Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

यता हेरे रूपा, उता हेरे बेगनास

Posted on November 16, 2022November 16, 2022 By बसन्त महर्जन No Comments on यता हेरे रूपा, उता हेरे बेगनास
बसन्त महर्जन

पोखरा भनेर जति उछालपाछाल गरेर घुम्न गएपनि पुग्ने उही फेवाताल हो । उही डेविड फल्स हो । महेन्द्र पुुल र महेन्द्र गुफा पनि पुग्छन् । अलि यता उता गयो भने अन्दूमाथिको विश्वशान्ति स्तूप र त्यसको पारी सराङकोट । सूूर्योदयको दृष्य हेर्न गज्जब हुन्छ, सराङकोटबाट । यी जम्मै ठाउँबाट देखिने माछापुच्छे्र हिमालको कुरा त छँदै छ । पोखरा उपत्यका भन्नु त्यत्ति मात्रै हो त ? मुस्ताङबाट फर्कदै गर्दा हवाइ जहाजको झ्यालबाट फेवातालबाहेक अरु तालतलैया पनि देखेको छु । बेगनास र रूपा दुई तालको बीचमा एउटा हरियो पहाड देखेर अचम्म लागेको थियो, दुुई ताललाई एउटा सानो बाटोले छुट्याएजस्तो । झ्यालबाटै फोटो खिच्न भ्याएको पनि थिएँ । उति बेलै यी तालहरू पनि घुम्ने सकसक लागेको थियो । पोखरा आउँदा जाँदा बाटोमैं बेगनास ताल जाने संकेत चिन्ह देख्थें । बेगनास ताल लेखनाथ नगरपालिकमा पर्छ । बेगनास ताल जान पृथ्वीचोकबाट गाडी चढें र १३ किलोमिटर पूर्व हुइँकिएँ ।

बेगनास ताल जाने संकेतपाटी

राजमार्गको छेउमा गाडी रोकियो । झरें । बाटो सोधिराख्नु जरुरी भएन, किनभने सूचना पाटी छ, अनि फराकिलो बाटो उत्तरतिर लम्किरहेको छ । त्यही बाटो पछ्याए पुुग्छ । निर्धक्क भएर पाइला चाल्दै अगाडि बढ्छु । अलि भित्र जानु पर्छ बेगनास ताल पुग्न ।

फेवाताल जति चर्चामा छैन बेगनास ताल । प्रचार सामग्री पनि खासै देख्न पाएको थिईंन । कसैले यस्तो उस्तो भनेर सुनाएको पनि छैन । त्यही भएर बेगनासको नजिक पुग्दासम्म पनि मानसपटलमा कुनै आकृति नाच्न आएन । तर, बेगनास ताल पनि ठुलै रहेछ । राम्रो पनि । ३.७३ वर्ग किलोमिटरमा फैलिएको छ । वि.सं. २०४४ मा बाँध बाँधेपछि २२० हेक्टरबाट बढेर ३७३ हेक्टर पुगेको हो । ७.५ देखि १०.६ मिटर गहिराई भएको यो ताल अलि खोंचमा परेर होला, चिसोचिसो हावा चलिरहेको थियो ।

बेगनास ताल

डुंगा शयर गर्न आउनेभन्दा पर्खिरहेका डुंगाहरूको संख्या बढी देखियो, बेगनासमा । घुम्न आउनेहरूको रमाइलो हेर्दा पनि रमाइलो नै लागिरहेको थियो । अनि मेरो क्यामेराबाट पनि आवाज निस्कन थाल्यो, खिचिक्क खिचिक्क ।

आआफ्नो स्वभाव हो, मलाई नौका विहार गर्नुभन्दा हेर्नमा बढी आनन्द आउँछ । तालमा पस्दादेखि एक खालको डर अनि टेन्सन सुरु हुन्छ । बरु म ¥याफ्टिङमा हेलिन सक्छु । यद्यपि धेरै नौका विहार गरेको ठाउँ फेवाताल नै हो । त्यो दिन साथमा कोही साथी हुँदो हो त यहाँ पनि गर्थेंं हुँला । एक्लै मन लागेन । अनि हेरेर मात्रै कति बस्नु ?

बेगनास तालमा नाैकाविहार

बेगनास तालमा यही एउटा मात्रै हेर्ने कुरा हो र ? अरु केही छैन र ? एउटा सानो बजार छ, अस्तव्यस्त । कुनै नौलो कुरा भएन । फर्कनु ? तर फर्कन पटक्कै मन मानेन । त्यतै समय बिताउन मन लागिरहेको छ । बसपार्कको चहलपहल नियालेर हेरिरहेँ । यहाँबाट अन्यत्र ठाउँ जाने बसहरू लाग्छ तर अलि टाढाटाढै पुग्ने । ती ठाउँहरूको जानकारी पनि थिएन । यस्तैमा थाहा भयो, अलि पर डाँडा चढ्ने हो भने रूपा ताल देख्न पाइन्छ । रूपा र बेगनास आमनेसामने नै देख्न पाइन्छ । के खोज्छस् ? भनेर कसैले सोधेजस्तै भयो मलाई । बस चढेर जान सकिने रहेछ । तर बस आउने कहिले कहिले । आफ्नै गाडी भए पो आफू खुसी जान पाइन्थ्यो । अनि फेरि अर्को कुरा थाहा भयो, घुम्न आउनेहरू त्यहाँसम्म हिडेरै जान्छन् । म पनि थोरै आराम गर्न आएको हुँ र ? हिड्नमै रमाउने मलाई यति जानकारी नै लाख भयो ।

बाटो सोधें । बेगनास तालको छेवैमा रहेको बसपार्कबाटै सुुरु हुने उही उकालो लागेर जाने रहेछ । धेरै उकालो छैन, अर्को बाटो छैन भनेपछि निर्धक्क भएँ । कुनै जमानामा हिड्ने बाटोलाई नै अलि फराकिलो पारेर मोटर गुड्ने बनाइसकेको छ ।

उकालो उक्लिंदै जाँदा खुट्टालाई भलै कष्ट होला, आँखा र मनमस्तिष्कलाई आनन्दित नै हुन्छ । यसरी उक्लिएर उँभोबाट उँधो हेर्दाको दृश्य मलाई औधी मन पर्छ । त्यो पनि नयाँ ठाउँमा मन नपर्ने कुरै भएन । अलिकति मात्रै उकालो हिडेको जस्तो लाग्छ, मज्जाले उचाइमा पुगिसकेको रहेछु ।

एउटै मात्र बाटो, बाटो हराउने डरै भएन । चारैतिरका दृष्यहरू अवलोकन गर्दै म यस्तरी हिडिरहें, विन्दास शब्दको अर्थ शब्दकोशमा होइन, त्यहाँ भेटाइरहें ।

जीवन संगीनी अमिका राजथलाबाट बरोबर सुनेको थिएँ, आफ्ना दुई साथीसँग यही बाटो हिडेर लमजुङ पुगेको । उनी हिडेको बाटो यही हुनुपर्छ भन्ने लख काटें । उनको त्यो यात्रा विवाहअघिको हो । यही बाटो अब पनि सँगै हिड्न पाएको भए बेग्लै आनन्द आउँथ्यो । पोखरामा त संगै आएकै हौं, तर कामकुराले उनी उतै अलमलिनु प¥यो । म मात्रै यतातिर फुत्त निस्केको । फोन नगरी बस्न सकिनँ । हिंड्दाहिंड्दै फोन गरें । फोन लाग्यो पनि । मेरो कुरा सुनेर ज्यादै खुसी भइन् । साथीहरूसँग हिड्दाको सम्झना र मसँगको कल्पनाले पुलकित बनाएछ क्यारे ।

बेगनास ताल

बाटोको दायाँबायाँ हरियो परियो । बाटोभन्दा पर पर देखिने दृष्यहरू पनि हरियै । घाम त लागिरहेकै छ तर गर्मी कत्ति पनि छैन । बरु शितल हावाले सुम्सुम्याउन आइरह्यो । अनि पाइलाहरू लम्किरहेकै छन् ।

रूपाताल

एउटै मात्र बाटो छ भनेको, एक ठाउँमा पुगेपछि त अचानक फाट्यो । अब कसैलाई नसोधी धरै भएन । बाटो छेउछाउ घरहरू छन् । स्थानीयहरूको चलहपहल पनि छ । कसैलाई सोध्छु त उल्टै सोध्छन् जानुपर्ने कहाँ हो ? यत्तिकै घुम्न निस्केको अनि बेगनास र रूपाताल हेर्न आएको भनें । उसो भए यताबाट जानुस् भनेर देखाएको बाटो अलि ओरालो ओरालो र घुमाउरो । अलिपर पुछारमा एउटा भ्यूटावर देखें । त्यहींबाट देख्ने रहेछ रूपा र बेगनालाई एकै बाजी ।

दुई बेग्लाबेग्लै ताल एउटा डाँडाले छुट्याएको दृष्य हवाइजहाजबाट हेर्दा र यहीँ आएर हेर्दा बेग्लाबेग्लै मज्जा आउँदो रहेछ । त्यही दुई ताललाई छुट्याउने डाँडामा उभिएर पुनः रूपा र बेगनाललाई हेर्दा कम्तीको मज्जा आएन ।

भ्यूटावर उक्लेर दुबैै ताल एकै बाजी हेर्न आउनेहरू आउँछन्, जान्छन् । उनीहरूलाई अन्त पनि भ्याउनु छ होला र जान्छन् । तर म त बिन्दास, केही हेर्नु छैन यहीँका कुराहरू हेर्नु बाहेक । त्यहाँ म अलिबेर अलमलिएर बसें ।

रूपाकाेट

रूपातालमाथि रूपाकोट रहेछ । त्यहाँबाट अझ राम्रो देखिँदो रहेछ । कोट भनेपछि इतिहासको विद्यार्थी मेरो कान ठाडो हुनुु स्वाभाविक हो । तर त्यता लाग्ने सुविधान छैन मलाई । समयको पावन्दी छ । पोखराकै अन्य तालहरूको पनि जानकारी लिइयो । जानकारी मात्रै हो, ती तालहरूमा पनि जान सकिन्न यो पटक । जसरी काठमाडौं मन्दिरै मन्दिरको सहर हो, जनकपुर पोखरी नै पोखरीको सहर अनि पोखरा तालैतालको उपत्यका । बेगनास ताल हेर्न गएको म रूपाताल पनि हेर्न पाएँ ।

अनि जसरी जुनबाटो त्यहाँ गएको, त्यसरी नै त्यही बाटो फर्के ।

(सबै फाेटाे लेखक स्वयंकाे)

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: अचानक कालिन्चोकतर्फ
Next Post: धिनाचोको टुप्पोमा योमरिको स्वाद

Related Posts

दहचोक हाइकिङ नियात्रा
माझखण्ड विहारमा जाँदा नियात्रा
अचानक कालिन्चोकतर्फ नियात्रा
वनारसकाे घुमाइ, आफ्नै हेराइ नियात्रा
घान्द्रूकको घुमाइ नियात्रा
धिनाचोको टुप्पोमा योमरिको स्वाद नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme