
‘‘आउँदो पूर्णिमाका दिन ‘धिनाचो’ हाइकिङ जाउँ ।’’
‘‘यो भनेको कहाँ हो ?’’
आउँदो पूर्णिमा, अर्थात् धान्यपूर्णिमाका दिन कहीँकतै जाउँ न भन्ने आग्रहमा धिनाचो जाउँ भन्ने मेरो सुझाव हो । अनि धिनाचो भनेको के हो, कहाँ पर्दछ भन्ने जान्न चाहनु स्वाभाविक हो । ‘योमरि पुन्हि’ अर्थात् धान्य पूर्णिमाका दिन काठमाडौं उपत्यकामा बेग्लै प्रकारको माहौल बन्छ, विशेष गरी नेवार समाजमा । नेवार समाजको उपस्थिति रहेका अन्यत्र गाउँ ठाउँमा पनि त्यही माहौलको सिर्जना हुन्छ । विशेष गरी योमरि बनाउने, त्यसको पूजा गर्ने तथा खाने र खुवाउने । ठिक यही दिन धिनाचो पहाड चढ्नुपर्छ भनेर चढ्नेहरू पनि हुन्छन् । यस दिन त्यहाँ सानोतिनो मेला नै लाग्छ । यो धिनाचो भन्ने ठाउँ कहाँ हो ? धेरैलाई अचम्म लाग्ला तर यहाँका आदिवासी नेवारहरूले हजारौं वर्षअघिदेखि धिनाचो भन्दै आएकोे यो डाँडोलाई अचेल चम्पादेवी नामाकरण गरिदिएको छ । काठमाडौं उपत्यकाको दक्षिणतिर उभिएका डाँडाहरूमा सबैभन्दा अग्लो अर्थात् करीव २२०० मिटरको उचाइमा रहेको डाँडा नै धिनाचो हो ।
उपत्यकाको चार दिशामा चार वटा थुम्कोहरू जामाचो, सिपूचो, फूचो र धिनाचोले स्थानिय नेवार समाजमा साँस्कृतिक रुपमा ठुलो स्थान राख्छ । ‘चो’ शब्दले थुम्को भन्ने अर्थ दिन्छ । आजभोलि ‘धिनाचो’को न्वारान चम्पादेवीजस्तै जामाचोको नागार्जुन पर्वत, सिपूचाको शिवपुरी, फूचोको फुल्चोकी गरिदिएको छ । नाम बदलिएपछि त्यसको औचित्य पुष्टि गर्न अनेक मिथक तथा कथावस्तुहरूको सिर्जना गरिने पनि भइहाल्यो । इतिहास र संस्कृति विषयकै अध्येता भएका कारण पुराना कुराहरूमा नै ध्यान दिनु, ऐतिहासिक तथा साँस्कृतिक पक्ष खोतल्नु र त्यसको संरक्षणमा मन लाग्नु आफ्नो धर्म भइहाल्यो । यो उपत्यकामा मानव वसोवासको विकाससँग यी ‘चो’ हरूको गहिरो सम्बन्ध रहेको र वर्षको निश्चित दिनहरूमा यहाँ पुगेर नातासम्बन्धलाई ताजा राख्ने स्थानिय परम्परा रहेको ठम्याई मेरो छ । यहीअनुसार चैत्र पूर्णिमाका दिन जामाचो, वैशाख संक्रान्तिका दिन सिपूचो, फूचो र धिनाचोमा पुग्ने गर्दछन् । यस दिनबाहेक अरु बेलामा पनि पहाड उक्लेर रमाइलो गर्दछन् । आफ्नो परिवेश वा पृष्ठभूमि कीर्तिपुर भएका कारण हामी धिनाचोसँग सम्बन्धित छौं । यहाँ वैशाख संक्रान्तिका दिनबाहेक योमरि पुन्हिका बेला पनि मेला लाग्ने गर्दछ र यो दिन विशेष गरी कीर्तिपुर नजिकको पाँगा भन्ने ठाउँका नेवारहरू पुग्ने गर्दछन् ।

यही दिन पारेर केही वर्षअघि एक समूह लिएर धिनाचो पुग्दा मेला भन्न लायकको उपस्थिति देखिएन । यसलाई सांस्कृतिक जीवनमा आएको विचलन भनेर बुझेको थिएँ । त्यही बेला अर्को योजना बनाएको थिएँ, फेरि योमरि पुन्हिकै दिन पारेर आउने र सांस्कृतिक विचलनको यो क्रमलाई नजिकबाट नियाल्ने । ‘कहीँ हाइकिङ जाउँ’ भनेर गरिएको आग्रहलाई धिनाचो हाइकिङ गर्ने र आफ्नो काम पनि सकाउने अर्थात् एक काम दो काज गर्ने निधो गरियो ।
‘‘धिनाचो हाइकिङ् जाउँ’’ भनेपछि धेरैको प्रश्न रह्यो, यो भनेको कहाँ हो ? नेवार समुदायभन्दा बाहिरकालाई धिनाचोको बारेमा थोरै मात्र के भन्न भ्याउँथें, उत्साहित भइहाल्थे । यहाँ जाने अनेक बाटाहरू छन् । मच्छेगाउँस्थित पुष्पलाल स्मृतिपार्कबाट ठाडै उकालो लागेर पुग्ने एउटा बाटो छ भने अर्को बाटो पाँगापछि आउने लनगोलबाट उकालो लागेर बोसन पुग्ने र त्यहाँबाट पुनः अगाडि बढेर जाने । यसरी नै टौदहभन्दा अलि अघि बढिसकेपछि खहरे भन्ने ठाउँबाट दायाँको बाटो भई बोसन बोसन पुग्ने र पुनः त्यहाँबाट माथि चढ्न पनि सकिन्छ । यसरी नै फर्पिङबाट आउने बाटो पनि छ । यसबाहेक हात्तीवन नाउँको जंगल र त्यहाँ बनेको रिसोर्टलाई दायाँ परेर सिधै पश्चिम लागेर हिड्ने बाटो पनि छ । यसपाली हात्तीवनबाटै धिनाचो लाग्ने निधो गरियो किनभने यसअघि यो बाटो हिडेको थिइनँ र नौलो अनुभव पनि गर्नु थियो ।

कालिमाटीमा विहान ७ बजे भेला हुने र बस चढेर हात्तीवन पुगी ७ बजेबाट हाइकिङ सुरु गर्ने मेरो योजना थियो । तर यो र त्यो भन्दाभन्दै दश बजेमात्रै कालिमाटी पुग्ने टुंगो लाग्यो । सोही अनुसार समय निर्धारण गरेको भएपनि सबै आइपुग्दा सवा एघार बजिसकेको थियो । बसबाट झरेर हिड्न थाल्दा बा¥ह बज्यो । मोटर गुड्ने बाटो नै रहेछ, त्यसलाई पछ्याएर हामी हिड्यौं । समूहमा थुप्रै यात्रा गरिसकेका मात्रै होइनन, जिन्दगीमा पहिलो पल्ट हाइकिङमा आएकाहरू पनि थिए तर कोरोनाको कहरमा लागेको लकडाउनका कारण लामो समयपछि यसरी निस्किा थिए । वनको बाटो, स्वच्छ सफा र हरियालीले सबैलाई तुरुन्तै उत्साहित बनाइहाल्यो । घुम्दै गएको बाटोमा अलिकति मात्रै के हिडेका थियौं प्राकृतिक वातावरणले सबैलाई उद्वेलित पार्यो र फोटो खिच्ने क्रम सुरु भइहाल्यो । अलिकति सुस्तायौं पनि र ल्याएको सुन्तला छोडाउन थाल्यौं । अलि माथि पुगेपछि हात्तीवन रिसोर्ट आइपुग्यो । त्यहाँबाट पनि अलि अगाडि के बढेको, दुई वटा बाटो फाट्यो । कुन बाटो लिने ? कुनै संकेतपाटी पनि थिएन । दायाँको बाटो लियौं र हिड्यौं । हिड्दै गयौं । जति पनि बाटो फाट्छ, दायाँको मात्रै लिनुको कारण हो, धिनाचो पहाडको उत्तरतिर नै पर्दछ । यो बाटोबाट दायाँ चोभार, कीर्तिपुरलगायतका भूदृष्यहरू छर्लङ्ग देखिन्छ पनि ।
एक ठाउँमा आएपछि भने टक्क अडिनु प¥यो । कारण, दायाँको बाटो चल्तीको जस्तो लागेन । बायाँको बाटो ढुंगा ओछ्याएर बनाइएको त हो, तर ओरालो ओरालो लाग्ने । पहिला आफू गएर हेर्छु भनेर दायाँ बाटोबाट अलि पर पुगेपछि आठदश जना मानिसले अड्डा जमाइरहेको पाएँ । सुव्यवस्थित रुपमा घुम्न आएका उनीहरू त्यहाँ खानपिन र सांगीतिक माहौलमा रमाइलो गर्न लागिरहेका थिए । उनीहरूले नै भनेर थाहा भयो, यहाँभन्दा अगाडि पहाड सकिन्छ, अघि बढ्ने बाटो पनि छैन । अघि ओरालो ओरालो लाग्ने बाटो नै धिनाचो पुग्ने बाटो हो भन्ने थाहा भयो ।
ढुंगाको बाटो भएर अलि पर गएपछि भन्ज्याङमा बोसनबाट उक्लिएर आउने चिरपरिचित बाटो जोडिन आइपुग्यो । सबैलाई यही बाटो देखाएर भनें– ‘‘हामी फर्कंदा यही बाटो भएर जाने हो है ।’’
फेरि विस्तारै उकालो सुरु हुनथाल्यो । ‘‘अब कति जानु पर्छ ?’’ सहयात्रीहरू सोध्छन् । म जवाफ दिन्छु– ‘‘हिड्दै जाउँ पुगिन्छ ।’’
वास्तवमा अरु फर्कने बेलामा हामी गइरहेका थियौं । फर्कनेहरूसँग सोध्दा कसैलै एक घन्टा, कसैले आधा घन्टा, कसैले पन्द्रह बीस मिनेट भन्दै जवाफ दिने गर्दा सबै अक्क न बक्क भए । यी जवाफहरू सुनेर मनमनै हासें मात्र । सही जवाफले मान्छेहरू नआत्तिउन् भनेर पनि थोरै समय बताउने गरेको बुझ्न गाह्राे छैन ।

धिनाचो पुगेर फर्किरहनेहरूमा प्रायः पाँगाका नेवारहरू नै बढी । लनगोल बस्ने भिनाजुसँग पनि त्यहीँ जम्काभेट भयो । अगाडि बढ्दै गयौं । सामान्य दिनहरूमा हाइकिङ आएजस्तै आउनेहरू पनि भेटियो । उक्त दिन साँस्कृतिक रुपमा नै पुग्ने गरिन्छ भन्ने कुरा सायदै मात्र उनीहरूलाई थाहा होला ।
थोरै थोरै उकालोपछि मध्यम खालको उकालो आउँछ । त्यसपछि ठाडो उकालो सुरु भयो । ढु्ंगाको सिँढी भएर धेरै सजिलो भएको हो, नत्र कम्ती गाह्राेमा हिडेको हो र उहिले उहिले ! ? सम्झँदा पनि अत्यास लाग्छ । घुम्ती घुम्ती भएर उकालिने यो उकालो बाटोबाट उत्तरमा पर हिमश्रृङ्खला छर्लङ्ग देखिन्छ भने काठमाडौंको शहरी दृष्यलाई झ्यालबाट तल चियाएर हेरेजस्तो । प्रसिद्ध टौदहलाई पनि मज्जाले देख्न पाइने । दक्षिणमा हरियो कार्पेट ओछ्याएको जस्तो पहाडका थुम्काहरूलाई माथि बाट हेर्न पाइने ।
फर्किरहेका दुई महिलामध्ये एकले एउटा लौरो टेक्दै र दुुईवटा बोक्दै झरिरहेकी थिई । हाम्रो एक जना साथी सोध्छन्, तपाईसँग तीन वटा लौरो छ, एउटा दिन मिल्दैन ?’’ जवाफ फर्काउँछिन्– ‘‘अगाडि हाम्रो मान्छे छ, उसलाई चाहिन्छ ।’’

म केही पाइला पछाडि थिएँ, र आफ्नै भाषामा सोधें– ‘‘तपाईहरू कहाँबाट आउनु भएको ?’’
जवाफ– ‘‘पाँगा’’
म– ‘‘पाँगामा कहाँ ?’’
जवाफ– ‘‘स्कूलसँगै’’
पाँगामा अचेल स्कूलहरू थुप्रै छन् तर म बुझ्छु, स्कूल भनेर जनसेवा माध्यामिक विद्यालयलाई भनेको हो । उति बेला यही एउटा मात्र स्कूल थियो । त्यति बेलाको संकेतले अहिलेसम्म पनि काम गरिरहेको छ । उनैले सोधिन्– ‘‘तिम्रो घर कहाँ हो नि ?’’
मैले आफ्नो घर के बताएँ, ‘‘उसको माइती कीर्तिपुर हो नि’’ भनेर अगाडि केही पाइला बढिसकेकी आफ्नी साथीलाई देखाइन् । न चिनेको अनुहार न देखेको नै । दुई चार वटा के प्रश्न उत्तर भयो, लाजले भुतुक्कै हुन पुुगें र जिब्रो टोकें । मामाघरबाट नाता पर्ने रहेछ । तर न उसले मलाई कहिल्यै देखेको, न त मैले नै । दुई वर्षअघि मात्रै मामा बित्नु भएको, संस्कारका दिनहरूमा उनी पनि आएकी, तर होसै भएन । छुटिने बेला साथीले माग्दा पनि नदिएको त्यो लौरो पर्दैन भैगो भन्दाभन्दै पनि दिएर गए ।
जति हिडेपनि नपुग्ने जस्तो गन्तव्य स्थल । कतिलाई त अत्यास पनि लाग्न थाल्यो । यतिकैमा घन्टी बनाएको आवाज आयो । आवाजले जनाउ दियो, केही पाइला मात्रै बाकी हो, गन्तव्यस्थल आइपुग्यो । हामीमध्ये अघि पुग्ने कसैले घन्टा बजाएको हो वा अरु नै कसैले, जसले भएपनि गन्तव्यमा आइपुगेको जनाउले अगाडि बढ्ने हौसला दियो । हौसलाकै कुरा गर्ने हो भने, यो यात्रा एक प्रकारले मेरो परीक्षण पनि थियो । कोरोना कोबिड–१९ बाट संक्रमित भई थला परेपछि शरीरलाई निकै गलाउँदो रहेछ । आइसोलेशनमा बसेर निको भई घर फर्केको निकै दिनपछि स्वयम्भू चैत्यको दर्शन गर्न जाँदा सिँढीहरू चढ्न नसकेर तीन पल्ट विश्राम गरी बल्लबल्ल माथि पुग्न सकेको थिएँ । धिनाचोमा पनि कथंकदाचित पुग्न सकिंन भने अरुलाई पठाएर आफू त्यहीँ कतै पर्खेर बस्ने अव्यक्त सोच थियो । विना व्यवधान हाँसीखुसी माथिसम्म चढ्न सक्नु मेरो लागि ठुलै उपलब्धी भयो र भविष्यमा अन्य यात्राहरू पनि सकिने जनाउ पनि भयो । यो मेरो लागि ठुलै कुरा थियो, हो । आफूले आफैलाई बधाई दिएँ । कोबिड–१९ बाट संक्रमित अर्को पनि एक जना साथी थियो हाम्रो समूहमा, उनलाई पनि बधाई दिएँ ।
धिनाचोको टुप्पोमा प्रत्येक पल्ट आउँदा परिवर्तन देख्छु । कुनै बेला यहाँ एउटा ढुंगोमा मात्रै पूजा हुन्थ्यो भने विस्तारै अरु ढुंगा र मूर्तिहरू थपिन थाल्यो । साथसाथै त्रिशुल चढाउनेहरू पनि भयो । यस पूजास्थललाई हामी धिनाचोमाजु भन्छौं तर नाम परिवर्तन गर्ने क्रममा यसैलाई चम्पादेवी भन्न थालियो । पहिला थोरै पर्खाल उठाएर पूजा स्थल बनाएको थियो भने अब सिमेन्टलगाएर ढुंगाको पर्खाल उठाउनुका साथै आडमा अलि अग्लो र चुच्चो पारेर पर्खाललाई बुट्टेदार पनि बनाइसकेछन् । यसको ठिक सामुन्ने चारैतिर ढुंगा ओछ्याएर पार्कको रुप दिन लागिएको रहेछ र हामी जाँदा काम गरिरहेका कामदारहरू थिए । ओखलडढुंगाका यी कामदारहरू बस्न यहीँ एउटा सानो अस्थायी झुपडी बनाइएको छ ।
स्थानिय बौद्ध किम्बदन्तीअनुसार काठमाडौं उपत्यका अतीतमा ठुलो तलाउ थियो । यो तलाउको बीचमा स्वयम्भू ज्योति उत्पन्न भयो र पवित्र स्थल बन्यो । तर तलाउको बीचमा ज्योति भएका कारण दर्शन गर्न आउनेहरूलाई समस्या प¥यो । यस्तैमा बोधिसत्व मन्जुश्री पनि स्वयम्भू ज्योतिको दर्शन गर्न आएका थिए । कतैबाट निकासा बनाएर यहाँको पानीलाई निष्काशन गर्न पाए ज्योतिको सहज दर्शन हुने मात्र नभएर मानव वस्ती पनि बसाल्न सकिने विचार गरी चोभार डाँडा काट्ने बन्दोबस्ट गरे । त्यहाँ गल्छी बनाएर पानी निस्कने बाटो बनाए । मन्जुश्रीका साथमा दुई शक्ति वरदा र मोक्षदा पनि आएका थिए । पानी निकासाको यो दृष्य हेर्न वरदालाई फूचोमा राखिएको थियो भने मोक्षदालाई यही धिनाचोमा राखिएको थियो । यसअनुसार तलाउको पानी निष्काशनको दृष्यपान मोक्षदाले यही थुम्कोबाट गरेका हुनाले कालान्तरमा यो बौद्धहरूका लागि आस्था र विश्वासको स्थल बन्यो । त्यसैको स्मरणमा अवसरविशेषमा मान्छेहरू श्रद्धा व्यक्त गर्न आउने हुन् ।

धिनाचोलगायतका डाँडाहरू तथा काठमाडौं उपत्यकामा मानव वसोवासकै सम्बन्धमा आफैले लेखेको एउटा लेखमा तलाउ भनेर पुरै उपत्यका पानीले नभरिएको र कीर्तिपुरलगायतका कतिपय ठाउँहरूमा बाहिरबाट मान्छे आउजाउ गर्न सकिने कुरा मैले कीर्तिपुरको अमूर्त संस्कृतिसम्बन्धी एउटा लेखमा उल्लेख गरेको छु । त्यसमा धिनाचोसँग यस क्षेत्रका वासिन्दाको पुरानो सम्वन्ध रहेको र बसाइँसराइँ भएपनि आफ्नो सम्बन्धलाई कायमै राख्न अवसरविशेषमा मात्रै भएपनि पुग्ने संस्कृति र परम्परा नै उल्लेख गरेको छु । अहिले ‘धिनाचो माजुु’ भनिने यो पूजास्थल संभवतः कुनै बेला बौद्ध वा हिन्दू धर्मसँग सम्बन्धित थिएन । तर कालान्तरमा बौद्धधर्मसँग सम्बन्धित हुनपुग्यो र लामो समयपछि अब हिन्दू धर्मसँग पनि सम्बन्धित गरेर पहिचान बनाइँदै छ । परिवर्तन वा विकासका क्रममा रमाइलो कुरा त के हो भने, पुुजारी भनेर कोही व्यक्तिको बन्दोबस्त पनि भइसक्यो । परम्परादेखि पु्ुजारीको काम गर्दै आएको भन्ने व्यक्तिको नालिबेली केलाउने हो भने ऊ केही पुस्ता अघिमात्रै यो ठाउँमा आएको हुनुपर्दछ । वैशाख संक्रान्तिका दिन लाग्ने ठुलो मेलामा बाहेक कहिल्यै पनि यहाँ पुजारी देख्न पाएको छैन ।

धिनाचो माजुको पूजास्थलको दायाँबाट तल झर्ने सानो बाटो पाइन्छ । त्यसैबाट अगाडि बढ्यौं । त्यहाँ त्यत्ति छाँट नभएको एउटा सानो बौद्ध स्तूप बनाइएको छ । स्तुपको प्रदक्षिणा गर्यौं । हेर्दै आँखा शितल हुने, विभिन्न बाँन्कीका अनेकौं स्तूपहरू देखिरहेका आँखालाई यहाँको यो स्तूप अस्वाभाविक र भद्दा देखिन्छ । यस्तो पनि स्तूप हो र ? भन्नेजस्ता अनेकौं प्रश्नहरू बोकेका आँखाहरूले मलाई झम्टिन आयो । जापानी बौद्ध संस्था ‘निप्पोनजान म्यो हो जी’का संस्थापक फुजि गुरुजीको विश्वभर सय वटाभन्दा बढी विश्वशान्ति स्तूप निर्माण गर्ने अभियानअन्तर्गत २०३२ सालतिर पोखराको फेवातालमाथि अन्दु डाँडामा विशाल स्तूपको निर्माण तय भएको थियो । निर्माण कार्य धेरै नै अगाडि बढिसकेपछि राज्यले अचानक हस्तक्षेप गरी सैनिक शक्ति नै लगाएर भत्काइदिएको थियो । यस निर्माण कार्यमा संलग्न जापानी भिक्षुहरूलाई देश निकाला र जग्गा दान गर्ने तथा निर्माण कार्यमा संलग्न व्यक्तिलाई जेल सजाँय दिएको थियो । तत्कालिन शासकसँग प्रश्न मात्रै गर्नु पनि ठुलो बगावतसरह थियो र राज्यको कोपभाजन हुनुपर्दथ्यो । २०४७ सालको राजनीतिक परिवर्तन पनि सोही ठाउँमा पुनः स्तूप निर्माणकार्य सम्पन्न भएको हो । राज्य शक्तिले स्तूप भत्काएको बेला नेपाली भिक्षु सुदर्शन महास्थविरको मनमा प्रश्न उठेको थियो, राज्यको यो रवैयाले बौद्ध धर्ममाथि दमन गर्ने राज्यले नीति नै लिएको हो वा पोखराको अन्दुको घटना बेग्लै हो ? उहाँ त्यति गणबहालमा बस्नु हुन्थ्यो । पछि कीर्तिपुरमा सिरिकित्ति विहार बनाई बस्नु भयो ।
वैशाख पूर्णिमाका दिन कीर्तिपुर क्षेत्रका मात्रै नभएर फर्पिङलगायतका क्षेत्रका जनता धिनाचो पुग्ने परम्परा रहेकोमा केही व्यक्तिसँग कुरा गरेर त्यस स्थलमा एउटा स्तूप निर्माण गर्ने योजना बन्यो । काम गर्ने मुख्य मुख्य मान्छेहरू अघिल्लो दिन नै गएर थुम्कोमा रात काटेको थियो भने भोलिपल्ट उत्तरी भागबाट चढ्नेहरूको हातमा कसैको हातमा बालुवाको सानो पाको त कसैको हातमा इँटा दिएर पठाउने ग¥यो । हुन्छ भनेर बोक्नेमध्ये कतिपयले बीचबाटोमा नै फालेर पनि हिडेछन् । तर यसरी बोकेर माथि पु¥याइएको इ्रँटा र बालुवाले नै यो स्तूप बनेको हो, एकै दिनमा । यो स्तूपको निर्माणसम्बन्धी वृत्तान्त सुनाउँदै भन्तेले जापानी भिक्षुहरूलाई फेरि अर्को स्तूप निर्माणका लागि भन्न सकिन्छ र भयो भने यही स्तूपलाई निदान गरी ठुलो स्तूप बनाउने उहाँको परिकल्पना थियो । अब त्यहाँ बाटो कस्तो छ र आफू पुग्न सकिन्छ कि सकिन्न भन्ने बुझ्नका लागि भन्तेले मलाई पठाउनु भएको थियो । बाटोको स्थिति अवगत गर्ने गरी भन्तेका लागि फोटोहरू खिचेर ल्याई देखाएको थिएँ । भन्ते बित्नु भएको केही वर्षपछि विश्वशान्ति स्तूप निर्माणको अभियानलाई अगाडि बढाइरहनु भएका जापानी भिक्षु सातोसँग मेरो सम्पर्क भयो । काठमाडौंमा शान्तिस्तूपको निर्माणका लागि जग्गा खोजिरहेको उहाँलाई धिनाचोको स्तूप र सुदर्शन भन्तेको परिकल्पनाबारे अवगत गराएँ । यी जापानी भिक्षुहरू सुदर्शन भन्तेलाई अत्यन्तै ठुलो आदरसत्कार गर्दछन् । पोखरा र लुम्बिनीमा विश्वशान्ति स्तूपको निर्माणमा उहाँ भन्तेको पनि ठुलो योगदान थियो । तर यति बेलासम्ममा मातातीर्थमाथि जग्गा मिलिहाल्ने स्थिति बनिसकेको थियो । मिल्यो पनि । एक दिन समय मिलाएर सातो भन्ते धिनाचोको यो स्तूप दर्शन गर्न भने जानु भयो । धिनाचोमा स्तूप निर्माणका सम्बन्धमा कुनै अभिलेख वा लिखत पाइँदैन । कतिलाई यो सयौं वर्ष पुरानो र अन्जान स्तूपजस्तो पनि लाग्न सक्छ । तर यस दिन आफूसँग माथि थु्म्कोमा पुगेकाहरूलाई यसको वृत्तान्तसुनाउँदा अनौठो अनुभव गर्नेहरू पाइयो ।
थुम्काको माथिबाट पहिला भए कीर्तिपुर, पाँगालगायत काठमाडौं उपत्यकाको सहरी क्षेत्रलाई छर्लङ्गै देख्न पाइन्थ्यो । तर अहिले थुम्कोमा नै पनि ठूल्ठुला रुखहरू हुर्केकाले छेकिन्छ । अलि यताउता लाग्ने हो भने अझै पनि देख्न पाइन्छ । उकालो लाग्दै आउँदा खल्खल्ती पसिना झरेको थियो भने सुस्ताउने काम पनि भइसकेको थियो । स्तूप छेउमा हुन्जेल हामीलाई चिसो मात्रै नभएर भोकले पनि सताउनुसम्म सताइसकेको थियो । सहभागी सबैले एकएक थोक खाजा ल्याउने र सगोलमा खाने तय भएको थियो । खानका लागि नजिकै एक ठाउँमा बस्यौं र सबैले आआफ्नो पोको अगाडि बढाए । मेरो पोको जसै खोलियो, बेग्लै माहौल बन्यो । मेरो पोकोमा ‘योमरि’ थियो । विशेष दिन अर्थात् योमह्रि पुन्हिको दिन धिनाचोमा नै बसेर योमरि खान पाउँदाकोे रमाइलो अर्कै भयो । अरु खाजा पनि उत्तिकै मिठो ।

फर्कदा धिनाचोमाजुको पूजास्थलभन्दा केही पश्चिम लागेर उत्तर झरी पुष्पलाल पार्क पुग्ने बाटो समाउने योजना थियो । बाटो ठाडो उकालो, घुमाउरो र अलि साँघुरो भएपनि हाम्रो समूहलाई खासै समस्या पर्दैन भन्ने मेरो अनुमान थियो । तर हामी ढिलो भइसकेका थियौं, समयको पनि विचार गरेर पूर्व योजना त्याग्नु प¥यो । आएकै उकालोबाट झर्न थाल्यौं । भन्ज्याङमा पुगेपछि सानो बाटो हुँदै झरेर बोसन गाउँ पुग्यौं । त्यहाँ पहिले भएका ठूल्ठुला चौरहरू मासेर विकासको नाममा अन्य निर्माण कार्य भइरहेको पाइयो । बोसनबाट लनगोल झर्ने र पाँगा वा कीर्तिपुरसम्म हिडेर गाडी चढेर फर्कने योजनाले पनि काम गरेन । यस अवस्थामा हामीसँग एउटै मात्र विकल्प रह्यो, पूर्वतिर ओरालिएको बाटो । यहाँबाट तौदहनजिकैको खहरे भन्ने ठाउँमा पुगिन्छ र त्यहाँबाट कुनै गाडी चढ्ने । झर्दाझर्दै झमक्क अँध्यारो भयो । पक्की र फराकिलो बाटो थियो । हामी हतार हतार तल झर्दै ग¥यौं । पूर्णिमाको चन्द्रमा उदाइसकेको थियो । र, त्यही जुनको भरमा हामी हिडिरहेका थियौं ।
निकै तल झरिसकेपछि तर खहरे नपुग्दै एक ठाउँमा दुई वटा ट्याक्सी रोकिराखेको देख्यौं र त्यही चढेर घरतर्फ लाग्यौं ।