर खाना खायौं र लाग्यौं झोराहाट तर्फ। 

बिराट चोकबाट लगभग २० किलोमीटर होला झोराहाट। विराटचोक छोडेपछि हरैंचा, नेताचोक, तेतरिया हुँदै  हामी ४५ मिनेटजति गुडेपछि साँझ छ बजेतिर पुग्यौं झोराहाट।

गेटमा हलोजुवा राखिएको थियो।हामी हलोजुवाको गेट कटेर साँघुरोबाट यसो अलिकति भित्र पस्यौं।चौरमा भरत गुरागाँईं बर्बरिक, रोहिणी रसिक र पृन्स प्रमोद ढकाल लगायत अन्य कलाकारको समूह तयार थियो स्वागत गर्न। यहाँ भने केही फरक प्रस्तुति थियो। हामी झोराहाट नाटक घरमा नाटक हेर्न पुगेका थियौं। समय एकदम कम भएकोले हामी हलतर्फ प्रवेश गर्यौं। हंगेरीका उपन्यासकार Frigyes Karinthy को refund नामक नाटक शुरु भयो। यो नाटक झोराहाटका सर्जक अनिष लुइँटेलले  नेपालीमा अनुवाद गरेका रहेछन् । भरपुर आनन्द लियौं नाटकको र फेरि मायाघर इटहरीबाट तयार गरेर ल्याएको सेलरोटी र गुन्द्रुकको अचार खाएर हामी बिदा भयौं।

…

समयले त हामीलाई कहाँ पर्खन्छ र! आफ्नै रफ्तारमा चलिरह्यो। हाम्रो गाडीपनि आफ्नै रफ्तारमा चलिरहेको थियो। हामी झोराहाटबाट निस्किएपछि मिलनचोक, घिनाहाघाट, पुष्पलाल चोक, राजवंशी चोक हुँदै मेन रोड भेटेर गाडी उत्तर लाग्यो। हामीले ढाट कटेपछि विराटनगर छोड्यौं। बुढी खोला, दुहबी हुदै खनार कटेर इटहरी आइपुग्यौं। इटहरीमा पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग  भेटियो; जुन राजमार्ग हामीले विराट चोकबाट छोडेका थियौं। फेरि महेन्द्र राजमार्ग छोडेर हाम्रो गाडी उत्तर तर्फ बढ्यो। इटहरीबाट अठार किलोमीटर माथि पहाडको काखमा धरान सहर अवस्थित छ। हामीलाई हतार छ धरान पुगेर विश्राम गर्न। तर गाडी भने  भरखरै तरहरा पुग्दैथियो। तरहराबाट जंगलको यात्रा शुरुहुन्छ। त्यो जंगललाई चारकोशे झाडी भनिन्छ। पहाड र तराई बिचको यो चारकोशे झाडी पूर्व मेचीदेखि महाकालीसम्म नै छ भन्ने सुनेकी हुँ। अहिले त बजारीकरणले गर्दा मेचीदेखि महाकालीसम्म छ छैन थाहा छैन। जहाँसम्म लाग्छ बिचबिचमा जंगल मासिइसकेको होला।

साँझ ढलेर रातले आफ्नो गन्तव्य पक्ढ्यो। हामी घरानको मध्यभाग घण्टाघर अगाडिको बसपार्कमा पुग्यौं । गाडीले हाम्रो भान्साघर नामक होटेल अगाडि हामीलाई पुर्यायो र चाँडै गरेर खाना खान मणीकुमार दाइले सुझाए। हामी माथिल्लो तला चढ्यौं। फराकिलो र सफा  हलमा पसेपछि अझ आनन्द महसुस भयो।धरानको घण्टाघर, भानुको सालिक र बसपार्क  बिजुली बत्तीको मधुरो उज्यालोमा रमाइलो देखिन्थ्यो। सफा र सुन्दर शहर देखेपछि  हामी फोटो खिच्न थाल्यौं । कसैले मेरो नाम लिदै भन्यो “जीविका अश्रु हामी फोटो नखिच्ने?” मैले सहर्ष स्विकार्दै फोटो खिचें। उनी थिइन् कवि लक्ष्मी अच्युत ढुंगाना । उर्लाबारीबाट सँगै आएकी कविता पूर्ण नेपालले हतारिदै लक्ष्मीतर्फ इंगित गर्दै सोधिन् –  “जीविका अश्रु तपाई हो?” अर्जुन यावा फोटो खिचिदिदै थिए, हामी हास्यौं र मैले भने म हुँ जीविका भन्ने। हामी सँगै आएका । मलाई त तपाईले चिनेको होला भनेर चुप लागेकी नि! कविता हाँस्दै आएर भनिन्  ” हामी साथी छौं नि फेसबुकमा। म तपाईंले सञ्चालन गर्ने सिक्किम गजल मञ्चको साप्ताहिक कार्यक्रम सुन्छु/हेर्छु। कस्तो भेट गर्न मन थियो!” हामीले यस्तै केही गनथन गर्दै फोटो खिच्यौं। खुशी लाग्यो मलाई पनि। 

खाना पछि पुनः त्यही बसबाट हामी ९ः३० तिर वसन्त स्मृति भवनमा गयौं जहाँ भारतबाट  गएका सर्जकका लागि बसोबासको व्यवस्था मिलाइएको थियो। लामो यात्राले गलेर हैरान भएर होला कसैसँग बातचीत नगरी विश्राम गर्यौं।

भोलिपल्ट अर्थात असार १५ गते बिहान हामीलाई शोभायात्रामा सहभागी बन्नु थियो।असारको दिन आकाशले बादलको छातीबाट थाम्नै नसक्ने पानी वर्षाउदै थियो। चिया पिउने बानी। चुपलागेर बस्नै सकिएन। असमका साथीहरु र हामी तीनजना बाहिर निस्किएर चिया पसल खोज्दै सोध्दै बसेका थियौं। यत्तिकैमा मैले अटो रोकेर अर्जुन र अस्मितालाई लिएर लागें लक्ष्मी चोकतर्फ। लक्ष्मी चोकमा आमाबा हुनुहुन्छ । असारको पन्द्र दही चिउरा खाने दिन। घरमा पुग्दा असाध्यै खुशी लाग्यो। पूजाले चिया बनाइन्।साथमा दही चिउरा आँप ल्याइन्। आमा बा भने बाहिर निस्किनु भएको रहेछ। हामीले चिया खाइसकेपछि आउनुभयो। साथमा मिलनपनि। हामी केहीबेर पछि निस्कियौं। शोभायात्रामा जानु थियो। शोभायात्रा लक्ष्मी चोक आइसकेको रहेछ हामीपनि मिसियौं र लाग्यौं कार्यक्रम स्थल।

बाटोको देब्रेतिर छ धरान ब्याङ्कुइट हल। हलभित्र मान्छेको बाक्लो उपस्थिति थियो। बाहिर सिमसिम पानी परेपनि भित्र गर्मी नै थियो। हलको उत्तर तर्फ खानाको ब्यवस्था मिलाइएको रहेछ। सबै व्यवस्था एकदम राम्रोसँग मिलाइएको। मन्त्री अशोक कुमार राईको प्रमुख अतिथि र प्रा.डा.भीम खतिवडा विशिष्ट अतिथि भएको यस कार्यक्रममा साभापती भने वम देवान हुनुहुन्थ्यो ।

असमबाट जानु भएका असम नेपाली सम्मेलनका अध्यक्ष दुर्गा खतिवडा, सिलगडीका कृष्ण प्रधान, ज्ञानेन्द्र खतिवडा, कालूसिंह रनपहेली लगायतका अग्रज साहित्यकारहरु अग्रपंक्तिमा हुनुहुन्थ्यो। 

नेपालको राष्ट्रगान गाएर कार्यक्रमको शुरुआत भयो। कार्यक्रम गर्ने शैली तौरतरिका त प्रायः सबै ठाँउ उस्तै त हो नि! दीव प्रज्वलन,स्वागत मन्तव्य , शुभकामना मन्तव्य आदि । स्रष्टा सम्मानपनि भयो। पहिलो सत्र सकेपछि कविता वाचनको कार्यक्रम थियो। अबेलासम्म कविहरु कविता सुन्न सुनाउनमा रमाइरहे/ रह्यौं।

हामी तीनजना अर्जुन अस्मिता र म मेरी बहिनी सितासँग धरानमा रहेका पर्यटक तथा धर्मिक स्थल घुम्न निस्कियौं। ओशो पार्क गयौं । ओशो पार्कको मास्तिर भित्तामा वि.पि.कोइरालाको पूर्ण कदको शालीक थियो भने उत्तरतर्फ हालका मेयर हर्क साम्पाङले नामाङ्करण गरेको श्रम-संस्कृति पार्क रहेछ। यसैपार्क भित्र धरानको स्तभ रहेछ। फलफूलका बिरुवा रोपेर पाखै सुन्दर बनाइको रहेछ। त्यसैपार्कको भित्तातिर पानीको ट्याङ्की बनाइएको देखिन्थ्यो। जुनचाहिँ धराने मेयर र धराने जनताको श्रमबाट ल्याइएको पानी रहेछ। खोलामा बेञ्चहरु राखिएको। फूलका बोट लागएर चिटिक्क सिंगार्ने काम भैरहेको रहेछ। पहिले जत्रतत्र छरिएर बसेका चिया नास्ता पसलका छाप्राहरु हटाएर पुलको तल्लो छेउमा सानो लामो आकारमा निर्माण गरिएको घरमा केही कोठाहरु निकालेर पसलका निम्ति दिइएको रहेछ। ती कोठाहरुबाट मासिक ११ सय रूपैया नगरपालिकाले नै उठाउने गरेको रहेछ। यसोहुँदा पसलेलाई र नगरपालिका दुबैलाई फाइदा भएको अनुमान लगाएँ मैले । 

खोलामा ठुला ठुला ढुङ्गा, ती ढुङ्गामा कतै बाघ,कतै नाग कतै हाँस आदिका चित्र कुँदिएका थिए। मनैमन सोचें,  हेर्दा सुन्दर लाग्ने यी कलाकारका सीपलाई कालान्तरमा कसैले भेट्नेछ्न। आश्चर्य मान्दै पुरातत्त्व विभागसम्म खबर गर्नेछन् र पुरातत्त्व विभागले यस ठाउँमा देवी देवताको बास भएको र सो ढुङ्गामा भएको नाग भगवान शिवको पूजा आराधना गर्न बसेको भनी प्रमाणित गर्नेछन् र यस ठाँउमा ठूलो शिव मन्दिर नबन्दा भन्न सकिन्न।…..

म सोचिरहेकै थिएँ, यस्तै के के । सीताले “यहाँ मात्र हेरेर बसेर हुन्छ? ल जाउँ अब अन्य ठाँउ” भनेपछि पो झस्केंछु। हामी यो सुन्दर पार्कबाट निस्कियौं। टेम्पो ड्राइभरसँग सीताले नै कुरा गरिन्। पञ्चकन्या मन्दिर पुर्याएर बुढासुब्बामा छोड्ने सर्तमा टेम्पो रिजर्भ गर्यौं। टेम्पो चालकले पाली रुपैयाँ चार सयमा हामीलाई उक्त स्थान पुर्याउने शर्तमा लागे ओह्रालो।हामी फेरि फुस्रे चोक हुँदै धरान-धनकुटा सडक कटेर फेरि उकालियौ धरानको पूर्वीपाटो। चिल्लो सडक, राम्रो बाटो हामी मिलिक्कै पञ्चकन्या मन्दिर पुग्यौं। जंगलको बीचमा अवस्थित यो सुन्दर मन्दिरको छेउमा पाथिभरा युमा मन्दिर पनि रहेछ। फर्किन मन त कहाँ थियो र! सुनसान , शीतल ठाउँबाट । तरपनि मन्दिरको बाहिरबाट नै मनले दर्शन गरेर ओह्रालियौं बुढासुब्बा मन्दिरतर्फ।

बुढासुब्बा मन्दिर अलग्गै इतिहास बोकेको मन्दिर हो। यहाँ मन्दिर आसपासका क्षेत्रमा भएका बाँसको टुप्पो छैन। भक्तजनले  बुढासुब्बाको बाँसमा आफ्नो नाम अथवा प्रेमी  प्रेमिकाको नाम लेख्नाले सोचेको कुरा पुग्छ भन्ने विश्वास पाइन्छ। तर अहिले बढी नै बाँसमा लेखिने र त्यसरी बाँसमा लेख्दा बाँस मर्ने भएकोले बाँसको संरक्षण खातिर तारजाली गरिएको रहेछ र मन्दिर आसपास अथवा बाँसको त्यसै तारजालीको लाइनमा धागो बाध्नाले आफ्नो मनोकामना सिद्ध हुन्छ भन्ने विश्वासले सबैले धागो बाँध्दा रहेछन् । अर्जुन र अस्मिताले पनि त्यहाँ धागो बाँधे। मैले भने उनीहरुको फोटो खिचिदिएँ।

समय छोटो थियो हामीलाइ धार्मिक पर्यटन गर्नु अझै थियो। दन्तकाली र पिण्डेश्वर मन्दिर पुग्नु थियो। बुढासुब्बाबाट पैदल  दस पन्द्र मिनेटमा हामी दन्तकाली भगवतीको मन्दिर पुग्यौं। साँझ झमक्क भैसकेकोले भजन गर्ने समय भएको रहेछ। मन्दिरका बाहिरका घण्टहरु बजाइरहेका थिए भक्तजनहरु।मलाई भने कोलाहल महसुस भैरहेको थियो। केही समयपछि घण्टहरुको आवाज रोकियो। मन्दिरको दैलो खुल्यो।अर्जुन मन्दिरभित्र गए। म भने बाहिर मुल दैलोमा तस्बिर लिनमा नै ब्यस्त रहें। सम्झनास्वरुप केही तस्वीर लिएपछि हामी पुनः अर्को मन्दिर पिण्डेश्वर्तर्फ लाग्यौं । यतिबेला बेलुकाको सात बजिरहेको थियो।

मन्दिर अगाडि पोखरी रहेछ। रातको अध्यारोले स्पष्ट देख्न सकिएन तरपनि मन्दिर दर्शन गरे भाइ बहिनीले। म मुख्य प्रवेशद्वारबाट बाहिर फूलमाला अनि प्रसादका दोकानहरुमा नै रमाइरहें। रंगीचंगी माला, पोते आदिले बेग्लै सुन्दरता थपेकोझैं लाग्यो। मन रमाइलो मैरह्यो। कोही भगवानरुपी मूर्तिसँग भेटेर दर्शन गरेर खुशी हुन्छन् म भने बाहिरको वास्तविक जीवनको अवस्था हेरेर खुशी भएँ, हुन्छु। समय बित्दैथियो  हामीले कार्यक्रम स्थलमा भोजनका निमित्त जानु थियो। लगभग एक घण्टाको हिंडाइले मेरो खुट्टामा दुखाइ असैह्य भएको थियो। अब म एक पाइलो हिंड्न नसक्ने भएकी थिएँ। फेरि टेम्पोको ब्यबस्था गर्याैं र लक्ष्मी चोक अर्थात कार्यक्रम स्थल आयौं ।

खाना खाएर पुनः वसन्त स्मृति भवन गयौं ।

अर्कोदिन बिहानैबाट कविता वाचन थियो। बेलुका भने सात प्रदेशबाट सात गजलकारका गजल सुन्ने अवसर मिल्यो।गजल मुसायरा भव्य रुपमा सम्पन्न भयो। त्यसपछि पुनः कविताको पालो। यावत् रितले कार्यक्रम सकियो।  

आयोजकका तर्फबाट धरानका स्थानीय पर्यटकीय स्थल घुम्ने घुमाउने योजनामा साथीहरु सरिक हुनुभयो। हामी भने थोरै समय निकालेर हिजो नै घुमेको भएर समूहमा घुम्न निस्किएनौं। असार १६ गते साँझ कार्यक्रम सकिएपछि हामी सीताकोमा बस्यौं । नन्दभाउजूका दु:खसुखका गफ भए। भाञ्जा भाञ्जीसँग बस्यौं । सत्र गते बिहान भेडेटार जान तयार भयौं तर पानी उस्तै दर्केको। त्यही पनि अर्जुन धरान पहिलोपटक पुगेकोले हामीलाई पनि घुमफिर गरेरै जाऊ भन्ने लागेकोले गयौं । तर राम्रोसँग घुम्न पाएको हैन। भेडेटार धरानबाट मात्र १६ किलोमीटरको दुरीमा पर्छ तर धरानको तुलनामा निकै चिसो। त्यही चिसोको आनन्द लिन भारतको बिहारबाट पनि पर्यटकहरू ओइरोलाग्छ। पाथिभरा देवीको मन्दिर, भेडेटार पार्क अनि टावर छ यस ठाउँमा।भेडेटारबाट तल हेर्दा धरानको दृश्य देख्न सकिन्छ। यही धरानको सुन्दरता हेर्न र चिसोको आनन्द लिन प्रायः पर्यटक यस ठाउँमा जाने गर्दा रहेछन् ।

तोङ्बा, सुकुटी र थुक्पा यहाँ धेरै नै चलनचल्तीका खानेकुरा रहेछन् । हामीले पनि थुक्पा खायौं। पानी अलिक बिधो भएपछि हामी धरान बजार झर्यौं। धरानको बगरकोट लाने सीताको इच्छा थियो । हामी पनि जान हतारिएका थियौं। यो छोटो समयमा पनि हामी बगरकोट गयौं। खोला किनारको बस्ती, बस्ती पनि के भन्नु र शहर नै रहेछ बगरकोट। दिनभरी कम र राती चल्ने पसलहरु, सेकुवा र रक्सीमा झुम्ने ग्राहकहरु। हामी पनि सेकुवा खान नै गएका थियौं। एककिसिम रमाइलो भयो। 

बगरकोटमा एकछिन समय बिताएपछि  पुनः भानुचोक आयौं र घण्टाघर चढेर धरानको दृश्य निहाल्यौं।पार्कमा फोटो भिडियो नखिच्नु भनेको हाम्रो इच्छा विपरीत कुरा थियो। अँ तर अस्मिता भने फोटो खिच्न मन पराउदिनन रहिछन् । पार्कबाट बाहिर निस्केर बजार पस्यौं। बजार घुम्दाघुम्दै 1 बजिरहेको थियो।अर्जुन र अस्मिता सिक्किम फर्किन हतार गर्दै थिए।त्यसैले छोरी अस्मितालाई राई जातीको जातीय पोशाक किनेर हामी फुस्रेतर्फ लाग्यौं । दिनको दुई बजेको हुँदो हो अर्जुन भाइ र अस्मिता छोरी काँकडभिट्टातर्फ लागे । म अर्कोदिन बिहान निस्कें।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: सुन्दरीजलभन्दा माथि माथि
Next Post: गुफा डाँडामा उक्लिंदा

Related Posts

हिड्दै हिड्दै विष्णुद्वार नियात्रा
मणि दानस्थल मणिचुड दह नियात्रा
अचानक कालिन्चोकतर्फ नियात्रा
दहचोक हाइकिङ नियात्रा
पाेखराहुँदै जनकपुर नियात्रा
लुम्बिनी–कुशीनगर साइकल यात्रा नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme