Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

अचानक कालिन्चोकतर्फ

Posted on November 15, 2022July 8, 2023 By बसन्त महर्जन No Comments on अचानक कालिन्चोकतर्फ
बसन्त महर्जन

काठमाडौंबाट यस्सो फुत्किन पायो कि कालिन्चोक थुम्कोमा पुग्नेहरु आजभोलि काठमाडौंमा बढेको छ । यो ठाउँको प्रचार वा प्रसिद्धि बिगतमा भन्दा बढेसँगै घुम्न जानेको संख्या पनि बढेको हो । प्राचीन कला र संस्कृति अनि जनजीवनको एक जीवन्त म्यूजियम जस्तै रहेको दोलखासँग कालिन्चोकको सम्बन्ध छ । यो चरिकोट बजारबाट १५ किलोमिटर उत्तर पर्दछ । जान चाहेर पनि कालिन्चोक पुग्ने योजना बनाएको थिईंन, यसअघि दुई पल्ट दोलखा पुग्दा पनि । पर्यटनसम्बन्धी योजनाको अध्ययनमा जाँदा पनि दोलखा मात्रै भएर फर्कनु परेको थियो । यस पाली दोलखामा प्रत्येक वर्ष मनाइने करुणामयको रथयात्राको अवलोकनका लागि पुगेको । २३ अप्रिल (२०१९) का दिन लखतरान हुने गरी रथयात्राको अवलोकन गरेपनि कालिन्चाेक जाने कुनै मेलाेमेसाे थिएन । यत्तिकै फर्कने पूर्व निर्धारित कार्यक्रम बाेकेर दाेलखामा बरालिरह्याैं । तर, तर विहान अचानक कालिन्चोक पुग्ने योजना बन्छ ।

बिहान सबेरै कालिन्चोकतर्फ लाग्ने भनेकाे थियाे । एउटा जीप रिजर्भ भयो । जीपमा सबै चढ्छाैं । तर जीप गुड्डैन । किन ? कसैलाई पर्खनु परेको रहेछ । जीप चढीसकेकाहरुको अनुहार नियाल्छु, कोही पनि छुटेका छैनन् । कसलाई पर्खेको हो त ? जवाफ आयो, देवेन्द्र दाइ र भाउजु । उहाँहरु पनि पनि आउने भन्नु भएको छ, आउँदै हुनुहुन्छ । काठमाडौंबाट दोलखाका लागि चढेको बसमा परिचय भएको थियो, यी दुई दोलखाली दम्पतिसँग । लोग्ने गाउँ पञ्चायत छँदाका प्रधानपञ्च । रमाइलो कुरा त के भने नातिनातिना भइसकेका भाउजुको पनि यो पहिलो पल्टको कालिन्चोक यात्रा रहेछ ।

जीप गुडेको त्यस्तै पाँच मिनेट जति भयो होला, काठमाडौंबाट श्रीमतीको मोबाइलमा फोन आयो । मोबाइलमा काठमाडौंको आवाज गुन्जियो,– ‘‘ठुलै भूकम्प गयो नि यहाँ, त्यहाँ कस्तो छ ?’’

१२ वैशााख (२०७२) को भूकम्पले ठुलै प्रभाव पारेको क्षेत्रमध्ये दोलखा जिल्ला पनि एक हो । भर्खरै भर्खर मात्र तङ्ग्रिन थालेको दोलखा तथा सिन्धुपाल्चोक जिल्ला भूकम्पको पर्यायजस्तै भयो । इपिसेन्टर गोरखाको वारपाक भएपनि बढी क्षति दोलखा र सिन्धुपाल्चोकमै भएको पाइन्छ । यस अवस्थामा दोलखाबारे सोधनी हुनु स्वाभाविक पनि हो । हामी जीप भित्रै थियौं, चालै पाएनौं तर दोखालमा पनि थोरै महसूस चाहिं गरिएको रहेछ ।

जीप दोलखा चरिकोट कटेर निकै अगाडि बढिसकेको थियो । एकान्त र एकलासको बाटो हुँदै जीप अगाडि हुइँकिरह्याे । जीप ड्राइभर बोले– ‘‘देख्नु भयो यो बाटो ? हेर्दा फराकिलो र सफा हगि ? तर हिउँ पर्दा यो बाटो यहीँ हराउँछ । हामी मोटर गाडीहरु यहाँ माथि आउदैनौं त्यो बेला । हिडेर यही बाटो फर्कनेहरु पनि बाटो र जंगल छुट्याउन सक्दैनन् । कताकता पुग्छन् । अनि हिउँमा हराउने भनेको यही हो ।’’

कालिन्चोक गएको र फर्कदा बाटो भुलेर जंगलमा हराएको समाचार प्रत्येक वर्षजस्तो सुन्न र पढ्न पाइन्छ । ससाना बाटोहरु भुलेर थुप्रैपल्ट जंगलमा हराएको अनुभव भएको मलाई राजमार्गजस्तो बाटो हिउँले छापिने र यात्रुहरु हराउने कुरा नौलो भयो । बाटोको दायाँबायाँ आँखा दौडाएँ । बाटो किनारमा उभिएर स्वागत गरिहरेकाजस्तो लालीगुराँसै लालीगुराँस देखें । हेर्दै मनमोहक । सहयात्रीहरुको योजना बन्छ, फर्कदा लालीगुराँस आउने गरी फोटो खिचेर जानुपर्छ है । कति राम्रो फुलेको टिपेर लानु पर्छ है ।
कुरि आइपुग्छ । पहिले यो वस्ती थियो । अहिले बजार भएको छ । उहिले उहिले मान्छेहरु कुरिमा वास बसेर भोलिपल्ट विहानै कालिन्चोकको डाँडा चढ्थे । चढ्न त अहिले पनि चढ्छन् तर केबुलकारको निर्माण पछि खुट्टालाई दुःख दिइराख्नेहरु कम भएका छन् । केबुलकारले थोरै मिनेटमा माथि पुर्याइदिने, भगवतीको दर्शन र चारैदिशाको दृष्यपान गराएर फर्काइदिन्छन् ।

कुरीमा गाडीबाट झर्ने र खुल्ला आकासको मुनि हरिया डाँडाको माथि उभिएर आङ तन्काउनुको मज्जा बेग्लै हुन्छ । कालिन्चोकको टुप्पोलाई गन्तव्य बनाएर आएकाहरु गाडीबाट झरेर सल्बलाइरहेकाे दृष्य पनि मनमाेहक रह्याे । कुनै अर्कै समूहबाट आएकामध्येबाट कसैले आफ्नो मान्छेकाे ध्यानाकर्षण गर्दै र चाेर अाैंलाले अलि पर अाकासमा देखाउँदै भन्छ, ‘ऊ त्यहीँ हो कालिन्चोक ।’

‘ऊ त्यहीँ हो कालिन्चोक’ भन्ने आवाज मेराे कानमा यसरी गुन्जिन अायाे, मानाै मेराे गन्तव्य मेरै सामु टक्क उभिन अायाे । सबैभन्दा उँचो भागमा रहेको थुम्को रहेछ, कालिन्चोक । यो उँचोभन्नु समुद्री सतहबाट तीन हजार आठ सय बयालीस मिटरको उचाइ हो । झट्ट हेर्दा फुस्रो र नाङ्गो पहाड हो । हिउँ परेको बेला चारैतिर सेताम्ये हिउँ हुँदो हो, अनि त्यो पहाड कैलाशजस्तो उभिएको हुन्थ्यो होला । चिसो चिसो हावा चलिरहेको छ तर दृष्यावलोकनले मन पुलकित पनि ।

एक दिन थुम्को माथि भगवती प्रकट भएकी थिइन् रे । गोठालाहरुले देखेको । त्यही बेलादेखि कालिन्चोक भगवती भनेर दर्शन गर्न जाने चलन चलेको रे । तर मलाई यो हिजोआजमात्रै निर्माण गरेको बनीबनाउ कथा लाग्यो ।

उच्च थुम्कोहरु स्थानिय देवस्थान मानी श्रद्धा व्यक्ति गर्न जाने चलन पुरानै हो । अन्त पनि हुन्छ । त्यसैमा कथाकहानीको सिर्जनासहित हिन्दूकरण गर्ने प्रवृत्ति गज्जबकाे छ अन्त पनि । कीर्तिपुरमाथि धिनाचो छ, जसको सम्बन्ध प्राग्–ऐतिहासिक कालसँग सम्बन्धित छ । तर हिजोआज यसको नामाकरण गरिएको छ, चम्पादेवी । दुई चार वर्षअघि पनि नसुनिएका नयाँ नयाँ कथाहरु चम्पादेवीको नाममा आजभोलि सुन्न पाइन्छ । कसैकसैले उहीँको उही पनि बनाउँदो रहेछ यस्ता कथाहरु, रमाइलोका लागि । यस्तो काम स्थानिय इतिहास र संस्कृतिमाथिको ठुलै खेलवाड हो । ‘यंकि दह’ रहेको ठाउँ ‘दहचो’ हो तर स्थानियता मास्न ‘दहचोक’ नामाकरण गरिएको छ । यसरी नै यंकि दह भएको ठाउँलाई इन्द्रस्थान नाम दिइएको छ । चो शब्दले थुम्को अर्थ दिन्छ तर यो अर्थ लाई लत्याएर चोक बनाइदिएको पाइन्छ । अर्थात, फूचोलाई फूलचोकी, शिपूचोलाइ शिवपुरी ….. । कालिन्चोेकको मौलिक नाम के होला ? पक्कै पनि यसको पनि नामको पछाछि चो नै हो र त्यसअघि कुनै अर्कै शब्दको विग्रह भएर कालिन्चो बनेको हुनसक्छ वा कालिन् नै पनि मौलिक नाम हुनसक्छ । हिन्दू मिथकका पात्र कालीकाे कल्पनाले स्थानीय संस्कृतिलाई मास्ने वा अतिक्रमण भएकाे छ । यसबारे अध्ययन गर्नु पर्दछ ।

मेरो चाहना, हिंडेर माथि थुम्कोमा पुग्ने । तर एक्लै परियाे । समूहका सदस्यहरु केबुलकार चढेर सरर जान चाहने । समूहको व्यवस्थापन गर्न संयोजकलाई गाह्राे पर्ने भयो । मन नलागी नलागी केबुलकारबाटै जानु पर्ने भयो । प्रति व्यक्ति पाँच सय रुपैयाको दस्तुर रहेछ । र, चढेर माथि पुगियो ।

केबुलकारबाट झरिसकेपछि पश्चिमतिर लाग्छौं । केही दुरी हिडेपछि एउटा गोरेटो आइपुग्छ । तलबाट हिडेर आउनेहरु पनि यहीँ भेटिने रहेछ ।

यहाँ माथि पनि केही होटेल र पसलहरु रहेछन् । त्यहाँबाट पनि अलि पश्चिम लागेर दायाँ मोड्दै थोरै उकालो उक्लेपछि अलि चौडा ठाउँ आइपुग्छ, दायाँ गणेशको मूर्ति देख्न पाइन्छ । त्यहाँबाट अझ पूर्व लाग्न अलि मुस्किल हुने भएर होला, फलामको भ¥याङ राखिएको छ । पूर्व लागेपछि अझ ठुलो चौडा ठाउँ आइपुग्छ । यही हो, कालिन्चोकको थुम्को । धार्मिक वातावरणसँग साक्षात्कार हुन्छ ।

धार्मिक वातावरणको तात्पर्य घण्ट बजिरहनु र ध्वजापताकाहरु हावामा फहराइरहनु हो । भगवती हिन्दू देवी हुन् र रातो रंग बढी प्रचलित हुन्छन् । पहाडको टुप्पो भएपनि एउटा कुण्ड छ । भौगोलिक रुपमा वरिपरिबाट च्यापिएर माथि उठेको पानी होला । यसैलाई यहाँ अलौकिक शक्तिको रुपमा ग्रहण गरेको पाइन्छ । यही कुण्डको पानीलाई पवित्र जलको रुपमा त्यहाँबाट निकालिन्छ । त्यही ठाउँमा भगवतीको मूर्ति थापना गरिएको छ । यस ठाउँ वरिपरि त्रिशृुलहरु चढाइएका छन् । यसरी नै माथि आकासमा बौद्धहरुको लुङ्ता फहराएका छन् । डाँडा पूर्व पश्चिम लाम्चिएको छ भने भगवतीको स्थान अलि पूर्वमा पर्दछ । देवथान पनि पूर्व पश्चिम नै लाम्चिएको छ र प्रदक्षिणा गर्न बाटो छ । यहाँ भगवतीलाई भक्तजनहरु केके चढाउन ल्याउँछन्, ल्याउँछन् । परेवाहरु धेरै उचाइको आकासमा घण्टौंसम्म उडेर बस्न सक्छन् तर यहाँ होसै गुमेका जस्ता झोक्राएर बसिरहेको पाइयो ।

यहाँबाट रोल्वालिङ हिमश्रृंखला छर्लङ्गै देखिँन्छ । तर यो दिन हिमालले घुम्तो ओढेजस्तै बादलले छापिएको रहेछ । उघारिन्छ कि ? आसा त थियो तर जति पर्खेपनि उघारिने छाँटकाँट देखिएन । बरु त्यहीँबाट देखिने अन्य मनोरम दृष्यहरुको दृष्यपान गरेर चित्त बुझायौं ।

अलि पर मान्छेहरुको कल्याङकुलुङ आवाज आयो । आत्तिएको आवाज ठम्याउन गाह्राे भएन । एक महिलालाई वाकवाकी लागेको रहेछ । हरन्त भइसकेकी थिइन् । यसलाई ‘हाइअल्टिच्युड सीकनेस’ भनिन्छ । लेक लागेको पनि भनिन्छ । छिटो तल लानुस् भनें । र, उनका आफना मान्छेहरुले माथिबाट तल झारे । हामी एक छिन यहीँ बस्छाैं । चारैतिर हेर्छाैं । फोटो खिचेर फर्कने तरखर गर्छाैं । झर्नका लागि फलामको भर्याङ बनाइएको छ । अलि साँघुरो । झर्दै गर्दा देख्छाैं, दोलखाली भाउजुलाई पनि गाह्राे भइसकेको रहेछ ।

फर्कने बेलामा हिडेर झर्ने सोच अघि केबुलकार चढेर उक्लिँदै गर्दा आएको थियो । हिड्ने त्यो बाटोलाई माथिबाट हेर्दा नै आरिस लागिसकेको थियो । तर समूहमा यात्रा गर्दा सबै इच्छा पूरा गर्न सकिन्न । यही कारणले पनि हुनसक्छ कुनै बेला मेरो यात्रा प्रायः एकल हुन्थ्यो । जहाँ मनलाग्यो त्यहीँ बस्यो, जति खेर मन लाग्यो त्यति खेर नै हिड्यो । हिडेर फर्कने मनसुवा मनमा नै सीमित थियो तर यात्राको संयोजकलाई शंका लाग्यो कि कुन्नी अथवा कसैले भनेर हो, समूहबाट नछुटिन अनुुरोध आयो । यो अनुरोधलाई अनादर गर्न पनि मिलेन ।

झर्नका लागि केबुलकार चढ्न पालो पर्खनतिर लाग्छाैं । हुलमुल छ । एउटा आयो, चढ्न त चढियो तर त्यो केबुलकारमा हाम्रा समूहबाट म मात्रै परेछु । समूहका साथीहरु अर्कोमा पनि चढ्न सकेनछन् वा त्यतै अलमलिए । तल झर्नेमा एक्लै परेछु । स्टेशनमा पर्खदापर्खदा अत्यास पनि लाग्न थाल्याे । यताउता लागें । बजारै बजार त हो नि । फेदीमा एक्लैं यताउता गरिरहें । खुल्ला आकासको मुनि ससाना थुम्काहरु रहरलाग्दला त हुन्छन् नै । यता उता टहलिन थालें । हातमा क्यामेरा भएको अवस्थामा कहाँ चुपचाप बस्न सकिन्छ र ? फोटोग्राफीको धून चढिहाल्छ नि ।

अलि पर एउटा थुम्को एक्लै सुसाइरहेको जस्तो लाग्यो । मलाई नै बोलाइ रहेकोजस्तो पनि लाग्यो । त्यतैतिर लागियो । पारिलो घाम, हरियो थुम्का, चिसो हावा, नीलो आकासमा कपासजस्ता साना साना बादलका टुक्राहरु, …. उफ्, अरु के चाहियो र ? प्रकृतिको यो अनुपम रुप लावण्यमा म लुटपुटिएँ ।

चारैतिरको दृष्यलाई आफ्नो क्यामेरामा कैद गरें । सेल्फी खिचेर आफूलाई पनि राम्रैसँग कैद गरें । त्यहाँ ढुक्कैसँग बसें ।
केबलकारबाट झरेर जमीनमा हिड्नेहरु सबैलाई गन्न सकिन्थ्यो चिन्न सकिन्थ्यो । हाम्रा मान्छे कोही आएका होइनन् । यति धेरै अलमलिनु पर्ने त होइन । बिग्रेको भनुँभने अरु त झर्याझर्यै छन् त । बल्ल हाम्रो मान्छे देखें । म थुम्कोबाट झर्ने सुरसार गर्छु । अलि के झरें, उनीहरुको आँखाले मलाई ठम्याइहाले । झर्नु पर्दैन, आफूहरु पनि थुम्कोमा नै आउने भनेर दिएकाे संकेत बुझेपटि थुम्काेमै फर्कन्छु । सबै थुम्काेमैं आइपुगे ।

एक ठाउँमा बसेर गफ गर्दै रमाउन्जेल ढिलो भएको रहेछ । म पनि रमाइरहेकै त हुँ नि ।

खाजाका पोकाहरु खोलियो, खाली भएका पेटहरु भरियो । रमाइलाे गफहरू सुरू हुन्छ, हँसीमजाक सुरू हुन्छ । पारिलाे घाम अनि हरियाे थुम्काे अत्यन्तै मनमाेहक । चारैतिर देखिने भूदृष्य पनि उस्तै । छिनछिनमा बदलिरहने बालदका अाकारहरू पनि उत्तिकै रमाइला । तर, लामाे समय बस्न सकिने स्थित त छैन । मन नलागी नलागी थुम्काेबाट झर्छाैं । र, बस चढेर फर्कन्छाैं ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: हिड्दै हिड्दै विष्णुद्वार
Next Post: यता हेरे रूपा, उता हेरे बेगनास

Related Posts

रोमाञ्चक भूलभुलइयाः हराउन तयार हुनुहुन्छ ? नियात्रा
सुन्दरीजलभन्दा माथि माथि नियात्रा
पहिलो बिजुलीबत्तीको उज्यालोमा पुुरानो बाटो पहिल्याउँदै नियात्रा
छिन छिनमा रूप फेर्ने सुन्दर खास्टेमा सिङ्गै एक दिन नियात्रा
बनेपामा गोसाईकुण्ड खाेज्दै नियात्रा
झरी, कविता र धरान-भेडेटार  नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme