Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

हिड्दै हिड्दै विष्णुद्वार

Posted on November 14, 2022May 17, 2023 By बसन्त महर्जन No Comments on हिड्दै हिड्दै विष्णुद्वार
बसन्त महर्जन

काठमाडौं उपत्यकाबाट निस्कने एउटै नदी हो, वाग्मती । अनेकौं ससाना नदीहरूलाई समेटेर यो ठूलो रएउटै नदी बनेको हो । वाग्मती र विष्णुमतीको उद्गमस्थल एउटै पहाड तर अलि दुरीको फरकमा हो । दुवै उद्गमस्थल अहिले घुमफिरको गन्तव्य भएको छ । जसरी वाग्मती नदीको उद्गमस्थललाई वाग्द्वार भनिन्छ, त्यसरी नै विष्णुमती नदीको उद्गमस्थललाई विष्णुद्वार भनिएको छ । यो पटक विष्णुद्वारलाई गन्तव्य बनायौं ।

काठमाडौंका दुई ठुला नदी वागमती र विष्णुमती टेकु दोभानमा भेट्छन् र वागमतीकै नाममा बग्छन् । यिनै नदीहरूबाटै म संस्कारित छु । पल्लवित छु । हाम्रा लागि विष्णुमती र वागमतीमा पानी बग्दैन । अहँ, पटक्कै बग्दैन । जल बग्छ । पानी र जल उही त हो भन्नेहरू पनि होलान् तर पानी पानी नै हो, जल जल नै हो । लाग्छ, मेरो रक्तनलीहरूमा यसको जल प्रवाहित छ । विष्णुमती र वागमतीमा बढेको प्रदूषणलाई देखाएर हाम्रो खिसिट्युरी गर्नेहरू गर्दै गरुन् तर हुन् हाम्रा लागि पवित्र नदी नै । स्थानियता नबुझ्नेहरूको हालिमुहालीमा परेपछि यो ठाउँको दिनदशा बिग्रन थाल्यो र वागमती र विष्णुमतीमा प्रदूषण बढेको जरुर हो तर यससँग हाम्रो आत्मियता त्यत्तिकै छ, जति हिजो थियो ।

बालमस्तिष्कमा अनेक खालका प्रश्नहरू नाच्ने हुन्छन् र एउटा सानो जवाफमा नै अनेक जवाफ पहिल्याउँथ्यौं । त्यसैका आधारमा पुनः अर्को प्रश्नलाई हुर्काउँथ्यौं । उत्तरमा लहरै उभिएका हिमाल देखेर लाग्थ्यो, मेरा वरिपरि जति पनि नदीनालाहरू छन्, सबै हिमालको हिउँ पग्लिएर बगेका हुन् । म कीर्तिपुरको, यहाँ दक्षिणबाट बगेर आउने एउटा सानो नदी छ, हाम्रोतिर यसको नाम मुलखुसि हो । तर जताबाट नदी बग्दै आएको हो त्यहाँ हिमालको नामोनिशान नदेख्दा नदीको उद्गम हिमालको पानी भन्ने बुझाईले फेल खान्छ । र, सुल्झाउन नसक्ने प्रश्न भइदिन्छ । यस्तैमा पछि थाहा भयो, नदीहरू हिउँ पग्लिएर मात्रै बग्दैनन्, पहाडबाट निस्केको पानीबाट पनि बग्छन् । कीर्तिपुर डाँडाको चारैतिर फुट्ने मूल, ढुंगेधारा र वापी देखेको मलाई यो नदीको उत्पत्ति बुझ्न मलाई गाह्राे भएन । वागमती र विष्णुमती निस्कने डाँडाहरू हिमालभन्दा वारि नै हो भन्ने कुरा त स्पष्ट नै छ तर त्यहाँ जाने पो कसरी ? प्रत्येक वैशाख संक्रान्तिका दिन वागमतिको उद्गमस्थल वागद्वार र विष्णुद्वारमा मेला लाग्छ । मेला भर्न जानेहरूको बयान सुनेर जीउ जिङ्रिङ्ग हुन्थ्यो । निकै टाढा, मेला भर्न जंगलको बाटो हिड्नुपर्छ, जंगलमै वास बस्नुपर्छ । कथाहरूमा सुनिने बाघभालु त्यो जंगलमा आउँछ ? आउँछ । मान्छेलाई खान्छ ? खान्छ । अनि के गर्ने त ? के गर्ने, जे गर्ने हो बाघभालुले नै गर्छन् । बाबै, बागमती र विष्णुमती नदीका मुहानहरू त खतराकै रहेछन् भन्ने बुझिन्थ्यो । दन्त्यकथामा आउने जंगल र त्यहाँ भित्रका हुने डरलाग्दा कुराहरू बागद्वार र विष्णुद्वार जाँदाका कुराहरूसँग दाँजेर एउटा बेग्लै दुनियाँको कल्पनामा हुर्केको म ।

हाम्रो घरमा वर्षैपिच्छे बूढानीलकण्ठ नारायणथानमा पूजा जाने परम्परा छ । भर्खरभर्खर मात्र यातायात संचालनमा आएको र कीर्तिपुरदेखि त्यहाँसम्म पुग्दा कहाँपुगे कहाँ पुगेजस्तो लाग्दथ्यो । अझ त्यहाँबाट पनि माथि उक्लेर जंगलको बाटो हिड्ने भनेपछि सानो बेलामा सुनिने बागद्वार यात्राको कठिन वर्णन किशोर मनबाट पनि अनुमोदित हुन्थ्यो । तर २०६६ सालको वैशाख १ गते वागद्वार मात्रै होइन, त्यहाँबाट शिवपुरी डाँडा चढी पश्चिमतर्फ तेर्सैतेर्सो लागी विष्णुद्वार पनि पुगियो । त्यसपछि पटक पटक नै वागद्वार पुगेपनि विष्णुद्वार भने दोहोर्याएर पुग्न पाएको थिएन । यही भएर २०७९ को स्थानीय निर्वाचनको भोलिपल्ट शनिवार विष्णुद्वारलाई नै गन्तव्य बनाउने तय भयो ।

शिवपुरी प्रवेशद्वार

विहान साढे नौभित्र एनएसी भवनअगाडिको बसपार्कमा भेला भइसक्ने, त्यहीँबाट गाडी चढेर बुढानीलकण्ठ पुग्ने र हाइकिङ गरेर जाने कार्यक्रम बनेको थियो । तर त्यहीँ लामो समय कुर्नु पर्यो । आएँ भनेको एक जना साथी आइपुगेकै होइनन् । फोन सम्पर्क हुँदा आउँछु आउँछु भन्ने, बाटोमा आइरहेको भन्ने तर पुगेकै होइनन् । आउने नआउने टुंगो पनि लागेन । उनलाई छाडेर जाने निधो गरी सबै गाडी चढ्यौं । गाडी गुड्नै लाग्दा फोन आउँछ र फलाना ठाउँमा पुगें, पर्खेर बस्न भन्छन् । गाडि गुडिसक्यो र बूढानीलकण्ठमा पर्खेर बस्छौं भनेर गुड्यौं ।

बुढानीलकण्ठमा पुगेर फोनबाट बुझ्छु त, धन्न टिचिङ हस्पिटल पुगेछन् । यति बेला बिहानको एघार बजिसकेछ । बूढानीलकण्ठ नारायणथान मै पर्खेर बस्यौं । त्यहीँबाट उकालो सुरु हुन्छ । उकालो लाग्न थाल्दा १२ बजिसकेको थियो । बाटो राम्रै बनिसकेको भएपनि त्यो उकालो चढेर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसम्म पुग्न आधाघण्टा लाग्यो ।

बाटाेमा एक क्षणकाे अाराम

पहिला निकुञ्जभित्र छिर्न शुल्क लाग्दैनथ्यो । पछि विस्तारै लाग्यो । शुल्क पनि बढ्दै बढ्दै केही वर्षअघिबाट एक सय रूपैया पुगेको छ । टिकट काट्यौं । टिकट काउन्टरको पछाडि शौचालय छ । निकुन्जभित्र जथाभावी फोहर नगर्न ध्यानाकर्षण गराइएको छ तर शौचालयको अवस्थाले त्यो राम्रो ध्यानाकर्षणलाई गिज्याइरहेको भान हुन्छ । टिकट काउन्टरमा शौचालय त छ तर यत्ति फोहर कि भित्र छिर्नु रौरव नर्कको अनुभव गर्नुजस्तो हुन्छ । जाबो एउटा शौचालय सफा नगर्नेले प्रवेश शुल्क भनेर एक सय रूपैया किन उठाउनु ? प्रश्नको उत्तर पाइँदैन ।

प्रवेशद्वारमा निकुन्जका सैनिकहरूबाट सोधनी हुन्छ, कहाँ जाने ? विष्णुद्वार भनेपछि बायाँतर्फको एउटा साँघुरो बाटो देखाउँछ । देखाएको त्यो बाटो भएर फर्किसकेको छु, अनि बाटोको दायाँबायाँ केही छैन भन्ने कुरा थाहा थियो । अलिकति माथि गएपछि बाटो फाट्छ र बायाँतिर लाग्दा विष्णुद्वार पुगिन्छ भनेर पनि थाहा थियो । त्यहाँ सुचनापाटी नै छ । यताबाट जाउ भनेर देखाएको बाटो नलागी हामी पूर्वयोजनाअनुसार अगाडि बढ्छौं । बीच बीचमा मूलबाटो छाडेर चोर बाटो पक्रन्छौं, बाटो छोट्याउन मात्रै होइन, अलि एडभेन्चर हुनको लागि पनि । दायाँ लाग्दा वाग्द्वार र बायाँ लाग्दा विष्णुद्वार पुगिने निर्णायक मोडमा पनि पुग्छौं । यो मोडमा पुग्दा पौने एक बजिसक्छ ।

कता जाने ? विष्णुद्वार यतातिर

वाग्द्वार लाग्दा अलि उकालाहरू आउँछन् तर विष्णुद्वारमा तर्सैतेर्सो । वास्तवमै भन्ने हो भने यो पटकको यात्रा एक खालको परिक्षण पनि हो । लामो समयको बेड रेस्ट पछि डाक्टरसँग सल्लाह गरेर मात्रै यात्रामा हिडेको । तै केही भयो भने बीचबाटै फर्कने मनस्थिति थियो । त्यस्तै केही होला कि भनेर जीवन संगीनी पनि सँगै आएको । बाटो सजिलो त थियो नै साथसाथै दायँबायाँको दृष्य मनमोहक पनि । हाम्रो यो समूहमा सहभागी अधिकांश वर्षदिन अघिमात्रै वाग्द्वार हिडेको । बाइकबाट फर्किरहेको लस्करलाई पनि भेट्यौं । बीच बीचमा भेटिने झरनाहरूको मनमोहक दृष्यलाई शब्दमा उतार गरेर कहाँ सक्नु र ? बाटोमा दुई युवतीसँग भलाकुसारी सुरु भयो । दुबै विपश्यना ध्यानकेन्द्रमा बसिरहेका । त्यसमध्ये एक त चिकित्सा विज्ञानको अभ्यासकर्ता नै । ध्यानको कुरा आएपछि ध्यानमा बसिनसकेकाहरूको प्रश्न आउन थाल्यो । कतिपय कुराहरू सुनेर र पढेर मात्रै बुझिन्न, अनुभव नै गर्नुपर्छ । यसका लागि विपश्यना ध्यान नै गर्नका लागि सुझाउनु पर्छ । त्यस्तै गर्यौं ।

एक ठाउँमा पुगेपछि फेरि अर्को झरना आयो । त्यहाँ बस्न मिल्ने गरी बनाइएको पनि थियो । हामी त्यहाँ बसेनौं मात्र, झरना आउने गरी फोटो पनि खिचेर बस्यौं । सुस्तायौं । र, बसिबियाँलो पनि गर्यौं ।

dav

केही बेर पछि हिड्न थाल्छौं । हिड्दा हिड्दै अचम्म लाग्ने गरी एउटा यस्तो दृष्यसँग सामना गर्नु पर्यो, एक क्षण त अक्कबक्क नै परें । यही निकुन्जको अलि पश्चिमतर्फ यस्तै बाटो छ, दायाँतिर पहाड भइहाल्यो, बायाँतर्फ काठमाडौं उपत्यकाको भूदृष्य । अब त्यही दृष्यसँग साक्षात्कार भएजस्तो लाग्यो । तर त्यो ठाउँभन्दा निकै पूर्वमा हामी हिंडिरहेका हौं । त्यहाँ पनि सुस्तायौं । ध्यान केन्द्रका महिलाहरू यहीँ अलमलिन चाहेको जस्तो लाग्यो, हामी अगाडि बढ्यौं । यात्राकाे थालनीमै कुर्नुसम्म कुर्नु परेकाे, त्यसमा पनि फेरि हाम्रो हिंडाइ संभवतः एक साथीलाई वाक्क लागेछ क्यारे, रिसाएपनि हुँदाहुन्, निकै अगाडि बढिसकेछन् । हाम्रो समूह अगाडि बढ्दै गयो ।

एक ठाउँमा आएपछि बाटो छेउमा मोटर बाइकहरू रोकिराखेका देख्यौं । यहीँ हो विष्णुद्वार, अलि माथि चढ्नुपर्छ भन्ने थाहा भयो । खुडकिलाहरू चढेर माथि गयौं । जंगलको बीचमा नै हो । ठुल्ठुला ढुंगाहरूको ककार भएर नदी बगिरहेको छ । यसैलाई विष्णुद्वार भनियो ।

बाटाेमा

तीन छक्क परें । पहिलो पल्ट आउँदा विष्णुद्वार पुग्न कहिंकतै उक्लिनु परेको थिएन, यस्तो नदी थिएन पनि । उहिले गलत ठाउँमा पुगेको र विष्णुद्वार भन्ठानेको बुझाइ बन्यो । हामी बाहेक त्यहाँ अरु पनि थिए । जताबाट पानी बग्दै आइरहेको छ त्यतातिर मान्छेहरूको उल्लासमय आवाज प्रतिध्वनित भइरहेको थियो । ठुल्ठुला ढुंगाहरू नाघ्दै अगाडि बढ्यौं । नदी साँघुरो छ । बाक्लो जंगलको बीचमा भएर पनि होला अलि अँध्यारो पनि छ । अलि अगाडि बढेपछि खुल्लाजस्तै तर र्खोचमा नै पुग्यौं । त्यहाँ पानीसँग रमाइराख्नेहरूको भीड देख्यौं । हामीलाई छाडेर अगाडि बढेको साथीलाई पनि भेट्टायौं । अब भने पक्का भयो, यही विष्णुद्वार हो । पहिला विष्णुद्वार भनेर हामी अर्कै ठाउँ हेरेर फर्केका रहेछौं । हिस्स भएँ । सङ्लो पानी, कलापूर्ण भएर आवाज निकाल्दै बगिरहेको नदीमा नरमाउने को होला र ? उल्लासमय वातावरणमा चिच्याइरहेका युवायुवतीको रौनक बेग्लै छ । रमाइलोसँगै तस्वीरपनि खिचिरहेका थियौं । यही बेला थाहा भयो, विष्णुद्वार भनेर पुज्ने ठाउँ यहीँ हो, अलि माथि चढ्नुपर्छ । त्यतातिर हुत्तिन्छौं र पहिलो पल्ट आउँदा देखेको विष्णुद्वार भेटाउँछौं । भएको के रहेछ भने, उति बेला हामी यहाँ पुग्न माथिबाट झरेर तेर्सैतेर्सो आएका थियौं । नदीमा पानी थोरै मात्र बगिरहेको थियो भने मान्छेहरू पनि थिएन । स्थिति–परिस्थिति नै फेरिएपछि कता पुगे कता पुगे जस्तो भएको रहेछ । पूजा गर्ने ठाउँ पनि अलि फेरिएको रहेछ । ओडार जस्तो ठाउँमा केही ससाना केही ढुंगामा पूजा गरिन्थ्यो भने अहिले त्यही ठाउँमा पूजास्थल मात्रै होइन, त्यस वरिपरि पनि विशेष व्यवस्था गरिएको छ । एकातिर बुद्धका ससाना चैत्यहरू बनाइएका छन् । लुङदर पनि टांगिएको छ ।

विष्णुद्वार

हामीलाई भोक लाग्न थाल्छ । कतै बसौं र खाऔं भनेर बस्न मिल्ने समथर खोज्छौं तर उबडखाबड मात्रै होइन, भिजेको पनि हुँदा कतै बस्ने ठाउँ भेटाउँदैनौं । अलि माथि चढ्दा भने अलि भिरालो भए पनि बस्न लायकको ठाउँ भेटाउँछौं । र, सबैले ल्याएको आआफ्नो खानेकुराका पोकाहरू खोल्छौं ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: पहिलो बिजुलीबत्तीको उज्यालोमा पुुरानो बाटो पहिल्याउँदै
Next Post: अचानक कालिन्चोकतर्फ

Related Posts

मणि दानस्थल मणिचुड दह नियात्रा
अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम नियात्रा
घान्द्रुुक यात्रामा कोरिएका पार्श्र्वचित्रहरू नियात्रा
सुन्दरीजलभन्दा माथि माथि नियात्रा
साँखुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन नियात्रा
लड्दैपड्दै दम्राङ गाउँमा नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme