Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

लुम्बिनी–कुशीनगर साइकल यात्रा

Posted on March 29, 2023March 30, 2023 By बसन्त महर्जन No Comments on लुम्बिनी–कुशीनगर साइकल यात्रा
बसन्त महर्जन

काठमाडौंबाट निस्कने गाडीहरू धमाधम नयाँ बसपार्कबाट निस्किरहेको थियो । १९ फागनुको त्यो साँझ त्यहाँ भएका सबैको ध्यान निस्कने र निस्कन लागेका यात्रीहरूलाई सघाउनेमा केन्द्रित थियो । म पनि त्यही ठाउँमा साँझ ६ वजे पुगेको, निस्कनकै लागि । अँध्यारो अँध्यारो हुन थालिसकेको थियो । म यताउता हेर्छु । हेर्छु के भनुँ, खोज्छु । भेटाउँदिन । फोन गर्छु, सम्पर्क हुँदैन । यस्तैमा मेरो आँखा हरियो ज्याकेट लगाएका केही साइक्लिस्टहरूमा ठोकिनपुग्छ । नजिक गएर सोध्छु, ‘‘तपाईहरू लुम्बिनी जान लाग्नु भएको हो ?‘‘

– ‘‘हो ।’’

अनि फेरि सोध्छु, ‘‘शान्तिजी कहाँ हुनुहुन्छ ?’’

लुम्बिनीदेखि कुशीनगरसम्म साइकल यात्रा हुन गइरहेको । यसको नाम हो, ‘‘बौद्ध परिपथ साइकल यात्रा’’ । लामो समयको तयारीपछि बल्ल यो यात्रा हुन गइरहेको छ । २०–२२ फागुन (३–५ फेब्रुवरी) पको यो तीन दिने साइकल यात्राको संयोजन कमिटीमा आफूपनि एक सदस्य । यद्यपि आफूलाई साइकल चलाउन आउदैन तैपनि कमिटीमा बसेर काम गरिरहेको । स्पष्ट पारौं, बौद्ध परिपथका सम्बन्धी कुराहरूको जानकारी दिने आफ्नो जिम्मा । साइकलहरू गाडीमा मिलाएर राख्ने काम भइरहेकोले अलि बेग्लै तनाब भनौं वा व्यस्त भइरहेको हो । ६ बजे गाडी गुड्ने भएपनि १ घण्टाभन्दा अगाडि गाडी गुड्न नसक्ने जानकारी भयो । सबै साइकल यात्रीहरूबीच एक आपसमा भलाकुसारी, हाँसखेल र ख्यालठट्ठा पनि भइरहेको । मेरो चिनाजानीको कोही पनि देखिन । यतिकैमा बसपार्क वरिपरि नै घर भएको साथीसँग सम्पर्क भयो र भेटघाटको लागि तुरुन्तै आइपुग्नु भयो । बसपार्कको प्रवेशद्वारनेर बसेर कुरा गरेर बस्यौं ।

साथी बिदावारी गरेर गएपछि आफू फेरि बसतिर गइयो । तर साइकलहरू मिलाएर राख्ने काम अझै सकिएको रहेनछ । एउटा ठाउँमा थचक्क बसियो । वातावरण पूर्ववत् चलिरहेको थियो । एक छिनपछि एक अपरिचित अनुहारबाट मसँग तेर्सिन्छ । फोटो पत्रकार हुनुहुँदो रहेछ । कार्यक्रमको बारेमा थप स्पष्ट पार्दासम्ममा हामीलाई गाडी चढिसक्न निर्देशन आयो । सँगै देखिएको गाडीमा साइकलहरू मात्रै राखिएको रहेछ । हामीलाई अर्कै गाडीतर्फ लगियो र उतैतिर लागियो । मैंले बुझेको, साइकल राखिएको गाडीमा नअट्नेलाई यसमा राख्ने होला । सहचालक भन्नुहुन्छ, ‘‘तपाईहरू यसतर्फमात्र बस्नुस् है ।’’

मलाई भनिएको थियो, गाडी रिजर्भ हो । तर अघिल्लो गाडीमा नअटेर अन्य यात्रीहरूसँग यात्रा गर्नु पर्ने भयो ? यस्तो हो भने त्यति सुविधाजनक नहुने रहेछ । अचानकको यो निर्णय ? हुन पनि सक्छ । चितवनमा लेखक उदय अधिकारीले मेरा प्रकाशित पुस्तकहरूको एक सेट मगाउनु भएको । कति बेला पुगिने हो निश्चित नभएको तथा गाडी रोकेर खोज्ने वा पर्खने सुविधा नहुनसक्छ भनेर सुरुमा पुस्तकको सेट लैजान आनाकानी गरेको थिएँ । रिजर्भ गाडी भएको हुँदा भनेको ठाउँमा रोक्न र केही त्यस्तै पर्याे भने पर्खन पनि सकिने आश्वासन गाडीको व्यवस्था गर्ने शान्तिजीले पनि दिनुभएको थियो । त्यही भएर पुस्तक साथमा ल्याएको । मनमा चिसोपस्यो । सहचालकसँग यो कुरा भनें र निकै सहजसँग सकारात्मक जवाफ पाएँ । अलमलिंदा अल्मलिंदै साइकलहरू हामी चढेको गाडीको पनि राख्न ल्याइयो । नअटेका साइकल रहेछन् । सबै सहभागी यही गाडीबाट जाने रहेछन् । गाडी गुड्दा साढे ८ बजे बजिसकेछ ।

रात्री बसमा सामुहिक यात्रा गर्दा सामान्यतः सुरुमा अनेक गफगर्दै रमाइलो गर्ने र थाकेपछि बिस्तारै निदाउने हुन्छ । कलङ्की कट्दा आठ बज्यो । नागढुंगाको ओरालोमा पनि ट्राफिक जाम । बडो मुस्किलले बस गुड्दै थियो । बस जतिसुकै ढिलो भएपनि मबाहेक अरु कसैलाई कुनै परवाह हुन्छजस्तो लाग्दैन । रातभरमा लुम्बिनी पुगिहालिन्छ, दिनभर हल्लिएरै बस्ने हो । तर मेरो टेन्सन चितवनमा किताब पुर्याउनु जो छ । ११ बजेसम्ममा चितवन पुगिन्छ भनेको । मुगलिम कटेपछि फोन गर्नुपर्ने । आफु निदाउन पुगिएला र फोन गर्न नसकिएला भनेर अरुलाई पनि यसबारे जानकारी दिएँ । उहाँहरू नै पनि निदाउन पुग्ने वा बिर्सन पनि सक्ने डर भयो । सकभर ननिदाउने प्रयास गर्दागर्दै पनि निद्रा लाग्यालाग्यै । मुग्लिम नपुग्दै एक ठाउँमा खाना खान गाडी रोकियो ।

हामी पुगेको ठाउँको नाम दिई खाना खान लागेको जानकारी गराएपछि उहाँले भन्नु भयो, ‘‘ए… बाँकी रहेछ । मुग्लिम पुगेपछि खबर गर्नुस् न है ।’’

चितवनबाटै उदयजीको फोन आयो, ‘‘कहाँ पुग्नु भयो ?’’

जसै मुग्लिम कटियो, फोन गरें । तर मुग्लिम पुग्दैमा चितवन पुग्नु हो र ? बसभित्र सबै निद्रामा मस्त, ड्राइभर क्रूमा बसेका सहयात्रीहरू पनि निद्रामै । यस्तै होला भनी एकभन्दा बढीलाई जानकारी गराएको । ड्राइभरले पनि भुसुक्क बिर्सनु भयो भने चितवनको काम नहुने । मलाई पनि निद्रा लाग्छ, तुरुन्तै बिउँझन्छु ।

घडी हेर्नु, साँच्चै गाडी नारायणघाट कटेर गइसकेको पो हो कि जस्तो पनि लाग्यो । सोध्छु, होइन बाँकी रहेछ । फेरि चुपचाप बस्छु । धेरै बेर पछि अर्थात् उदयजीको फोन पुनः आउँछ । कहाँ पुग्नु भयो भनेर सोध्नु हुन्छ । चारैतिर हेर्छु, निस्पट्ट अँध्यारोलाई चिर्दै गाडी जंगलको बीचबाटोबाट हुइँकिरहेको पाउँछु । ड्राइभरले ठाउँको जुन नाम दिनु भयो, त्यही भनें । निकै वर नै रहेछौं । उहाँ पुलचोक पुगेर पर्खेर बसिसक्नु भएको रहेछ । धेरै बेरपछि गाडी पुलचोक नजिक आइपुगेको जनाउ पाउँछु । यही खबर उहाँलाई दिन्छु । केही बेरपछि गाडी रोकिन्छ । झर्छु । यताउता हेर्छु । मलाई पर्खेर बस्ने त्यहाँ कसैलाई देख्दिन । पुनः फोन गर्छु । उहाँ आइपुग्नु हुन्छ । त्यहाँ त्यो बेला के भएको रहेछ कुन्नी गाडी नरोक्नलाई प्रहरी चिच्याउँदै थिए । उदयजीसँग छोटो भलाकुसारी गरियो र छिटोछिटो पुस्तक सेट दिएर विदावारी भइहाल्यौं । यति बेला रातको दुई बजेको थियो ।

त्यसपछि म पनि गाडीमा मस्तले निदाएँ ।
०००


निद्रा खुल्दा विहानको उज्यालो भइसकेको थियो । गाडी भैरहवाको बाटो गुडिरहेको थियो ।

हाम्रो गाडी लुम्बिनी क्षेत्रको पाँच नम्बर गेटभन्दा अलि पर बाटोको छेवैमा रहेको एउटा बौद्ध गुम्बाभित्र छिर्छ । हाम्रो बसाई यहीं हो । हामीलाई स्वागत गर्न उषाजी बसिरहनु भएको थियो । हामी विस्तारै झर्यौं । भारतको एउटा टोली अघिल्लो दिन नै पुगिसकेको रहेछ । चिनाजान भयो । बसमा रहेका साइकलहरू पनि धमाधम झार्ने काम भयो । टुक्रा टुक्रा पारेर ल्याइएको साइकल पनि जोड्ने काम हुँदै गर्यो । साथै साइकललाई मर्मत कार्य पनि दू्रतत्तर गतिका भयो ।

कोठाको साँचो लिएर सामान राख्यौं । नास्ता पानी गर्यौ । के कसो गर्ने भन्ने कुरा तय गर्यौं । खाना खायौं ।

यो दिन खासै केही कार्यक्रम छैन । यही भएर को कता को कता पुगिरहेका थिए । एक छिन लुम्बिनी बौद्ध विश्वविद्यालयतर्फ लाग्यौं र फक्र्यौं । दिउँसोतिर सहभागी एवं कवि प्रोल्लास सिन्धुलीयलाई लिएर लुम्बिनीभित्र छिर्छौं । पाँच नम्बरको गेटबाट छिरेको भएर पहिला मुस्ताङ गुम्बा आउँछ । र, त्यहाँबाट मायादेवी मन्दिरतर्फ लाग्छौं । तर हामी सुरुमा बाहिर बाहिर बाटै एक राउन्ड लगाउँछौं । मुख्य परिसर बाहिरको वस्तुस्थिति हेछौं । कुनै बेला यता लुम्बिनी विकास कोषको कार्यालय थियो । बगैंचा थियो । राजा महेन्द्रले आफ्नो नाममा खडा गर्न लगाएको स्तम्भ पनि थियो । स्तम्भ त अझै पनि त्यहीँ छ तर भत्किन लागेको अवस्थामा बेवारिसे अवस्थामा पुगिसकेको छ । आजभोलि लुम्बिनी पुग्नेहरू यतातर्फ लाग्दैनन् । पश्चिमतिर निर्माण कार्यहरू भइ रहेका छन् । पश्चिमबाट मुख्य परिसरतिर पुग्ने बाटो बन्दै रहेछ । त्यो ठाउँ कटेर आजभोलि प्रयोगमा रहेको मुख्य गेटमा पुग्छौं र जुत्ता ठाउँमा राखेर प्रवेश गछौं ।

मायादेवी मन्दिरभित्र छिर्छौं । प्रोल्लसजीलाई मन्दिरभित्र प्रदर्शनमा राखिएको पुरावशेषहरूबारे जिज्ञासा उठ्छ, त्यसबारेमा केही भन्छु । सबै कुरा त उस्तै हो तर बुद्धको जन्मस्मारक चिन्ह अर्थात् मार्कर स्टोनलाई सुरक्षित गरिराखेको सिसा फेरेर मण्डप आकारको बनाइसकेको रहेछ । त्यहाँ एक प्रदक्षिणा गर्नुका साथै उहाँलाई केही जानकारी दिन्छु । त्यहाँबाट निस्केर अलि यताउता लाग्छु । यो ठाउँमा आउँदा मलाई जहिले पनि ठुलै लाइब्रेरिमा आइपुगेको अनुभव हुन्छ । म त्यहाँका इँटाहरू दोहाेर्याएर पढ्न थाल्छु । मौन सम्वाद गर्छु् । त्यहाँबाट निस्कने बेलासम्ममा अँध्यारो अँध्यारो भइसकेको थियो ।

भारतबाट साइकलमा आउने अर्को टोलीलाई स्वागत गर्ने बेला पनि भइसकेको थियो । निर्धारित समयमा भनिएकै ठाउँमा पुग्छानैं तर त्यहाँ कसैलाई देख्दैनौं । फोन सम्पर्क गर्दा थाहा भयो, सबै हामी वास बसेको ठाउँमा नै रहेछन् । स्वागतका लागि हिड्न लागिरहेको रहेछ । हामी पनि त्यतैतिर लाग्छौं किनभने प्रोल्लासको साइकल पनि त्यतै छ । साइकलबाट आउनेलाई स्वागत गर्न साइकल चढेरै जाने तयारी भइरहेको छ । काम विशेषले अरु दुई जना र म पुनः निस्केर अलि पर के पुगेका थियौं, भारतबाट आउने साइकल यात्रीहरू बाटोमा देख्यौं । उनीहरू यहाँसम्म आइपुग्नुको अर्थ हो, स्वागत गर्न पूर्वतयारीमा गडवड हुने भयो । उनीहरूलाई यथास्थानमा रोक्यौं । स्वागतमा निस्कन लागेकाहरूलाई छिटोछिटो खबर ग¥यौं । र, तुरुन्तै आइपुग्यो । दुई देशका साइकल यात्रीहरूको भेटपछि एउटा बेग्लै उल्लास बन्यो । स्वागत गर्नुका साथै त्यसैको सम्झनास्वरूप ‘न्यू लुम्बिनी भिलेज’ भित्रको एक ठाउँमा वृक्षारोपण गर्ने कार्यक्रम राखिएको छ । अँध्यारो भइसकेपनि हामी त्यहाँ पुग्यौं । वृक्षारोपन भोलि गर्दा पनि हुने हो, तर भोलि बेग्लै कार्यक्रमहरूको चटारो हुने हुनाले आजै गर्ने निर्णयमा पुगेका हौं । बत्ती बालेरै भएपनि वृक्षारोपन कार्य सम्पन्न ग¥यौं । वरिपरि स्याल कराएको आवाज थियो । अनि फर्केर आयौं ।

साइकल यात्राको दिन । एका विहानै सबै लुम्बिनीभित्र प्रवेश गछौं । हामीसँग भारतबाट आएका साइकल यात्रीहरू पनि छन् । लुम्बिनीका सम्बन्धमा गाइड गर्नु मेरो जिम्मेवारी छँदैछ । लुम्बिनी मात्रै होइन, पूरै यात्राअवधिका लागि बौद्ध स्थल तथा बौद्ध विषयवस्तुमा कसैको जिज्ञासा रहे त्यसबारेमा आफूलाई थाहा भएको कुरा जानकारी दिनकै लागि पुगेको हुँ । त्यहाँ मलाई भताभत जानकारी दिएर मात्रै पनि भएन, भिडियो क्यामेराले पनि पछ्याइरहेको थियो । त्यससँग चाँजोपाँजो पनि मिलाउनु छ ।

मायादेवी मन्दिरभित्र बुद्ध जन्मस्मारक स्थलको दर्शनपछि हामी बाहिर निस्कछौं र पुनः जानकारी दिन्छु । एवंरितले घुम्दै बिस्तारै मायादेवी मन्दिरभन्दा दक्षिणस्थित पोखरीको किनारमा ठुलो रुख मुनिको पुग्छौं । पूर्वनिर्धारित कार्यक्रमअनुसार यहाँ केही समय ध्यानभावना हुन्छ । ध्यानका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मेत्तियलाई आमन्त्रण गरिएको । उहाँ अघि नै आइसक्नु भएकाे र पखेर्र बस्नु भएकाे रहेछ । औपचारिक कार्यक्रम सुरु भयो । सुरुमा उषाजीबाट कार्यक्रमका बारेमा सानो परिचय बोल्नुभयो भने त्यसपछि ध्यानमा बस्यौं । पछि भन्तेले केही बोल्नु भयो । यसपछि त्यहाँबाट विस्तारै अशाेक स्तम्भतिर लाग्छाैं । अशाेक स्तम्भ र लुम्बिनीकाे बारेमा बताएँ । नेपालीमा मात्रै बाेलेर नपुग्ने, हिन्दी पनि चाहिने । नेपाली र हिन्दी एकै पटक बाेलुँ, क्यामेरालाइ नमिल्ने । भाषाकाे याे समस्या चुनाैती नै भइरह्याे । क्यामेरालाइ पनि हुने गरी मैले नेपाली मात्रै बाेल्ने र त्यसकाे अनुवाद गर्न तारालाल श्रेष्ठ अघि सर्नु भयाे तर भारतका साइकल यात्रीहरूमा कतिपय अंग्रेजी नबुझ्ने । उनीहरूका लागि फेरि हिन्दीमा नै जानकारी दिएँ । त्यसपछि शान्तिदीप स्थलतर्फ लाग्छाैं । यहाँ हाम्रो खाजाको व्यवस्था गरिएको छ । सबैको साइकल यतै राखिएको छ ।

नास्तापछि हाम्रो यात्रा अगाडि बढ्यो ।

सोचेको थिएँ, अघिल्लो दिन आएका भारतीय साइकल यात्री अब कुशीनगरसम्मै हामीसँग सामेल हुन्छन् । यस्तो सोच्नु वास्तवमा अपरिपक्वता हो । भर्खर त नेपाल छिरेको छ, बिगूसरायबाट आएका तिनीहरू निकै थाकिसकेका थिए । फेरि आज विहानै भारत फर्कन कहाँ मान्छ र ? नेपालकै केही ठाउँहरू घुम्ने र भारत फर्कने उनीहरूको योजना रहेछ । त्यसमध्यको कोही कोही यात्री मात्र हामीसँग सहयात्री बन्यो ।

निर्धारित समयभन्दा हामी धेरै ढिलो भइसकेका थियौं । हामी जति तेजले अगाडि बढेपनि समय मिलाउन सक्दैसकेनौं । हामी भैरहवा पुग्छौं । स्वागत गरिन्छ । त्यहाँ पनि ढिला नै हुन्छौं । त्यहाँबाट हान्निएर देवदह पुग्छौं । खाजा खान नै ढिला भइसकेको अवस्थामा बल्ल हामी त्यहाँ खाना खान पुग्छौं ।

खानामात्रै खुवाएर विदावारी गर्नुभन्दा देवदहका केही ठाउँ घुमाउन चाहना राख्छन् त्यहाँ । स्वाभाविक कुरा हो । र राम्रो पनि भयो । हाम्रो योजना रामग्राममा वास बस्न जाने हो तर थाहा पायौं, त्यहाँ भोलि विहान मात्रै पुग्ने गरी यतै बन्दोबस्त मिलाइसक्यो । हामीलाई एउटा उद्यान क्षेत्रतर्फ लगिन्छ । नयाँ बनेको उद्यान क्षेत्र पर्यटकीय आकर्षणको थलो बनाइएको छ । बौद्ध कलाकृतिको निर्माण पनि गरिएका छन् । त्यहाँबाट पुनः पाकरी रुख भएको ठाउँमा पुर्याइन्छ । त्यहाँबाट कन्यामाई पुर्याइन्छ । देवदहमा पुरातात्विक तथा पर्यटकीय आकर्षण भनेर घुमाउने थलो यही हो । यहाँ उत्खनन् गरी संरक्षित गरी राखेको ठाउँ हेछौं । सँगै कन्यामाई मन्दिर भनेर केही मूर्ति पहिल्यैदेखि राखिएका छन् तर कन्यामाई भनिए पनि मुख्य रूपमा पद्मपाणी लोकेश्वरको मूर्ति राखिएको छ । अन्य मूर्तिहरू पनि छन् । पद्मपाण्ी मूर्तिलाई नै पनि बडो मुस्किलले चिन्न सकिने अवस्थामा पद्मपाणी भन्ने पात्र नै को हुन् भनेर व्याख्या गर्नुपर्ने अवस्था छ । त्यहाँबाट हामी पुनः खाना खाएकै ठाउँमा आइपुग्छौं । खाना पाकेको थिएन । निकै ढिलो गरी खाएका कारण अरुका लागि खाना खाने समय भइसक्दा पनि हाम्रौ भइसकेको थिएन । आआफ्नो कोठामा पुग्छौं । बेलुकाको खाना खान बोलावट आउँदासम्म पनि भोक लागेको थिएन । जति ढिलो खाने भनेपछि दश बजेभित्र खाएर हामी सुत्ने तरखरमा लाग्छौं । फेरि भोलि उठेर रामग्राम पुग्नु छ, रामग्राम नै गन्तव्य त होइन ।

विहान यात्रा थाल्नुअघि नास्ता गरिरहेको बेला स्थानिय साइक्लिस्टहरू आइपुग्छन् । स्वागतस्वरूप रामग्रामसम्म साथ दिने हुन्छन् ।

रामग्राममा हाम्रो भव्य स्वागत हुन्छ । स्वागतमा मेयर धनपत यादव र उपमेयर सम्झना चाैधरी नै आउनु भएको रहेछ । बाटोमा कराँतेका प्रशिक्षार्थीहरू उभिएर बसिरहेका छन् । मेयरबाट हामी सबैलाई उपहारको रूपमा रामग्राम नगरपालिकाको नाम अंकित साँचो झुण्ड्याउने दोरी पाउँछाैं । अनि, मेयर र उपमेयर दुबै साइकल चलाएर हामीसँगै रामग्रामतर्फ लाग्नुहुन्छ । रामग्राम स्तुपमा रामग्राम स्तूपको परिचय दिइसकेपछि केही क्षण ध्यानभावना गछौं । त्यसपछि सँगै रहेको सभा भवनमा सानो कार्यक्रम हुन्छ । खाना खाने व्यवस्था नगरपालिका भवनमा गरिएको रहेछ । उतै तर्फ लगिन्छ । लगिन्छ के भनौं, फर्काइन्छ ।

त्यहाँ खाना खाएर पुनः यात्रा थालनी गर्दासम्ममा हाम्रो समय तालिका पुनः गन्जागोल भइसक्छ । त्यहाँबाट बोर्डर पुगेर गाडी फेर्छौं । भारत प्रवेश गर्छौं । त्यो दिनको कार्यक्रम भनेको बाटोबाटोमा पर्ने सम्पदाहरू हेर्दै एक स्कूलमा वास बस्न पुग्ने हो । सोझै वास बस्ने जाने होइन, त्यहाँ पुगेपछि त्यस्तै १० किलोमिटर दूरीको थप यात्रा गरी रामग्राम पुग्ने र बल्ल फर्केर स्कूलमा वास वस्न आइपुग्ने हो । तर हाम्रो यात्रा यति ढिलो भइसकेको थियो, पूर्वनिर्धारित अनुसार हुने कुरामा शंका नै रह्यो । तर पनि यात्रा अघि बढ्दै जान्छ । कहीँकहीँ रोक्छौं । स्कूल पुग्दा निकै अँध्यारो भइसक्छ । त्यहाँ पुगेर थाहा पाउँछौं, हाम्रो स्वागतका लागि शिक्षक र विद्यार्थीहरू दिनभर पर्खेर बसेका थिए । तर आइनपुगेपछि निराश भएर सबै फर्किसकेका रहेछन् । स्कूलमा सुनसान भइसकेको थियो । नराम्रो अनुभव भयो । विद्यालयमा खाना पकाउने जिम्मा पाएका कर्मचारीहरू मात्र थिए । चिया र केही खाजा प्राप्त भयो, खायौं । कोठामा गएर ओछ्यान मिलायौं ।

अब रामग्राम जाने कुरा भोलि गर्नु पर्ला भनेर त्यो ठाउँका बारेमा जानकारी लियौं । एक कर्मचारी त्यही ठाउँका रहेछन् । बुझ्दा थाहा भयो, त्यत्ति प्रचारमा छैन, हेर्नका लागि केही कुरा छैन पनि ।

रामग्रामको कुराले हाम्रा साथीहरूलाई अचम्ममा पार्यो । नेपालमा रामग्राम भएरै आएको, अब फेरि यो अर्को रामग्राम के हो ? अलमलमा पर्नु स्वाभाविक हो । नेपालमा छँदै, रामग्रामको परिचय दिँदा पनि छुस्स भनिसकेको थिएँ, नेपालको नवलपरासीमा भएको रामग्राम स्तूपका बारेमा अध्ययन भइराखेको छ, तर घोषणा नै भइसकेको छैन । रामग्राम भनेर दावी गरिएका अन्य ठाउँहरू पनि छन् । यसलाई अझ राम्रोसँग बुझाउन गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई लिन सकिन्छ । सन् १८९६ अघि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भनेर विभिन्न ठाउँको अडकल गरिएको थियो । त्यस विषयमा अन्वेषकहरूको आआफ्नै दावी थियो । ठुलै बहस हुन्थ्यो । तर डा. फुहररले अशोकस्तम्भ र अभिलेखसहति जसै लुम्बिनीको पहिचान ग¥यो, त्यही बेलादेखि ती दावीहरू सेलाएर लुम्बिनी प्रमाणित भयो । अब रामग्रामको सवालमा पनि यही कुरा छ । रामग्राम भनेर नेपालमा एउटा ठाउँ र भारतमा चार पाँच वटा ठाउँको दावी भइरहेको छ । सबैको आआफ्नै दावी छ । यस्तै दावीहरूमध्ये एउटा स्थलमा हामी जान चाहेका थियौं, नजिकै भएर । यो ठाउँमा म पुगिनसकेको हुँदा वस्तुस्थिति हेर्नु मलाई नितान्त जरुरी पनि थियो । कार्यक्रम तय गर्दा नै हामीले एउटा कुरा निर्णय गरेका थियौं बाटोमा पर्ने अन्य धर्मस्थलहरूको अवलोकन गर्दै जाने । तर समयको अभावमा हामीले त्यसो गर्न नसकेका मात्रै हौं । रामग्राम जाउँन्जेल कुशीनगर पुग्ने समय पनि गोलमाल नै हुने देखियो । रामग्रामहरूका बारेमा वस्तुस्थिति बताइसकेपछि धेरैका के मत रह्यो भने, त्यता नजाने, बरु कुशीनगर चाँडो पुग्ने ।

खाना पाकेको खबर आउँछ र खाना खाएर सुत्ने तरखरमा लाग्छौं ।
०००

बिहान नित्यकर्म सकाएर चिया खान निस्कँदा हुस्सु लागेकै थियो । हुस्सु अलि बाक्लो नै थियो । स्कूलको चौरको एक छेउबाट अर्को छेउ देख्न सकिन्न । चौरमा हाम्रा साइकल यात्रीहरू कोही साइकल कुदाएर समाइरहेका थिए भने कोही यात्रा थालनीका लागि तयारीमा । कोही मर्मत गराउँदै । धेरै जसो त चियानास्ता खाने र फोटो खिच्नेमा नै तल्लीन । एउटा खबर आयो, हामीलाई बिदाई गर्न प्रिन्सिपल आउनु भएको छ । चर्चमा जानु पर्ने भएका कारण थोरै समय मात्रै रहेछ । केही भलाकुसारी भयो, साथै विदाईका अभिव्यक्तिहरू प्नि । त्यहीँ हामी एक छिन ध्यान ग¥यौं र विदावारी भएर निस्क्यौं ।

साइकल यात्रीहरूभन्दा अगाडि हामी बढ्छौं । साइकललाई थन्क्याएइर अहिले गाडी चढ्नेहरू अलि बढी नै संख्यामा रह्यो । हामीलाई अलि अगाडि बढेर परताल चोक (महाराजगंजरोड, महाराजगंज) मा पर्खन भनेको थियो । त्यहाँ पर्खने मात्रै होइन, यसो भन्नुको अर्थ हो, क्यामेराहरू सेट गरेर पर्खेर बस्ने । हामी भनिएकै चोकमा पुग्छौं र लोकेशन हेरेर क्यामेरा फिट गरेर बस्छौं । जताबाट आउने हो, त्यहाँको दृष्य मज्जाले खिच्न सकिने रहेछ । मोडेर जता जाने हो त्यहाँको दृष्य पनि मज्जाले खिच्न मिल्ने रहेछ । छेउको एउटा पसलमा गएर चिया खान्छौं । खाइवरी बाहिर निस्कन्छौं । तर आउँदैन । क्यामेरा सेट तयार छ । त्यहाँ बजारमा मान्छेहरूमा हाम्रो बारे जिज्ञासा बढ्छ, सोध्न आउँछ । जवाफ दिन्छौं तर साइकलयात्रीको कुनै झलक छैन । बल्लबल्ल एक साइकल यात्री रत्न श्रेष्ठ आइपुग्नु हुन्छ ।

अरु खोइ ? पछाडि आउँदै गरेको भन्नु हुन्छ । आफू मात्र हान्निएर आएको भन्नु भयो । वास्तवमा समूहको अगाडि पछाडिको साइकलभन्दा यताउता पर्नु अनुशासन तोड्नु हो । अनुशासन तोडेर आउनु भएको रहेछ । उहाँ आइपुग्दा केही पछि अरु आइपुग्ने अनुमान हुनु स्वाभाविक हो, तर कसैको अत्तोपत्तो छैन । फोन सम्पर्क पनि भएन । हाम्रो गाडी अलि पर रोकिएको र दुबै देशका केही साइकल यात्री यहाँसम्म गाडीमा नै आएका थिए । कसै गरी उहाँहरूको फोन सम्पर्क भएछ र हामीलाई बोलाउन आइपुग्छन् । साइकल यात्री टोली अर्कै बाटो पक्रेर अगाडि बढिसकेको हुँदा बेग्लै ठाउँमा भेट्न आउन भनेको रहेछ । हामी त्यतैतिर लाग्छौं र भेटाउँछौं ।

बसभित्र मात्रै कति यात्रा गर्नु ? बसलाई छाडेर म साइकलबाट आराम लिएका तीन यात्रीसँग जीपमा चढ्छु । त्यसमा क्यामेरा तीन क्यामेरा पर्सन पनि थिए । एउटा निश्चित दूरुसम्म मात्रै जीपको यात्रा गरेर पुनः बसभित्रै छिरें ।

कुशीनगर पुग्दा एक ठाउँमा रोटरी क्लबले खादा ओडाएर । लड्डू खुवाएर हाम्रो भव्य स्वागत गर्छन् । स्वागत गर्नेहरूमा काठमाडौंको बालाजुमा व्यापार गरेर बस्ने भारतीय युवा पनि रहेछ । हामीसँग नेपालीमा नै बोले । घर आएको बेलामा परेछ । रमाइलो भयो । एकै क्षणको अलमलपछि त्यहाँबाट अगाडि बढ्छौं । कुशीनगर प्रवेशद्वारमा हाम्रो स्वागतका लागि त्यस्तै चालीस पचास जनाको समूह पर्खेर बसिरहेको थियो । हामी गाडीमा गएको अलि अगाडि भएछ तसर्थ पर्खेर बस्यौं । सबै आएपछि खादा लगाएर स्वागत गरिन्छ । र त्यहाँबाट हामी एउटा विहारकाे परिसरमा पस्छाैं । यहीँ हाम्राे बन्दाेवस्तकाे व्यवस्था गरिएकाे हाे ।

विहार परिसरमा सामान ओसार्नेमा नै अलमलियाैं । त्यहाँ कसैले दुई व्यक्तिसँग भेटाउँछन् । उनीहरू नेपालबाटै आएका रहेछन् । विहारको बगलमा नै एउटा घर रहेछ, त्यो घर उनीहरूकै रहेछ । कोही नेपालीको कुशीनगरमा घर ? हो । हजुर बुबाले किनिराखेको त्यो घर अहिले भाडामा राखेको भएपनि आफूहरू आउँदा त्यहाँ बस्नका लागि कोठा सुरक्षित राखिएको रहेछ । परिचयकै क्रममा मैले आफ्नो नाम भनेपछि उनीहरू झस्किए । झस्किनुको कारण हो, मेरा प्रकाशनहरूको उनीहरू पाठक नै रहेछन् र आफ्नो लेखकलाई अकस्मात त्यसरी भेटेपछि झस्केका हुन् ।

कुशीनगरमा स्वागत गर्दा धेरै सक्रियता देखाउने एक आकर्षक व्यक्तित्वसँग पनि परिचय भएको थियो । कोठामा सामान ठन्क्याइसकेपछि बाहिर निस्कन्छौं । बाहिर उनै व्यक्तित्वको रोयको क्याफे रहेछ । उहाँको नाम हो, रोय । क्याफेभित्र पस्छौं । रोयसँग अघि भर्खर मात्रै विहार परिसरमा परिचय भएपनि धेरै अघि नै परिचय भएको जस्तो व्यवहार भयो । काठमाडौंमा लामो समय शिक्षक भएर काम गरेका कारण नेपाली भाषा रामैं्रसँग आउँछ अनि नेपालीसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा छ । यसउसले उहाँसँगको वार्तालापमा आफूहरू काठमाडौंकै कतै उभिएर हितैषीसँग कुरा गरिरहेको जस्तो अनुभव हुन्छ । कुशीनगरमा फर्केर क्याफे चलाएर बसिरहेका छन् । विहारको उनी कर्मठ उपासक रहेको पायौं । उहाँको कुरा सुन्दै गर्दा बौद्ध संस्कारले भरिपूर्ण बौद्ध उपासक रहेको पायौं । क्याफेमा एक स्थानीय पत्रकार तथा अन्यसँग कुरा गर्न लाग्छौं । केही समयपछि त्यहाँबाट बाहिर निस्कन्छौं । यो समय हामी फ्रेस हुने ध्याउन्नामा रहयौं । यत्तिकै अलि परसम्म पुग्यौं र बाटो छेउमा बसेर चिया खाएरै समय बितायौं । त्यति बेलासम्ममा अरुहरूसँग पनि भेट भयो र थाहा पायौं, केही केही साथी त महापरिनिर्वाण स्तूप पुग्न पनि भ्याएछन् । त्यहाँबाट फर्केकर आई खाना खानेतिर लाग्छौं । खाना खाएपछि हामी आफ्नो कार्यक्रमका बारेमा छलफल गछौं र पछि सुत्ने तरखारमा लाग्छौं ।
०००

विहानको नित्यकर्मपछि हामीलाई बाहिर निस्कने सकसक लाग्छ । कसैले भन्छ, यति चाँडै महापरिनिर्वाण स्तूपस्थलको प्रवेशद्वार खुलिएकै हुँदैन । तर पनि विस्तारै जाँदै गरौं न भनेर निस्कन्छौं । प्रवेशद्वार त खुलिसकेको थियो तर मूभीक्यामेरा लान दिएन । त्यहाँ क्यामेरा राखेर राख्ने ठाउँ पनि छैन रहेछ । मोबाइल क्यामेरा चलाउन पाइने तर मूभी क्यामेराले खिच्न नपाउने रहेछ । क्यामेरा विहारमै पु¥याउन जानु प¥यो । विस्तारै सबै आइसकेपछि हामी विस्तारै महापरिनिर्वाण स्तूपतर्फ लाग्छौं । त्यहाँ भित्र पस्नुअघि कुशीनगरको इतिहास र पुरातत्वका बारेमा जानकारी दिन्छु । कुशीनगरको महत्वका बारेमा पनि भन्छु । अनि त्यसपछि महापरिनिर्वाण मन्दिरमा जान्छौं । ध्यान गछौं । फर्कन्छौ. ।

रामाभार स्तूपमा जान्छौं । महापरिनिर्वाण लाभ गरेका बुद्धको देहलाई अग्निसंस्कार गरिएको ठाउँमा बनाइएको ठूला स्तूप अहिले रामाभार स्तूपको नामबाट जानिन्छ । मूलबाटोको छेवैमा रहेको यो स्तूप पुग्न प्रवेशद्वारबाट थोरै भित्र पसेपछि ठूलो र खुल्ला चौर देखिन्छ र यसको बीचैमा स्तूप रहेको छ । चारैतिरको हरियाली स्थलमा इँटा निर्मित यो विशाल स्तूप शोभायमान छ । हामी पुग्दा कुहिरो लागिरहेको थियो र कुहिरो भित्रको स्तूप थप कलात्मक देखियो । स्तूपको प्रदक्षिण गरेर निस्क्यौं ।

त्यहाँबाट अस्थिधातु आठ भागमा भाग लगाई आठ राज्यलार्य दिएको ठाउँमा पुग्यौं । मूल सडक छाडेर थोरै दूरीभित्र पसेपछि यो ठाउँ पुगिन्छ । बुद्धको अस्थिधातु सबै कुशीनाराका मल्लहरू आफूसँग नै राख्न चाहन्थ्यो । उनीहरूका अनुसार गौतम बुद्ध आफ्नो राज्यमा आई महापरिनिर्वाण लाभ गरेका हुन् तसर्थ अस्तिधातुमाथि आफ्नो हक लाग्छ र अरु कसैलाई दिइन्न । तर अस्थिधातु लिनका लागि मगध, बज्जिलगायतका आठ राज्यहरू आइपुग्छन् । विवाद बढ्दै गएपछि लडाइँका स्थिति सिर्जना हुन्छ । यस अवस्थामा द्रोण नामक ब्राह्मणले सबै अस्धि आठ भागमा बाँड्ने र सबैलाई पु¥याउने प्रस्ताव राख्दा सबैको चित्त बुझेको थियो । सोही बमोजिम आठ भाग लगाएको ठाउँ यही हो भनी पहिचान गरी यो ठाउँलाई पनि एउटा दर्शनीय भनी सुरक्षित गरिएको हो । त्यहाँबाट पुनः माथाकुँवर पुग्छौं र त्यहाँबाट वासस्थानमा नै फर्कन्छौं ।

रोयको चाहना थियो, सँगैको बर्मिज विहारमा रहनु भएको भन्तेलाई सबै साइकल यात्रीहरू पुगेर भेट्न जाने । अघिल्लो दिन उषाको नजिकै रहनु भएको अनागारिका धम्मनयनासँग भेट भएको थियो । उहाँ धम्मावती गुरुमांकी शिष्या । छोटो भेटमा नै दुई जनाबीच धेरै कुरा भइसकेको रहेछ र मलाई सुनाउनु भयो । विहान आमन्त्रण गर्नु भएको रहेछ तर एक विशेष पूजाका उहाँ आउन नभ्याउने हुनुभयो । उसोभए पूरै साइकल यात्रीहरू साइकल यात्रा गरेरै उहाँको विहारसम्म पुग्ने र विदावारी भएर आउने कुरा भएको थियो । तर यो कुरा उहाँसम्म पुगिनसकेकोले होला, विहारमा उहाँ आफै आइपुग्नु भयो । वन्दना गरें । एक ठाउँमा बसेर कुराकानी पनि भयो । यस्तैमा अब उहाँ गुरुमांसहित सबै बर्मिज विहारको भन्तेकहाँ जाने तय भयो ।

बर्मिज भन्ते भनेपनि लामो समयदेखि कुशीनगरमा नै बस्दै आउनु भएको हो । उहाँको नाम भिक्षु ज्ञानेश्वर महास्थविर हो । उहाँलाई पहिले पनि भेटिसकेको । अब कस्तो हुनुभयो होला ? भेट्ने चाहना त थियो नै । यात्रा थालनी गर्दा लुम्बिनीमा मेत्तिय भन्तेबाट आशिर्वचन पाएका थियौं । अब यात्राको समाप्ती पनि भन्तेबाटै गराउने ? राम्रो अवसर भेटायौं । उहाँले बौद्ध विधि पुर्याएरै हाम्रो यात्रालाई टुंग्याइदिनु भयो ।

त्यसपछि हाम्रो गाडी नेपालतर्फ फर्कन्छ ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: छिन छिनमा रूप फेर्ने सुन्दर खास्टेमा सिङ्गै एक दिन
Next Post: जामाचो मेला, २०७९

Related Posts

पहिलो बिजुलीबत्तीको उज्यालोमा पुुरानो बाटो पहिल्याउँदै नियात्रा
न्यागःमणि हुँदै तारकेश्वरतर्फ नियात्रा
पाल्पाको भैरवथान नियात्रा
झाेरकाे झरना र झरी नियात्रा
जामाचो मेला, २०७९ नियात्रा
घान्द्रूकको घुमाइ नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme