Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

चिसा कालिञ्चोककाे तताउने उकालाे

Posted on February 14, 2022March 2, 2022 By बिमला शाक्य No Comments on चिसा कालिञ्चोककाे तताउने उकालाे
बिमला बज्राचार्य

दोलखा भाषाको गीत याद आयो, “कालिन्चोकय् चिमाल स्वाँ मजान व्हयाच्वन……….” नलिना चित्रकार अनि दोलखाकै एकजना कलाकारले गाएका थिए । जुन गीत सुनेदेखि कालिन्चोक भन्ने ठाउँ कस्तो होला भन्ने हेर्ने उत्सुकता थियो । सन्जोगले ३ वर्ष अघि चैत्र महिना तिर हामी ९ जनाको ग्रुप कालिन्चोक जाने निधो गरी उतातिर लाग्यौं ।

बिहान ७ बजे आउनु पर्ने जिप नआएपछि फोन गर्दा थाहा भयो कि जिप त बिग्रिएर वर्कसपमा बन्दैछ ! जिप बनेर आउला नि भन्दै ग्वार्कोमा पर्खेर बस्यौं, ९ बजेसम्म पनि नआएपछि दाईले कोटेश्वर गएर जिप रिजर्भ गरी उतैबाट जाऊँ भन्नभएपछि हामी गयौं । खै के हो, कतै जान भनेपछि हामीलाई समस्या नै पहिला आउने रहेछ । समस्यासँग जुध्न सिकाएको हो कि जस्तो पनि लाग्छ । एउटा जिप रिजर्भ गरेर दोलखा तिर हुँईंकियौं । दोलखा पुग्न ६ घण्टा लाग्ने कुरा थाहा थियो । हाम्रो गन्तव्य भनेको पहिला कालिन्चोक थियो, त्यसैले हामी कुरिबजार बस्ने निधो गरेका थियौं ।

अरनिको राजमार्ग हुँदै सूर्यविनायक भक्तपुर हुँदै हामी बनेपा पुग्यौं र एउटा होटलमा नास्ता खायौं । खाएपछि सीधै लाग्यौं दोलालघाट हुँदै कोदारी राजमार्गतर्फ । कोदारी राजमार्ग हुँदै पहिला तातोपानी, पलाञ्चोक भगवती गएको थिएँ ।

दोलखा पहिला पनि गईसकेको थिएँ । यो तेस्रो पल्टको यात्रा हो । खाँडीचौर पुगेर खाना खायौं । पहिला भए खोलामा गएर एकछिन आराम लिन मिल्ने ठाउँ थियो त्यहाँ तर २०७२ सालको भूकम्पले खोलाको वरिपरि फरक पारिसकेको रहेछ । खाँडीचौरको पुल कटेपछि बाटो चौडा गरिरहेकोले धुलाम्मे थियो । पहिला जादाँ पूरै पिच बाटो थियो, अब बाटो बनाउन अभैm केहि समय लाग्ने संकेत थियो । त्यहाँदेखि दोलखा नपुगुन्जेल बाटो उस्तै थियो, कतै कतै पिच हुँदै थियो ।

दोलखाको सदरमुकाम चरिकोट पुग्दा खुल्ला चौर देखियो, जुन पहिला जस्तै थियो भने त्यहाँ आधुनिक घरहरू धेरै बनिसकेको तथा होटलहरू पनि थुप्रै रहेको देखियो । चरिकोटबाट दोलखातिर नलागी हामी कालिन्चोक जाने बाटो मोडियौं, जुन बाटो पनि कच्ची थियो । जिपको झ्याल बन्द भएपनि धुलो भित्र छिरिरहेको थियो । बाटो त्यति राम्रो नभएकाले वर्षातमा यहाँ आउन ठिक नहुने बुझियो । चरिकोटबाट १ घण्टा उकालो ओरालो लागेपछि कुरिबजार आईपुग्यो । कुरिबजार पुग्दासम्म साँझ परिसकेको थियो ।

कुरि बजार कति चिसो रहेछ भन्ने कुरा राति मात्र थाहा पाईयो । रात परेपछि शीत झर्न थाल्यो । चिसोले सास फेर्न पनि गार्हाे हुँदै थियो । एउटा कोठामा ६ जना केटीहरू बसेका थियौं । खाना खाई सकेपछि सुत्ने तरखर ग¥र्यौं तर निन्द्रा लागे पो ! मेरो त सास नै रोकिएला जस्तो भयो । पछि पो थाहा भयो अक्सिजन कम भएको रहेछ । काठले बनेको उक्त लजमा सबै व्यवस्था राम्रो भए पनि ट्वाईलेट बाहिर थियो । ट्वाईलेट जानै अल्छि लाग्ने ! चिसोले गर्दा पानी त झन छुनै नसकिने ! भोलि बिहान कसरी त्यो पानीले मुख धुने भन्ने पो चिन्ता लाग्न थाल्यो ! तर एक जना भाउजु त्यही चिसो हिऊँ जमेको पानीले बिहान नुहाएको देखेर छक्कै प¥यौं । त्यति मात्र होइन उहाँ त राती पनि खाना नखाई दर्शन नगरी नखाने भन्दै आफुले ल्याएको एक पाथी बदामले बाटोभरी खाएर त्यहि बदामको भरमा रात गुजार्नु भयो । अझ उकालो चढेर माथि पुग्दा जुत्ता बिग्रिएर नांगो खुट्टाले हिंड्दै हुनुहुन्थ्यो, धन्न एकजना बहिनीले चप्पल एकजोर ल्याएकाले त्यही चप्पल लगाएर तल ओर्लनु भयो । भाउजुको भक्ति देखेर तिनछक्क पर्यौं हामी ।

बिहान ५ बजेतिर हल्लाखल्ला हुन थाल्यो कोही कोही त उठेर हिंडीपनि सकेका थिए । अँध्यारोमा टर्च बाल्दै कालिन्चोकको उकालो चढ्दै गरेको देखियो । हामी पनि हतार हतार तयार भयौं, किनकि घाम लागेपछि उकालो चढ्न गाहे हुने कुरा थाहा थियो । बिहान ६ बजे नै चिया खाजा अलि खाएर निस्किहाल्यौं ।

घाम लाग्नअगाडि आकाश सफा थियो । एक घण्टाको उकालो मात्र चढे पुग्ने थियो तर त्यो कालिन्चोकको डाँडा हेर्दा असाध्यै सुन्दर अनि ठाडो उकालो थियो । चिसो हुने थाहा पाएर मोटो विन्डफ्रुप ज्याकेट, स्वीटर, मोटो ट्राउजर अनि सल ओढेर गएको थिएँ । उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो ।
बिस्तारै ठाडो उकालो चढ्दै गयौं । लेक लाग्ने सम्भावना धेरै थियो, नभन्दै ५ मिनेट चढेको मात्र थिएँ गाह्रो हुन थाल्यो । लसुन एक पोटी मुखमा हाल्दै फेरि उकालो चढ्दै गएँ । बाटोमा ढुंगाको सिंढीहरू थियो, अनि ठाउँ ठाउँमा बिसौनी बनाइएको थियो, जसले गर्दा धेरै सजिलो भएको थियो ।

समुन्द्र सतहबाट ३,८८० मीटरमाथि टुप्पा पुग्नुअगाडि घुमेर जाने बाटो तथा फलामको मुख्य ढोका आईपुग्यो । त्यहाँ दुईटा पहाडलाई फलामको सिंढीले जोडिएको थियो । त्यहाँबाट अलि उकालो लागेपछि कालिन्चोक भगवती भएको ठाउँ आईपुग्यो । मन्दिर त थिएन तर त्यहाँ पीठ जस्तो थियो । जहाँ त्रिशुल, घण्टाहरू अनि लुङदाहरूले सजाइएको थियो । यस ठाउँमा हिन्दूहरू मात्र होइन बौद्धहरू पनि आ–आप्mनै उद्देश्यका साथ आउने गर्दा रहेछन् । भगवती नजिकै एउटा कुण्ड पनि रहेको छ जसलाई महादेव कुण्ड भनिन्छ । यहाँको पानी कहिल्यै सुक्दैन भनिन्छ । यो पानी भक्तजनहरूले घरमा लगेर छर्केमा राम्रो हुने विश्वास रहेछ । विशेष गरी चैत्र बैशाखमा यहाँ थुप्रै भक्तजनहरूको भीड लाग्ने गर्दछ । आफुले इच्छाएको पूरा हुने विश्वासका साथ मानिसहरूको भीड लाग्ने गर्दछ । बुढाबुढीदेखि तन्नेरीहरू पनि यस ठाउँमा आउने गरेको देखियो । पुष माघ महिनामा भने अत्यधिक चिसोका कारण हिउँ पर्ने हुनाले मानिसहरू हिऊँ खेल्न आउने गर्छन् ।

कालिन्चोक भगवती रहेको यस ठाउँबाट उत्तरतिर लस्करै सेता हिमाल मुस्कुराईरहेको देख्दा उकालो चढेर आएको थकाई सबै बिर्सिईंदो रहेछ । त्यति मात्र होइन पहाडको बनोटमा पनि भिन्न किसिमको आकर्षण थियो । जसले गर्दा प्रकृतिप्रेमी हरकोहीलाई मन्त्रमुग्ध बनाउन सक्थ्यो । झन हिउँ परेको बेला त यहाँको दृश्य नै बेग्लै हुँदो हो ! जे होस् कालिन्चोक पुग्ने मनको ईच्छा पुगेकोमा धेरै खुशी थिएँ । फर्कने बेला कालिन्चोकलाई व्याकग्राउण्डमा पारी एउटा सामूहिक फोटो खिचें । अनि तल ओर्लेर दोलखा भिमसेनको दर्शन गरी काठमाडौं फर्कें ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: घान्द्रूकको घुमाइ
Next Post: प्राकृतिक दामनमा सांस्कृतिक तीर्थाटन

Related Posts

रोमाञ्चक भूलभुलइयाः हराउन तयार हुनुहुन्छ ? नियात्रा
रूरूमा रूमल्लिँदै नियात्रा
सराङकोटमा सूर्योदय नियात्रा
पाल्पाको भैरवथान नियात्रा
जुनको उज्यालोमा राराको पहिलो दर्शन नियात्रा
कोरोनाले ब्युँताइदिएको बाटोमा नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme